मध्य ग्रीष्म ऋतु, जुलाई महिनाको अन्तिम हप्ता दगुर्दैछ। बिरानो निर्जन भूगोल आफ्नो भन्ने कोही छैनन्, नजिक बोलाउँदा सुन्ने ठाउँमा। सानो राज्य साइप्रस। समुद्रको किनारमा अवस्थित सुन्दर सहरको नाम लिमासोल। खपी नसक्नुको छ गर्मी।
५० डिग्री कटिन्छ मध्य दिनमा गर्मी। नजिकै हावासँगै सुसेल्दै छ, विशाल भूमध्य सागर। सागरको किनाराभरी प्रशस्तै छन् सन बेड र रंगीविरंगी भव्य छाताहरू। भीड छन् टुरिष्टको। विशेष गरेर युरोपेली मुलुकबाट आउने गर्छन्।
आरमोनिया बीचको नजिकै रहेको कोलिम्बिया रेष्टुरेन्टमा विगत केही वर्षदेखि कार्यरत छु म। नेपालदेखि आएको केही वर्ष मात्रै हुँदैछ। सँगै आएको साथी छन् मनसरा। सँगै आए पनि हामी काम गर्ने ठाउँ अलगअलग छन्।
उनी चाहिँ लेडिस्माइल बीचमा पर्ने सनराइज रेष्टुरेन्टमा काम गर्थिन्। सहर एउटै भए पनि दश किलोमिटर टाढाको दुरीमा थियो हामी दुईको बसाइँ।
महिनामा एक दुई पटक भेट हुन्थ्यो हाम्रो। भौतिक रूपमा भेट नभए पनि आइटीले दिएको फाइदा अंगाल्दै भेट्थ्यौं, दिनदिनै पोख्ने गर्थ्यौं कुरा मनको।
हाम्रो भेट पहिलोपटक सपनाको सहर काठमाडौंमा भएको थियो। त्यो पनि एउटा मेनपावर अफिसमा। ती दिनको झझल्को ताजै छ अझै मानसपटलमा।
उनी बोल्न आएकी थिइन् मसँग।
'तपाईं पनि जाँदै हुनुहुन्छ विदेश?' उनले गरेको पहिलो प्रश्न।
मैले 'हो' मात्रै भनेँ।
उनी फेरि बोल्न थालिन्।
'दिदी तपाईंको परिचय!'
'मेरो नाम नुमा हो। घर पूर्व ताप्लेजुङ।'
अनि मैले उनलाई प्रतिप्रश्न गरेँ; तिम्रो चाहिँ नाम के हो नि?
'मेरो नाम मनसरा हो। घर पश्चिम मुगु।'
यसरी पहिलो पटकको भेटमै बोलचाल हुनुको साथै एकअर्काको मोबाइल नम्बर साटासाट गरेका थियौं।
लगभग उमेर हामी दुईको उस्तै। तर उनले मलाई दिदी भनेर सम्बोधन गर्थी। मैले उनलाई बहिनी।
यसरी काठमाडौंमा भएको भेटले मिल्ने साथी बनाएको थियो हामीलाई। उनी कतै आफ्नो आफन्तको बस्थिन्। म आफ्नै आफन्तकोमा।
मेनपावरले मागेको डकुमेन्ट, लाग्ने खर्च बुझाएर उड्ने दिनको पर्खाइमा थियौं हामी। मेनपावरले दिएको ओरेनटेसन क्लासदेखि साधारण ग्रिस भाषा सिकेर तयारी साथ कुर्दै थियौं त्यो दिनको, जुन दिनले हामीलाई देख्दै गरेको समृद्ध सपनाहरू साकार पार्ने ठाउँमा पुर्याउने छ।
निकै दिनको पर्खाइपछि एउटा सुन्दर दिन शुभ खबर लिएर आयो।
मेनपावरको स्टाफले ह्वाट्स एपमा म्यासेज पठाएको थियो।
'तपाईंहरूको फ्लाइट पर्सि बेलुकी हुँदैछ।'
हामी दुवैले खबर पायौं र फोनबाटै खुसी साटासाट गर्यौं।
कस्तो बिडम्बना! अरूको देशमा आफ्नै पैसामा बेचेर सस्तो श्रम बजारमा लिलाम हुँदा खुसी हुनुपर्ने!
उनको बसाइँ बालाजुमा थियो। मेरो बौद्धमा। फ्लाइट हुनु एकदिन अगाडि उनले फोन गरेर भनिन्।
'दिदी आज हामी भेटौं न कतै।'
मैले 'हुन्छ' भनेँ।
योजना अनुसार हामी भेट्यौं पशुपतिनाथको मन्दिर परिसरमा। उनीसँगै उनकी दिदी पर्ने आफ्नतको छोरी आएकी थिइन्।
म चाहिँ एक्लै गएको थिएँ।
तीन जना भेटेर मन्दिरको दर्शन गर्यौं। आर्यघाटको माहोल देखेर एकछिन टोलाइरहेँ। म टोलाएको देखेर सँगै हिँडेकी मनसराले 'दिदी' भनेर बोलाउँदा म झस्केँ।
हामीहरू तीन जना बागमती तरेर सिँढीहरू चढ्दै वनकालीतर्फ लाग्यौं। वनकाली पुगेर केहीबेर बस्यौं। अनि गुहेश्वरी हुँदै बौद्धतर्फ लाग्यौं। बौद्ध पुगेर 'कोरोवा' परिक्रमा गर्यौं। बत्ती बाल्यौं। नदेखिने भगवानहरूसँग धेरै कुरा माग्यौं। मागेको कुरा, आशा राखेको मनोकामना पूरा हुन्छ कि हुन्न थाहा छैन। थाहा नै नभएको कुराहरूलाई आस्थाको धरोहर देउतालाई जिम्मा लगायौं। छुट्टिने बेला भयो भनेर बताउँदै थियो पश्चिम क्षितिजमा पुगेको घामले।
मनसरा र उनको साथमा आएकी सानी बहिनीसँग छुट्टिएँ भोलि तय गरेको समयमा एयरपोर्टमा भेट्ने बाचा गरेर।
भोलिपल्ट तोकेको समयमा एयरपोर्ट पुगेँ। म पुग्नुभन्दा अगाडि नै आइसकेकी रहिछन् मनसरा।
उनको पनि हुलिया उस्तै थियो मेरो जस्तै। सफलता हासिल गरेर फर्केको योद्धा जस्तै। तर हामी योद्धा थिएनौं। हामी नहराएको सफल सपनाहरू खोज्न आफैले बेचेको निरही लाचार मान्छे मात्रै थियौं।
देशमा भएको तात्कालिक मौजुदा अवस्थासँग हारेर जित खोज्न आर्काको देशमा हिँडेको लाचार प्राण भएको ज्यान थियो हाम्रो।
उनलाई पुर्याउन कोही आएको थिएन। मेरो पनि हालत उस्तै थियो। उनको जस्तै। हामी दुवैको घर काठमाडौंदेखि टाढा भएको कारणले पनि कोही नभएको भन्न मिल्छ। त्यसैले उनको लागि म थिएँ, मेरो लागि उनी।
तोकिएको समयमा भयो हाम्रो बोर्डिङ पास। हातमा टिकट र बोर्डिङ पास बोकेर चढियो चिल गाडी। जीवनमा पहिलो पटक आकाशभन्दा विशाल सपना बोकेर।
निर्धारण गरेको समयमा पुग्यौं गन्तव्यमा
एयरपोर्टबाट बाहिर निस्कँदा बाहिर नुमा र मनसरा नाम लेखेको प्लेकार्ड बोकेर उभिएको मान्छे भेटियो। ऊ एजेन्ड रहेछ। पछि थाहा भयो। उनकै पछि लागेर पुगेँ तोकिएको काम गर्ने ठाउँमा।
यसरी सुरू भएको थियो प्रवासी बसाइँ मनसरा र मेरो।
नयाँ ठाउँ, अपरिचित मान्छेहरू, बुझ्न नसक्ने अनौठो भाषा निकै सकस भएको थियो सुरूआती दिनहरू। आएको केही समय हामी दुई जना एउटै ठाउँमा काम गर्ने मौका मिलेको थियो।
पछि उहीँ मालिकको अर्को रेष्टुरेन्टमा सिफ्ट गरेको थियो मनसरालाई। त्यसपछि हामी दुई जना अलगअलग भएर काम गर्न बाध्य भयौं।
बाहिरी रूपमा देख्नेले देख्दा खुसी नै देखे पनि मनभित्रको ब्यथा वर्णन गरिसाध्य छैन। देश छोडी विदेश रोजेका मानिसहरूको व्यथा सबै-सबैको उस्तै हुँदो होलान्। देखाउने र पचाउने तरिका फरक भए पनि।
हाम्रो कहिलेकाहीँ भेट हुन्थ्यो। कहिले नयाँ वर्षमा, कहिले दसैं-तिहारमा। उनी खुसी नै थिइन्। म पनि खुसी नै थिएँ। अलग-अलग आमाको कोखबाट जन्मेको भए पनि हामी दुई बीचको घनिष्ठता निकै प्रगाढ थियो।
समय दगुरी रहेको हुन्छ आफ्नै रफ्तारमा। त्यहीँ रफ्तारमा बगिरहेको हुन्छ मान्छेहरूको जिन्दगी पनि।
हामी यता अर्थात् साइप्रस आएदेखि एक पटक पनि फर्केका थिएनौं नेपाल। अझै केही समय काम गरेर सँगै छुट्टीमा आउने योजना बनाएका थियौं।
नेपाल गएर उनी मेरो गाउँ, अनि म उनको गाउँमा जाने योजना बुनेका थियौं।
परदेशमा नेपाली-नेपाली बीचको सम्बन्ध निकै प्रिय हुन्छ। केही अपवाद बाहेक! नेपालीहरूको हालखबर आदानप्रदान गर्न थुप्रै ग्रुपहरू खोलेको हुन्छ। जहाँ नेपालीले भोगिरहेको कुराहरू पोष्ट गर्नुको साथै स्वदेशमा भएको खबरहरु अपडेट गर्ने गरिन्छ।
त्यस्तै, हामी रहेको देशको नाम राखेर खोलेको ग्रुप छ। जुन ग्रुपमा एउटा दुःखद खबर संप्रेषण भयो। खबर दु:खद् थियो। जुन खबर जंगलमा लाग्दै गरेको डढेलो सरी फैलियो। कसैको जिन्दगी अन्त्य भएको खबर थियो। एउटा परिवारको हुर्केका छोरीको मृत्युको खबर थियो। एउटी आमाको काख रित्तेको खबर थियो। पुर्ण रूपमा जानकारी आएको थिएन।
मृत्युबारे। कसको मृत्यु। कुन ठाउँमा भएको थियो मृत्यु। भवितव्य मृत्यु कि आत्महत्या। विस्तारै पूर्ण रूपमा खबर बाहिरियो। मृत्यु वरण गरेको मान्छे अरू नभएर मेरो साथी मनसरा रहिछ।
मैले विश्वास नै गर्न सकिनँ उनको मृत्युको कुरा। केही घण्टा अगाडिसम्म बोलेका थियौं हामी।
'दिदी थाकेको छु आज बेस्सरी। सुत्छु अब' भनेर फोन राखेको मान्छे। एक दिनपछि यसरी कसरी भयो मृत्यु?
उत्तर बिनाको अनगिन्ती प्रश्नहरूको हुलले मलाई पिछा गर्न छाडेन। प्रश्नहरूको उत्तर खोज्न उनी बस्ने ठाउँमा गएँ। त्यहाँबाट हस्पिटल लगिसकेको जानकारी पाएँ।
आकस्मिक भएको अकल्पनीय उनको मृत्युले मलाई छियाछिया बनायो। मुटुमा परेको पीडा खपेर उनको घरमा खबर गरिदिएँ। जुन खबरलाई जसरी मलाई भन्न गाह्रो भएको थियो, उनको परिवारलाई पत्याउन उस्तै गाह्रो भयो। मलाई जस्तै। नहुनु पर्ने कुरा तर भैसकेको थियो। जुन कुरालाई स्वीकार्नुको विकल्प थिएन।
परदेशबाटै सञ्चालित अनलाइन पोर्टलहरूले खबर बनाए उनको मृत्यु बारेमा। कुनै अनलाइनले हृदयघात भएर मृत्यु भएको खबर छापे। कुनै अनलाइनले उनले आत्महत्या गरेर मृत्यु रोजेको खबर छापे। अनेकन शंकास्पद खबरहरूले जे- जे भने पनि मृत्यु भैसकेको थियो उनको।
मृत्युको कारण भने अज्ञात!
जुन मृत्युले उनको रगतको नातालाई भन्दा भावनाको नाताले नजिक बनाएको मलाई औधि सताएको थियो।
हामी अवस्थित राज्यमा नेपाली दूतावास छैन। कन्सुलर र गैरआवासीय संघ साइप्रसमार्फत् उनको पार्थिव शरीरलाई नेपाल पठाउने चाँजोपाँजो मिलाउँदै थियौं।
भर्खर दुई दशक पार गरेकी एउटी नेपाली छोरीको मृत्युको खबरले सानो देशमा रहेको थोरै नेपालीको कान कानमा पुग्यो।
मृत्यु शाश्वत सत्य हो। हर कोहीलाई थाहा भएको कुरा। तर कतिपय मृत्युहरूले नचिनेको नजानेको मानिसहरूको सहित मन दुखाउँदो रहेछ।
परदेशको अस्तब्यस्त जिन्दगी। नमिलेको जीवनको बाटाहरू। त्यहीँ बाटाहरूमा यात्रा गर्दागर्दै थाकेर होला या उनले पाएको जीवन नै त्यत्ति हो। केही भन्न सकिन्न रहेछ। चिताएको सपनाहरू चुम्न नपाएर बिसर्जन भइन् उनी। धेरै आफ्नाहरूको मनभरी कहिल्यै निको नहुने चोट दिएर।
मनसराले मृत्यु रोजिन् या मृत्युले मनसरा रोज्यो अज्ञात छ त्यो बारेको कुरा।
उनको मृत्यु भएको केही दिन बितिसकेको थियो। अझैसम्म आएको छैन पोस्टमर्टम रिपोर्ट। रिपोर्ट जस्तो आए पनि गर्न केही सक्ने होइन। उनको देशको नीति र नियमलाई।
कति सस्तो भएको छ नेपालीको मृत्यु पराइ मुलुकहरूमा। जसरी मृत्यु भए पनि उनीहरूको तजबिजले बनाइदिन्छ रिपोर्ट, त्यहीँ रिपोर्टसँगै गएको रातो बाकसमा बन्द भएर गएको लास बेलैमा पाउनुलाई भाग्य सम्झिनु बाध्य छौं हामी।
साथी मनसरा बितेदेखि मनमा चैन छैन।
मेरी प्रिय साथी चिसो भनेपछि डराउँथी। कसरी व्यतित गर्दै होलिन् अँध्यारो शव गृहको चिसोपनलाई।
हामी दुई जना उता आफ्नो देशदेखि आउँदा कति धेरै सपनाहरू सोचेर आएका थियौं। ती सब सपनाहरू चकनाचुर भएको छ। हाम्रो योजनाहरू, कल्पनाहरू, बाचाहरू यतैकतै घुमिरहेका हुँदा हुन् यहीँ ब्रम्हाण्डमा बताससँगै।
थाहा छैन कहिले सम्ममा आउँछ पालो उनको। स्वदेश फर्कन आतुर छन् उनको चिर निन्द्रामा परेको शरीर।
सम्भवत: म पनि सँगै फर्कने छु उनीसँगै। एउटै फ्लाइटमा। तर विदेश आउँदा जसरी एउटै सिटमा मनका कुरा साटासाट गरेर आएका थियौं, त्यसरी चाहिँ पक्कै होइन। विदेश आउँदा उनी कति उत्साहित थिइन्। म सुत्न खोज्दाधरी सुत्न दिँदैन थिइन्। के के कुरा गरेर निन्द्रा भगाउँथिन्।
'दिदी म झ्याल तिरको सिटमा बस्छु। झ्यालबाट देखिने दृश्यहरूको दृश्यपान गर्छु।'
अब फर्कंदा उनी पहिले जसरी न बोल्ने छ, न मलाई केके भनेर जिस्काएर मेरो निन्द्रा भगाउँछिन्।
न उनलाई गर्मी र जाडो हुन्छ, न सास फेर्नु पर्छ र त उनलाई उनी जत्तिकै लामो बाकसमा बन्द गरेर पठाउनेछ।
अनि उता आफ्नै माटोमा पुगेर बिलिन हुनेछ सदाको निम्ति। त्यसपछि उनीसँग कहिल्यै भेट हुने छैन हाम्रो।