आमा,
जब म कमजोर पर्छु, मेरा आत्मविश्वास घट्न थाल्छन्,
तिमी नै मेरो आँट, हिम्मत र साहस हौ
तिमी र तिम्रा संघर्षका कथा पढ्ने हो भने
सारा संसारका लागि प्रेरणा छौ।
घरभरी परिवार राखेर बसेकी तिमी अहिले एक्लै हुँदा नि
नडराए जस्तो गर्छेऊ, साँच्चि डर लाग्दैन र?
यो बर्खा,
अनि घरी बाको याद, घरी सन्तानको यादको झरीले रुझ्दा
आफ्नै घर पनि भूत घर लाग्दैन र ?
समयले बा लाई भगवानको प्यारो बनायो
अनि
हामीलाई सहर को
तर
मेरी आमैलाई अझै आफ्नै गाउँ प्यारो छ
आमा आउन त सहर सँगै बसम् भन्दा भन्छिन्
मलाई तेरो बाको पसिनाले बनेको सानो संसार नै न्यानो छ
जब बा थिए,
संसार झिलिमिली थियो
तर
बा नहुँदा पनि मेरी आमाले हाम्रो संसार अँध्यारो हुन दिएकी छैनन्
त्यसैले,
बाका सपना र चाहनाहरू पूरा गरी आमाको संसार झिलिमिली पार्ने प्रतिज्ञा
तिम्रो सन्तानले बिर्सिएका छैनन्।
आमा,
आज तिमी यस धर्तीमा आएको दिन
मलाई आशीर्बाद देऊ, म पनि तिमी जस्तै महान् आमा बन्न सकूँ
कसैले संसारमा अमूल्य के हो भनेर सोधे
निर्धक्क,
मेरा लागि मेरी आमा हो भन्न सकूँ।