'आयो आयो, हरियो मार्फा नेपाली साग, आउनुस् आउनुस्। ए दिदी, ए दाइ, आउनुस् आउनुस्। सकिनै लाग्यो है पुग्दैन फेरि पनि भाग। आउनुस् ताजा-ताजा अर्गानिक साग, काउली, बन्दा, गोलभेँडा लैजानुहोस्...'
तरकारी पसल माछापोखरी काठमाडौँ। बाक्लो उनको टोपी, लामो जुवारी कोट अनि अलि मैलो पुरानो जुत्ता। हात हल्लाउँदै कराउँदै छन् समसेर बाजे। मानिसको चाप उस्तै छ।
साँझ ५ बजेको थियो होला। कलेजबाट आउँदै गरेको म पनि त्यही भिडमा उभिएको थिएँ। खै कुन्नि किन हो, मतिर हेर्दै पुनः एक पटक कराउँदै थिए समसेर बाजे!
म त चिन्दिनँ बाजेलाई, किन बोलाउँदै छन्? मनमनै सोच्दै थिएँ। सायद तरकारी लैजान्छ कि लाग्यो होला बाजेलाई। त्यसैले त पुनः एक पटक मतिर हेर्दै फेरि जोडले कराउन थाले। किन होला बोलाएका सोचेर म बाइक साइडमा लगाएर बाजेको नजिकै पुगेँ। बाजेले मलाई नियालेर हेर्दै थिए।
मनमा अनेक प्रश्न थियो। म बाजे नजिकै पुगेँ। एकैछिन उनी मौन नै थिए। फेरि एकछिनपछि 'बाबु बस्नुस् न' भनी बोराले टालेको मुडा म भएको ठाउँसम्म ल्याइदिए। केही भन्न खोज्दै थिए, त्यसैले म पनि एकैछिन त्यही अड्डिएँ।
अब भने आफूलाई नरोकी यसरी एकटकले हेरिरहनु भएको देखेर सोधिहालेँ, 'हजुरबुवा किन बोलाउनु भएको?'
सायद मेरो नै प्रश्नको खोजीमा थिए। हत्त न पत्त गोजीमा भएको पुरानो थैली निकालेर मेरोजस्तै ड्रेस लगाएको युवकको फोटो देखाइहाले।
मैले सोधेँ, 'बुवा, को हुन् र उनी?'
समसेर बाजेले सुक्क-सुक्क गर्दै मलाई अङ्गालो हाले। म अन्योलमा थिएँ।
लामो सास फेरेर गोजीबाट बिँडी निकालेर सल्काउँदै अलि ठट्यौली शैलीमा 'बाबु नि खान्छौ र?' भने। मैले नाइँ भनिदिएँ।
भक्कानिएका समसेर बाजे मलाई हेरेर भन्न लागे, 'बाबु कृषि पढ्दै छौ हो?'
म अचम्म परेँ कसरी थाहा पाउनु भएछ भनेर। 'हो बुवा' भनेर मैले टाउको हलाइदिएँ। सायद मलाई केही भन्न खोज्दै थिए, त्यसैले केही बेर कुरा गर्ने निधो गरेर म त्यही बसेँ। मेरो नाति भन्दै मेरो गाला सुमसुम्याउँदै थिए।
'हजुरबुवा, भन्नुस् न' भनेपछि लामो सुस्केरा हाल्दै आफ्नो व्यथा सुनाउन थाले।
'मेरो नाति अविनाश पनि तिम्रोजस्तै लुगा लगाएर क्याम्पस जान्थ्यो। सधैँ हजुरबुवा भनेर मलाई निकै माया गर्थ्यो। कहिलेकाहीँ सघाउँथ्यो पनि। अब म मेरो हजुरबुवाको गाडालाई सटरमा सारेर ठुलो मार्ट बनाउँछु है बुवा भन्थ्यो सधैँ। जसोतसो गरेर घर चलेकै छ किन चाहियो मार्ट सार्ट भनेर भन्थेँ म पनि। पढाइमा पनि अब्बल थियो। म पढेर सक्ने बित्तिकै कृषि क्रान्ति गर्छु बुवा भन्थ्यो। अनि बाबु चाहिँ के गर्ने सोचमा छौ त?'
मैल अलमलिएर जवाफ दिएँ, 'खै! यहाँ बसेर नि के गर्नु? म त विदेश जान्छु होला बुवा।'
मैले यति भनी नसक्दैमा समसेर बाजे मलाई हेर्दै 'बाबु, त्यो विदेश कि के देश नजाऊ है तिमी नजाऊ' भन्दै भक्कानो छाडेर रुन लागे।
'किन र बुवा?' मैले आफूलाई नरोकी सोधिहालेँ।
मेरो नाति अविनाश पनि 'बा, म सिकेर आउँछु। यहाँ नयाँ प्रविधिबाट खेती गर्नु पर्छ अब हामीले अनि हामी धेरै तरकारी फलाएर बेच्नु पर्छ है भन्थ्यो। अहिले खै कता छ कुन्नि, केही खबर नि आएको छैन बाबु।'
'ए ए अनि फोन सम्पर्क हुँदैन बुवा?'
'खै बाबु, सरकारले सिक्नको लागि भनेर कुन्नि कुन देश पठाएको थियो अहिले त्यहाँको युद्धले गर्दा त्यतै अलपत्र परेको छ भन्ने सुनेको थिएँ। यी हेर त यही हो मेरो नाति,' मैलो भइसकेको पत्रिका निकालेर गहभरि आँसु बनाउँदै आफ्नो नातिको तस्बिर देखाए।
विचलित भएका समसेर बाजेले सायद आफ्नो मनको गाँठो फुकाउन मलाई नै रोजेका थिए। उनी आँखाभरि आँसु जमाएर मतिर हेर्दै लामो सुस्केरा हाल्दै थिए।
एकैछिनमा गाडाको मुनिबाट आगोमा मकै पोलेर 'लाऊ बाबु मकै खाऊ' भनी मलाई मकै दिए।
नाजवाफ म केही नबोली मकै लिएँ।
पुनः एक पटक बिँडी सल्काउँदै बाजे मतिर हेरेर भन्दै थिए, 'बाबु, विदेश चाहिँ नजाऊ है। यतै खोजी गर, यतै प्रयास गर तर बाबु विदेश नजाऊ है।'
मेरो गाला सुमसुम्याउँदै सुक्क सुक्क गर्दै फेरि 'आउनुस् हजुर आउनुस्, ताजा ताजा हरियो साग लग्नुस्' भन्दै भट्ट्याउन थाले।
बेलुकीको ७ बजिसकेको थियो। समसेर बाजे 'अब छिटो छिटो बेच्नु पर्छ फेरि महानगरले फालिदिन्छ बाबु' भन्दै थिए।
'बाबु, अविनाशलाई खोज्न म कता जाऊँ?' एक पटक फेरि भक्कानिएका समसेर बाजेले आफ्नो गुनासो मतिर पोख्दै थिए।
म भने लाचार भएर 'बुवा, सरकारले पहल गरेको छ। हजुरको नाति छिट्टै आउनेछन्' भनी एक पटक झुटो आशा जगाएर त्यहाँबाट निस्किने निधो गरेँ।
'ल बुवा, म जान्छु। अबदेखि आउँदा जाँदा पस्छु नि है' भनेर त्यहाँबाट निस्किएँ।
'ल हजुर, आउनुस् आउनुस्
आफूलाई चाहिएको तरकारी छानी छानी लग्नुहोस्'
मैलो ऊनको टोपीले आँखाको आँसु पुछ्छन्। पुरानो पत्रिका कोटको गोजीमा हालेर गाडा लिएर बाँकी भएको तरकारीको झोलासहित बाजे माछापोखरीबाट फर्किन्छन्।