उसको र मेरो घर एकै जिल्ला हो। हामी एकै कक्षा पढेका थियौँ। स्कुलको ट्यालेन्ट केटा ऊ। म भने न जान्नेमा पर्थेँ, न कमजोर विद्यार्थीमै।
सानै कक्षादेखि साथीहरूले उसको नामबाट मलाई जिस्क्याउँथे। तर मलाई भने वास्तै थिएन। म कम बोल्ने र कम रिसाउने भएको हुनाले पनि साथीहरू बढी मलाई जिस्काउँथे। म हाँसेर टारिदिन्थेँ।
बिस्तारै कक्षा बढ्दै गयो। झन्-झन् जिस्काउन थाले। मलाई भने रिस उठ्न थालिसकेको थियो। एउटै भातको सितालाई चपाई राख्यो भने तितो हुन्छ भने जसरी एउटै कुराले मलाई इरिटेट बनाइसकेको थियो।
कक्षा ७ मा पढ्दा उसको आफन्तले पनि मलाई साइनो लगाई बोलाउन लागे। मलाई लागेको थियो कि सँगै पढ्ने भएर लगाइदिएका होलान्। तर उसका नजिकका मान्छेले साइनो लगाएर बोल्दा मनमा शङ्का लाग्न थाल्यो। कतै उसले त मलाई मन पराउन थाल्यो कि! होइन होला, स्कुलमा सुनेर भनेका होलान् सोच्थेँ।
पछि मेरो घरमा पनि थाहा पाएछन्, उसको नाम लिएर मलाई बोलाएको। त्यसपछि अरू कसैले केही भनेनन्। आमाले भने नमज्जाले गाली गरिन्।
ऊसँग एउटै गाउँले भाकोले चिनजान राम्रो थियो। तर बोलचाल कम। पहिले पहिले काम पर्दा बोल्ने म पछि काम पर्दा खेरि पनि बोल्न छोडेँ। कक्षा ८–९ मा पढ्दा उसका नजिकका साथीभाइ जति थिए, उनीहरू पनि उसकै नाम लिएर बोलाउन लागे।
घरमा आमाको गाली झन् बढेको थियो। त्यसै क्रममा कक्षा १० मा ट्युसन पढ्न जान्थ्यौँ। स्कुल नजिक भएकाले बिहान ६ बजे कात्तिक/मङ्सिरको त्यो चिसोमा कठ्याङ्ग्रिँदै गइन्थ्यो। हाम्रो गाउँबाट धेरै जना थियौँ। एउटै कक्षा र गाउँले भए तापनि बाटो भने अलग-अलग नै थियो।
ट्युसन पढ्न थालेपछि कहिलेकाहीँ आउँदा जाँदा बाटोमा भेट हुन्थ्यो। उसले बोलाउँथ्यो, म खासै बोल्दिन थिएँ। त्यही क्रम लगभग केही महिना चल्यो। पछि ऊ मसँग नजिक हुन थालेको जस्तो लाग्यो। बिस्तारै पहिलेभन्दा बढी कुरा हुन थाल्यो। नबोलौँ एउटै गाउँले, बोलौँ दुनियाँले झन् शङ्का गर्ने भए। हुन त सबैको मुख थुन्न कहाँ सकिन्छ र! तर पनि कसैको भन्ने बाटो नहोस् भन्ने नै मेरो सोच थियो।
डर पनि थियो। आमाले त्योसँग बोलेको देखे घर आउलास् भन्ने जुन डर दिएका थिए। लाग्थ्यो साँच्ची बोलेको देखे आमाले मलाई घर बस्न दिइनन् भने कहाँ जाने भन्ने चिन्ता पनि मनमा थियो। अरू सबैको नजरमा ऊ राम्रै मानिन्थ्यो। त्यस कारण उसलाई टाढा बनाउन मेरो मनले पनि मानेन।
सबैको नजरमा इमानदार मानिने ऊ। मलाई पनि ऊ त्यस्तै छ लाग्यो। हामीबिच बिस्तारै सम्बन्ध अघि बढिरहेको थियो। उसका कारण आमाको खुबै गाली सुन्नुपर्थ्यो मैले।
आमाले एक दिन बुझ्छिन् लाग्थ्यो। किनकि केटो मलाई मात्र होइन सबैलाई इमानदार लाग्थ्यो। मेरो परिवारका अन्य सदस्यले भने सायद उसको व्यवहार देखेर सुनेर होला ठिकै छ केटो भन्थे। तारिफ भने कसैको आउँदैन थियो। अब स्कुलमा, गाउँमा, साथीभाइमा , आफन्तमा सोझो जो उसले रूप देखाएको थियो।
११ कक्षा पढ्दासम्म राम्रै थियो सम्बन्ध। कक्षा ११ पढ्दै गर्दा म टेक्निकल पढ्न घोराही झरेको थिएँ। मैले पढाइमा बढी समय दिनुपर्ने भएकाले ऊसित भने फोन कम हुँदै गएको थियो। मैले मेरो बारेमा उसलाई सबै भनेको थिएँ। उसले पनि राम्रोसँग पढ्न सुझाव दिन्थ्यो।
आफूलाई भाग्यमानी सम्झिन्थेँ, कति बुझ्ने मान्छे पाएको छु भनेर। जन्म दिने आमाको त्यति गाली पाउँदा पनि कहिले लाग्थेन आमालाई दुखी पार्छु। आमाको लागि नराम्रो गरेको छु। एक दिन उसले आमालाई बुझाउन सक्छ भन्ने नै लागेको थियो। त्यसै कारण पनि नबोलेर टारिदिन्थेँ।
मायाभन्दा माथि केही छैन जस्तो लाग्थ्यो। सायद काँचो उमेर भएर होला। संसार ऊ नै हो जस्तो लागिसकेको थियो।
२०७९ को कुरा हो। चैत महिना लागेको थियो। शनिबारको दिन थियो। बिदा भएको हुनाले कोठामा बसिरहेको थिएँ। त्यही बेला उसको फोन आयो। फोन उठाएँ। निराश भएर बोल्यो। सन्चो छैन होला सोचेँ। तर उसले उसको विवाहको कुरा सुनाउन फोन गरेको रहेछ।
मैले सोधेँ, 'के भएको छ तँलाई? सन्चो छैन कि कस्तो?'
उसले ठिक छु भन्ने जवाफ दियो। अनि मैले किन दुःखी भएर बोलिरहेको त भन्दा ऊ चुप लाग्यो।
बिरामी पर्दा समेत राम्रै बोल्ने मान्छे के भएछ मनमा कुरा खेलिरहेको थियो। त्यसै बेला उसको सुक्क-सुक्क आवाज आयो।
'के भो?'
यति भन्दै गर्दा उताबाट उसले भन्यो, 'माफ गर है, म बिहे गर्दै छु।'
हिजोसम्म जीवन सँगै अघि बढाउने योजना बनाएका हामी उसको कुरा सुनेर रुखबाट खसे जसरी झस्किएँ।
'के भन्छ?' भन्दै फेरि प्रतिप्रश्न गरेँ, 'प्र्याङ्क गरेको तैलै?'
उसले होइन भन्यो। मेरो मन यति भक्कानिएर आएको थियो। जसोतसो सम्हालेर बोलिरहेको थिएँ। मैले कारण सोधेँ, 'बिहे गर्न तँलाई हतार किन?'
उसले बाउआमाको खुसीको लागि भन्यो। घरको जेठो छोरा भन्ने थाहा पाएर पनि होला, मलाई लाग्यो बाआमाभन्दा संसारमा को ठुलो हुन्छ र? आफ्ना मातापिताको मन दुखाउने कसको चाहना हुन्छ र?
मैले मेरो आमाले गाली गर्दा नमानेको सम्झिएँ। साँच्ची, संसारमा आफ्ना बाआमाभन्दा कोही माथि हुन्छ जस्तो लागेन त्यो बेला। मनमा प्रश्नको बाढी आइरहेको थियो। तर आफ्नो खुसीलाई मात्र हेर्नु हुन्न लाग्यो। बधाई दिएँ।
अन्तिममा 'खुसी त छस् नि?' भनी सोधेँ।
उसले भन्यो, 'घर-परिवारको खुसी नै मेरो खुसी। त्यसपछि म बोल्न सकिनँ। उसले 'कहिलेकाहीँ बोल् है, हामी एक अर्कालाई बनेका रहेनछौँ। राम्रोसँग पढ्। मजस्तो हजार पाउँछस्, मनलाई सम्हाल्।'
म केही नबोलेको भएर होला उसले फोन काट्यो।
उसको बिदाइपछि गाउँमा फोन गरेँ दिदीहरूलाई। उनीहरूले थाहा पाइसकेका रहेछन्। उसको बिहे हुँदै छ। त्यति मात्र होइन, ऊ बाउ बन्दै छ भन्ने समेत थाहा रहेछ उनीहरूलाई। मलाई भनिदिएका थिएनन्। पढ्ने मान्छेलाई अप्ठ्यारो हुन्छ सोचेर होला सायद।
मैले हाँस्दै भनेँ, 'बिहे गर्दै छरे ऊ।'
दिदीले बुझिहाली। नबुझोस् पनि कसरी, जसको नतिजा छताछुल्ल भएको थियो। म गाउँदेखि टाढा बसेकाले मलाई मात्र थाहा नभएको रहेछ।
उसले मेरो सम्बन्ध अर्कैसँग छ भनेको भए हुने। मसँग ढाँट्नु पर्ने के थियो होला? न त मैले उसलाई सम्बन्धमा बस्नै पर्छ भनेको थिएँ। न उसको खुसीबिना अघि बढ्न खोजेको थिएँ। आफैँ आयो मेरो जीवनमा, जिन्दगीभरलाई पुग्ने नमिठो पल दिएर गयो।
ऊसँग मेरो न कुनै दुखेसो थियो न गुनासो नै। बाउआमाको खुसीको अघि मेरो त के दुनियाँको केही लाग्दैन। तर बाआमा खुसी नभई उसको आफैको खुसी रहेछ। थाहा पाएपछि घृणा जागेर आयो, उसलाई सम्झेर। बाउआमालाई दोष लगायो, आफू चोखो बन्यो तर नजरबाट आफै झर्यो।
के सोचेर नाता जोड्यो थाहा छैन
कहाँनिर गल्ती भो र बाटो मोड्यो थाहा छैन
भन्न त जीवनभर साथ दिन्छु भन्थ्यो
के कारणले बसाइँ सर्यो थाहा छैन।
गल्ती नगर्नलाई हामी कुनै भगवान् त होइन नि। गल्ती हुन्छ तर त्यसलाई स्विकार्न जान्नुपर्छ। होइन भने अरूलाई गलत बनाएर आफू माथि पुगिन्छ भन्ने सोच कसैले नराखौँ। सत्य तितो होला तर कसैको एक झुट नै सबैभन्दा महँगो बन्न पुग्छ।