कविता
ओछ्यानमा पल्टिएर आज पनि
जबर्जस्ती एकजोर आँखा चिम्लिनु छ
विगतलाई बिर्सिने कोसिस गर्दै
सम्झनाको सिरकभित्र गुटमुटिनु छ
अनिश्चित आगतलाई पन्साउन खोज्दै
कम्तीमा सय पटक कोल्टे फेर्नु छ
एक जुग लामो एउटा रात
आज फेरि कटाउनु छ
कुइँयासी काँडाको लहराले
मेलको बोटलाई बेरेझैं
एक्लोपनको अजिङ्गरले बेरेको मानिसलाई
समयले यतिसम्म सताउने रहेछ
कि एक रात कटाउन उसलाई
एक जुग लाग्ने रहेछ
उराठ लाग्दो दिनलाई डाँडा कटाएर
राती जब निद्रादेवीको अंगालोमा घुस्रिन खोज्छु
तब बेस्सरी घाँटी अठ्याए जस्तो हुन्छ
कोही आएर मेरो मुख थुन्न थाल्छ
हेर्दाहेर्दै कसैले मुटु कलेजो लुछेर लान्छ
रुन, कराउन, चिच्याउन नसकेर म
तातो तावामा राखेको जिउँदो माछाझैं छटपटाउँछु
फणा फिँजाएर सयौँ सर्पहरू
सिरानीतिर ओहोरदोहोर गरिरहन्छन्
दर्जनौं गोहीहरू मुख बाएर
गोड्यानतिर पसारिएका छन्
छेवैमा नरभक्षी बाघ सुतेको छ
मरेका सपनाहरू प्रेत बनेर
सिलिङ र भित्तातिर भड्किरहन्छन्
दुस्मनको घेराबन्दीमा परेको
घाइते सिपाही भएको छु म
र यातना गृहमा परिणत भएको छ
मेरो सुत्ने कोठा
उफ्, यस्तो भयावह रात !
कसरी म सजिलै कटाउन सक्छु
यस्तो अत्यास लाग्दो ओछ्यानमा
कसरी म आनन्दले निदाउन सक्छु
यो अररो जिन्दगी अब
कसरी म कमलो बनाउन सक्छु
कसरी मैले मुक्ति पाउन सक्छु
यो कहाली लाग्दो उदासीबाट
हे सूर्यदेव !
कि त तिमी कहिल्यै अन्तध्र्यान नभई देऊ
हे निद्रादेवी !
कि त तिम्रो न्यानो काखमा
मलाई निसर्त शरण देऊ
साँझ बिहान सधैँ तर्साइरहने
अँधेरी खोलाको भूत जस्तो
यो एक्लोपनको सामना गर्ने
मलाई यस्तो शक्ति देऊ
कि कालो रात निचोरेर म
घटघटी पिउन सकूँ
आफूभित्रको भयङ्कर खाडल
म आफै पुर्न सकूँ
आफै कृष्ण, आफै अर्जुन बनेर
जीवनको महाभारत जित्न सकूँ
र सजिलै मुकाबिला गर्न सकूँ
यो मतलबी दुनियाँको... ।।