नाम— कृष्ण ताजपुरिया
उमेर – ५८ वर्ष
पेसा — पेन्टिङ
ठेगाना – सुनवर्सी नगरपालिका वडा नं ६, मोरङ
उचाइ– ५ फिट ६ इन्च
वर्ण – हल्का कालो
उनको एकसरो परिचय यहीँ हो।
उनी विद्यालयको सोफामा खुट्टा खुम्च्याएर बसेका छन्। अर्को सोफामा उनकी श्रीमती चाँदनी राजवंशी बसेकी छिन्। अन्दाजी उनको उमेर बाउन्न जति छ। रातो वर्णकी उनी सुतीको रातै साडीमा लपेटिएकी छिन्। उनका मधुरा आँखा जिज्ञासु जस्ता लाग्छन्। उनी बेला बेला पतिको अस्ताउन लागेको घाम जस्तो मलिन मुहार चियाउँदै छिन्।
कृष्णको मुहारको उदासी भेउ पाई नसक्नु छ। दुई दशकदेखि म उनको आनीबानी, बोली व्यवहार, हाउभाउ सबैसँग परिचित छु। तर कहिल्यै उनलाई मैले यस्तो अवस्थामा देखेको थिइनँ।
बर्खे बिदामा विद्यालय त बन्द थियो। तर प्रशासनिक र अन्य निर्माण, मर्मत कार्यका लागि विद्यालय खुलेकै थियो। भित्ते लेखन र रङ रोगनका लागि उनी विद्यालय आएका थिए। उनको शरीरमा पहिलेको जस्तो ऊर्जा थिएन। अनुहारमा चमक थिएन, ओठमा पहिले जस्तो उन्मुक्त हाँसो थिएन। बोलीमा पनि अल्छी झल्किन्थ्यो।
उनले भित्ते लेखनमा गरेका गल्ती देखेपछि मैले उनलाई सोधेँ, 'हैन कृष्णजी! तपाईंलाई के भयो? तपाईं बिरामी हुनुहुन्छ? तपाईंको जाँगर उत्साह कहाँ गयो?'
मैले अलिक बेपर्बाहसँग भनेँ।
मलाई उनको क्षमता थाहा थियो। उनका राम्रा अक्षरले सजिएका रतुवामाई र सुनवर्सी नगरपालिकाका विद्यालयका भित्ताले मुस्कुराएर सबैलाई मुग्ध पार्छन्। गेट र साइन बोर्डमा उनकै कला पोखिएका छन्। ‘यो नगरपालिकामा तपाईंलाई हार्दिक स्वागत छ’ र ‘यो नगरपालिका भ्रमण गरिदिनु भएकोमा धन्यवाद छ’ आदि साइन बोर्डमा उनका सुन्दर अक्षर कुँदिएका छन्।
सरस्वती पूजाका बेला एक महिना अगाडिदेखि उनको आँगनमा सरस्वतीका मूर्ति ठडिएका हुन्थे। उनी सरस्वती, दुर्गा र अन्य देवी देवताका मूर्ति दुरुस्त बनाउन सक्थे। पुस्तक पढ्नु उनको सोख थियो। एक दिन उनले भनेका थिए, 'राति पुस्तक नपढी निद्रा नै लाग्दैन।' उनीलाई म बेला बेला मसँग भएका पुस्तक दिन्थेँ।
हँसिलो स्वभावका उनी आज यस्तो निरीह अवस्थामा देखेर मैले उनलाई सोधेको थिएँ।
उनले भित्र दबेको पीडा प्रकट गर्दै बोले, 'म त बरबाद भएँ। मलाई मिटरब्याजले सक्यो। यही पिरले अचेल मेरो होस् ठेगान छैन।'
आँसु चुहिएला जस्तै उनका टिठलाग्दो आँखा मतिर तेर्सिए। उनका अनपेक्षित कुरा सुनेर म अचम्मित भएँ।
'होइन के भयो? सबै सुनाउनुहोस् न,' मैले उनलाई सहानुभूतिको आवाजमा भनेँ।
'सबै कुरा सुनाउन भोलि मेरी पत्नीलाई लिएर आउँछु,' यति भनेर उनी आफ्नो काममा तल्लीन भए।
उनका कानले त्यति राम्रो भर नगर्ने भएकोले होला दोहोरो कुराकानीमा सहज होस् भनेर उनले श्रीमती ल्याउने कुरा गरेको हुनुपर्छ। उनमा पक्कै केही सहयोग वा सल्लाह पाउने आशा पलाएको हुनुपर्छ।
एक दशकअगाडि कृष्ण गेटमा विद्यालयको नाम लेख्दा तल लडेछन्। उनको खुट्टा नराम्ररी भाँचिएछ। दैव पनि कति निष्ठुरी जो निमुखा छ, उसैलाई सास्ती दिन्छन्। बिचरा कृष्णको औषधी उपचार गर्ने औकात थिएन। हामी सबै शिक्षक र व्यवस्थापन समिति सदस्यले चन्दा उठाएर केही रकम जम्मा पारेर उनलाई भेट्न बाह्र किमी टाढाको उनको घरमा पुगेका थियौँ।
हामीसँग सहयोग रकम त धेरै थिएन तर सहानुभूति धेरै थियो। उनले त्यसलाई कृष्णलाई सुदामाले लगेको अनमोल कोसेली ठाने। ओछ्यानमा लमतन्न सुतेका उनी उठ्न कोसिस गर्दा सकेनन्। उनका आँखाबाट झरेका अपार श्रद्धाका केही थोपा गालामा आएर अड्किएका थिए। उनका बारेमा यो पुरानो स्मरण थियो।
भोलिपल्ट करिब एघार बजे कृष्ण पत्नीलाई पुरानो प्लाटिना मोटरसाइकलको पछाडि राखेर आइपुगे।
निजी सम्बन्धमा त के गर्छन् थाहा छैन तर दुनियाँले हेर्दा उनीहरू असाध्यै मिलेका देखिन्छन्। प्रायजसो पतिको काममा पत्नीले साथ दिन्छिन्। धेरै पटक आइसकेको हुँदा उनी मेरा लागि नौली थिइनन्।
एक छिन पछि मैले कुरा झिकेँ, 'भाउजू के भयो रे तपाईंहरूको?'
मैले यति मात्र भनेको के थिएँ उनले हिजो कृष्णले भनेकै भाव र शब्दमा भनिन्, 'हामी त बरबाद भयौँ। मिटरब्याजले हाम्रो घर घडेरी सक्यो। यही पिरले उहाँको मेरो होस् ठेगान छैन। धेरै दुब्लाइसक्नु भयो।'
'कसरी यस्तो भयो? सबै सुनाउनुहोस् न,' मैले कृष्णतिर पुलुक्क हेर्दै भनेँ।
त्यसपछि चाँदनी भाउजूले यसरी बेलिबिस्तार लगाइन्।
उनीहरूको एक कट्ठा घडेरी र त्यसमा बनेको भुइँ तले घर छ। घरको पछिल्तिर बाँसको गुवाली छ। त्यसमा एउटा गाई र केही बाख्रा पालेका छन्। घरको अघिल्तिरको कोठामा एउटा सानो पसल छ। पसलमा ज्यादा जसो स्थानीयको आवश्यकता पहिचान गरेर केही उपभोग्य सामान र केही रक्सीका बोतल राखेका छन्। घरकाले पसल हेर्थे। कृष्ण काम पाउँदा काममा जान्थे भने काम नहुँदा घरमै बसेर पसलको काममा सघाउँथे। एउटा छोरा र एउटी छोरीसहित चार जनाको सानो सुखी परिवार बाहिरबाट हेर्दा लोभलाग्दो छ।
छोरो एक्काइस वर्ष पुग्यो, छोरी उन्नाइस। उनीहरूले बाआमालाई घरको काममा सकेको सहयोग गरेकै थिए। सबै साथी विदेश गएको देख्दा उसलाई पनि विदेश जाऊँ जाऊँ लायो। बाआमालाई नि विदेश पठाइदिए घरको दुःख पखाल्छ भन्ने लाग्यो। यस्तै सपनाको सानो अनि सुन्दर संसार कल्पना गर्दै उनीहरूले छोराको पासपोर्ट बनाइदिए। भिसाको लागि म्यानपावरमा पासपोर्ट पेस गरे। केही महिनापछि छोराको भिसा लागेको खबर आयो। घर खर्च त दुःखसुख चलेकै थियो तर छोरालाई विदेश पठाउँदा लाग्ने पैसा थिएन। म्यानपावरले मागेको पैसा कसरी जम्मा गर्ने भन्ने पिर भयो उनीहरूलाई। एक/दुई साथीभाइसँग हारगुहार गरे। दुई/चार आफन्तसँग सहयोग मागे। तिनीहरूबाट सल्लाह प्राप्त भयो, पैसा प्राप्त भएन। एक रात बूढाबूढीले गम्भीर छलफल गरे। यस्तो अवसर चुकाउनु हुँदैन, छोरालाई जसरी भए नि विदेश त पठाउनै पर्छ भन्ने उनीहरूले निष्कर्ष निकाले। जसरी त जसरी, तर कसरी? यो प्रश्नले उनीहरूलाई नराम्ररी गाँज्यो। छिमेकी धरमलालले भनेको सम्झे। 'केही उपाय भएन भने जग्गा धितो पास गरेर ऋण लिनुपर्छ। म मान्छे खोजिदिन्छु।' उसले बिहान भनेको थियो।
त्यसपछि तीन लाख रुपैयाँ लिएर चाँदनीको नाममा भएको एक कट्ठा र घर धितो पास भन्दै मालपोत कार्यालयमा गएर रजिस्ट्रेसन पास गरिदिएछन्।
कृष्णको बारेमा मलाई धेरै कुरा थाहा थियो। उनका हजुरबुबा जमिनदार थिए। उनको बिस बिगाहाभन्दा धेर जमिन थियो रे। उनले हात्ती पालेका थिए। उहिले हात्ती पाल्नु भनेको वैभवताको प्रतीक थियो। घरमा नोकरचाकर थिए। हरूवाचरुवा थिए। रवाफिलो जीवन थियो उनको। रामायण कालीन रथ जस्तै कलात्मक रूपले सजाएका गोरु गाडामा चढेर सपरिवार मेला पुग्थे। गाडा तान्ने गोरु रङ लगाएर चिटिक्क पारिएका हुन्थे। गोरुका सिङमा राता, हरिया, नीला कपडामा फेटाले औधी सुन्दर देखिन्थे। त्यो बेला मेला भर्न ठुलो तयारी गरिन्थ्यो। जग्गा बेचेर मेला भर्नु कुनै अनौठो थिएन। कृष्णको हजुरबुबाको जमिन बुबाको पालामा आइपुग्दा घटेर चार/पाँच बिगाहामा सीमित भयो। हात्ती त बुबाको स्वामित्वमा नआई हजुरबुबाले सके। गोरु गाडामा बसेर मेला चाहर्न बाबुले पनि पाए। कृष्णको पालामा भने आफ्नै परिश्रमले जोडेको एक कट्ठा जमिन र एउटा सानो घर थियो। त्यो पनि छोरालाई विदेश पठाउन धितो पास भन्दै छिन्ती सरह पास गरिदिएका थिए।
साहुले उनीहरूको पसलको सोकेसमा राखेका आठ हजार आठ सय अड्चालिसका धेरै बोतल सकिदिएछन्। कहिले एक्लै आउने, कहिले साथी लिएर आउने। बेलाबखत मासुसँग र मासु नहुँदा दालमोठ नै सही। तर त्यसको पैसा उनीहरूले लिन मिल्दैनथ्यो किनकि उनी त ऋणदाता न ठहरिए। यो कुरा कृष्णले बताएका थिए।
जग्गा त पास गरिदिएकै थिए। त्यसको बदलामा साहुले उनलाई छत्तिस प्रतिशतका दरले सावाँ र ब्याज चुक्ता गरेपछि उक्त जग्गा फिर्ता गरिदिनेछु भन्ने ब्यहोराको एउटा कागज गरिदिएका थिए। त्यही कागज उनको जग्गा फिर्ता गर्ने आधार थियो। त्यसपछि पटक-पटक गरी उनले साहुलाई तीन वर्षभित्र छ लाख ७५ हजार बुझाइसकेका थिए। तैपनि उनको ऋण चुक्ता भएन। उनको जग्गा फिर्ता भएन। उल्टै साहुले उनलाई अर्को कागज गराएका रहेछन्। त्यस कागजमा मासिक एक हजारमा आफ्नो घर आफैले साहुसँग भाडामा लिएको उल्लेख गरिएको रहेछ।
यसैबिच ती साहुले कृष्ण र चाँदनीको सो घडेरी अर्कैको नाममा पास गरिदिएछन्। यो कुरा थाहा पाएपछि उनीहरू आफ्नो घडेरी र घर मिटरब्याजका कारण गुमेको महसुस गरी फिर्ता गराउन अनेक प्रयत्न गर्न थालेछन्।
बसेकै ठाउँबाट लम्केर चाँदनी भाउजूले थुप्रै कागज भएका रातो झोला मतिर बढाइन्। मैले झोला खोलेर कागज हेरे। त्यसमा उनको जग्गाको धनीपूर्जा, मालपोत तिरेको रसिद, तमसुक, ब्याज बुझाएको भरपाई, घरभाडाको कागज अनि साहुले उनलाई मेसेन्जरमा दिएका धम्की र वार्ताका प्रिन्ट थिए। उनले आफूहरूले गरेका प्रयत्नको बेलिबिस्तार सुनाइन्। समाजमा, वडा कार्यालयमा हार गुहार गरेछन्। दुर्गा प्रसाई रंगेली आउँदा उनले आफ्नो जग्गा फिर्ता गरिदिन्छन् भनेर कसैको सुझावअनुसार उनलाई सबै कागजातसहित निवेदनसमेत चढाएका रहेछन्। आपत् परेका बेला ज्योतिषको घर चहारेझैँ उनी कसैले मद्दत गरिदेलान् भन्दै सुने जति ठाउँमा पुग्दा रहेछन्।
'खै, बिचरा छोरो विदेशमा घरको लागि दुःख गर्छ र महिनाको पचास/साठी हजार कमाउँछ। खाई नखाई गरेर सबै पैसा पठाउँछ। हामी उसले पठाएको सबै पैसा साहुलाई दिन्छौँ तर ऋण सकिएन,' भाउजूले लामो सुस्केरा हाल्दै भनिन्।
मिटरब्याज विरुद्ध उजुरी गर्ने व्यवस्था भएको जानकारी गराएँ।
मैले काठमाडौँमा वकालत गर्ने एक जना यतैका भाइलाई उनका कागजातको फोटो खिँचेर ह्वाट्सएपबाट पठाएँ। छोराले मुद्दा हाल्न मिल्छ; मुद्दा लड्ने हो भने सक्दो सहयोग गरिदिने कुरा वकिल भाइले बताएका थिए।
केही दिनपछि फेरि दुवै बुढाबुढी आए। मैले सबै कुरा सुनाएँ। मुद्दा गर्ने पैसाका कारण नसक्ने विवशता देखाए।
'साहुबाट समेत अर्कैको नाममा पुगेको जग्गा लामो मुद्दा गर्दा गर्दा पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुग्दा आफ्नो पुस्ता नै नरहन सक्छ। के मुद्दा लड्नु? एक कट्ठा घडेरीका लागि ‘चारानाका मुर्गी बारानाका मसला’ जस्तो होला,' कृष्णले भनेका थिए।
त्यो दिन दुवै निराश थिए। दुवैका कान्तिहीन मुहार कम टीठलाग्दो थिएनन्। वास्तवमै दुःख गरेर जीविकोपार्जन गर्ने गरिबका लागि यो एउटा भयानक पहिरो थियो। यही पहिरोमा परेर घर घडेरी स्वाहा हुँदै थियो।
'यही पिरले हामी रातभरि निदाउँदैनौँ। एउटा भएको छाप्रो नि खोसियो भने कहाँ जानु? यो कुरा सम्झिँदा पिरले छाती चिरिन्छ,' चाँदनीले सुकसुकाउँदै भनेकी थिइन्।
वर्षा हुन आँटेको आकाश जस्तो अनुहार पारेका कृष्णले पनि देब्रे हातले आँखा पुछेका थिए। मैले सिडिओ कार्यालयमा निवेदन दिन सल्लाह दिएँ।
सिडिओ कार्यालय पुगेर निवेदन दर्ता गरेको केही दिनपछि फेरि उनी कामको सिलसिलामा उनी विद्यालयमा आए। त्यो दिन त्यसै विद्यालयका पूर्व सहकर्मी साथी आउनुभएको थियो। मैले उनको समस्या उहाँलाई सङ्क्षिप्त सुनाएँ। उहाँले सिडिओ आफूसँगै पढेको साथी भएकोले म कुरा गरेर सहयोग गर्छु भन्नुभएको थियो। त्यसपछि साथीले समाधानका लागि पटक पटक सिडिओसँग यो विषयमा कुरा गर्नुभएको थियो।
उनीहरूलाई एक थरीले हामी अभियन्ता हौँ, मिलाइदिन्छौ पचास हजार दिनु भन्दै पैसा मागेर दिक्क लगाएका रहेछन्। अर्को थरीले उनलाई कुनै अमुक पार्टीका कार्यकर्ता हौँ। अर्का थरीले आउँदो आइतबार तपाईंको मुद्दा छिनोफानो हुन्छ, दुई लाख दिने हो भने जग्गा फिर्ता गराइदिन्छौँ भन्दै फोन गर्दा रहेछन्। त्यस्तै अर्को थरीले एक हप्ताभित्र छ लाख दिनुभयो भने हामी घडेरी फिर्ता गराइदिन्छौँ भनेका रहेछन्। तर एक हप्तामा छ लाख त के पचास हजार निकाल्ने उपाय नि उनीहरूसँग थिएन। उनीहरूको सोझोपन र कमजोर अवस्थाको नाजायज फाइदा लिने कोसिस धेरैले गर्दा रहेछन्। सानोतिनो रकम पहिल्यै बुझाइसकेका उनीहरूलाई विश्वास लागेको रहेनछ। त्यसपछि पूर्व शिक्षक साथीले ती अभियन्ता भन्नेहरूलाई फोनमा हप्काइदिनु भएको रहेछ। 'हामी नियमअनुसारको ब्याज र सावाँ तिर्न तयार छौँ तर हाम्रो घडेरी सरकारले कहिले फिर्ता गरिदेला?' भाउजूले सोधिन्। म नाजवाफ भएँ।
बेलुका खाना खाइसकेपछि आराम गरेर बसेको बेला मनमा उही घटना र प्रसङ्ग रुमलियो। 'हामी नियमअनुसारको ब्याज र सावाँ तिर्न तयार छौँ तर हाम्रो घडेरी सरकारले कहिले फिर्ता गरिदेला?'
चाँदनी भाउजूको त्यही प्रश्न मेरो दिमागमा घुम्यो। मेहनती कृष्ण ताजपुरियाको निर्दोष टिठलाग्दो मुहार मेरै अगाडि उभिएर टुलुटुलु हेरिरहेझैँ लाग्यो।
मैले केही समय अगाडि पढेको एउटा समाचार सम्झिएँ।
कैलालीको एक जना किसानले बैंकको रिन तिर्न र ट्याक्टर किन्न एक बिगाहा सोह्र कट्ठा साहुलाई धितो पास गरेर बिस लाख ऋण लिएछन्। पाँच वर्ष भाखा राखेर ऋण लिएको चार महिनामै साहुले सो जग्गा दुई जनालाई ९६ लाखमा बिक्री गरेछन्। त्यो जग्गा किन्नेले जग्गा धितो राखेर ऋण बैङ्कबाट लिएछन्। ऋण नतिरेपछि बैङ्कले सो जग्गा पटक पटक लिलामको सूचना निकाल्दा कसैले सकार नगरेपछि बैङ्कले आफ्नै नाममा नामसारी गरेछ। पाँच वर्ष भाखा राखेर बिस लाख ऋणमा राखेको जग्गा घुम्दै फिर्दै बैङ्कको नाममा पुगेछ। त्यतिन्जेलसम्म ऋणीले तिरेको तीस लाख जति रकम पनि गयो, एक बिगाहा सोह्र कट्ठा जमिन पनि गयो। योभन्दा ठुलो ठगी अरू के हुन सक्ला र?
यस प्रकारका मिटरब्याजका अनेक रूपबाट नेपालका लाखौँ मान्छे पीडित भएका होलान्। कति मान्छे सुकुम्वासी बने, कतिको सर्वनाश भयो, कतिको परिवार यसैका कारण विखण्डन भयो। कतिले आत्महत्या गरे होलान्, कति मान्छे डिप्रेसनमा परे होलान् अनुमान गर्न गाह्रो छ। मिटरब्याजका कारण मान्छेले पाएको पीडाको कुनै लेखाजोखा छैन।
ऋण लिएपछि तिर्नु पर्दैन भन्ने अवश्य होइन। अवश्य तिर्नुपर्छ। कतिपय अवस्थामा ऋण दिने मान्छेले ऋण मात्र दिएका हुँदैन ठुलो उपकार पनि गरेका हुन्छन्। त्यहीँ ऋण गरिब गुरुबाको घरमा सुत्केरी व्यथा टर्छ, बुबाको काजक्रिया सकिन्छ। अलपत्र परेको छोरो अरब पुगेर कमाउन थाल्छ। छोरी अन्माउन होस् वा आमाको उपचार गर्न होस्, ऋणले सीमान्त वर्गका मान्छेलाई सञ्जीवनी बुटी सरह काम दिएकै हुन्छ। लिनेले पनि गुन बिर्सिनुहुँदैन तर त्यो ऋण जालझेल र ठगीको माध्यम नबनोस्। अभरमा ऋण दिएर नाजायज रूपले कसैको सर्वस्व हरण गरेर उठिबास लाउने अधिकार त कसैलाई छैन नि।
'सरकारले साँच्चै मिटरब्याजको समस्या कहिले समाधान गर्ला? सरकारलाई दबाब दिन कञ्चनपुर र काँकडभिट्टादेखि २३ दिन लगाएर हिँडेर सयौँ मिटरब्याज पीडित काठमाडौँ आएको समाचार पनि अब त पुरानो भइसक्यो। आफ्ना सरोकारका कुरामा फास्ट ट्र्याक भनेर चाँडै कानुन पारित गरेका उदाहरण प्रशस्त छन्। अध्यादेशबाट कानुन बन्छन् तर गरिबहरू पीडित भएको मिटरब्याजसँग सम्बन्धित प्रभावकारी कानुन फास्ट ट्र्याकबाट बनाएर किन सरकारले गरिब दुखीको पक्षमा काम गर्दैन?
एक पटक मिटरब्याज सम्बन्धी कानुन बनेको समाचार आएको थियो तर त्यो कानुनले मिटरब्याज पीडितको लागि न्याय दिन सक्यो वा सकेन मैले ठम्याउन सकिनँ। अदालतको फैसलाले बाहेक ऋण लिएको दिएको आधारमा कसैले घर खेत गुमाउनु नपरोस्। ऋण रकम र ब्याजको थैली अदालतमा बुझाएपछि स्वतः जग्गा फिर्ता हुने कानुन सरकारले कहिले बनाउँला? आजन्म तिर्दा तिर्दा कहिल्यै नसकिने ऋणको पासोमा परेका निमुखा गरिबहरूले कहिले न्याय पाउलान्? कृष्ण र चाँदनीले गुमाएको निद्रा कहिले फिर्ता पाउलान्? ' मेरो मनमा यस्तै भावना सलबलाए।