के तपाईंलाई 'लभ एट फस्ट साइट'मा विश्वास लाग्छ? मलाई लाग्छ। आकाशको जूनलाई समीपबाटै नदेखेरै मन पराइन्छ। पूर्णिमाको चन्द्रमा टाढैबाट प्रेमिल लाग्छ। सबैथोक साथमा नहुँदै पनि प्रेम हुन्छ। प्रेम दूरीभन्दा पनि भावना हो।
प्रितिमा पराजुली, नाम जस्तै राम्री देखिन्छे। फेसबुकको 'पिपुल यु मे नो' मा भेटिएकी थिई। चञ्चले मन अझ भनौँ भरभराउँदो यौवनमा देखे जति सबै मन पर्दो रहेछ।
लाग्थ्यो, मलाई मात्रै यस्तो हुँदो हो कि अरूलाई पनि? आफ्नो कुराहरू अरूसँग सेयर नगर्ने म पछि साथीभाइको सङ्गतबाट थाहा भयो, सबैलाई उस्तै हुँदो रहेछ।
कति राम्री केटी, कस्तो राम्रो फिगर लगायत यस्तै-यस्तै धेरै कुराहरू सुनाउँथे साथीहरू। म भने उनीहरूका कुरा सुनेर केवल अँ मात्रै भन्थेँ। यस्तो कुरामा खै किन हो म अलि गोप्य नै छु। मलाई त्यस्तो लाग्यो भने पनि साथीहरूलाई भन्दिनँ।
प्रितिमालाई मैले फेसबुकमा एड गरेँ। सीमित साथीहरू मात्रै फेसबुकमा राखेकी उसले किन हो मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिछ। उसको प्रोफाइल खोलेर हेरेँ। ऊ मलाई साह्रै मन परी।
यसो भन्दै गर्दा यौवनमा सबै त मन पर्छ भन्ने नलागेको हैन। केटा मान्छे बैँसमा प्रायः दुई किसिमले केटीप्रति आकर्षित हुन्छ; एउटा प्रेम अर्को यौन। ऊप्रति म प्रेम भावले आकर्षित भएँ।
रातो मखमलको साडीमा सजिएकी, लामो कपाल अगाडि दुई तिर छोडेकी, निधारमा रातो टीका, मुहारमा मिठो मुस्कान। मानौँ ऊ राजदरबारको महारानी हो। दरबारको भव्य समारोहमा उपस्थित हुन सजिएको बेला कुनै प्रख्यात फोटोग्राफरले फोटो खिचिदिएको हो। अनि राखेकी हो फेसबुक प्रोफाइलमा।
मन परेको मान्छेसँग बोल्न मन लाग्ने मान्छेको स्वभावनै हो। मलाई पनि ऊसँग बोल्नु मन थियो, प्रविधिको माध्यमबाट भए पनि।
हेल्लो लेखेर पठाइहालेँ। रिप्लाई आएन बरु अर्को दिन म्यासेज हेरेर मात्रै छोडिदिई। फेरि हाई लेखेर पठाएँ। उस्तै म्यासेज हेरेर मात्रै छोडी।
फेसबुक स्टोरीहरू राखिरहन्थी, म कमेन्ट गर्थेँ तर उसले वास्तै गर्दिन थिई। अझ भनौँ उसलाई मसँग बोल्नु नै थिएन। एक चोटि मन्दिर गएको फोटो राखेकी थिई। मैले 'गड ब्लेस यु' लेखेर पठाएको 'थ्याङ्क यु' लेखेकी थिई। त्यो बाहेक ऊसँग बोलचाल नै भएन।
उसले वास्ता नगर्दा पनि खै किन हो म भने अझै पनि ऊप्रति सकारात्मक नै थिएँ। बिस्तारै म्यासेज गर्न छोडिदिएँ। फेसबुकमा साथी भइरहेर होला उसका फोटो, भिडिओहरू हेरिरहन्थेँ।
समय बित्दै गयो। मेरो नयाँ कार्यक्षेत्र देवघाट तनहुँमा भयो। कालिगण्डकी र त्रिशूली नदीको सङ्गमको रूपमा रहेको पुण्यभूमिमा काम गर्न पाउनु मेरो लागि खुसीको कुरा थियो। नारायणगढ बजारमा बसेर कार्यालयमा काम गर्न सकिने ठाउँ मेरो लागि अतितम भयो।
शनिबार कर्मचारीहरूको लागि बिदाको दिन। जागिर गर्न लागेको भर्खर-भर्खरको समय थियो। नौलो अनुभव, नयाँ परिवेश भयो मेरो लागि। पहिले जति बेला जुनसुकै काम गरे पनि हुने अहिले शनिवार मात्रै सबैथोक भ्याउनुपर्ने। विगतको भन्दा तालिका पूरै परिवर्तन भएको थियो।
काम सकेर यत्तिकै बसिरहेको बेला सहकर्मी साथीहरू नारायणी किनारतिर घुम्न जाने भन्नुभयो। अरू दिन फुर्सद नहुने, सबै जना एक छिन फ्रेस हुन घुम्न जान भनेर लाग्यौँ उतैतिर। हिँडेरै केही बेरमा पुग्यौँ सबै जना। नारायणी नदीको सुन्दर दृश्य, भगवान् गौतम बुद्धको प्रतिमा, साँझपखको मान्छेको रमाउने उत्साह, मोटरबोटमा रमाइरहेका मानिसहरू साँच्चै रमाइलो रहेछ। हामी पनि रमायौँ त्यहाँको वातावरणसँग।
केही फोटोहरू खिच्यौँ, भिडिओ बनायौँ, खाजा खायौँ अनि तिरैतिर हिँड्ने भनेर केही माथिसम्म पुग्यौँ। हिँड्दै गर्दा अचानक मेरो नजर ट्याक्क अडियो एक युवतीमा। ऊ त्यही थिई जसले मलाई भाउ दिएकी थिइन। अझ भनौँ वास्ता गरेकी थिइन। त्यो केटी प्रितिमा नै थिई।
केही संयोगहरू मिठा हुन्छन् भनेर पढेको आज साँच्चै लाग्यो। जसलाई मनले चाहेको थिएँ कुनै बेला, आज उही अनायासै भेटिई। एक्लै भएको भए सायद बोल्थेँ पनि होला। म पनि साथीहरूसँग थिएँ, ऊ पनि साथीहरूसँगै थिई। दुवैको आँखा हेराहेर मात्रै भयो।
कोठामा पुग्ने बित्तिकै धेरैपछि उसलाई फेसबुकमा खोजेँ। यदाकदा देखिरहे पनि खोजेर नहेरेको धेरै भएको थियो। अघि भर्खर साथीहरूसँग घुम्न गएका फोटोहरू राखेकी रहिछ। ऊ फेरि पनि राम्री नै लागि मलाई।
हो, ऊसँग मेरो आकर्षण नै हो तर पनि खै मनसुनकी मनसुन जस्तै लाग्छ आफैलाई। उसलाई देखेपछि अरू सबै बिर्सिने।
फेसबुकमा बोलाउन छोडेको थुप्रै भएको थियो। नबोलाउने कारणहरू थिए। आज फेरि देखेपछि बोलाउन मन लाग्यो। हाई लेखेर पठाएँ। पहिलेजस्तै जवाफ आउँदैन लागेको थियो तर केही समयपछि हेल्लो आयो। एक छिन त विश्वास लागेन तैपनि सत्य थियो।
'सन्चै छौ?'
'नाइँ बिरामी छु।'
'बिरामी मान्छे घुम्न जान्छन् र?'
'जान्छन्। सद्दे मान्छे मात्रै घुम्नु भन्ने छ र?'
ऊ बिस्तारै मसँग बोल्न थाली। मलाई उसलाई सुनाउनु पर्ने थुप्रै कुराहरू थिए। उसको तारिफ गरेर लेखेको मुक्तक थियो।
हेरिरहन्छु हरेक चोटि क्या दामी रैछ
सुहाएको अतिबिधि क्या दामी रैछ
परीजस्तै मुहार तिम्रो अझ त्यसैमाथि
ओठमाथिको कालो कोठी क्या दामी रैछ।
पठाएँ। ऊ पढेर हाँसेको इमोजी पठाई।
ऊ जति बोलाउँदा पनि नबोल्दा लेखेको अर्को मुक्तक थियो-
शब्द निस्किँदैन नि, पैसा लाग्छ र
परे तिरिदिउँला म नि, पैसा लाग्छ र
जति बोलाउँदा पनि बोल्दिनौ
तिमी बोलेको पनि पैसा लाग्छ र?
यो पनि पठाएँ। मैले अनुमान गर्न सक्थेँ ऊ कति हाँसेकी होला भनेर। यता म पनि हाँसिरहेको थिएँ।
मलाई ऊ मन पर्नुका केही कारणहरू थिएनन्। उसो त प्रेम गर्नेहरू बिना कारण मन पर्छ भन्थे होला। अझै पनि ऊसँग मलाई प्रेम हैन आकर्षण हो भन्ने लाग्छ। ऊ मलाई बैँसको आवेगमा मन परेकी हो। तैपनि खै किन हो कैयौँ यात्रामा एक्लै हुँदा पनि ऊसँग यात्रा गरेको कल्पना गरेको छु।
ऊसँग धेरै कुराकानी भएको छैन। ऊ खुलेर बोल्न थालेकी छे। जिस्काउन थालेकी छे। संयोगले हैन समयले भेट्ने कुरा भएको। यस्तै आउँदो शनिवार। अब म त्यही दिनको पर्खाइमा छु।