म
भर्खर-भर्खर स्कुल जान लागेको बेला हो
मेरा बा'ले दोकान खोलेका थिए–
मेरो गाउँको पहिलो दोकान।
दोकानमा थिए–
पिपल गेडी मिठाईका बट्टा
ल्याक्टो चकलेटका प्याक
डबल गुलाफ लेखेका कापी
अगरबत्तीको प्याकेट
चिनीका बोरा र चियापत्ती
डोरीमा झुन्ड्याएर राखिएका थिए– सुर्तीका प्याकेट
सानो बट्टाभरि राखिएका थिए– चुरोटका खिल्लीहरू
सबै सबै राखिएका थिए– मेरा गाउँलेलाई चाहिने जति।
बारी छेउमा भर्खर फुल्दै गरेको मियालको बोटबाट
घाइते ढुकुर खसेको साँझ हो
बा'को काखमा बसेर मैले सोधेकी थिएँ
बा, यो संसारमा के-के बेचिन्छ नि?
बा'ले भनेका थिए–
छोरी, यो संसारमा नबेचिने कुनै चिज छैन
पेरुङ्गोमा हालेर हाटबजार लगिन्छन् र बेचिन्छन् सुँगुरका पाठाहरू
टाट्नामा टाँकीको घाँस हाल्दै गर्दा बेचिन्छन् बाख्राका पाठाहरू
बेचिन्छन् खर बारी र घरबारीहरू पनि
तिम्रो लामो कपाल बाट्ने रिबनका कपडा बेचिन्छन्
र बेचिन्छन् मरेपछि लास ढाक्ने कपडा पनि
किन्छन् आँखाभरि फूलेका सपनाहरू
किनेर लान्छन् छातीका गरामा रोपेका जिन्दगीका अभिलाषाहरू
साँच्चै छोरी
यो संसारमा
अरू सबै-सबै कुराहरू बेचिन्छन् र किनिन्छन्
दुःखका सुस्केरा बाहेक।
बा! उसो भए मान्छे पनि बेच्छन् हो यो संसारमा?
बा निःशब्द भए
अनि जिब्रो झिकेर आस्कोटमा राखे।
मेरा बा'ले दोकान छोडेर बादलको देशमा गएको
आज नौ वर्षपछि बुझ्दै छु–
म नौ वर्षको छँदा बा'ले भनेको त्यही कुरा।
म्यारिज ब्युरोमा छिरेपछि म खोला बनेर उम्रिएँ र
खोलै भएर बगेकी छु कङ्गो नदीको छेउछाउका यी डान्स बारहरूमा
पहाडको कुनै खोचमा जन्मिएपछि
भूगोलका काँध, काख र पाइतालाको बाटो हुँदै बग्छन् खोलाहरू
खोलाहरू
कतै वन फूलका देशतिर भेटिन्छन्
कतै मन फूलको देशतिर भेटिन्छन्
कतै अम्रिसो घारीको बाटो भएर बग्छन् खोला
कतै देहाती बस्तीको किनारै किनार भएर पनि।
बग्दै गर्दा
सँगै बगेर जान्छन् फूलका थुँगाहरू
बाँसका झ्याङहरू
धानका गाँजहरू
कतै तर्छन् स्वार्थका डुङ्गाहरू
कतै खेल्छन् मायाका खेलहरू
र
खोलाको किनारै किनार बल्छी बोकेर हिँड्छन् बोटेहरू
खोलामा
कतै दुवाली भेटिन्छन्
कतै बिजुली बगाएका नाङ्गा तार भेटिन्छन्
कतै भेटिन्छन् पौडी खेल्दै गरेकाहरू
र कतै भेटिन्छन्-
बगरका ठुलो ढुङ्गामा बसेर बाँसुरी बजाउने गोपीहरू पनि।
हो
ठ्याक्कै खोलाजस्तो भएर बाँचेकी छु
जसले जसरी चाह्यो त्यसरी चलाउन मिल्ने जिन्दगी बोकेर।
साँच्ची बा!
यो संसारमा सबै-सबै बेचिँदो रहेछ
आफ्नै सपनाहरू लिलामीमा राखेर बेचिँदो रहेछ
मियालका फूलजस्ता रहरहरू बेचिँदो रहेछ– जवानीको हाटबजारमा।
आकाशमा तारा बनेका मेरा बा
तिमीले दोकान राखेको गाउँभन्दा एक जुनी टाढाको बस्तीमा
म बेचिएर बाँचेकी छु
म जस्तै बेचिएकाहरूकै माझमा।