‘रोक्नुस कमरेड। त्यता नजानुस् त्यहाँ माइनफिल्ड छ।’ सेक्सन कमाण्डर रक्तिमको चर्को आवाज सुन्नासाथ रोकिई उजेली।
रूकुमको पहाडी क्षेत्रमा पर्ने खारास्थित सैनिक क्याम्पलाई लक्षित गरेर मुक्तिसेनाहरूले गरेको दोस्रो युद्ध चलिरहेको थियो।
पहिलो युद्धमा सफलता हात पार्न नसकेपछि दोस्रो पटक फेरि चैत महिनाको अन्तिमतिर आक्रमण गरिएको थियो। राज्यपक्ष र विद्रोही पक्षका थुप्रै जवानहरू हाताहात भइरहेका थिए। त्यही मोर्चामा मुक्तिसेनाको तर्फबाट लडाइ लडिरहेकी थिई उजेली।
‘कमरेडSSS पानी’। आफूले बोकिरहेको इन्सास राइफलको म्याग्जिन निकाल्दै चिच्याई उजेली।
उसको बोली सुन्नासाथ गोली बोक्ने जिम्मा पाएको कमरेड विवेकले दुइटा लोडेड म्याग्जिन उजेली भएतिर फाल्दियो। युद्धको तयारीको बेला ब्रिगेड कमाण्डर विवेकले गोली सकियो भने ‘पानी’ शब्द पुकार्ने भनी कोड भाषा सिकाएका थिए।
चैतमासको उजाड जंगल, रातको समयमा छापामारहरू पानी पनि नभनी घमासान युद्ध लडिरहेका थिए। लाश बोक्ने टोली डोको, स्ट्रेचर प्रयोग गरेर लाश बोकिरहेका थिए, मेडिकल टोली घाइतेहरूको प्राथमिक उपचार गर्दै सान्त्वना दिइरहेका थिए, बाँकी टोली आ-आफूसँग भएको हतियारबाट लगातार फायरिङ गरिरहेका थिए।
दृश्य कुनै ‘वार’ सिनेमाको भन्दा कम थिएन। ‘कमरेडहरू सबै सतर्क रहनुहोला, दुश्मनले टु इन्च मोर्टारबाट सेल हानिरहेको छ। यो अन्तिम युद्ध हो, सबै जना आफू बचेर दुश्मनको टाउकोलाई निशाना बनाएर फायर खोल्नुहोला। यो युद्ध जितिम् भने हामी नयाँ इतिहास बनाउन सफल हुनेछौं। बन्दुकको सत्ता बन्दुकबाटै ढाल्ने हो कमरेडहरू मनोबल उच्च राख्नुहोला’ पछाडिबाट ब्रिगेड कमाण्डर विवेक मुक्तिसेनाहरूको मनोबल बढाउँदै थियो।
ठिक त्यति नै बेला अँध्यारो आकाशतिरबाट हेलिकप्टरको जस्तो आवाज आयो। नाइटभिजन हेलिकप्टर रहेछ। तुरून्तै सबै छापामारहरू जमिनमा टाँस्सिएर सुते। पाएसम्म कोही बंकरमा छिरे। एक्कासि हेलिकप्टरबाट मेसिनगन फायरिङ र बमको वर्षात सुरू भयो। छापामारहरू ठूलो-ठूलो आवाजमा ऐंया ! मरे ! भन्दै चिच्याउन थाले। उजेली झल्यास्स् ब्युँझिई। आफैलाई छामी, चिमटी। नमरेको पुष्टि गरी। पसिनाले लुछुप्पै भिजेकी उजेलीले विस्ताराको छेउमा राखेको जगमा रहेको एक जग पानी लगभग रित्याई। घडी हेरी। बिहानको ३ बजेको रहेछ। फेरि निदाउने प्रयास गरी।
आकाशमा कालो बादल मडारिँदै छ। चैतमासको हुरी घरको छानो नै उडाउला जसरी बतासिँदै छ। उजेली डराएर खाटको मुनि छिरेकी छ। घरलाई नै उदाङ्गो पारिदिने हावाहुरी चल्न थालेपछि उजेलीकी आमा ‘राम राम’ भन्दै भगवान रामलाई पुकारिरहेकी छ।
एक्कासि पानी दर्किन सुरू गर्यो।
‘यो कुकुरको मूत पनि कति छिटो झर्न सुरू गरेको हो?’ रिस र डर मिश्रित आवाजमा आक्रोश पोखी उजेलीकी आमाले।
‘ए उजेली ! उजेली !! हैन काँ मर्यैछेस? यता मुन्टी त, बाँटी लिएर आइज ह्याँ’।
आमाको बोली सुन्नासाथ उजेली खाटमुनिबाट फुत्त निस्केर पुरानो प्लाष्टिकको बाल्टी लिएर छानाबाट पानी चुहिने ठाउँमा पुगी। बाल्टी राखी। एकछिनमा छानाबाट पानी चुहिएर बाल्टीमा खस्न सुरू गर्यो। तप! तप।
उजेली। अठार वर्षकी भई। घरकी जेठी छोरी। ऊभन्दा मुनि अरू ३ जना बहिनी छन्। ५ कक्षासम्म पढ्न पाएपछि स्कुल जान नपाएकी उजेली बहिनीहरूको हेरचाह गर्ने, खाना पकाउने, गोठाला जाने सबै काममा सिपालु भइसकेकी छ। श्रीमानले अर्की बिहे गरेर हिँडेपछि उजेलीकी आमाले छोरीहरूलाई ज्याला मजदुरी गरेर जेनतेन पालिराखेकी छ, बचाइराखेकी छ। बच्चैदेखि अभाव र आक्रोशको सम्मिश्रणमा हुर्केकी हो उजेली। जहाँ अभाव हुन्छ त्यहाँ आक्रोशले स्वाभाविक रूपमा जन्म लिँदो रहेछ।
उमेरसँगै उजेलीका जिम्मेवारीहरू पनि बढ्न थाले। जिम्मेवारी, अभाव र तनावमा पिल्सिएकी आमा थला पर्न थालेपछि उजेलीको काँधमा झनै जिम्मेवारी थपिएको थियो। भर्खर अठार वर्ष पूरा गरेको काँधले क्षमताभन्दा धेरै भार उठाइरहेको थियो। परिस्थितिले उजेलीलाई एक कठोर नारीको रूपमा विकसित गराइरहेको थियो। आखिर जीवनको विकासक्रम परिस्थितिमै निर्भर हुने त हो।
‘को हुनुहुन्छ घरमा?’ घर बाहिरबाट आएको कुनै पुरूषको आवाजले झस्किई उजेली। बिस्तारै ढोका खोली। छिर्केमिर्के लुगा लगाएको, काँधमा बन्चरो जस्तै बीँड भएको काठको बन्दुक भिरेको, ठूला-ठूला आँखा भएको, नाक र मुखलाई रूमालले लपेटेर छोपेको केटा मान्छेले अरू आठ दश जना महिला पुरूषको अगाडि उभिएर बोलाएको रहेछ।
उनीहरूलाई देख्नासाथ सुरूमा उजेली असमञ्ज्यसमा परेजस्ती भई। गाउँमा मुक्तिसेनाहरू आएका छन् रे भन्ने सुनेकी उसले साँच्चिकै मुक्तिसेनाहरू आफ्नै घरमा आएका हुन् कि भनेर लख काटी।
‘मुक्तिसेनाहरू हाम्रै दु:खलाई सुखमा परिणत गर्नका लागि लडेका हुन् रे! उनीहरूले लडाइँ जिते भने हामीले पनि दु:खबाट मुक्ति पाउँछौं रे, गरिबका पनि दिन आउँछन् रे’ भन्ने सुनेकी उजेलीको मुहार बिस्तारै उज्यालो हुँदै गयो।
खै किन मुक्तिसेनाहरू आफ्नै परिवारका सदस्य जस्तो लाग्यो उसलाई। ढोका भित्रबाट एकटकले हेरिरही। नियालिरही। उनीहरूको आँखामा कता-कता आफ्नै सपनाहरू पौडिरहेजस्तो लाग्यो उसलाई।
‘उजेली भनेको को हो?’ कमाण्डरको प्रश्न भुइँमा खस्न नपाउँदै ‘मै हुँ’ भन्दै छोटो जबाफ दिई उजेलीले।
‘ल हामी हाम्रो डिभिजन कमाण्डरको आदेश मुताविक यहाँ आएका हौं। हामी तपाईंलाई हाम्रो मुक्तिसेनाको फौजमा भर्ती गर्न चाहन्छौं। सामाजिक कुरिती, अन्धविश्वास, सामन्ती सोच, पुरूषवादी चिन्तन र गरिबमारा शासकहरूलाई घुँडा टेकाई गरिब, दुखी, पिछडिएका वर्गहरूको हितमा शासनसत्ता स्थापना गर्ने उद्धेश्यले स्थापित फौजमा तपाईंलाई हार्दिक स्वागत छ कमरेड उजेली।’
मुक्तिसेनाको बोलीमा दम भेटी उजेलीले। कुरा खासै नबुझे पनि उसको बोलीले शरीरमा रगत उम्लेला जस्तो भयो। अनुहार रातो भयो। शरीर काँपेजस्तो भयो। एकछिन केही सोचमा डुबेजस्ती भई उजेली। अनि निर्णय गरी मुक्तिसेनाकै समूहमा समाहित हुने।
परिस्थितिले कठोर बनेकी उजेली अब भने साँच्चिकै कठोर परिस्थितिसँग जुध्नुपर्ने बाध्यतामा आइपुगेकी थिई। मनभित्र गुम्सिएको आक्रोशको ज्वालालाई उसले थुप्रै रणभूमिहरूमा पोख्दै गई।
आफूजस्तै भुइँमान्छेहरूलाई ‘सुख’ नामको निलो आकाशमा उडाउने सपना पूरा गर्नका लागि दिनहुँ बमबारुदसँग सिँगौरी खेल्न थाली उसले। लडाइँमा धेरैपटक मृत्युलाई नजिकबाट नियाल्नपुर्ने परिस्थितिहरूसँग साक्षात्कार गरी।
उजेलीको गाउँको आकाश आज निकै खुलेको छ। निलो आकाशमा कताकति बादलका छिटाहरू स्वतन्त्र रूपमा सुन्दर आकृति बनाएर बसिरहेका छन्। बादलको बीचबाट एउटा सुन्दर पन्छी बेग मार्दै आयो र गाउँको एउटा बुढो रूखभित्र छिर्यो। घर छोडेको आठ वर्षपछि उजेली पनि आज घर फर्की। परिवार, यौवन र उर्वर समयलाई एउटा पाँच लाखको चेकसँग साटेर आएकी उजेली भत्किएको एक्लो घरको अगाडि उभिरहेकी छ। एक्लै। घर, घरजस्तो थिएन। घरमा कोही थिएनन्। ठाउँ ठाउँमा प्वाँल परेको खरको छानो, ढल्ने अन्तिम तयारीमा रहेको गारो, पानी सकिएर रित्तिएको कुवाजस्ता कोठाहरू अनि उसैगरी सबथोक सकिएको उजेलीको उदास मन। सबै एक ठाउँमा जम्मा भएका थिए। आफ्नो परिवार र भत्किन लागेको घर देखेर उजेलीको मन भक्कानिन थाल्यो। उजेली अँध्यारी भई। घर अगाडि घुँडा टेकेर बसी। अनायासै आँखाबाट आँसुका दानाहरू झर्न थाले।
‘नानी, को हौ तिमी?’ नजिकैबाट आएको आवाज सुन्नासाथ दुबै हातका पाखुराले आँसु पुछ्दै उठी उजेली। पछाडि फर्की। सानी हुँदा लुगा सिलाएर ल्याइदिने मास्टरनी दिदी रैछन्। हात जोडेर नमस्कार गरी उजेलीले।
‘ए ! उजेली नानी पौ हुनुनि रै’च, यतिका वर्षपछि फिर्नुभएच, सन्चै आरामै हुनुन्च नानी ?’ नमस्कार फर्काउँदै जिज्ञासा राखी मास्टरनीले।
‘हजुर ठिक छु दिदी, हजुरलाई कस्तो छ? अनि मेरी आमा, बहिनीहरू कता गएचन केई था’पाउनु भाथ्यो र?’
‘जाम नानी हाम्रो घ’राँ, म सबै भन्छु’ आफ्नोपन देखाई मास्टरनीले।
मास्टरनीको पछि लागि उजेली।
‘ल नानी भोक मान्नु भा’होला, यो खानुस्’ कुच्चिएको स्टिलको कचौरामा भुटेको मकै उजेलीको अगाडि राख्दिई मास्टरनीले।
एक पसर मकै हातमा उठाएपछि खै के सोचेजस्तो गरी अनि मुखमा हालेर कर्याम- कर्याम पाउन थाली।
‘कमाण्डरहरूले त युद्ध गरेपछि गरिब, दलितहरू धनी भैहाल्चन्, दिन आइहाल्च भन्थे, आठ वर्षपछि आउँदा पनि हाम्रा मास्टर दाइको परिवार त उस्तै पो रै’च’ उजेलीले मनमनै कुरा गरी।
‘मेरा परिवारको बारेमा भन्नुभएन नि दिदी’ मनको पिरलोलाई प्रश्नको रूप दिई। चुरोटको ठुटो सल्काउँदै गरेकी मास्टरनीले बल गरेर एक सर्को तानी। सेतो र कालो मिश्रित धुवाँ मुख चुच्चो पारेर आकाशतिर फ्याँकी। पिचित्त आँगनमा थुकी। उजेलीले मास्टरनी दिदीको अनुहारमा एकतमासले हेरिरहेकी थिई।
‘के भनम् नानी, तपाईं जंगल पसेको तीन महिनामै तपाईंकी आमा खसिहाल्नु’भो, बहिनीहरू यतै कैले कोहीको -कैले कोहीको घरमा काम गर्दिनी, खानी गर्नुहुन्थ्यो, पछि देशतिर बस्नी ‘को’ मामा हुनुनि रै’च नि तपाईं’हरूको ? हो ह्वा आ’र ले’र जानुभो उतै देशतिर।’
मौन भई उजेली। आँखाबाट बलिनधारा आँसु बगिरहेका थिए।
‘नरूनुस् नानी, अब जे हुनु भै’गौ, हामी छम् त सकेको गरम्ला’ ढाडस दिई मास्टरनीले।
पिँढीमा बसेर मास्टरनीका ससुराले चलाइरहेको हाते सिलाइ मेसिनतिर हेरी उजेलीले, मेसिनको सियोले तलमाथि गर्दै आफ्नै मुटुमा घोचिरहेजस्तो लाग्यो। आँखामा झल्झली आइरहेको आमाको तस्बिरलाई अनवरत बगिरहेका आँसुले बगाउन सकेनन्। बहिनीहरूको मायाले कटक्क मन खायो। बम्बई बस्ने साइँला मामासँग गएको लख काटी उसले। मामासँग सम्पर्क गर्ने कुनै माध्यम थिएन। ऊ केही महिना मास्टरनीकै घरमा बसी। मास्टरनीलाई सघाउँदै।
‘उजेली नानी, एउटा कुरा भन्चु नरिसाउनु है त’
‘लौ! किन रिसाउँदि’हुम् र, भन्नु न’
‘हुन त म सानो जातकी मान्छेले यस्तो भन्न हुन्त्यो कि हुन्तेन, हाम्रा एउटा दाइ छन् के, सरकारी जागिर खा’र उपदान कि के निस्केका रे! चालिस पचास लाख पैसा नि ल्याछन् रे! अनि व्या अर्नि केटी खोज्या छन् रे’
‘ए’ सुनेर खासै वास्ता नगरेजस्तो गरी उजेलीले।
‘अनि मैले चाँई हजुरसँग व्या भए राम्रै हुन्त्यो जस्तो ला’र सम्झेकी हुम् के’ कर्के आँखाले मास्टरनीलाई हेरी उजेलीले।
खै के सोची अनि आँखा झुकाई। मास्टरनीले उजेलीको मन बुझी।
‘ल नानी म कति खुसि भैगएँ, म ह्वाँ ग’र कुरा गरिआल्चु’ उफ्रेर खेतको कान्लो नै नाघम्ला झैँ गरी मास्टरनीले।
उजेली केही बोलिनँ।
झ्यालको पर्दालाई छिचोलेर आएको सुनौलो घामको किरणले ब्युँझाइदियो उजेलीलाई। छेउमा सुतिरहेकी छोरीलाई हेरी। टाउको सुम्सुम्याइदिई। आँखा भरिएर आए। खै के सोची अनि छोरीको निधारमा गहिरो चुम्बन गरी। आमाको आँखाबाट झरेको आँसुको थोपाले निन्द्रा बिथोलियो छोरीको। आमालाई छेउमै देखेपछि मिठो मुस्कान दिई छोरीले।
‘गुड मर्निङ सानु’
‘मन्निङ मामु’ पाँच वर्ष पुगेकी छोरी अझै हल्का तोते बोल्दै छ।
‘मामु पापा खै त’
‘खै सानु हिजो साँझदेखि नै आउनुभा’छैन, म फोन गरेर बोलाइहाल्छु हस’।
‘हस’।
‘सानुलाई पापाको माया लागेको हो?’
‘अँ हो नि मामु’।
छोरीलाई घरभित्रै छाडेर घरबाहिर आई उजेली। फोन गरी बुढोलाई। उठ्यो।
‘हेलो..अँ बुढी भन्’
‘थुक्क जँड्याहा कहाँ मर्याछस् अइले सम्म, अबदेखि यो घरमा पाइला मात्र पारिस् भने तँलाई बाँकी राख्दिन बुझिस्, हिजो रातभर कुकुरको मूत धोकेर जहाँ मुन्टेको छस् त्यहीँ बसेस, मर्न नसकेको मुर्दार’।
सधैं रक्सी खाएर दुःख दिइरहेको आक्रोश एकै सासमा गाली गरेर पोखी उजेलीले।
‘तैँ मर ***, तलाई ब्या गरेदेखि तनाव मात्रै भा’छ मलाई, त्यई भ’र खाकोम्, क्यार्न सक्छेस गर’।
नजिक भए कुटाकुट नै गरम्ला जस्तो गर्यो उजेलीको श्रीमानले।
‘तनाव भा’छ भने भेरीमा फाल फालेर मर जँड्याहा, तँ हुनुभन्दा त नभएकै जाती छ मलाई’ फोन काटी उजेलीले।
एकछिन आफै मुर्मुरिई अनि रिस अलि शान्त पारेर घरभित्र पसी। छोरीले बाकसबाट खेलौनाहरू निकालेर खेलिरहेकी रैछ।
‘मामु ऐंया! भन्नु त’ बन्दुकरूपी खेलौना आमातिर ताकि छोरीले।
‘ऐंया! सानु दुख्यो’ ढलेको अभिनय गरी उजेलीले। छोरी खुसीले उफ्रिन थाली। यत्तिकैमा उजेलीको म्यासेन्जरमा भिडिओ कल आयो। फोन हेरी। एक्कासि उजेलीको अनुहार उजेलिन थाल्यो। फोनतिर हेरेर मुसुक्क मुस्कुराई अनि ढोका ढप्काएर घर बाहिर निस्किई।
‘तिमी यस्ति हिरुनी जस्ती मान्छे कसरी यस्तो जड्याँहाको फेला पर्यौ यार? देउती कसम मलाई तिम्रो लास्टै माया लाग्छ यार उजेली’ भिडिओ कलबाटै उधुम माया पोखिरहेको छ विनय।
‘खै के भनम् कान्छु, जिन्दगीको पानामा सुख र खुसी भन्ने कतै लेख्या रैन्छ, हजुर मेरो सहारा बनेर नआइदेको’भा म उहिल्यै मरिसकेकी हुन्थेँ’ भिडिओ कलमा मात्र देखेको विनयसँग विरह पोखी उजेलीले। उजेली विनयसँग फेसबुकमार्फत् नजिकिएकी हो। प्रत्यक्ष भेट नभएता पनि एकअर्काको प्रेमपासमा परिसकेका छन् उनीहरू।
विनय वैदेशिक रोजगारीको शिलशिलामा साउदी बस्छ।
‘यस्तो आफूभन्दा बीस वर्ष नै जेठो सुड्डोसँग क्यारी बस्न सकेकी यार तिमी?’
‘अब हजुर नआउने बेलासम्म हो कान्छु, बरु छिट्टो आउनु न मलाई त हजुर कैले आउनुन्च भन्ने भैसक्यो’
‘अब आउँछु माया, तिम्ले पठाको पैसाले आजको ठ्याक्कै बीस दिनपछिको टिकट लिसक्या छु, मलाई पनि कैले तिम्लाई भेटेर गर्ल्याम्म अङ्गालोमा बेरम जस्तो भैसक्या छ नि, के गर्नु? परदेशी भएपछि सबै सोचेको जस्तो काँ हुन्च र?’
‘ल हुन्च कान्छु, छोरीलाई ख्वाउन ढिला भो फेरि कुरा गरम्ला है’
‘हुन्च मायालु’ चुम्बनवाला इमोजी पठायो विनयले। पाँच वटा त्यस्तै इमोजी पठाई उजेलीले अनि फोन काटी।
जीवनको सहाराका लागि बिहे गरेकी उजेली बेसहारा जस्तै भएकी थिई। मास्टरनी दिदीको सल्लाह अनुसार अनमेल विवाह गरेकी उजेलीको श्रीमानसँग कहिल्यै प्रेमिल सम्बन्ध हुन सकेन। श्रीमान साथमा भएर पनि उजेलीलाई केही नपाएको नपुगेको जस्तो लागिरहन्थ्यो। खाताभरी पैसा थियो तर उसको मन भने सधैं रित्तो भैरह्यो। खान लाउनको समस्या नभए पनि उजेलीलाई केही कुराको अभाव भएजस्तो लाग्थ्यो। मिठो लाग्ने तरकारीमा नुन नलागेको जस्तो। खल्लो। विवाहको सुरूआती दिनमा हाँसिखुसी रहेको सम्बन्ध विस्तारै बिग्रँदै गएको थियो।
पहिले सोसियल ड्रिङ्क्स गर्ने उजेलीको श्रीमान जँड्याहा हुन थाल्यो। पारिवारिक कलहले तीन चार पटक त उजेली डोरी समातेर जंगलतिर नछिरेकी पनि होइन तर रूखमा डोरी बाँध्न थाल्दा आँखामा झलझली आउने छोरीको अनुहारले रोकिन्थी ऊ।
आफ्नो श्रीमान नाम मात्रको श्रीमान भएजस्तो लाग्थ्यो उसलाई। भर्खर चालीस कटेकी उजेलीलाई साठी नाघेको श्रीमान म्याद गुज्रेको औषधी जस्तो भएको थियो। मनभित्रका हरेक चाहनाहरू भित्रै गुम्सिरहेका थिए। उम्लिरहेका थिए। पछिल्ला दिनमा तिनै चाहना र असन्तुष्टिहरू कलहको रूपमा विस्फोट भइरहेका थिए। ज्वालामुखी जस्तै। अन्तर्मनले चाहिरहेको हनिमुन प्रेमको प्राप्ति नभएपछि असन्तुष्टिका लाभाहरू बाहिरिन थालेका थिए। आफ्नो श्रीमानको आँखामा नशाको अभाव देख्थी उजेली। उसका ओठहरू रस सकिएको सुन्तलाका केस्राजस्ता लाग्थे। हातका औँलाहरू थ्रि नट थ्रि राइफलले फायरिङ गरेपछि भुइँमा फालेका खोका जस्ता लाग्थे। खासमा ऊ पुरूष हो जस्तै लाग्न छाडेको थियो। विष नभएको सर्प जस्तै पुरूषत्वबिनाको पुरूष लाग्थ्यो उजेलीलाई आफ्नो श्रीमान।
खै किन, नभेटेको भए पनि विनय चाहिँ पुरूष लाग्थ्यो उजेलीलाई। मर्द। श्रीमान बिनाका रातहरू विनयसँगको भिडिओ कलमा बित्न थालेका थिए। भिडिओ कलबाटै थुप्रै अश्लिल हर्कतहरू गरेका छन् उनीहरूले। अनि सपनामै भए पनि आएर थुप्रैपटक सन्तुष्ट बनाएको छ विनयले उजेलीलाई।
असोजको महिना। बेशितिर धानका बालाहरू झुलेका छन्। अँगेनाभरी फुल्न थालेका फूलहरूले चाडपर्वहरूलाई स्वागत गर्ने तयारी गरिरहेका छन्। खुला निलो आकाशमा चंगाहरू उडिरहेका छन्। स्वतन्त्र घुमिरहेका कपासरूपी बादलका छिटाहरूले आकाशको सुन्दरतामा निखारता ल्याइरहेको देखिन्छ। बादललाई छिचोल्दै आएको बुद्ध एयरको जहाजले निकालेको आवाजले ध्यान खिच्यो उजेलीको। आकाशतिर हेरी।
‘ओहो! आज त विवेक आउने दिन, कहाँ आइपुग्नुभयो होला ? काठमाडौं झर्नेबित्तिकै फोन अर्चु भन्नुहुन्त्यो, काँ पुग्नु’भो खै?’ विवेकलाई मष्तिस्कले सम्झिएको कुरा मनले पनि बुझिसक्यो। शरीरमा बेजोडको रक्तसंचार भएजस्तो अनुभूति भयो उजेलीलाई। आकर्षक बाटुलो मुहारमा लाजको लाली देखा पर्यो। गुलाबी भई उजेली। ठ्याक्कै फोन आयो विवेकको।
कति लामो आयू, सम्झिनिबित्तिकै फोन अर्नु’भो ट्वाट्ट परी उजेली।
‘हेलो, कान्छु आइपुग्नु’भो?’ हर्षित मुहार बनाउँदै बहुप्रतिक्षित प्रश्न सोधी उजेलीले।
‘अँ भर्खर प्लेनबाट ओर्लेँ उजेली, अब सरासर बसपार्क गएर सिधै तिम्रो घर आउँछु अनि भेट्नुपर्छ ल!’
उजेलीको दुवै खुट्टाले भुइँ छाड्लान् जस्तो गरे। प्रारब्धकै कारण विवेकसँग भेट भएजस्तो लाग्यो उसलाई।
‘हस्, भोली ब्यानै भेट भइआल्च’ गदगद भई उजेली।
‘उजेली मैले तँलाई सारै दुख दिएँ है’ खाटसँगै समानान्तर हुने गरी भुइँमा ओछ्याइएको विस्तारामा पल्टिँदै गल्ती महसुस गरेजस्तो गर्यो उजेलीको श्रीमानले।
‘एकदिन नघिचे त मुन्छेले जस्तै बोल्नी रैचौ त!’ निमठ्ठिँदै जबाफ फर्काइ उजेलीले।
‘तैंले व्यवहार नै त्यस्तै गरिस्, म नि अफिसरको जागिरबाट रिटायर्ड भको मुन्छे हुम्, कुरै नबुझ्ने त छैन नि, तैँले मायाले कैले बोलिस् र मसँग भन त ?’ मनको बह पोख्यो उसले।
उजेलीले सुने पनि नसुनेझैँ गरी।
‘मेरो बुढेसकालकी सहारा भनेर ब्या गरेको हुम्, भन्ने बित्तिकै खुरुक्क आइस्, जातपात हेरिनस्, औधि खुसी छु नि म तर जति गरे पनि तँलाई खुसी दिनै सकिनँ उजेली’ भावुक हुन थाल्यो उजेलीको श्रीमान।
‘बुढो शरीर बेस्मारी बिरामी हुन्चु कि जस्तो भैराछ, पैसा त तैरै खातामा राख्देको छु, मेरो खातामा नि होला तीन लाख जति चेक बनाइदे’को छु परेको बेला निकाल्नु’ सिरानी मुनिबाट हस्ताक्षर गरिसकेको तीन लाख रुपैयाँको चेक उजेलीको हात पार्यो उसले। चेक लिएर आफ्नो सिरानीमुनि राखी उजेलीले।
‘छोरी सुतिसकिछ, ह्याँ आइज न त एकछिन’ उजेलीको हात समातेर तान्न खोज्यो उसले।
‘ह्या के भा होला यो बुढेसकालमा छुपुक्क सुत्न छोडेर’ तल झर्ने मन गरिन उजेलीले। केही बोलेन श्रीमान। अर्को पट्टि फर्कियो। खै के सोच्यो। सुत्यो।
‘सानुको पापा, ए! सानुको पापा..’ सधैं भन्दा अलि मिठो आवाजले श्रीमानलाई बोलाई उजेलीले।
‘हँ भन त के भो’
‘ह्याँ आउनु न, गाउँबाट दाइ आउनुभा’छ’
‘ए! नमस्कार हजुर’
‘नमस्कार, ज्वाइँ साप, मेरो नाम विवेक, घर त्यहीँ तपाईंको ससुराली घरको तल्लो घर, विदेशतिर थेँ चिन्नुहुन्न होला हजुरले’ एकैसासमा कुरा राख्यो विवेकले।
‘हजुर हजुर, म नि तेतातिर खासै जान पाउन्न, भेट भो खुसी लायो’
‘ल ज्वाइँ साप अरू कुरा भन्या त्यस्तै हो, पैलो चोटि भेट भच, विदेशी बोकेर ल्याछु आज मस्त खानुपर्छ’ झोलाबाट रक्सीको बोतल निकाल्दै प्रस्ताव राख्यो विनयले।
‘ल उजेली, यो चाहिँ भान्जीलाई अनि यो चाहिँ ज्वाइँ जेठानको सितन।’ एक बट्टा चकलेट र एक किलोको झोलामा रहेको मासु उजेलीको हात पार्यो विनयले।
उजेली झोला बोकेर भान्सातिर छिरी।
‘अलि बिमारी नै थेँ, अब जेठानसापले भनेपछि मान्नैपर्यो भनेर मात्र हजुर’ पहिलो पेग चियर्स गरे विनय र उजेलीको श्रीमानले।
‘खानु पर्यो नि ज्वाइँ साप, अब फेरि भेट हुने हो कि नहुने हो, बल्ल पैलो पटक भेट भा’छ’ उक्सायो विनयले।
उजेलीको श्रीमानले रक्सी थप्दै गयो, उजेली सितन ल्याउँदै गई। विनय आफूले कम खाएर उजेलीको श्रीमानलाई धेरै रक्सी खुवाइरहेको थियो।
भित्ताको घडीले रातको एघार बजायो। छोरीलाई अर्को कोठामा सुताएर उजेली खाटमाथि भित्तामा अडेस लाएर बसिरहेकी छ। उजेलीको श्रीमान रक्सीको नशाले फिलिली भइसकेको छ। विनय हल्का नशाको सुरमा उजलीसँग आँखा जुधाइरहेको छ। उजेलीको श्रीमान बिस्तारामा पल्टियो। एक्कासि विनय उजेलीको श्रीमानको शरीरमाथि उक्लियो। उसको पेटमा बस्यो। उजेलीसँग उसैले ओडिराखेको सल माग्यो। उजेली के गरम् कसो गरम् भन्दै आत्तिँदै सल दिई। विनयले सललाई दुई हातमा बेरेर उजेलीको श्रीमानको घाँटीमा दबाउन थाल्यो।
‘ऐंया! गुहार !’ सानो आवाज निस्क्यो उजेलीको श्रीमानको मुखबाट।
‘उजेली ह्याँ आऊ, नाक र मुख थुन्देऊ यसको’ सासले बोल्यो विनय। उजेलीलाई सबै सपना जस्तो लागिरहेको थियो। उजेलीले दुइटा हातले श्रीमानको नाक र मुख बन्द गरिदिई।
‘अब हाम्रो बीचमा कोई छैन उजेली। अब तिम्लाई कसैले दुःख दिन्न। माया, मात्र मेरो मायाकी हकदार भएकी छ्यौ तिमी अब।’ उजेलीका हात काँपिरहेका छन्।
ओठमुख सुकेर प्याकप्याक भइरहेको छ। आँखाबाट आँसु बगिरहेका छन्। खाटमा थचक्क बसी उजेली। विनय जुरूक्क उठ्यो। उजेलीको हात समात्यो। आँसु पुछिदियो। निधारमा गहिरो चुम्बन गर्यो। उजेलीको शरीरका एक-एक बस्त्रहरू उतार्न थाल्यो। भिडिओ कलमा गरेका हरेक हर्कतहरू यथार्थमा दोहोर्याइरह्यो। उजेली कुनै प्रतिक्रिया बिना पल्टिरहेकी छ। श्रीमानका आँखा उजेलीको बिस्तारातिरै फर्किएका छन्। हेरिरहेका छन्।