कृषिको देश हाम्रो
कृषक बेच्ने भएछौँ
फसल उब्जेन भनी भनी
खाद्य किन्ने भएछौँ
हरियो वन नेपालको धन
उखानै त हो
हेर न यहाँ वन फाँडेर काठ
किन्ने भएछौँ
कति सुन्दर लाग्थे
फाँटहरूमा धान झुलेको देख्दा
आज त्यही फाँट टुक्र्याएर
घडेरी बेच्ने भएछौँ
हिरा फल्ने जमिन कसले चिन्ने
प्राकृतिक कृषि कसले सिकाउने
उर्वर भूमि त आफै रोइरहेछ
उता
खेती सिक्न इजरायल पठाउँछौँ
सायद त्यो मरुभूमिले
हाम्रो पौरख बुझेर त होला
आज हामीलाई किन्दै छन्
तिमी रेमिट्यान्समा डकार्ने भएछौ।
श्रमको रगतले फुलिएको थियो
ती युवाहरूको नसा-नसा
त्यो रगत बग्ने नसा थुनिदियौ
आज खाडीमा भौँतारिँदै छन्
त्यही रगतभित्र पसिना मिसाएर
बालुवामा फसल उब्जाउन
तिमी यता कृषि क्रान्तिका
मिठा भाषण गर्दै
बर्गरको चाङभित्र ह्विस्कीको
चुस्कीमा रमाउने भएछौ
नीतिको धज्जी उड्यो
कानुनको बिल्लिबाठ भयो
कृषि राहत बाटोमै हराए
उब्जाउको बजार शून्य भयो
गाउँमा ध्वजा फाटेका गराहरू
जङ्गल बने
अहो!
हेर त परिणाम
हिजो सहरमा बेसाएर खाने तिमी
आज गाउँमै बेसाएर खाने भएछौ
गाउँ-गाउँमा सिंहदरबार आयो रे
केन्द्रमा बस्नेहरू गाउँ आए रे
अधिकारको ढोका खुल्यो रे
अरे! जनता क्या मक्ख थिए
विकासको मूल फुट्ने आसमा
तर
सिंहदरबार त बालकोट, भैसेपाटी,
बुढानीलकण्ठ तिर सरिसकेछ
उल्टो भइदियो
केन्द्रबाट गाउँ होइन
गाउँमा बस्नेहरू पो
सहरतिर बसाइ सर्ने भइसकेछ
खै तिम्रो नैतिकताको घुम्टो खुलेको
तिमी अझै बढी
सानको जीवन देखाउने भएछौ।
सुशासनको नाम दिएको
सात सय बढी दरबार
करको ट्रेड सेन्टर बने
त्यहाँ बस्नेहरू
योग्यता विहीन जागिर वाल बने
यता जनता डिग्रीको सर्टिफिकेट
सन्दुकमा थन्काएर
आमासँग बिदाइको हात हल्लाउँदै छन्
घर रित्तिँदै छ
शैक्षिक संस्था रित्तिँदै छन्
सपनाहरू हराउँदै छन्
ऊर्जा मर्दै छ
आशाहरू निराश बन्दै छन्
हो...
उद्यमको खोजीमा
कामको सम्मानमा
श्रमको उचित मूल्यको खोजीमा
युवा निर्यात हुँदै छन्
तर
तिमी सडकको फोहोरदेखि
पशुपतिको मोहोर उठाउनसम्म
मान्छे आयात गर्ने भएछौ!
सरकारी कार्यालय पार्टीको कब्जामा
शैक्षिक संस्था राजनीतिको भर्तिकेन्द्र
उद्योग धन्दा सकिए
भएका पनि तिम्रो आम्दानीको श्रोत बन्यो
विकासको मूल ठप्प भो
कर्मशील हामी परजीवी भयौँ
मुलुक विदेशी ऋणले थला पर्यो
राजनीतिक कारखाना मौलाए
अरू सबै चिर निद्रामा भए
फेरि
तिमी भन्दै छौँ
हामी एक फड्को अघि बढ्यौँ
विकासले ढोका खोल्यो
युवा अब फर्काउँछौँ
कृषि अब फस्टाउँछौँ।
त्यसैले त भन्न मन लाग्छ
अरे मूर्ख!
तिमी त लाजको घुम्टो ओढेर
निर्लज्ज औकात देखाउने भएछौ।