जीवनको सुरुआतदेखि तिम्रो छत्रछायामा
आस्थाको धरोहर बनेर
हर प्रहर प्राण पूजारी बनेर
रहेका मानव बस्तीहरूमा आज
एकाएक एउटा सुन्दर सपनाको
अन्त्य भएको छ।
प्रिय प्रकृति,
तिमीले
आफैँले फलाएका
अवचेतन मनहरूमा
तिमीले दिएको यो अज्ञात र भयानक
पीडाको मात्रालाई कुन रूपमा
स्वीकार्नु यो मानव बस्तीले।
कहिलेकहीँ तिम्रा
भयानक समयका डोबहरू
कोर्न समेत साक्षी नरहने गरी
बस्ती उजाडिँदै गएका छन्
जहाँ निभेका छन् साँझमा बल्ने
दियोहरू सधैँको लागि
जहाँ साना कोपिला लगायतका मानव अवशेषहरू
पुरिएका छन्, नभेटिने गरी
अब कहिले नफक्रने गरी
जहाँ टोलाएको छ बतास
अब मानव बस्तीतिर नबहने गरी।
पहिरो, बाढी र दुर्घटनाका भेलभित्र
कहिले नझुल्किने गरी लुकेको छ
एउटा इतिहास
पीडा, रोदन र क्रन्दन पुरिएको छ त्यसैमा
प्रिय प्रकृति,
अब तिमीसँग गुनासो समेत
गर्न बाँकी केही रहेन
किनकि
आफ्नै आँगनीका फूललाई
फक्रिन पूर्व नै नदीमा लगेर सेलाउने यो
तिम्रो कस्तो न्याय हो
गन्तव्यमा पुग्न नदिएर
बिच बाटोबाटै टिपेर
यात्रारत एक जमातलाई
आफ्नै हातले बिसर्जन गर्ने
यो तिम्रो कस्तो सृष्टि हो?
त्यसैले आज तिम्रो वर्षाको
बेग बढाउन
तिम्रो छालको तेज र रंग बदल्न
मनोहर माटोलाई उर्वर हुनु पूर्व नै
बगाएकी छौ
सँगै बगेका छन्
मानवका सपना, रगत र पसिना समेत
अब कहिले धर्तीमा नफर्किने गरी
बगेका छन् पीडाका आँसुहरू
तिम्रो क्रूर इच्छा शान्त पार्न।