खुट्टामा चिसो पानी पर्यो। कसैले खुट्टा हल्का थिच्यो या मिच्यो। खस्रो पानीले बिझायो। जीउ सक्-सक् गर्दैछ। कता-कता पानीको छिटा पर्दैछ। उकुसमुकुस छ।
अहो! ओठमा पानी पर्यो। मुखभित्र छिरेन, चिउँडोको छेउबाट घाँटीतिर झर्यो। मान्छे, घण्टी, गीत, खोला, घरीघरी एकोहोरो शङ्खको फुकाई मिश्रित ध्वनि बजिरहेछ। यो कस्तो उच्चाट हो, कस्तो सकस हो! यो के हो? कहाँ हो? किन हो?
ध्यानमा जानुपर्यो।
धेरैअघि शिवपुरीमा विपश्यना गर्दा ११ दिन कट्न ११ जुनी लागेको थियो। किनकि म ध्यान गर्न गएकै थिइनँ वा त्यसको लागि तयार नै थिइनँ। म फगत आफ्नो दृढता जाँच्न गएको थिएँ। ध्यानका सत्रहरूमा गोयन्काजीको भारिभरकम रेकर्डेड स्वरले 'भवतु सब्ब मंगलम्' भन्दा ठुलो राहत हुन्थ्यो। धम्मश्रृंगको वातावरण र अन्य ध्यानार्थीसँगको सत्सङले थोरै ध्यान लाग्यो कि!
पछि जीवन विज्ञानको चक्र साधनाको शिविरमा बस्दा अचेतन मनले विपश्यनालाई सँगालेर राखेको थाहा भयो, अनौठो खुसी लाग्यो। मान्छेले सम्झन सक्ने उमेरदेखिकै सम्झना बोक्दो रहेछ। दैनिकीमा नदेखिए पनि फर्म्याट गरेको हार्डडिस्कमा डाटा भित्रै कतै रहेजस्तै मस्तिष्कको कुनै कुनामा सुषुप्त हुने रहेछ। अनि कहिले चाहिएको बेला, कहिले नचाहिएको बेला टप्किँदो रहेछ।
ध्यान लगाउने प्रयास गर्दा मनभित्र यस्तै कैयौँ मथिङ्गल चले। मन न हो, कहाँ अडिन्छ र!
चित्तलाई नाकको द्वारमा केन्द्रित गरेर श्वासको आवागमनलाई हेर्ने प्रयास गरेँ। अरे! छैन त? ल्या! झसङ्ग भएँ। डर लाग्यो। सिरिङ्ग भएँ।
आज्ञा चक्रमा ध्यान दिने प्रयास गरेँ। आँखाका गेडी आँखीभौँ बिच फर्किन खोजे जस्तो भयो। ए बाबा, हेर्ने हैन ध्यान पो दिने हो त! सिकाएँ आफैँलाई। आँखा आफ्नै ठाउँमा बसेर ध्यान पो त्यहाँ लाने हो त!
नजाने कुन भिड हो यो, कुन हटिया हो, कुन उत्सव हो, वा पीडा उत्सव? मान्छे रुँदै छन्, ग्वाँ-ग्वाँदेखि हिक्क-हिक्कसम्म। निःशब्दहरूको श्वास रुँदैछ, बिच-बिचमा अड्किँदै।
बोलेको अस्पष्ट छ। 'जटाटवी गलज्जल निनाद वड्डमर्वयम' सुन्दै छु शङ्कर महादेवको स्वरमा। त्यसलाई ढाक्ने गरी अर्को सुन्छु, 'एक दिन त जाने हो संसार छोडेर...'
कसैले उचाल्यो, फेरि राख्दियो। ओछ्यान बिझायो। यो ओछ्यान हो कि भाटाको चित्रो हो?
देब्रे खुट्टा दाहिनेतिर सार्यो कसैले। काँध र कम्मरमुनि समाएर अलिक मास्तिर सारे। जुरुक्क माथि उचाले। उडेको त हैन, लय र गति मिलेको छैन। उचाल्दा एकतिर ढल्कियो, टाउको पल्टिएजस्तो भयो, मिलाए अनि अडिएँ। सौराहामा हात्ती चढेको याद आयो, लचक लचक।
एकोहोरो शङ्ख बज्दैछ।
'राम नाम सत्य हो, बाँकी सब मिथ्या हो'
लचक लचक लचक लचक। हतारमा छन्। घरीघरी कतै छुँदै छन्। उकुसमुकुस छ। केही हलुका चिजले छोयो, फूल होला, परबाट फुत्त फ्यालिदिएको। अनुहार टट्टाएको छ, अबिरले होला। आनन्द लाग्न थालेको छ, निरपेक्ष आनन्द।
थचक्क राखे। तलबाट खुट्टा समाए, घाँटीको दुई पट्टिबाट टाउको समाए। हतारमा छन्। 'अलिक उचाल् न!' 'नठेल् न!' 'बिस्तारै बिस्तारै'।
फेरि राखे। यो भाटाको चित्रो हैन, बाक्लो छ। टाउको अडिएन। कसैले दह्रो गरी टाउको उचालेर तलको वस्तुलाई मिलायो, टाउको अडियो। दाहिने घुँडा अलिक माथि भयो। ढाडमुनि बिझाएजस्तो छ, छेस्को छ कि! लुगा फेरिदिए कि खोलिदिए। थोरै चिसो, तर आनन्द छ।
बर्खा मासको खोला साबिकभन्दा अलिक रिसाएजस्तो छ। सिर्र बतास चलेको छ। मूर्धन्य सङ्गीतकारको करुण रागमा डुबेको मौसम छ। निस्पट्ट निराकार छ, शान्त छ र आनन्द छ।
अँगालो हालेजस्तो भयो। लाग्यो जुरुक्क उठेर अँगालो हालिदिऊँ र फकाऊँ या सँगै रोऊँ। 'ह्या छोड् केटा। यो मायामोह सब भ्रम हो। ध्यान सत्य हो। ध्यान मै त आनन्द छ!' छाडिदिएँ।
कसैले खुट्टा छोयो। जोडले अँठ्यायो, छाड्यो। कोही आएर टाउकोमा झुक्यो, निधार चुम्यो कि! पेटतिर फुत्त केही झर्यो, हलुका।
झस्किएँ। नाक र मुखको बिचमा के राखे। पट् पट् गर्दैछ। पोल्ने हो कि!
मधुरो धुवाँ उडेजस्तो भो। पट् पट् पट् पट् चर्चर् स्याँस्याँ पट् पट्।
हावाको एउटा दह्रो झोँका चल्यो, सुस्तरी उडेँ। आहा! कस्तो आनन्द!
म फेरिँदै छु। हलुका भएँ। माथि टिनको २ तले छाना छ। पहिलो र दोस्रो तलाबिच खुला ठाउँ छ। छानामाथि ठूला-ठूला बेलुन तैरिँदै छन्। कि ती मान्छे हुन्? ती नाच्दै छन् कि हावाले हल्लाउँदै छ तिनलाई? बेलुनका हात हुन्छन् र? मलाई तिनले छोएकै छैनन् त, म किन तानिँदै छु? तल सबै रोइरहेका छन्, माथि सबै किन रमाइरहेका छन्? मलाई माथिको खुसीले किन तान्दै छ? मलाई उड्न किन मजा भइरहेको छ?
म टुक्रिएर असङ्ख्य म भएँ। कुनै म हुत्त उड्दै छु, कुनै म सुस्त उड्दै छु। उड्दै कि तैरिँदै छु! फेरि सिङ्गै पनि छु, असङ्ख्य पनि छु। प्याराग्लाइडिङभन्दा रमाइलो छ। बिझाएको छैन, पोलेको छैन। कसैले समाएको तानेको छैन। परम् आनन्दमा छु।
अब म तलका मान्छे देख्न र चिन्न सक्दै छु। मिसिएका बोलीहरू छुट्टाउन सक्दै छु।
बाँसले चिता हुँडले एकजनाले। कसैले घिउ थप्यो, चर्र गर्दै एक लप्का आगो मास्तिर लम्कियो। भेट्ला भनेर अलिक सरेँ। सर्न सहज छ, कता-कता जीउ बङ्ग्याएजस्तो गर्दा भइहाल्ने। रबरभन्दा लचिलो। क्या आनन्द!
सुकेका दाउरामाथिको घिउ बल्दा ढल्दै गरेको रात जाग्यो, छेउछाउ उज्यालो भयो, धमिलो खोलाको एक अंश टल्कियो।
वरिपरि निःशब्दता छ। कसैले पछाडिबाट आएर 'भर्खर पो रहेछ' भन्दा कोही बोलेन, शून्यता चिच्यायो।
पर पेटीमा दुई वृद्ध अर्काको कुमतिर ढलेका छन्। तिनका आँखा रसिला छन् तर आँसु चाउरिएका छालाबाट तल झर्न सकेका छैनन्। दुई बालखहरू तिनै वृद्धसँग टाँसिएका छन्।
एउटी अधबैँसे महिला ऐँठनबाट बिउँझिए जसरी उठिन् र चितातिर दौडिइन्। ३, ४ जनाले समाते। छुट्टाउन सकिनन्, जोडले चित्कार फुट्यो। घिसारेको शैलीमा तिनलाई पेटीमा पुर्याए। ती शिथिल भइन्। भर्खरै देखिएको त्यत्रो बल खै कता हरायो। एउटी बुढीआमैले 'के गर्नु, निष्ठुरी रहेछन् भगवान् पनि। यस्तो देउता मान्छेलाई पनि यस्तो पर्दोरहेछ। दैव!' भनिन् तर मूर्ति स्वरूप महिलाका आँखासमेत झिम्केनन्। पीडाको पहिरोले अश्रु द्वार थुनिएका तिनका सुक्खा आँखा एकटकले कहाँ हेर्दैछन् मलाई थाहा छ।
भीड बाक्लै छ तर मान्छे एक्ला छन्। उभिएका शरीर घरी पेटीतिर गएर बस्छन्, फेरि उठ्छन् र खोला किनार पुग्छन्। पुलुक्क चितातिर हेर्छन्, हेरिरहन्छन्। चितासँग मनमनै संवाद गर्छन्। छटपटी छ।
म उनीहरूको कुरा पुरापुर सुन्न सक्छु, मुखले बोलेको पनि मनले बोलेको पनि। गफ गरेको, नाचेको, हिँडेको, सानो कुरा गरेको, ठुलो कुरा गरेको सम्झिँदै छन्। भेटिएको, छुट्टिएको सम्झिँदै छन्।
एकजना जोडले करायो, 'धत्! मैले बुझ्नै सकिनँ। यत्ति होला जस्तो नै लागेन। ठग्यो। भन्दै त भनेन। म कसरी बुझ्नु?'
उसले मलाई चिन्थ्यो। तर मलाई मेरो अपेक्षाअनुसार चिन्न नसकेकोमा उसलाई क्षोभ छ। उसलाई अँगालो हालेर, 'भयो यार, छोड। अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो... अलिकति नजर लाग्यो...' भनौँ लाग्यो, मनोज राजको लय सापट मागेर। तर त्यसो गरिनँ। आनन्द मानिरहेँ।
'कस्तो नपत्याउँदो गरी जानुभयो यार। छ्या:' अर्कोले सुस्तरी भन्यो।
फरक फरक कुराहरू टुङ्गो नपुगी सन्नाटा बोल्छ। कोलाहलमा सन्नाटा।
'कत्ति भेटौँ न भनेँ, बोलाएँ। हुन्छ, म आउँछु भन्नुहुन्थ्यो,' एकजनाले यसो भन्दै गर्दा उसको मनले मैले गरेका फोन र म्यासेजको जवाफ नफर्काएको सम्झियो। मलाई आनन्द लाग्यो।
'दिस् इज ह्वाट् आई ह्याड गेस्ड' विदेशी परिचितले लाइट चुरोट सुल्काइसकेर 'हि वाज मोर एग्रेसिभ इन मेनी आस्पेक्ट्स्' भन्दा आधि भइसकेको चुरोटले उसको अधैर्यता देखायो।
'कुक्कुर!' विदेशीका कुरा सुन्दै गरेकी यी महिलाको स्वर क्रोधले काँपेको थियो, 'यिनको टर्चरले कति मान्छे मर्दा होलान्'। छेउमा अर्की महिला निःशब्द थिइन्। उनीहरूको मनले बोलेको कुराले म कदाचित अचम्ममा थिएँ।
'मान्छे कडै हो। अप्ठ्यारो बाटो, अँध्यारो, लाइट छैन, चिप्लियो भने कहाँ गएर बजारिन्छ कि खोला मै पुगिन्छ ठेगान छैन, तैपनि अघिअघि लागेर हामीलाई हिँडायो यार!' कुनै बेला सँगै ट्रेकिङ गरेका एकजनाले सुनाउँदा मैले त्यो बाटो र समय सम्झिएँ, आनन्द लाग्यो।
'कस्तो बोर भो' यो वाला परिचितले खुइय्य गर्यो। उभिन गाह्रो भएर पेटीतिर गयो, भुइँमा खुट्टा झारेर दुइटै हातले पेटी थिच्दा उसको कुम उठ्यो। फेरि खुट्टा मास्तिर पेटीमै अड्यायो। घुँडा दोबारेर घुँडामा कुहिना अड्यायो, टाउको घुँडाबिचमा झुकायो र जोडले कपाल समायो। भुत्ल्यायो कि जगल्ट्यायो, उराठलाग्दो बोल्यो 'कस्तो तनाव भो!' अरू बोल्न खोज्यो, बोली निस्केन। मन जोडले बोल्यो। लाग्यो जाऊँ, उसलाई पनि अँगालो हालौँ र भनौँ, 'छोड् यार, टाउको नदुखा।' गइनँ। आनन्द मानिरहेँ।
'घमन्डले लग्यो, अरू केही हैन,' तुलनात्मक सहज यी परिचित जीवनलाई यथार्थको कसीमा ढाल्न पारङ्गत छन् क्यारे।
'के गर्थ्यो र हौ घमन्ड पनि। देखेको भन्थ्यो, नलुकाई सोझै!' अर्काले मेरो साथ दिए।
'शेयर गर्नुपर्छ नि? अरूलाई ज्ञान बाँड्दै हिँड्ने, आफू चाहिँ मुटु फुट्ने बेलासम्म सहेर बस्ने पनि हुन्छ, धत्?' ऊ चर्किरहेको चितासँग रिसायो, फर्केर हेर्यो पनि। उसका आँखामा क्रोध र ग्लानि एकसाथ देखिए।
'जे पनि आफैँ गर्नुपर्ने, फेरि जानेको पनि,' एकजनाले भने।
अर्कोले थप्यो, 'यो धेर जान्नेको पनि काम छैन। धेर दुःख पाउँछन्।'
सुटुक्क आएको बतासको सानो झोक्काले चिताको धुवाँ भीडतिर धकेल्यो। मान्छेहरू मुख छोपेर अर्कोतिर फर्किए। मास्क लगाएकाहरू खासै फर्केनन्।
निकै पछि आएका एकजना अरू साझा परिचितहरूसँग अपरिचित थिए। उनलाई चिन्ने अर्को एकजना भीडबाट निस्केर नजिकै गयो।
'खासमा के भको रैछ?' आगन्तुकले सोधे।
'ब्लड दिन हस्पिटल जानुभएको रे। प्रिचेक गर्दा खै केले हो हार्ट अट्याक हुनसक्छ, सचेत रहनु भनेका थिए रे। फर्किँदा खै के भो…'
सन्नाटा...
उनीहरूले मनमनै बोलेको म स्पष्ट सुन्दै छु। आनन्द लाग्दै छ।
'त्यस्तो बेला त साथी लानु नि!' अर्का परिचितको आवाज हारेको जुवाडीको जस्तो थियो। उनको अगाडि ठडिएर, 'यस्ता ब्लड कति दिएँ दिएँ, खै केही हुँदैन थ्यो त!' भनौँ जस्तो लाग्यो, तर आनन्द मात्रै मानिरहेँ।
'हैन यार, बेला भयो। होलबडी चेक गराइराख्नु पर्छ है' भन्यो एकजनाले।
अर्कोले, 'अँ, म त गर्छु यार। एक्सरसाइज पनि गर्छु' भनेर आफैँलाई ढाडस दियो।
'काल के टर्थ्यो, अस्पतालछेउ बस्ने त उपचारै नपाई मर्छन्!' कसैले भावीलाई टार्न नसकिने ब्यहोरा पोख्यो।
यस्तै यस्तै सम्झनाका, सङ्घर्षका, सजिलोका, अप्ठ्यारोकादेखि लिएर देश विदेश, पेसा व्यवसाय, राज्य, कानुन, नेता, फलानो चिलानो आदि विविध कुराकानी चल्दै छन् छरिएका समूहहरूमा। समूहमा गफ गरिरहेकाहरू घरीघरी एक्लिन्छन् र आफूसँगै गफ गर्छन्।
आफूसँगै गरिने गफहरू बोलेर गरिएकाभन्दा धेरै फरक छन्। कोही बढी नै खिन्न छन्, ठुलै गुमाएजस्तै। कोही 'मैले केही गर्न सक्थेँ, खै के खै के अस्तव्यस्त जीवनले केही गर्नै दिएन। भेउ नै पाइएन' को अवस्थामा छन्। कोही यस्तै हो जीवन, कल्ले पो देखेको हुन्छ र भन्नेमा छन्।
मेरो विश्लेषण गर्ने हरेकलाई लाग्दो हो तिनले मलाई पूरै बुझेका छन्। म जान्दछु कसले मलाई कति बुझेको छ।
अपरिचितहरू त्यही बाटो गरी ओहोरदोहोर गर्दैछन्, ती पक्कै कुनै चिताका परिचित हुनुपर्छ।
चिताको ताप र राप घट्दै छ। सिमसिम पानी पर्न थालेको छ। बागमतीपारि केही पर्यटक चितातिर क्यामेराको एङ्गल मिलाउँदै छन्।
चिताको पल्लो छेउतिर एकजनाको कपाल काटिँदै छ। जोडी बृद्धबृद्धासँगै टाँसिएका बालख निःशब्द नै छन् तर उनीहरूभित्र असङ्ख्य प्रश्न छन्। म ती प्रश्नहरू बुझ्छु तर मसँग तिनको सुहाउँदो जवाफ छैन। केही मान्छे सम्भाव्य असहजताको लागि तैनाथ छन् नजिकै। अघिदेखि मुर्छित झैँ ती महिला अझै फिरेकी छैनन्। शरीर मुढो छ, आँखा झिम्किएकै छैन। सिँदुर पुछिसकिएको छ, चुरा फुटाइसकिएको छ, कपाल फुकेर छरिइसकेको छ। मलाई यहाँ आनन्द लाग्न सकेको छैन। र त म बढी ध्यान भीड तिरै मोडिरहेको छु।
पल्लो पट्टिको चिता जल्न अप्ठ्यारो भइरहेको छ। विदेशबाट बाकसमा झिकाएको शव जल्न गाह्रो हुने रहेछ।
'सकियो अब' एकजनाले बोलेपछि अरूको ध्यान आगोलाई जित्दै गएको खरानीको ढिस्कोतिर गयो। आगोको तोड खप्न नसकी अग्राख मुढाहरू टुक्रिँदै छन्।
मान्छेहरू झन् हतारमा छन्। कर्मकाण्ड फटाफट गर्दैछन्।
अब एकैछिनमा टाउको पड्किनेछ, ड्वाङ्ग। अनि फटाफट पानी हालेर खरानी नदीमा बगाउनेछन्, चिता सफा पारी अस्तु सेलाउनेछन्। अनि परालको मुठोमा बालेको आगो टेक्दै नाघ्दै बागमती तरेर पारि-पारि वा किरिया पुत्री भवनअगाडिको बाटोबाट उकालो लाग्दै गर्दा सबै जना मध्यरात कटेर बिथोलिएको निद्रा, भोलिको काम आदि सम्झिँदै हतार हतारमा भाग्नेछन्। म अब उनीहरूको मन मुटुको कुनातिर सिफ्ट हुनेछु, हार्डडिस्कबाट डिलिट गरेको डाटाजस्तै।
ड्वाङ्ग!
ड्वाङ्ग!!
झल्याँस्स बिउँझिएँ।
२१ डिग्रीमा राखेको एसीले थामेनछ। शरीर असिनपसिन छ। छातीमा हात रहेछ। कोल्टे परेर डसनामुनिको फलामको चक्कु छामेँ, ऐँठनबाट जोगाउँछ रे त्यसले। छेउबाट मोबाइल तानेर हेरेँ, बिहान ३ बजेछ। ओहो! कस्तो अचम्मको सपना, साँच्चैजस्तै। पलङमुनि जगमा राखेको पानी घट्घट् पिएँ, पसिनाले डिहाइड्रेसन भइसकेको रहेछ। सपनाले थाकेको शरीर फेरि ढल्काएँ। तल गाडीको टायर पड्केछ क्यारे।
यति बेला म मध्य एसियाको दोहामा छु। विशाल र शक्तिशाली छिमेकीको कोपभाजनमा पर्दा पनि साहस देखाउँदै अपत्यारिलो उन्नति गरेको यो देश, जहाँ कुल जनसङ्ख्याको १० प्रतिशत जति मात्रै मूल निवासी भए पनि संस्कार र शासन उनीहरूकै चल्छ। प्राकृतिक श्रोतको व्यवस्थित उपयोग गरेर धनाढ्य भएको यो देश देख्दा छक्क पर्छु। आफ्नो देश सम्झिँदा पीडालेले हुरुक्क हुन्छु।
थातथलो छाडेर हजारौँ माइल टाढाको यो भूमिमा स्पर्श नभए पनि अनुभूतिहरू सँगै हिँड्छन्, डुल्छन्। निदाउँदा पनि सपनामा आइरहन्छन्। टेबुलमा राखेको सानो आकारको चन्द्र सूर्य ध्वजा, सँगैको चिटिक्कका बुद्ध, भित्ताको देशको नक्सा, अनि घरपरिवार, हिमाल पहाडका फोटाले देश पुर्याइरहन्छन्, भ्रमै सही।
ओछ्याननजिकको इनडोर प्लान्टमा अघिल्लो पटक आउँदा ल्याएको देशकै माटोले प्राण भरेको छ। त्यो मेरो देशभरिको जङ्गलको प्रतिनिधि हो। टेबुलमुनि बट्टामा अकबरेको अचार, निम्की, गुन्द्रुक छन्। पछिल्लो चोटि ट्रेकिङबाट फर्किँदा गोजीमै फर्केका मकै भटमास पनि छ। बेलाबेला बट्टाको बिर्को खोलेर सुँघ्दा शिवधाराबाट फर्किँदा अरुण तरेर उकालो चढ्न थालेपछिको पसिनाको गन्ध हो या, दूधकुण्डबाट रिङ्मो फर्किँदा अँध्यारो अप्ठ्यारो बाटो, हतार र डरले खान बाँकी रहेको पोको हो झुक्किन्छु।
सपनामा काठमाडौँका हल्का प्रदूषित बाटामा बाइक हुइँक्याउँछु, खुर्कोट-घुर्मीको धूले बाटोमा गर्मीमा शीतल हुन्छ भनेर स्पिड बढाउँछु, लोमान्थाङबाट फर्किँदा तेताङ झर्दै गर्दाको चिप्लिगए गिद्धको सिकार भइने ओरालोमा हावाको वेगसँगै हुइँकिन्छु, खप्तडका हरिया डाँडामा निदाउँछु, पाँचपोखरीको छेउमा चिसोले स्यू स्यू गर्छु। देशैभरि पो पुग्छु त। भारतीय कलाकार अक्षय कुमारले 'दिल्लीमा एउटै कोठामा ४० जना सुतिन्थ्यो, त्यहाँजस्तो निद्रा यो सुख सुविधामा कहाँ आउँदो रहेछ र' भनेजस्तै सुख र खुसी त साँच्चै फरक पो हुन् त! खुसी त अनुभूति हो।
देशमै गर्नुपर्छ भन्दाभन्दै र गर्दागर्दै पनि नभएपछि या नसकेपछि, थाकेपछि या समयको कथामा लेखिनुपर्ने भएपछि आइपुगेको यो चम्किलो ठाउँमा मन पटक्कै अडेको छैन। मान्छेको मन सारै बेइमानी। नपाएको खोज्ने, तर छुटेको पनि सँगै चाहिने।
अनि आफूजस्तै असङ्ख्य मान्छेहरू देख्दा ढाडस पनि हुँदो रहेछ। पानीको दुःखले थाँतथलो छाडेर बसाइँ हिँड्नेहरूलाई बेसी झरेपछि अघाउन्जेल पानी पिउँदा आउने सन्तुष्टिको जुन कल्पना हुँदो हो, त्यही कल्पना यहाँका लाखौँ श्रमजीवीमा पनि छ, जो आफ्नो गोजेरो भरेर गुँड फर्केर चल्ला चल्लीलाई अघाउन्जेल खुवाउने कल्पनामा रातदिन, चाडबाड, दुःखपीर भुलेर लगातार पसिना बगाइरहेका छन्। उस्तै दुःख भएका एकै गाडीमा सवार यात्रीहरूको एक खालको मनोदशामा मिस....को आनन्द पनि त छ।
हरेकसँग अलग कथा छन्। हरेकका अलग सपना छन्। हरेकका अलग भोगाइ छन्। ती सबै यहाँ एउटै प्रयोजनका साथ मिसिइएका छन्। त्यो पनि त गजबको छ।
झ्याल खोलेर हेरेँ। आकाश छेड्ने मिनारहरूमा बत्ती चम्किरहेकै छन्। फराकिला सडकमा बेतोडले बगिरहेका गाडीका हेडलाइटहरू छेउछाउमा ठोक्किएर गजबको इन्द्रेणी बनाइराखेकै छन्। अलिक पर समुद्रको असीमित चौरको रङ्ग निस्पट्ट कालोबाट हल्का फिक्का हुँदै नीलो हुन बिहान पर्खिरहेको छ। बिहान हुन लाग्यो, अब एक निद्रा त सुत्न पर्छ।
यहाँसम्म आइपुग्नुभएका प्रियहरूलाई छुट्टिने बेलामा यति थप्न मन छ। जीवन हिमालको कापबाट न्यानो घामले पग्लिएको हिउँको पानी जस्तै हो जो समयसँगै खहरे, खोला, नदी, कोसी बन्दै गङ्गामा मिसिन्छ र अन्ततः समुद्रमा समाहित हुन्छ। जीवन उबडखाबड हुन्छ र त रोमाञ्चक हुन्छ। रात कालो हुन्छ र त उज्यालोसँग माया बढ्छ। सकारात्मकता सफल जीवनको साँचो हो। धन अत्यावश्यक हो तर अनिवार्य हैन, यद्यपि आफैँ महसुस गर्न जरुरी छ।
केही असल मित्रहरू जो परिवारमा, आफन्तमा वा जीवनयात्राका दौरानमा पाइन्छन्, ती जतन गर्नै पर्ने सम्पत्तिहरू हुन्। अप्ठ्यारो समयलाई सकारात्मकता र असल मित्रहरूको साथले सहज बनाएर कटाउन सकिन्छ। योग, ध्यानले यथार्थ बुझ्न मद्दत गर्छन् र जीवन सहज हुन्छ। ध्यान गरे पो आनन्द हुन्छ र जीवन विज्ञानका रमेश गुरुले लेख्नुभएको गीतजस्तै 'जीवन आहा आहा भो' भन्न पाइन्छ।