'काना! काना!' राधाले बोलाई।
मैले मेरो शरीर छाडिसकेको थिएँ। मैले कुनै जबाफ फर्काउन् सकिनँ।
उसले एकपटक अलिक बल लगाएर मेरो शरीर आफूतिर फर्काई। मैले टुलुटुलु आँखा हेरिरहेको थिएँ। ममा कुनै हलचल थिएन। मुटुले विश्राम लिइसकेको थियो र आत्तिएर मेरो छातीमा टाउको राखी।
मैले उसको कपाल चलाउन सकिनँ।
राधा भक्कानिएर रून थाली। उसको रुवाइले आमा र भाइ पनि कोठामा आउनु भयो। आमाले कतै शरीरमा तातो बाँकी छ कि भनेर मेरो शरीर छाम्नुभयो र भाइले रूँदै मेरा आँखा बन्द गरिदियो। मेरो खुला मुखमा अलिकति सबैले पानी हाले। मैले निल्न सकिनँ। मेरी राधा मेरो शरीर अंगालेर रोइरहेकी थिई। उसको आँसु तप तप मेरो शरीरमा झरिरहेको थियो। उसको बेदना मैले बुझेको थिएँ, पीडामा रहेकी मेरी राधा, मैले न उसको आँसु पुछ्न सकेँ, न सम्झाउन, मैले मृत्युवरण गरिसकेको थिएँ।
निस्पट्ट अँध्यारोमा मेरो मृत्युले ल्याएको कोलाहल घर, पल्लो घर हुँदै गाउँभरी फैलियो। छिनभरमा गाउँले भेला भए। बिहानै आमा र मेरी राधाको अंगालोबाट छुट्याएर मेरो शरीर घाटमा पुर्याए। चिता तयार थियो, भाइ चिता नजिकै बसेको थियो, उसले अब भोग्नुपर्ने खुड्किलाहरू उसका अगाडि ऐना जस्तै छर्लंग थिए। घरमा बुढी आमा, बिदुवा भाउजू, अनि मसँगको उसको बिछोड। म अवाक् थिएँ चितामाथि चीर निन्द्रामा।
मेरो चिता वरिपरि तीन फेरा लगायो भाइले। मेरो मुखमा दागबत्ती दिँदै जोडले चित्कार निकालेर रोयो भाइ। म अथक पीडामा थिएँ। लक्ष्मण जस्तो मेरो भाइ आज दाजुलाई दागबत्ती दिँदै थियो। म केही गर्न सक्ने थिइनँ। मेरो शरीर जल्दै थियो। भाइको केश मुन्डन गर्दा कपालबाट झरेको पानीले उसको आँसु पखालिरहेको थियो। हेर्दाहेर्दै मेरो शरीर खरानी बन्यो। मेरो अस्तित्व समाप्त भयो।
१२ घन्टा भित्रमा राधाको जीवनमा कल्पना गर्न नसक्ने गरी आँधि हुरी आयो। हिजोसम्म छनछन बज्ने उसका हातका चुरा फुटालिएका थिए। उज्यालो निधार माथिको सिउँदोको सिन्दुर पखालियो। मैले गरेको बाचा चाँडै नै धोका बन्यो।
राधा मलाई अति माया गर्थी। हाम्रो भर्खर चिनजान हुँदा उसले मलाई 'मेरो र तिम्रो जोडीको बारे गीत गाउनु पर्यो कुन गाउँछौ तिमी?' भनेर सोधेकी थिई।
मैले एकै सासमा उत्तर दिएको थिएँ -म त तिम्रो घनश्याम, तिमी मेरी राधा पियारी। त्यो दिनदेखि उसले मलाई काना भनेर बोलाउन थाली अनि म उसलाई राधा।
राधा र मैले कसम खाएका थियौं बाचुन्जेल कहिले एक्लै नछोड्ने। उसले बाचा पूरा गरी तर मैले सकिनँ। कहालीलाग्दो बाँकी यात्रामा एक्लो यात्री बनी। उसका अगाडिका बाटा र सपनाहरू सब चकनाचुर भएका थिए, ऐना फुटे जस्तै। त्यही माथि कुल्चेर कोर्नु पर्ने भयो अबको यात्रा उसले।
उनको प्रेम, बलिदान र तपस्याको बदलामा मैले बिछोड उपहार दिएर बिदा भएको थिएँ। राधा सहरमा हुर्केकी केटी। उनको र मेरो प्रेमसँग उसले आफ्नो जन्मघर, बा, आमा र उहाँहरूका सपनाहरू त्यागेर मलाई साटेकी थिई। उसले आज नराम्ररी हारी। मेरो शरीर खरानी भैसकेको थियो। ममा विश्वासघात गरेको ग्लानि थियो, पश्चातापको ज्वाला थियो। जुन न निभ्थ्यो, न मलाई खरानी बनाउन सक्थ्यो।
एकदिन उसले मलाई जिस्कँदै सोधेकी थिई 'तिमी मेरो भन्ने प्रमाण के छ काना?'
मैले आफ्नो छातीको देब्रेतिर औंलाले देखाउँदै भनेको थिएँ, 'यो छाती हो, यो छातीभित्र मुटुको धड्कन छ, त्यो तिमी हौ राधा।'
'अझै पत्याउँदिनौ भने म तिमीलाई यसरी छातीमा टाँस्छु कि मेरो छातीमा तिम्रो छाप बसोस्, अनि छाती बाहिर तिम्रो छाप, अनि छातीभित्र तिमी। म पूर्ण तिम्रो हुँ राधा।'
म जीवनभर पूर्ण राधाको बनेँ, तर उसलाई अपूर्ण छाडेर म हिँडेको थिएँ।
सेतो लुगामा कोरामा बसेकी राधा कहिले टोलाउँथी, कहिले चिच्याहट गर्थी, कहिले मुर्छा पर्थी। १३ दिन सकियो। हिजो मर्यो, आज दुई दिन। अरूका निम्ति समय चाँडो चल्दो रहेछ। तर नफर्कने गरी गएको मलाई कुरेकी राधालाई दिन महिना लाग्थ्यो। कोराबाट निस्केको दिन मुर्छा परेर ढलेकी राधालाई उठाउँदा उसको पेटमा आमाको हात पुग्यो, आमाले प्रार्थना गर्नु भयो 'भगवान! यो पेटमा मेरो छोराको सन्तान होस्।'
आमाको आशाको त्यान्द्रो पनि दुई तीन दिनमै चुँडियो।
आमाले राधाको बारे साह्रै पीर गर्नुहुन्थ्यो। कहीँकतै आफूलाई सम्हाल्न नसकेर केही गरिहाल्छे कि भनेर एक्लै कहिले छाड्नु भएन। उनका अघि कहिले आफू पहिला रूनु पनि भएन। आँसु लुकाउन बढो गाह्रो हुन्छ, पुत्र शोकमा आँसु लुकाउन आमालाई भएको गाह्रो मैले बुझेको थिएँ।
एक्लै हुँदा आमा 'भगवान त कति पापी छस्, पालो मिचिस्, म जानु पर्ने बेला मेरो बाबु लिएर गैइस्' भन्दै डाँको छाडेर रूनुहुन्थ्यो।
दिन बिते, महिना बिते, बर्ष बित्न लाग्यो। एउटै मान्छेको याद पनि कसैका लागि पानी माथिको, कसैका लागि बालुवा माथिको र कसैका लागि ढुंगामा खोपेका पाइतलाका छाप जस्ता हुने रहेछन।
कतिले क्षणमै बिर्सिने, कतिले समयसँगै बिर्सिने, कतिले आफू नटुक्रिएसम्म नबिर्सने। राधाका आँखा ओभाना कहिले भएनन्, ऊ सुरूका कैयौं दिन निदाउन सकिन।
न देख्न पाउँछु, न भेट्न पाउँछु
केबल तस्बिर हेरी चित्त बुझाउँछु
थाहा छ त्यो तस्बिर बोल्दैन भन्ने
तै पनि हर कुरा उसैलाई सुनाउँछु।
यही गीतजस्तै थियो राधाको अवस्था। खाली मेरो फोटो अंगालेर एक्लै रोइरहन्थी। त्यो अंगालोमा हुन तड्पने म, आज उसले फोटो अंगाल्दा निस्सासिन्थेँ। मेरो माया र यादबाट मुक्त राधा देख्न चाहन्थेँ, जुन मेरो मुक्ति थियो, अँध्यारोबाटको मुक्ति।
राधाको माइती पनि उत्तिकै चिन्तित हुनुहुन्थ्यो, उनको भविष्यबारे, सुरक्षाबारे, अनि स्वास्थ्यबारे। चोट सबैलाई थियो। एकदिन बुवाले राधालाई 'छोरी जे नहुनु थियो त्यो भयो, जिन्दगी लामो छ। घाउ सबैलाई लागेको छ, दुखाइको मात्रा फरक होला छोरी। अब समय भन्दा अरूको आश छैन, तर आफूलाई तिमीले सम्हाल्नु पर्छ र बिस्तारै यो घाउ बिर्सनु पर्छ। जिन्दगी यही हो। त्यहाँ बस्दा तिमीलाई ज्वाइँबाबुको याद झन् बढी आउँछ। तिमीलाई हामी लिन आउँछौ, है? म सम्धिनिज्यू सँग पनि सल्लाह गर्छु।
'बुवा! हजुरहरूसँग बिद्रोह गरेर त्यो घर छाडेर कानासँग बिहे गरेँ, उसले मलाई यही छाडेर गयो, म यही बस्छु बाबा। मलाई उसकै यादमा उसले छाडेकै ठाउँमा बस्न दिनुस् बाबा।'
बुवा अवाक हुनुभयो।
मैले झन् अँध्यारो महसुस गरेँ। त्यो घरका प्रत्येक कुनामा, त्यो गाउँका प्रत्येक बाटाहरूमा राधालाई मेरो यादले झन् सताउने छन्।
डेढ वर्ष पछि भाइको बिहे हुने भयो, मागी बिहे। भाइले राधालाई आमा जत्तिकै सम्मान गर्थ्यो, माया गर्थ्यो। उसले स्पष्ट आफ्नो शर्त राख्यो- भाउजूले भनेको केटी र भाउजूकै रहर अनुसारको बिहे गर्ने।
बालहठको अगाडि राधाको केही लागेन। भाइको खुसीको लागि उसैले बिहेको सबै कुरा तयार गरी। भाइको रितासँग बिहे हुने भयो। पटक पटक हाम्रो बिहेको यादमा पागल हुन्थी र एक्लै कुना गएर रुन्थी। दुलही भित्र्याउने बेलामा यी दुई कहिले एक्लै हुन नपरोस् भन्ने कामना गरी। घर अलिक रमाइलो हुन थाल्यो, नयाँ बुहारीले पनि राधालाई बुझ्ने कोसिस गरिन्।
एकदिन आमा र बुहारी बारीबाट फर्कंदै हुनुहुन्थ्यो। रिताले भनिन्- 'आमा! एउटा कुरा भन्छु, नरिसाउनु है।'
आमा अलिक अत्तिनु भयो, 'भन के हो?'
'मैले दिदीको बारे कुरा गर्न खोजेको, दिदीको मलाई साह्रै माया लाग्छ। दिदीको बाँकी जिन्दगी सम्झिँदा कहाली लाग्छ आमा।'
'सबैले भाग्यमा लेखेको भोग्नु पर्छ रिता, के गर्नु? म ३० वर्षको हुँदा २ छोरा छोडेर तिम्रा ससुरा बित्नुभयो।'
'हजुरलाई गाह्रो थिएन भनेको हैन, तर हजुरका त कमसेकम दुइटा छोरा थिए, मन बुझाउनलाई। दिदीको को छ र आमा'
'के गर्न सक्छौ र रिता हामीले सम्झाउन भन्दा बाहेक। मन अन्त धर्म कर्ममा डुलाए अलिक चाँडो भुल्थी कि!'
'त्यसो हैन आमा, अलिक फरक किसिमले सोच्नुपर्छ।'
'कसरी सोच्ने?'
'दिदीको फेरि बिहे गरे के हुन्छ?' आमाले बुझ्ने गरेर भनी रिताले।
आमा नि:शब्द हुनुभयो। केही बोल्नु भएन। रिता पनि केही बोलिनन्।
भाइ र रिता मिलेर आमालाई सम्झाए। आमा पहिला मान्नुभएको थिएन। तर पुनर्विवाह पाप हैन भन्ने लागेपछि 'राधाको माइतीले के भन्लान् हामीले नै यस्तो कुरा गरे पछि?' भन्नुभयो।
'उहाँहरूको जिम्मा हाम्रो' भाइले भन्यो।
बुहारीको स्वास्थ्य परीक्षण गर्ने निउमा रिता र भाइ काठमाडौं गए र राधाको बुवाआमालाई भेटे।
पहिला उहाँहरूले पनि समर्थन गर्नु भएन, फेरि धेरै बेरपछि 'छोरीलाई हामीले यस्तो कुरा कसरी गर्नु?' भन्ने हुनुभयो।
'हजुरहरू उतै आउनुहोला, सबै मिलेर सम्झाउला' भनेर भाइ र रिता घर फर्किए।
रिताले प्रसंगवस पारेर थुप्रै पुनर्विवाहका उदाहरण दिएकी थिइन् राधाको मन चोर्नलाई। तर केही पत्तो पाउन सकेकी थिइन।
एकदिन रिताले भनी, 'दिदी! अबको बीस वर्षपछि हाम्रो जिन्दगी कस्तो हुन्छ होला है?'
राधाले नसोचेको प्रश्न थियो, धेरै सोची र भनी- हामी सबै उमेर पाकेका हुन्छौं, सबैको जिम्मेवारी फरक होला। तर मेरो के हुन्छ मलाई नै थाहा छैन रिता, तिमीले किन सोधेकी भन त यो कुरा?'
राधालाई अलि अलि चिसो पसेको हुनुपर्छ। हजुरले चाहनु भयो भने हजुरको भविष्यको बाटो मैले त सफा देखेको छु त दिदी।'
राधा छक्क परी रिताका कुरा सुनेर। उसले बुझी रिता के भन्दै छन् भन्ने।
'हो दिदी, हजुरले नयाँ जीवनको सुरूआत गर्नु भनेको दाजुको प्रेमलाई सम्मान नगरेको हैन, उहाँलाई सम्मान नगरेको पनि हैन। हजुर एउटा शिक्षित नारी, जीवन, प्रेम, सम्बन्ध, साथ र आवश्यकताबारे जान्ने हुनुहुन्छ दिदी। हजुर एउटा अर्को उदाहरण बन्दिनुस् दिदी। अन्यथा नलिनुहोला बिन्ती दिदी।'
राधालाई त्यो कुरा मन परेन।
'किन बुढेसकालमा म तिमीहरूको बोझ बन्छु भन्ने डर लाग्यो?' झर्कंदै बोली राधा।
'हैन दिदी, हजुर आमा पछिको आमा हो मेरो र हजुरको देवरको लागि, त्यसरी नसोच्नुस् दिदी। बाटो लामो छ, हामी छेउमा हुन्छौ तर साथ हजुरलाई चाहिन्छ दिदी।'
राधा केही नबोलि रून थाली। दुई बीचमा सन्नाट्टा छायो र त्यो कुराले राधालाई अलिक फरक बनायो। अहिलेसम्म कहिले विवाहबारे न कसैले भनेका थिए न उसको दिमागमा नै थियो।
काठमाडौंबाट बुवा र आमा आउनु भयो केही दिनपछि। त्यो राति सबै बसेर फेरि राधासँग बिहेको कुरा भयो। राधा नराम्ररी रोई। सबैले सम्झाए, तर उसले हुन्छ भनिन। दुई तीन हप्तासम्म बारम्बार त्यही कुरा गर्दा गर्दा एकदिन राधाले सोच्ने समय एक दुई हप्ता मागिन्।
एकदिन आमाकी अलिक परकी फुपू घर आउनु भयो। उमेरले लगभग असी टेक्नुभएको, बाल बिदुवा, अनि अलिक धार्मिक। आफ्नो देवरका नातिसँग बस्नु भएको थियो।
'कस्तो छ दिदी तपाईंलाई?' आमाले खाना पस्कँदै सोध्नु भयो।
'खाना दिन्छन्, तर कसैले गन्दैनन नानी। अब हामीसँगै बस्ने काकी भन्यो भतिजाले, आखिरमा दागबत्ती दिने यही हो भनेर सम्पत्ति पनि दिएँ, र आफू पनि गएँ उसैकोमा बस्न। तर अहिले भाग लगाउँदा लगाउँदा मलाई कान्छो नातिकोमा पारेका छन्। कर्म त राम्रै गरेकी हुँ, भाग्यले ठग्यो। दुई मुठी सास जान पनि गाह्री नानी। बरू नातिको सट्टा हामीलाई लगेको भए सुख त हुन्थ्यो। लेखान्त के के हो के के। समय फर्काउन नमिल्ल्ने नानी।'
छेउमै भाइले सोध्यो, 'समय फर्कने भए के गर्ने मन छ आबै?'
'कि त धर्म पुत्र वा पुत्री राख्थेँ, कि त पुनर्विवाह गर्थें, कसौडीको पिँध त हेर्नु पर्दैनथ्यो,' सबैलाई अमिलो भयो।
राधा यो सुनेर नराम्ररी झस्की। कतै आफ्नो भविष्य आबैको जस्तो त हुने हैन!
एक हप्ताअघि मात्र बिहे गर्नेबारे सोच भनेको कुरा उसको दिमागमा घुमिरह्यो। उसका अगाडि घर माइती बसेर सम्झाएका थिए।
'यदि आत्मा हुन्छ भने तिमीले बिहे गर्दा नै छोराको आत्माले शान्ति पाउँछ राधा,' आमाले भन्नु भएको थियो।
'के साँच्चै आत्मा हुन्छ होला? मेरो पनि पछि यिनै आबैको जस्तो जिन्दगी होला? कि म सबैको बोझ बन्ने त हैन? सासूआमा डाँडा माथिको घाम, देवर देउरानीका पनि जिम्मेवारी थपिँदै जालान्। कतै मैले बिहे गरेँ भने कानालाई धोका त दिएको हुन्न कि, कानाको आत्माले के भन्ला? यत्तिकै बस्दा हजार कुरा मनमा खेलाउन थाली राधाले।
फेरि सबै जना राधाको अगाडि बसे। यो पटक राधाले नबोली समर्थन जनाई।
नमराज आफूलाई 'नमन' भनेर चिनाउँथ्यो। नमन र आरतीको लामो समय पछिको प्रेम विवाह भएको थियो। आरतीको स्वास्थ्य अलिक कमजोर थियो। कोभिडको महामारीमा नमनले आरतीलाई गुमाएको थियो। पापी महामारी, कतिको परिवार, कतिको प्रेम, अनि कतिको सपना उजाड बनायो। आरतीको मृत्युले विह्वल भएको नमनले कति पटक आत्महत्या गर्ने विचार गर्यो। कति पटक सब छाडेर ब्रम्हचार्यमा जाने विचार गर्यो।
'आरती जति मेरी थिई, त्यति पाएँ' भन्दै आफूलाई सम्हाल्यो। त्यसको तीन चार महिनापछि भाइले एकदिन रितासँग नमनको कुरा गर्यो।
'नमन र भाउजूको उस्तै वेदना हो, एक अर्काको वेदना बुझ्न सक्छन्। तिमिलाई कस्तो लाग्छ रिता?'
'दिदीभन्दा पहिला नमनसँग कुरा गर्नुपर्छ।'
'त्यो त म गर्न सक्छु। मेरो साथीको मामाको छोरा हो।'
भाइले साथीमार्फत् कुरा गर्यो, नमन तयार भयो। तर राधा बिहे गर्ने र नगर्नेको बीच सोचमा थिइन्। भाइ र बुहारीले सम्झाए र अन्त्यमा त्यही घरबाट अन्मिने गरी बिहे हुने भयो। बिहे सामान्य हुँदै थियो। राधा हाम्रो बिहे सम्झन्थी, र सोच्थी 'के मैले ठिक गरिरहेको छु? मैले गल्ती गरेको भए मलाई माफ गर ल काना।'
म खुसी थिएँ जुन मैले उनीसामु व्यक्त गर्न सक्दिनथें।
मनमनै सोचेँ, 'नमन असल छ, राधालाई कहिले दु:ख दिँदैन, राधाको भावनाको सम्मान गर्छ। सिन्दुर हाल्ने बेला भयो, जब सिन्दुरेको एउटा छेउबाट नमनले हातले सिन्दुरको डोरो पार्दै राधाको सिउँदोतिर पुग्थ्यो, म उज्यालो देख्दै गएँ, जब राधाको सिउँदोमा नमनको हातको सिन्दुर पर्यो, मैले पूरै उज्यालो देखेँ र जोडले कराएँ।
'धन्यवाद राधा,' सायद राधाले महसुस गरिछ होला, सिन्दुरे भित्रैबाट माथि हेरेर मुस्कुराई।