देशको राजधानी
हिँडेको सपना
र राजधानीको असफल बिपना
बोकेर गाउँ फर्केको
अ’नागरिकलाई त्रिशूलीले आफ्नो बनायो।
पोहोर साल घर छोड्दै गर्दा
आमा भन्थिन्- बाबु खाना चाहिँ समयमा खा है
बा भन्थे- म बुढो भएँ, मेरो दाहिने हात भए
एक छाक त समयमा खा खप नसक्ने भए
तर माफ गर्नुस् आमा! समयमै घर पुग्न सकिनँ
बाको भारीलाई धकेल्नेसम्म भएको थिएँ
तर माफ गर्नुस् बा, सायद मेरो औँला पनि भेटिँदैन होला।
मेरा ६० वर्षका बा
४० वर्ष भयो
स्वस्तिक छाप लगाउन थालेको
त्यही छापले कतिका छाप्रोहरू महल भए
छपरीबाट ठेकेदार भए
तर बा त्यही छाप्रोमा हुलासको छाप लगाउन
राजधानी पठाएको छोरोलाई
खै अस्पतालमा शव बुझ्ने औँठा छाप
लगाउन पाइन्छ कि भनेर कुरिरहेका छन्।
दुई वटा बस निल्यो त्रिशूलीले
आफन्तहरू आँसु निलेर नारायणीको पानी हेरेर पर्खिरहेका छन्
तर
ती छापेहरू सरकारमा छन्
उनीहरू प्रधानमन्त्री, मन्त्री, राजदूत निलिरहेका छन्
हजारौँ छाप्रामा बस्नेहरूलाई तिलाञ्जली दिएर
गणतन्त्र लेखे
त्यही शवमाथि बसेर लुटतन्त्र मच्चाउनेहरूलाई
अलिकति पनि छोएन
त्रिशूलीमा ६०, ७० जना बेपत्ता हुँदा
त्यो मन पनि कस्तो छ र?
जसले
आफ्नो माटो बेच्छ
आफ्ना सन्तानलाई बेच्छ
आफ्नो इतिहासलाई बेच्छ
त्यो नै घरको मूली बन्छ
वाह लुटतन्त्र
यो लुटतन्त्र हो
यहाँ छाप लगाउनेहरू
अनागरिक हुन्
र
छाप पाउनेहरू नागरिक
बधाई छ नागरिकहरूलाई
अझै बधाई, अझै पनि नचेत्ने नेपालीहरूलाई।