उसले मलाई धोका दिन्छ वा बदला लिन्छ भन्ने कहिल्यै सोचिनँ। सत प्रतिशत ढुक्क थिएँ, ऊ बेइमान हुन सक्दैन भनेर। बरु मैले बेइमान गर्ने हो कि भन्ने ठान्थ्यो। काले थिएन। तर मायाले उसलाई काले भन्थेँ। ऊ रिसाउँदैन थियो।
काले मेरो पटक-पटक परीक्षा लिन्थ्यो। त्यो परीक्षामा म पास हुन्थेँ। क्याम्पसका अरू केटासँग बोलेको मन पराउँदैन थियो ऊ। उसको खुसीको लागि अरू केटासँग बोलिनँ। क्याम्पसमा केटा साथी नै भएनन् मेरा, ऊ बाहेक। केटी साथीहरू मलाई जिस्क्याउँथे- 'के हो, केटा फोबिया छ कि क्या हो?' म हाँस्थेँ मात्र। हाँसेरै टारिदिन्थेँ। मनको कुरा खोलिनँ, मेरो मान्छे शङ्कालु छ भनेर।
क्याम्पसको पढाइसँगै लोक सेवाको तयारी गरेँ। पटक पटकको तयारीले पुगेन छ क्यारे, नाम निकाल्न सकिनँ। असफलता भागमा रहेछ। निजामती कर्मचारीको ड्रेस लगाउने धोको सपना नै भयो। अपूरो रह्यो। बाटो मोडेँ मैले। प्राधिकरणमा फर्म भरेर नाम निकालेँ। त्यसैमा चित्त बुझाएँ। अफिसमा पनि पुरुषहरूसँग बोल्न डराउँथेँ। खासै बोल्दैन थिएँ। कतै उसले थाहा पायो भने...
ऊ मास्टर्स पढ्दै थियो। जागिर खाने जाँगर देखाएन। पढ्न नसकेर हो वा के हो, त्यो भेउ पाइनँ। लोक सेवातिर रुचि नै देखाएन। विदेश जाने हो भन्थ्यो। विदेश मोह देखेर म पनि कता-कता ऊसँगै कल्पनामा डुब्दै विदेश पुग्थेँ।
विद्यार्थी भिसामा उसले धेरै पटक कोसिस गर्यो तर कतै मिलेन। उसलाई आवश्यक पर्दा खर्च मै दिन्थेँ। घरबाट पनि आमाबाबुले आफै कमाउनु भनेर खर्च दिएनन् रे! सुनाउँथ्यो मलाई। म पैसा दिन्थेँ, ऊ लिन्थ्यो। यो जुनीमा तिर्न सकिनँ भने अर्को जुनीमा भए नि तिरौँला भन्थ्यो। 'म तिम्रो तिमी मेरो, के फरक पर्ला र' भन्थेँ म। आधा तलब उसलाई दिएकोमा कुनै पश्चात्ताप थिएन मलाई। तलब आयो कि उसको कोठा भाडा तिरी दिन्थेँ। पकेट खर्च पनि दिन्थेँ। केही जोगाउन सकिनँ मैले। मेरो लगानी नै उसै माथि थियो।
कुनै हालतमा विदेश जानेमा भयो ऊ। नेपालमै केही गर्न सकिन्छ, पटक-पटक सम्झाएँ। लागेन केही। दुवैको सल्लाहमा डिभी परेकी एक जना चिनजानको छिमेकी बहिनीसँग कागजात मिलाएर विदेश पुग्यो। नक्कली श्रीमान् बनेर गयो ऊ। दुवैको खर्च उसैले बेहोर्यो। विदेश जान चाहिने जति खर्च घरबाट जुटाइदिए। सम्झना स्वरूप मैले १०० डलर दिएँ। समाजको विदेश मोह पनि अचम्मैको छ। विदेश जान जत्ति पनि पैसा जुट्ने! जसले पनि ऋण पत्याउने!
नेपाल देशै विदेश जाँदै छ कि जस्तो लाग्थ्यो कहिलेकाहीँ। मन अमिलो भयो मेरो। विदेश जान यस्ता कागज मिलाउने हरकत धेरैले गर्दा रहेछन्। पछि मात्र थाहा पाएँ। विदेश पुगेपछि त्यो केटीसँग डिभोर्स गरेँ भनेर भन्यो। विश्वास नगर्ने कुरा भएन। विश्वास गरेँ। एक हिसाबले ढुक्क भएँ। म नेपालमा, ऊ विदेशमा। लामा-लामा कुराकानी हुन्थे। मेरो रुचि विदेश थिएन। तर पनि ऊ गएपछि मन उतै गयो। म कहिले जाने जस्तो भयो। मनमा एक किसिमको कौतुहलता जाग्यो।
केही महिना यसरी नै बिते। घरमा बिहेको कुरा चल्न थाले। अनेक बहाना गरेर टारेँ। समय मिलेन, कामको चापले कुराकानी गर्न भ्याइनँ भन्दै गयो।
ऊ कुराकानी छोटाउन थाल्यो। बिस्तारै व्यवहार परिवर्तन भएको महसुस गरेँ मैले। एक दिन झगडा नै पर्यो। मलाई मनपरी भन्यो उसले। त्यतिले मात्र पुगेन, सबै सामाजिक सञ्जालमा मलाई ब्लक गर्यो। मुटु माथि ढुङ्गा राखेर सहेँ मैले। ऊमाथि गरेका सबै मेरा लगानी बालुवामा पानी हाले सरह भए। म शून्यमा पुगेँ। एक्लो र निराश भएँ।
समय ढिलो गतिमा हिँडेको लाग्थ्यो। जीवन व्यर्थ लाग्थ्यो। त्यही बेला अफिसमा विज्ञापन खुलेको सूचना आयो। आन्तरिक प्रतिस्पर्धाका लागि फर्म भर्नु पर्ने भयो। फोटो चाहियो मलाई। स्टुडियोले फोटो खिच्दा डिभी सित्तैमा भरिदिने भन्यो। खासै रुचिको विषय थिएन। तैपनि सित्तैमा पाएपछि भरिदिऊँ न न त भन्ने लाग्यो। भरिदिएँ। कुनै महत्त्व दिइनँ त्यसलाई। यता आन्तरिक प्रतिस्पर्धाबाट म अधिकृत भएँ। अधिकृत तयारीले थोरै भए नि मन बहकियो। उसलाई भुलाउन सघायो। मनको घाउ अलि बस्यो।
अचम्म भयो। मलाई डिभी परेछ। प्रोसेस गर्ने/नगर्ने दोमन भयो। आफन्त तथा परिवारले जान सल्लाह दिए। दोमन हुँदा हुँदै प्रक्रिया अगाडि बढाएँ। ऊ बसेको राज्य मलाई याद थियो। त्यसैमा प्रोसेस गरेँ। गएँ म नि अमेरिका। उसले मलाई सामाजिक सञ्जालमा ब्लक गरेको थियो। फोन नम्बर परिवर्तन गरेकोले भेटाउने कुरा भएन। एक दिन नेपाली समुदायको भेटघाटमा अचानक उसलाई देखेँ। उसले पनि देख्यो। ऊ आश्चर्यमा परे जस्तो महसुस गरेँ मैले। मसँग ऊ बोल्न खोजेन। मैले पनि बोलाउन खोजिनँ।
पेपर मिलाएर गएकी केटी साथीको फेसबुक प्रोफाइल खोजेँ। उसलाई भेटेँ पनि मैले। ती महिलाले फेसबुक वालमा केही दिन अगाडि पोस्ट गरेकी रहेछिन्- 'सबै सम्बन्ध इतिहास भए, फाइफल्ली छुट्ने निर्णय गरेँ मैले।'
किन किन अलिअलि सन्तुष्टि मिल्यो।
अब भने उसलाई भेट्नु पर्छ भन्ने लाग्यो। नेपाली समुदायमार्फत उसको फोन नम्बर लिएँ। एक दिन फोन गरेँ। म पनि डिभी परेर यतै आएको छु नि भनेँ। खासै लामो कुरा गर्न मन लागेन। मिल्छ भने भेटौँ भनेँ।
अलि असजिलो मान्यो। तिमीले माफ गर्न सक्छौ र भन्यो। तिमीलाई माफको जरुरी छ र भनिदिएँ मैले नि। प्रत्यक्ष नै भेट्ने कुरा भयो।
भेटेँ मैले। नियमित काममा जाँदो रहेनछ। दुब्लो र अलि ख्याउटे भएछ। कुलतमा लागेको अनुमान लगाएँ। धेरै रोयो। गल्ती भएको महसुस गर्यो। पश्चात्ताप गर्यो। फेरि मिलेर बसौँ भन्यो। अनुनय विनय गर्यो। साथीसम्म हुन सकुँला तर जीवनसाथी हुन सक्दिनँ भनेर रुखो जवाफ दिएँ।
समय दिन्छौ भने म मेरो इतिहास सुनाउँछु भन्दै थियो। सुन्न जरुरी ठानिनँ।
'भयो, पुगेको छ तिम्रो इतिहास सुन्न,' भने मैलेँ।
हरेक पटकको भेटमा मसँग माफी माग्थ्यो। रुन्थ्यो! तर उसलाई कहिल्यै माफी दिइनँ। उसलाई थप तड्पाउन मेरो एक जना केटा साथी देखाएँ। उसकै बसोबास क्षेत्रमा बस्यौँ हामी। बाटोमा देख भेट हुन्थ्यो। ऊसँग नबोली हिँड्थ्यौँ हामी। हरेक दिन उसको बेचैनीमा म सन्तुष्टि लिन्थेँ। चर्खा जस्तै हो समय, घुम्छ। पर्खन मात्र सक्नु पर्छ, सिकाएँ उसलाई। सिक्यो वा सिकेन, त्यो उसको कुरा हो। 0