धेरै वर्ष अगाडिको कुरा हो। हिँड्दा हिँड्दै थाकेका गोडा पनि पांग्रा लगाएर गुडिरहेका थिए। रित्ता ओठहरूमा मुस्कान फिर्दै थिए। प्रेमको विलास र सफलताको स्वादबाट म पुलकित नै थिएँ। तर कहाँ जीवन सधैं यस्तै यस्तै चल्दो रहेछ र? कुरिनटारको पहिरोले सबै उडाएर लग्यो, बगाएर लग्यो।
उनको र मेरो भेट गाउँकै शिवरात्री मेलामा भएको थियो। रातभर जागा बसेर हामीले हाम्रा मन मुटुमा प्रेमका गीतहरू छपाएका थियौं। गाउँमै ब्याचलर पढिरहेकी उनी र जागिरको खोजीमा काठमाडौं पसेको म, भेट हुन यस्तै मौकाहरू जुर्नुपर्थ्यो।
हाम्रा नजरहरू टाढा भए पनि हरेक दिन हुने भिडिओ कलमा हामी हाम्रा दुब्ला कल्पनाहरूलाई मलजल गरिराख्थ्यौं। एकले अर्कालाई घच्घच्याइरहन्थ्यौं। कतै मायाको खाँचो पर्दा मगन्तेपन नै देखाएर अपरिपक्वता देखाइरहन्थ्यौं। शंकाहरू थिएन, आधुनिक हुनुपर्ने थिएन एकअर्काकै औंलाहरू समातेरै हृदयको पछिपछि लाग्न सक्थ्यौं।त्यसैले त हामीमा आधा तर्सिएर आधा ब्युँझिने नाटक थिएन।
यसै क्रममा मेरो नाम सशस्त्र प्रहरी बलमा निस्किएसँगै म विपद् व्यवस्थापन फोर्समा आबद्ध भएँ। लगातारको तालिमपश्चात् मात्र मैले प्रवेश पाएको थिएँ। घरमा छोरो जागिरे भएकोमा खुसी थिए भने उनी प्रेमी जागिरे भएकोमा गद्गद् थिइन्। आउँदै गरेको असारको अन्तिमतिर बिहे गर्ने साइत पनि जुराइसकिएको थियो।
फोर्समा छिरिसकेपछि भेटघाट त फिटिक्कै भएन। अब बिहेकै अघिल्तिर भेटौंला नि भन्दै उनको चित्त बुझाइराखेको थिएँ। उनी हस् त भन्थिन् त उसै उज्याली हुन सकेकी थिइनन्।
बर्खा लाग्दै थियो। असारे मासा खेत रोप्ने चटारो किसानलाई एकातिर थियो भने हामी फोर्सहरूलाई उद्धार र खोजीको चटारो।
गृह मन्त्रालयले विभिन्न नोटिस जारी गरिसकेको थियो। मौसम पूर्वानुमान अनुसार जिल्लामा पनि कमिटीहरू गठन भएका थिए। काठमाडौं हेडक्वाटरमा नै रहेको म, यही रेस्क्यु मिसनलाई भनेर कुरिनाटर आसपास हाइवेमा खटाइएको थिएँ। घरमा चिन्ता मान्दा हुन् भनेर कसैलाई पनि भनेको थिइनँ। मेरी उनीलाई त झन् भन्ने कुरै भएन। असार पनि यसै त्यसै बित्न खोज्यो। उनीसँग कुरा मात्र हुन्थ्यो र व्यस्तताका कारण बिहे मंसिरमा गरौंला भन्दै मैले टार्न थालें।
साउन १ गते बिहानैदेखि पानी दर्किरहेको थियो। असारको अन्तिमदेखि नै आउन थालेको पानी अझै रोकिने छाँटकाँट थिएन। हामी उद्धारमा नै खटिरहेका थियौं।भोकप्यास नभनिकन पहिरोमा परेकाहरूको उद्धार एवं राजमार्गको सञ्चालन हाम्रो उद्देश्य रहन्थ्यो।
साउन १ गते बिहानै मेरो नामको मेहेन्दी लगाएर दुवै हातमा उनले म्यासेन्जरमा फोटो पठाएकी थिइन्। रातभर बसेर लगाएको भन्दै घुर्की लाएकी थिइन्। म भने काठमाडौंमा नै भएको जस्तो भान पार्नलाई हेडक्वाटर जान ढिलो भयो भन्दै लभ रियाक्ट मात्र गरेर निस्किसकेको थिएँ। त्यो दिन आकास एकदम कालो थियो। एकैछिन घाम लागेर पहिरो खस्न रोकिए पनि म मेरी मायासित मोबाइलमा कुरा गर्न पाउँथें नि सोच्दै बसिरहेको थिएँ। तर अहं! मौसमले निकै ठूलो अहंकार पस्किरहेको थियो।रित्तो हाँसो हाँस्दै पहिरोहरू सडकमा ओइरिएका थिए। अस्थिपञ्जर जस्तै कहालिलाग्दो देखिँदै थियो प्रकृतिको रूप। मलाई पनि निकै अत्यास लागेर आएको थियो।किन होला प्रकृतिले अलिकति पनि सहानुभूति देखाउन नसकेको होला भन्दै प्रश्नचिह्न खडा भएका थिए।
म आफ्नो सिफ्ट ड्युटी सकेर आराम गर्न दिउँसो कुरिनटारको क्याम्पमा आएको थिएँ। त्यतिकैमा गोरखाबाट काठमाडौंका लागि आएको माइक्रोबसलाई माथि डाँडाबाट आएको लेदो सहितको पहिरोले त्रिशूलीमा पुर्याएको खबरले विछिप्त भएँ। हतार हतार निस्किएँ। बाटोमा थाहा पाएँ आफ्नै गाउँबाट आएको माइक्रोबस रहेछ।घरमा आमा बुवालाई फोन गरें, फोन उठ्न सकेन। मेरी उनीलाई फोन गरें उपलब्ध हुन सकेन। आफ्नै वा कति चिने जानैकै मान्छे परे होलान् भन्ने भयले हृदय थिच्चियो। हलुका हुन सकिनँ। होसहवास पाउन सकिनँ। तै पनि आफ्नो कर्तव्य त आखिर निभाउनै पर्यो। घटनास्थल पुग्नासाथ सबैले मतिर हेर्दै 'तपाईंकै गाउँको गाडी रैछ सर' भन्न थाले। डोरीको सहायतामा जवानहरू तल त्रिशूलीमा ओर्लिरहेका थिए। 'तपाईं नजानुस् सर' भन्दै पनि थिए तर मेरो मनले मानेन।
लाइफ ज्याकेटसहित अन्य उपकरण लिएर डुंगाको सहायताले हामीले माइक्रोबसको खोजी गर्यौं। किनारमा नै हुने सम्भावना धेरै थियो किनकि घटना घटेको धेरैबेर भएको थिएन। सोह्र सत्र जना सवार उक्त माइक्रोबसको टुक्राहरू भेट्टायौं। लासहरू पनि भेट्टिए। लगभग साँझ परिसकेको थियो। म किनारमा त्यसै ओल्सिएर बसिरहेको थिएँ। पहिचान भएका २-४ वटा लासहरू मेरै नजिकका आफन्तका थिए। लहरै लासहरू राखिएका थिए। एक जना समेत जीवित हुन नसकेको उक्त घटनाबाट ममा धैर्यताको बाँध फुटिसकेको थियो। कलेज काँपिरहेको थियो,आँखाहरू त्यसै पल्टिरहेका थिए। लासको लस्करहरूमा एउटा लास हत्केला देखिने गरेर बाहिर निस्किएको थियो।
त्यो हत्केला नजिक म अचानक पुगेँ। र जब देखें हत्केलामा मेहेन्दीले सजिएको आफ्नै नाम र नाडीमा मायाको चिनो स्वरूप मेरी उनीलाई मैले दिएको घडी। हठात् म रून थालें। अरू जवानहरू आएर प्लास्टिक निकालेर अनुहार हेरे। तर मैले अनुहार हेर्न सकिनँ। मेरा नाम लेखिएका उनका कोमल हात सुम्सुमाइराखें। मेहेन्दी फिक्का हुँदै जाँदै थियो। घडीमा समय टक्क अडिएको थियो अनि उनको मोबाइलमा सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। आफ्नो पर्सबाट उनको फोटो हेरी हेरी म झन् रून थालें। सबैले भेउ पाए अनि नजर मतिरै लगाए अनि सान्त्वना दिन खोजे। म ग्रहण गर्ने अवस्थामा नै थिइनँ। आफूले मन पराएको फूल अकालमा नै दैवले चुँडेर लैजाँदा समेत मलाई रूने छुट थिएन। किनकि म बर्दीमा थिएँ। मेरी उनी जस्तै बितेका अरूहरूको सनाखतमा मैले भूमिका निभाउनुपर्ने थियो। हुन सक्ने अन्य दुर्घटनाहरूको फेरि उद्धारमा खटिनुपर्ने थियो। जनसेवामा लागि सकेपछि सबै जनतालाई नै आफ्नो मान्नुपर्ने रहेछ नि। कहाँ आफ्नै भनिएकाहरूको सन्तापमा झोक्र्याएर बस्न पाइन्थ्यो र?
त्यस साँझ मलाई आराम गरेर बस्न भनेर अरू जवान सनाखत कार्यलाई अन्तिम रूप दिन लागिपरे पनि म एक्लै त्यसरी बसी राख्न सकिनँ र लागिरहेँ बर्दी भिजेको थियो आधा त्रिशूलीले आधा आँसुले। जीवनका सबै शक्तिहरू निदाइराखेका थिए तै पनि म होस बिनै आफ्नो कर्तव्यमा लागिरहेकै थिएँ। भोलिपल्ट लासहरू आफन्तको जिम्मा लाउने निधोसहित हामी केही मात्र क्याम्प फर्कियौं। त्रिशूली बडो क्रुरताका साथ मेरो सपना, मेहेन्दीले रचिएको मेरो नाम, मेरो मुटु मेरो कलेजोलाई लुछ्दै चुँड्दै बगेको हेरिरहन सकिनँ।
क्याम्प पुग्ने बित्तिकै आमा बुवाको फोन आयो। आमाको मलिनो आवाज र मेरो क्रोदनले संवाद भावविह्ल भयो। मेरी उनीको परिवार सँगै रहेछन् मेरा बाआमा। कुरा बुझे अनुसार मेरी उनी म चाहिँ काठमाडौंमा नै रहेको ठानेर मेहेन्दी र हरियो चुराको सर्प्राइज दिनका निम्ति मलाई भेट्न काठमाडौं आएकी रहेछिन्। काठमाडौं नपुग्दै दैवले हाम्रो भेट त गरायो तर मैले हरियो चुरा लगाइदिनका लागि उनका हात तयार थिएनन्। उनको ओठमा बिहे कहिले गर्ने भन्ने प्रश्न थिएन। म सुकसुकाउँदै थिएँ, ' तिमीले त छाडेर गयौ निर्माया अब साउनमा मेरा लागि व्रत कसले बसिदिन्छ। मेरो लामो आयुको कामना त तिम्ले गरे मात्र पुग्थ्यो तर तिमी नै छोटो आयु बाँचेर गयौ।'
त्यस रात म निदाउनै सकिनँ। बस् अफसोसहरूले निमोठिरह्यो। जसरी नि बिदा मिलाएर उनलाई भेट्न म आफैं पुगेको भए उनी यसरी आउँदिन थिइन् कि? रातभर उर्लिरह्यो एउटा छाल मभित्र त्रिशूलीको र आँखैको डिलबाट बगाइलग्यो उनलाई। चराका प्वाँखहरूमा उनी उड्दै उड्दै आइन् मेरा कयौं सपनीमा र झन्किएर गइन् मधुर आवाजमा। प्रेमको अन्त्य सायद यस्तै नै हुँदो रहेछ। बिहे गरेर कालान्तर जिउने जाग्ने वा भनौं जुनी जुनी सँगै बाँच्ने सपनाहरूलाई चकित बनाइदिँदो रहेछ। म, मेरी उनको प्रेमबाट कसरी छुट्टिऊँ?, यो सम्झनाको लहर पार गर्न कुन नाउ सापटीमा मागौं? हरेक साल बर्खामासा कालो बादल गडगडाएर आकाशमा छरिँदा त्रिशूलीको भेलले मुटुनिर हान्छ, अनि उनको तस्बिरले आँखै मेरो ढाक्छ।