गड्याङ गुडुङ चट्याङ। झरझर वर्षा।
'ए वर्षा, के सोचेर टोलाएको? लुगा उठा छिटो, भिज्यो सबै।'
ममीको कडक् आवाजले जर्याक्क जुरुक्क उठ्दै गुटुटु कुदेर बाहिर निस्किएँ। अन्धाधुन्ध कपडा तान्छु डोरीबाट। हातभरि समेटेर एकै डल्लो पारी अर्को हातले टाउको भिज्नबाट जोगाउँदै घरभित्र दगुरेँ।
फ्यात्त ओछ्यानमा लुगा फ्याँक्दै मनमनै पानी दरो पर्यो आज भनेँ। झ्याल पनि खोल्न नमिल्ने गरी बाछिटा हानिरहेको छ तर मलाई झ्याल खोल्न मन छ। थोरै सरक्क खोल्छु। मिठो आवाज पानीको एकनास छ।
साउने झरी। झरझर, झरझर, गुडुडुङ! झरझर झरझर…
मन थोरै बहकिन्छ। मन चञ्चल छ। कोही आँखाभरि छाइरहेको छ। उसको प्रेरणा वाची शब्द कानमा गुन्जिरहेछ।
'एउटा कुरा सोधौँ तिमीलाई?'
भन्नु न।
'तिमीले फेरि पढ्नु पर्छ।'
म आँखा जुधाउँछु। थोरै असहज महसुस गर्छु।
ऊ फेरि भन्छ, 'जे नहुनु थियो भइसक्यो। अब सबै भुल्नु पर्छ तिमीले। भुल्न गाह्रो छ तर पढाइ यस्तो माध्यम हो जसले नयाँ बाटो हिँड्न र अतीतलाई भुल्न मद्दत गर्छ। तिमी क्षमतावान् मान्छे हौ। उसले तिमीलाई चिनेन, त्यो उसको गल्ती हो तर तिमी अब आफूलाई सम्हाल्नु पर्छ अनि भविष्य बारे पनि सोच। के गरी राम्रो हुन्छ भन्ने तिर लाग्ने हो। कम्तीमा +२ त गर। भर्खर २० पनि लागेकी छैनौ तिमी। तिमी सक्छौ।'
एक्कासि मुखबाट फुस्कियो, 'म नपढे पनि त्यसलाई सम्झिन्नँ अब। म भुल्छु सधैँको लागि। म मर्छु तर फर्केर जाँदिनँ। अब कुनै नाता जोड्दिनँ ऊसँग।'
यसरी बडबडाउँछु कि म काँप्दै पनि छु अनि आँखा छचल्किन्छ त्यसै त्यसै। म ऊसँग यी सबै कुरा आँखा नजुधाई एकै सासमा भनी भ्याउँछु। लाग्छ अब ऊ नै मेरो बाँकी जीवन जस्तो।
एक छिन शून्यता छाउँछ।
'म तिमीलाई बुद्धको एउटा कथा भन्छु। तिमी सुन्छौ?'
ऊतिर हेर्दै हुन्छ को सङ्केतमा टाउको हल्लाएँ। मनमा 'म एउटा मात्र हैन, तिम्रो हरेक कथाहरू जीवनभर पनि सुन्न तयार छु' भनेँ।
'जब बुद्धले ज्ञान प्राप्त गरेर अनुयायीहरूलाई उपदेश दिँदै थिए तब एउटा महन्त आएर भने- गुरु मलाई मार्ग दर्शन दिनुहोस्। म नराम्रा विचार त्याग गर्न चाहन्छु तर सकिरहेको छैन। म के गरूँ भगवान्? मार्ग दर्शन प्रशस्त गर्नुहोस् भगवान्।
बुद्धले महन्ततिर हेर्दै भने- अवश्य तिमी सक्छौ। पहिला शान्त हौ र मैले भनेको एउटा कुरा तिमीले जीवनमा ग्रहण गर्नै पर्छ। सक्छौ?
त्यो के कुरा भगवान्?
मेरो उपदेश तिम्रो लागि। तिमीले सबै कुरा याद राख्नु तर बाँदरलाई नसम्झिनू। बाँदर थाहा छ नि? त्यो जङ्गलमा बस्ने जन्तु जसलाई तिमी एक हप्तासम्म नाम पनि नलिई हरेक नित्य कर्म गर्नू। ती सबै नित्य कर्महरू गर्नू जुन तिमी हरेक दिन गर्दछौ तर बाँदर शब्द एक चोटि पनि उच्चारण नगरीकन।
हुन्छ प्रभु। त्यति जाबो म किन नसक्ने! त्यो बाँदरलाई मैले मेरो नित्य कर्ममा किन सम्झिनु पर्यो र भगवान्? हुन्छ, म आजबाट बाँदर सम्झिने छैन प्रभु।
ल जाऊ अब। एक हप्तापछि आउनू।
हुन्छ गुरु। प्रणाम।
मन्द मुस्कानसहित गुरुको अनुहार हेरेर जाबो बाँदरलाई नसम्झिने त भन्नु भयो सकिहाल्छु नि भन्यो। ऊ निस्कियो त्यहाँबाट। बाटामा भेट भएका जतिलाई गुरुले उपदेशमा बाँदर नसम्झिनु भन्नु भएको छ। म एक हप्ताको नित्य कर्म सकेर फेरि जानेछु। बस् मैले बाँदरको नाम पनि नलिनु रे। उसको कुरा सुनी अरू अनुयायीहरू मुस्काउँदै थिए।
ऊ घर पुग्छ। बुद्धको वचन र वाणी सुनेर फर्किएको श्रीमानलाई पानी दिँदै श्रीमती नजिक पुग्छे। कौतुहलता साथ पर्खिरहेकी पत्नीलाई हेर्दै भन्छ- गुरुले बाँदर एक हप्तासम्म नसम्झिनु भन्नु भएको छ। यसो गर्न सके मैले मोक्ष प्राप्त गर्न सक्छु रे। म अब बाँदर भन्ने प्राणी छेउछाउ पनि पर्न दिन्न। तिमीले कहीँ देख्यौ भने धपाउनू है।
श्रीमानको कुरा सुनी आज्ञाकारी श्रीमती पनि हस् भन्दै घर वरपर बाँदर त आएको छैन नि भन्दै हेर्छे र २/४ जना छिमेकीलाई पनि सुनाउन भ्याउँछे। बाँदर कतै छैन नि?
छैन त! मैले त कहिले देखेको छैन। छिमेकीहरू पनि लट्ठी बोक्दै बाँदर आइहाले लखेट्ने भनेर सतर्क रहन्छन्। बाँदरको चर्चा एक कान दुई कान हुँदै मैदान भयो अब। जो आउँछ, जसलाई भेट्छ बाँदरकै कुरा। महन्त सुत्दा, उठ्दा, खाँदा, बस्दा बाँदरकै कुरा। वरपर छिमेकी घर गाउँ सबैतिर बाँदरकै कुरा।
महन्त घरबाट बाहिर निक्लेन। बाँदर देखिन्छ, भेटिन्छ कि भनेर। ऊ सुत्न सकेन राम्रोसँग। खान पनि सकेन। बाँदरको चिन्ताले ४/५ दिनमा यति ग्रस्त भयो कि उसले अब बाँदरको आवाजहरू सुन्न थाल्यो।
क्याउ क्याउ कु कु
क्या~ क्या ~ आहु~ कु कु~
झ्याल ढोका बन्द भए।
ए बुढी बाहिर बाँदर छ हेर त!
बुढी लौरो लिँदै निस्किन्छे- खै कहाँ? छैन त बाँदर।
आवाज आईराको छ हेर न।
क्याउ क्याउ कु कु
कान थुन्छ दुवै हातले। छैन प्राण। पर-परसम्म नि छैन।
महन्त बिस्तारै ढोका खोल्छ। बाँदर झ्याप्पै महन्तको जीउमा हाम फाल्छ। महन्त ठुलो आवाज निकाल्दै चिच्याउन थाल्छ- बाँदर! हेर त मैले भनेको हैन। जता ततै छ बाँदर।
ऊ रुन्छ, कराउँछ। दुवै हात कानमै छ।
घर-गाउँले सबै भेला हुन्छन्। महन्त चारैतिर बाँदर छ भनी उफ्री कराइरहेको छ तर घर-गाउँलेले एउटा बाँदर देख्दैनन्। ऊ यसरी बहुलाएको खबर आगो सरी फैलिएर बुद्ध भएको ठाउँसम्म पनि पुग्छ।
जसै बुद्धले आँखा खोल्छन् सामुन्ने बेहाल बौलाहा जस्तो रूप धारण गरी आएको त्यही महन्त देख्छन्। ऊ पाउँमा परी भगवान्! मैले जताततै बाँदर नै बाँदर देखेँ प्रभु। के अनिष्ट भयो मबाट भन्दै रुँदै कराउँदै बुद्ध शरण पर्छ।
बुद्धले मुसुक्क मुस्काउँदै भन्नुभयो- मैले जे नगर भनेको थिएँ तिमीले त्यही गर्यो। हैन त? मानिसले जीवनमा जे चाहँदैन त्यसलाई सजिलै छोड्न सक्दैन किनकि ऊ बारबार म यो चाहँदिनँ भनिरहन्छ। जुन बाटोमा हिँडेर तिमी गन्तव्यमा पुग्दैनौ भने त्यो बाटो हिँड्न अहिले नै छाडिदेऊ। हुन्छ म गर्छु भन्नु र अबबाट गर्दिनँ भन्नुमा धेरै अर्थ लाग्छ। जीवन सहज त्यस बेला हुन्छ जब तिमी त्याग गर्न सिक्छौ। गुरुले उपदेश दिने हो ग्रहण गर्न सक्नु/नसक्नु त्यो तिमीमा नै भर पर्छ।
बुद्धको यस वाणीबाट महन्त यसरी प्रभावित हुन्छ कि तत्काल महन्तले उपस्थित सबैका सामु क्षमा याचना माग्दछ र पाउँमा पर्छ। ऊ सदाका लागि बौद्ध भिक्षु भई सबै सुख सयल तत्काल त्याग गरी बुद्ध सेवामा लाग्ने प्रण गर्छ। त्यसै प्रहर उसको बाँदररूपी भ्रमहरू सबै बिस्तारै बिलाउँदै जान्छ।'
'के बुझ्यौ?'
म टोलाउँछु। म स्तब्ध भएँ। त्यसपछि केही बोलिनँ। ऊ आफ्नो बाटो लाग्यो, म आफ्नो।
चट्याङ गुडुडु गड्याङ!
'आबुई ममी!' अढाई वर्षीय छोरो कान थुन्दै कुदेर म भएको ठाउँ आयो।
मैले च्याप्प अँगालो मारेँ। च्याप्प चुप्प म्वाइँ खाएँ।
'मामु हजुरलाई डर लाग्दैन? झ्याल किन खोलिसेको?'
'मामु वर्षा हो नि। त्यही भएर डर लाग्दैन।' मन्द मुस्कानसहित उसका कलिला आँखा हेर्दै भन्छु।
चट्याङ परिरहेको छ।
'कान थुन थुन।'
'किन मामु?' भन्दै थियो चट्याङ गर्जियो।
'आबुई मामु डर लाग्यो!'
'हा हा हा, अनि मामुले भनेको किन नमानेको नि त?'
छोरो आर्यनलाई अँगालोमा गुटुमुटु बनाएर झ्याल थुन्छु। न्यानो कसिलो अँगालोमा राखेर मनमनै भन्छु- उसले छोडे पनि म तिमीलाई कहिल्यै छोड्दिनँ। तिमी नै मेरो सबै। सपना, बिपना, भूत, वर्तमान, भविष्य।
सपक्क बेर्छु अँगालोभरि हलुकासँग तर मनमा यामानको भारी छ। यो एक्लोपन। खै कहाँ पो लगेर बिसाउने हो! त्यो साउने झरी अनि तिम्रो वाणी सधैँ याद रहनेछ प्रिय।