झ्यार झ्यार छ
झ्यार झार् मात्रै छ
न सुशासनको, न सामाजिक न्यायको
न जिम्मेवारीबोधको, न समृद्धिको
न पद्धतिको, न मूल्य मान्यताको
खोइ, कुनै दृश्य स्पष्ट छैन त!
राज्यले समुन्नत भविष्यमा आश्वस्त पार्न नसकेपछि
स्क्रिनमा किरिङमिरिङ भएको अवस्थामा
टेलिभिजन हेर्दाहेर्दै
जर्याकजुरुक उठेर
केटाकेटी आआफ्नो बाटो लागे पछिको
बैठक कोठा जस्तै भएको छ— देश
हामी अगाडि जाँदै छौँ
कि पछाडि जाँदै छौँ
कि एकै ठाउँमा फनफनी घुमिरहेका छौँ?
हामी बाटामै छौँ
कि बाटोभन्दा तलमाथि छौँ?
कि बाटो नै नभएको स्थलमा आइपुगेका छौँ?
त्यो पनि स्पष्ट भएन।
नेताका हावादारी गफलाई पत्याएको भावमा
टाउको हल्लाउनु पर्ने
र तिनकै उडन्ते बकवासमा
विज्ञ समूहले सही थापिदिनु पर्ने
कति निरीह भएर बाँचेका छौँ— हामी!
तपाईं सत्तामा कि सत्ताको विकल्पमा?
तपाईं शक्तिमा कि शक्ति खोसिएको अवस्थामा?
तपाईं देशमा कि विदेशमा?
तपाईं सक्रिय राजनीतिमा कि नागरिक समाजको कित्तामा?
कहाँ बसेर हेर्दै/भोग्दै हुनुहुन्छ?
र कस्तो देख्नुहुन्छ—
त्यहाँबाट लोकतन्त्रको यो अभ्यासलाई?
बक्स अफिसमा रेकर्ड ब्रेक गरेको
सुपर डुपर फिल्म थोत्रो स्क्रिनमा हेरे जस्तो
किन झ्यार-झ्यार मात्रै छ—
हामीकहाँ लोकतन्त्र?