समयलाई जित्न खोज्दाखोज्दै
समयले नै जितेछ
त्यो जोस, उमङ्ग, पुरुषार्थ
समयसँगै सबै बितेछ
जो जवानीमा साथीहरू थिए
ती सबै सबै छुटेछन्
पदमा रहँदा अघिपछि जो गर्थे
ती कता-कता पुगेछन्
नातागोता जो परिवार आफ्ना
तिनले पनि वास्ता गर्न छोडे
छोराछोरी नातिनातिनाले
आफ्नै छुट्टै संसार जोडे
मनमा कुरो खेल्छन् धेरै
बोलूँ कोसँग गर्छन् झर्को फर्को
त्यत्रो चहलपहल त्यत्रो विरासत
शून्य शून्य भयो जिन्दगी नै अर्को
बूढो भयो कमजोरीले गल्दै गयो
शरीरसँगै यो मन पनि ढल्दै गएछ
यो धन यो महल अब के काम र
विगतका खुसी आज आँसु भएछ
समयलाई जित्न खोज्दाखोज्दै
समयले नै जितेछ
त्यो जोस, उमङ्ग, पुरुषार्थ
समयसँगै सबै बितेछ।