नागोया सहरको फुसिमी बजार वरिपरिको चहलपहलमा पूर्णविराम लागेजस्तै भयो। फेमेलीमार्ट र स्टारबक्स कफी शपहरू बन्द भए। सार्वजनिक 'कोएन'मा बस्नसम्म प्रहरीले दिएन। जापानमा जस्तै कोरोनाको महासङ्कट आफ्नै देश र छिमेकी देश भारतमा भयावह थियो। लाग्थ्यो, मृत्युको सन्निकटमा सबै पुग्दै थिए।
मसिनहरूको जस्तो व्यस्त जीवन चलाउनुपर्ने देशमा सबै फुर्सदिला भएका थिए। मुखमा मास्क अनिवार्य भयो। कोरोनाको महासङ्कट 'फर्स्ट वर्ल्ड वार' भन्दा पनि लामो जान सक्ने टिप्पणीहरू सुनिन्थ्यो। पढिन्थ्यो।
लिसा 'ओशो'को प्रवचन सुन्थी। म नेल्सन मण्डेलाको जीवनी पढ्थेँ। स्टिभ जब्सको जीवनी पढ्ने क्रममा जब्सकी छोरीको नाम पनि लिसा भएको तथ्य मेरी लिसाले पनि थाहा पाई।
उसले आफ्नी मामुलाई सोधी, 'मेरो नाम लिसा कसरी राखेको?'
मामुले सरल उत्तर दिइन्, 'मेरो क्रस नै स्टिभ जब्स थिए।'
फुर्सदमा यस्तै कामकुराहरू भइरहे। म महाभारत अध्ययनमा डुब्दै गएँ। लिसाको हातमा ओशोको 'सेक्सदेखि समाधिसम्म' थियो। मैले बिपी कोइरालाको 'मोदिआइन' पढ्दा लिसा चेतन भगतको 'हाल्फ गर्लफ्रेन्ड' पढ्दै हुन्थी।
ओशोको प्रभावले लिसाले मासु चटक्कै छोडी। मैले बिपी कोइरालाले सुन्दरी जेलमा बस्दा मासु खाएको तर्क दिएँ। लिसा आफ्नो निर्णयमा अडिग बसी।
लिसा ओशो, बुद्ध हुँदै महावीर र विवेकानन्दसम्म पुगी। मैले पनि गान्धी र लिंकन पढ्न सुरु गरेँ। मण्डेला पढिरहेकै थिएँ। बिपी मात्रै होइन, मैले गणेशमान र किशुनजीको 'मेरो म' पढ्न थालेपछि लिसाले भनेकी थिई- 'खोनाथ, तिमी देश फर्किएर राजनीति गर्ने सुर हो?'
लिसा र म हरेक रात बौद्धिक बहसमा जुट्थ्यौँ। लिसालाई जित्नै पर्थ्यो। म जित्न दिन्थेँ पनि।
मैले नेपालबाट समाजशास्त्रमा बिए सक्काएर 'निहोन' छिरेको थिएँ। लिसाले पनि शंकरदेवबाट बिबिएस सक्काएर जापान हान्निएकी थिई।
म सिकरकटेरीमा बाख्रा चराउँदै, हलो जोत्दै सिकरकटेरीबाट काठमाडौँ हुँदै ओकिनावाबाट नागोया आइपुगेको थिएँ। लिसा टिफिनमा ब्रेकफास्ट बोकेर स्कुल युनिफर्ममा टाई समेत झुन्डाएर स्कुलको निजी बसमा पढ्न जान्थी। फर्किन्थी।
सिकरकटेरीमा निकै पछिसम्म छोराछोरी बोर्डिङ हालेका अभिभावकहरू 'ड्रेस' भन्न नजानेर 'डेडेस' भन्थे।
लिसाले अण्डा देखे पनि कुखुरा पालेकी होइन। पोकाका दूध खाए पनि भैँसी/गाई चराएकी वा दोहेकी होइन। मकै गोडेकी र रोपेकी होइन न त धान छपछप रोपेकी नै थिई।
लिसा र ममा कुनै त्यस्ता समानता नै थिएनन्।
फुसीमीमा हामीलाई नजिकबाट चिन्नेहरू जिस्क्याउँथे। 'लिसा र खोनाथ बाह्रौँ र एक्काइसौँ शताब्दीका मान्छेहरू' भनेर व्यङ्ग्य गर्थे।
मलाई अति पुरातनवादी धारणा भएको मान्छे भनेर लिसाका साथीहरू भन्थे। तर पनि 'यामातो'ले हाम्रो भेट मात्र गराएन, लिभिङ टुगेदरमा बस्न समेत हामी राजी भयौँ।
लिसा मोडर्न थिई। म गाउँले पाराकै थिएँ। मेरो हेयर स्टाइल मात्र होइन, मैले लगाउने भित्री वस्त्रसम्म लिसा नै रोज्थी। मलाई स्वीकार्य थियो।
हामी सँगसँगै मज्जाले अपार्टमेन्टमै पिउँथ्यौँ। लिसाले पूरै मात्तिएको बेला मलाई भनेकी थिई, 'खोनाथ, तिमी कति इनोसेन्ट छौ यार! यस पटक मामुसँग सबै कुरा राख्छु। भाडमा जाऊन् सबै-सबै, मलाई जीवन जिउन खोनाथ नै चाहिन्छ।'
लिसाले मामु बाबालाई हामी 'लिभिङ टुगेदर' मा बसेको थाहा दिएकी थिइन। भन्न त मैले पनि भन्या थिइनँ।
हाम्रा कहानी सबै भन्ने र सधैँको लागि सँगै हुने योजना समेत कोरोनाले तुहाइदिएको थियो। तुहाइदिएको भन्दा पनि पर सारिदिएको थियो।
यति बिघ्न महामारीमा हामी काम गर्ने 'खाइस्या'हरूले निरन्तर तलब खातामा चढाएकै थिए। लिसा 'सुसी' र म 'कोमेदा कफी' शपमा काम गर्थेँ।
म आफैले मेहनतले पकाएको पाकिस्तानी 'बक्रा'को मासु पनि लिसाले खान्न भनी। ओशोको पुस्तक र प्रवचनको असरले पनि हुन सक्थ्यो। लिसा रात्रिकालीन कामवासनामा समेत फिटिक्कै मन लगाउन छोडी।
म किताब नै लेख्ने भएँ। मेरो वास्तविक कुरालाई लिसाले बकवास भनी।
'खोनाथ, तिमी साह्रै राम्रो पुस्तकका पाठक हौ। साह्रै असल मित्र हौ। एउटा 'खाइस्या'को इमानदार कर्मचारी हौ तर तिमी लेखक हुन सक्दैनौ। खोनाथ तिमी नोबेलिस्ट या आख्यानकार हुन नखोजेकै राम्रो।'
मैले 'नोबेल'को बृहत् क्यानभास तयार पारेँ। पात्र र पात्रता खोज्न थालेँ। लिसाले भनेको जस्तै हुन थाल्यो। मलाई एक पाना लेख्न कठिन भयो। लिसा बत्तिसा देखाएर किचिक्क हाँसी।
ऊ 'मालाला' पढ्दै थिई। मलाई 'तसलिमा नसलिन' पढ्न सजेस्ट गरी तर पहिलो पटक लिसाको आग्रह मैले अस्वीकार गरेँ।
'हेरम्ला लेखक बनेको,' लिसा रिसाई।
मैले नोबेलको बृहत् क्यानभासलाई सयौँ टुक्रामा विभक्त गरेँ।
गुगलमा 'हाउ टु स्टार्ट अ नोबेल राइटिङ' सर्च गरेँ। केही छेक छन्द पाइनँ। म थाकेँ। मानसिक रूपमा म कमजोर रहेछु कि भन्ने लागिरह्यो। एउटा लेखक होइन, झुर लेखक समेत बन्न नसकेकोमा ग्लानि भयो।
लिसाले अँगालोमा बेर्दै भनी, 'खोनाथलाई लेखक होइन, मेरो वैधानिक पति बनाउनु छ।'
मेरो पति पनि खत्रा लेखक बन्छ भन्दा लिसाको सौन्दर्य हरण हुन्थ्यो र? त्यो रिसलाई लिसासामु प्रकट गर्न मिल्थेन पनि।
जापानको विद्यार्थी भिसा लागेपछि पुतली सडक र भोटाहिटीका गल्लीहरूमा निकै चाहरेँ। उद्देश्य एउटै थियो, जापान सम्बन्धी कुनै नेपालीले लेखेको पुस्तक पढेर जापान बुझ्नु थियो।
एउटा पसलेले कुनै दार्शनिकलाई उद्धृत गर्दै भने- 'पढ्न मन लागेको तर नभेटिएको पुस्तक आफैले लेख्नु पर्छ भाइ। तपाईं लेखक बनेर फर्कनुस् भाइ जापानबाट। हामी तपाईंकै किताब बेचम्ला।'
मलाई त्यति बेला जापान पढ्न भनेर जाने 'गाक्कुसेई'हरूको दुःख पढ्न मन थियो। तिनीहरूको सङ्घर्ष मात्र होइन, लभ र रोमान्स पनि पढ्न मन थियो। मलाई लेख्न सामाग्री तयार भयो। नोबेलको बृहत् क्यानभासमा मान्छेको जीवनका अनेकन् परदेशी सुख दुःख, सङ्घर्ष, प्रेम/बिछोड र प्रगति बारे लेख्ने भनेको थिएँ।
नोबेलको नायक भेट्टाएँ। नायिका आफ्नै लिसा छँदै थिई। नायकको नाम खोनाथ राखौँ भन्ने लागेन। संयोग नै भन्नुपर्छ, पोखराको एउटा 'लिट्रेचर फेस्टिभल'मा चिन्तक प्रदिप गिरी 'महाभारतका प्रमुख पात्रहरू' बारे बोल्दै थिए।
'युधिष्ठिर'को महत्त्व जुनसुकै युगमा महत्त्वपूर्ण भए पनि मान्छेहरूले आफ्ना सन्तानहरूको नाम अर्जुन, सहदेव, भीम र नकुल राखे पनि युधिष्ठिर नाम राख्ने नगरेकोमा दुःखी हुँदै थिए।
मैले नायकको नाम 'युधिष्ठिर' राख्ने निर्णय गरेँ। मूल कथा सिकरकटेरीबाटै बगाउँदै काठमाडौँ ल्याइपुराएँ।
काठमाडौँकी नायिका फेरि खोज्नु पर्ने भयो। ओकिनावाको कथामा फेरि नयाँ नायिका चाहिने नै भयो। लेनिन, याकथुम्बा र रोबट मात्रै होइन भ्लादिमिर पनि ओकिनावाका मेरा वास्तविक दोस्तहरू थिए। आवश्यकताअनुसार मैले आख्यानमा सहायक पात्रहरू बनाएँ।
लिसाले सोभियत युनियनका नेता भ्लादिमिर लेनिनलाई टुक्र्याएर दुई जना पात्र खडा नगर्न सुझाव दिई। वास्तवमा भ्लादिमिर पोखरेल र लेनिन नगरकोटी मैले ओकिनावामा भेट्टाएका साथीहरू थिए।
भ्लादिमिर लेनिन सोभियत युनियनको चर्चित नाम नेपाली समाजमा कसरी राखियो? मैले भ्लादिमिर र लेनिनसँग ओकिनावामा पनि सोधिनँ र अब झन् किन सोध्नु? हुनसक्छ उनीहरूका पिता रुसी कम्युनिस्ट नेता भ्लादिमिर लेनिनसँग प्रभावित थिए। अथवा उनीहरूको नामसँग कुनै हिसाबले तत्कालीन सोभियत संघ र हालको रुससँग केही नातो हुन सक्थ्यो।
रोबट सम्बाहाम्फे कुनै 'यन्त्र मानव' थिएनन्।
एफोर साइजको पेपरमा सय पेज लेखेँ। लिसा साँच्चै छक्क परी। कोरोना केही मत्थर भयो। नजिकैको फेमेली मार्ट हल्का खुल्न थाल्यो। स्टारबक्समा बिहानै पुगेर लेख्न थालेँ। लेखाइका पानाहरू थपिँदै गए।
जापान सरकारले कोरोनासँगै लड्ने नीति बनायो। सबै उद्योग धन्दाहरू पूर्ण वा आंशिक रूपमा खुले। 'सुसी खाइस्या'मा एक महिने बिदा मागेर लिसा मामु बाबाको नियास्रो मेट्न नेपाल हिँडी। लिसालाई बिदाइ गर्न 'चुबु' विमानस्थलमै पुगेँ। लिसा रोएको रोएकै थिई। निकै परसम्म मैले 'सायोनारा' भन्दै हात हल्लाइरहेँ।
तर अचम्म! लिसा नागोया फर्किन। पछि मात्रै थाहा पाएँ कि 'सुसी खाइस्या'मा रिजाइन गरेर हिँडेकी रहिछ। महिना होइन, वर्ष दिन पुग्दासम्म लिसाको कुनै खबर पाइनँ।
सामाजिक सञ्जालको दुनियाँबाट लिसा हराई। म पनि सधैँको लागि जापानबाट सिकरकटेरी फर्किएँ। ललितपुरको भैसेपाटीमा लिसाको घर छ भन्ने थाहा थियो। तर खोज्ने दुःख गरिनँ।
चानचुन एफोर साइजको पाँच सय पाना पेपरको हस्तलिखित नोबेल तयार भयो।
लिसा हराई।
मलाई नलेख्न भन्थी। फुसिमीका गल्लीदेखि सिकरकटेरीको आफ्नै घरमा बसेर नोबेल सक्काएँ। सक्काएरै छाडेँ। लिसा म नजिक हुन्थी भने 'खोनाथ, तिमी झुर लेखक भयौ यार' पक्का भन्ने थिई।
उक्त पाँच सय पेजको एक झोला हस्तलिखित पाण्डुलिपि प्रगतिशील प्रकाशनमा जाँच गर्न छाडिदिएँ। निकै व्यस्त 'सम्पादक'ले पात्रहरू धेरै मात्रै होइन, कथा पनि सलल नबगेको र यौनको मामिलामा तपाईंको उपन्यास मूल बाटोमा लाज नमानी नाङ्गै हिँडिरहेको बताइन्।
सिकरकटेरीदेखि नागोया पुग्दा अनि सिकरकटेरीमै फर्कँदासम्मका आठ/दश जना पात्रहरू कटौतीमा पर्ने छन्।
लिसा नहराएकी भए सायद 'सायोनारा' छपाउने झन्झट गर्नुपर्ने थिएन। फेरि छाप्ने खर्च भने यस नोबेलका प्रभावशाली पात्र बिनोद कार्कीले भर्छु भनेकै छन्।
लिसा 'कफी शपमा' बिदा लिएरै नोबेल लेख्दा मलाई गाली गर्दै भन्थी- 'हेर खोनाथ! तिमी फकिर र गरिब लेखक बन्नेछौ।'