'श्यामु दाइ आ'थ्यो। मोबाइल बोकेर हिँड्नु पर्छ नि ठुलो बाबु,' आमोईले चियाको गिलास मलाई थमाउँदै भनिन्।
मैले चुपचाप चियाको सर्को लिइरहेँ- सुरूप, सुरूप। भित्ते घडीले चानचुन नौ बजाउँदै थियो। अगेनो छेउमा बसेर माघको बिहानको ठिहीमा आगो ताप्दै चिया पिउन मन थियो।
आमोईले फेरि कौलासिन् 'सञ्जय जप् जा पहिला नुहाएर आइज, पाञ्चायन देवतालाई जल र पुष्प चढाएस्।'
आमोई बरबराइरहिन्।
बिहानै उठेर बाख्रा चराउन देवीथान, ठुलो खोल्सो, थाक्से भिर कहिले त कटुवा पाखाको मुखसम्मै पुग्थेँ। ४० वटा बाख्रा चारतिर लाग्थे। तीन घण्टा जस्तो पाखामा बाख्रा रगरगाउँथे। हकले बारीको अनाज बाख्राबाट जोगाउनु अनि चितुवा र स्यालबाट बाख्रा जोगाउन गोठालो मलाई हम्मे-हम्मे पर्थ्यो।
खाना खान लाग्दा पनि आमोईले पुरानै कथन दोहोर्याइन्, 'श्यामुले भन्दै थ्यो, तँलाई भेट्न मान्छे आ'छन् रे।'
छिमेकी श्यामु दाइसँग भेट्न या फोन गर्न कुनै कारणहरू चाहिन्न थ्यो। हामी अकारण पिपल चौतारीमा घण्टौँ गफिन सक्थ्यौँ। आमोईसँग कुनै संवाद नगरे पनि श्यामु दाइले को मान्छे भेट्न लिएर आएका होलान् भन्ने कौतुहलता जागिरह्यो।
खसी व्यापारी बिरे दाइ हुन् कि भन्ने पनि लाग्यो। अन्दाजी १० धार्नी पुगेका चार वटा खसी बेच्नु पर्ने छ भनेर श्यामु दाइलाई जानकारी गराएको थिएँ। फेरि बिरे दाइ त आमोईले पनि चिनिहाल्थिन् भन्ने पनि लाग्यो।
आमोईलाई मैले मोबाइल नबोकेको रिस अझै मरिसकेको थिएन, 'आफ्नो खप्पर त बोकेर हिँड्नु नि, नत्र बगाइदिनु गँगटे खोलामा।'
मनमा शङ्का लाग्यो, कतैबाट बिहेको कुरा पो ल्याएछन् कि श्यामु दाइले। आमोईको जीवनको एक मात्र उद्देश्य मेरो बिहे गराउनु थियो।
चोटामा उक्लिएँ। ओछ्यानमा पल्टिएँ। निदाल र दलिनहरूबाट धमिराजस्ता किराहरूले घट्टबाट मकैको पिठो जस्तो निकालिरहेका थिए। थाममा पनि आँखा पुगे। थाममा किराहरूको आक्रमण थिएन।
डायरी पल्टाएँ। लेख्न मन लागेन। सिकरकटेरीमा विगत दुई वर्षदेखि म उस्तै डायरी लेख्न विवश थिएँ।
बिहानै उठेँ। बाख्रा फुकाएँ। आमोईले पकाएको खाना खाएँ। दिउँसो फेरि बाख्रा फुकाएँ। खोरमा हुलेँ। दिन सकियो।
त्यसैले छ महिना अगाडिबाट नै मैले डायरी लेख्न छाडिदिएँ। एउटै कथन कति पटक लेख्नु?
त्यसो त आक्कलझुक्कल नयाँ परिघटना पनि नघट्ने त होइन। कहिलेकाहीँ श्यामु दाइसँग 'साके' पिउँथेँ। नयाँ किताब किन्न खसी बेचेपछि काठमाडौँसम्म पनि पुग्थेँ। नारायण वाग्लेको 'कोरियाना कफी गफ' पनि मुस्किलले दश पृष्ठभन्दा बढी छिचोल्न सकिनँ। त्यसपछि किताब पढ्न र किन्न छोडेँ।
श्यामु दाइले साकेको नसामा यसपालि रोपाई सक्काएर खेतको आलीमा भनेका थिए, 'किताब होइन, बिहे गरेर स्वास्नी पढ्न सके घरजम चल्छ।'
'के गर्दै आमोई?'
आमोई एक-एक अक्षर फड्काल्दै रामायण पढ्दै थिइन्।
'आमा नमस्ते!'
एकै पटक दुई जनाले आमोईलाई नमस्कार गरे।
'आमा आरामै हुनुहुन्छ?' मुलायम कन्या वाणी बर्सियो।
आमोईले पुरानै ढर्राको जवाफ दिइन्, 'मर्न नसकेसी सन्चै भन्नुपर्यो नि नानी।'
'कोनिचिवा!' मलाई एकैसाथ अपरिचित दुई साथीहरूले जापानी अभिवादन टक्र्याए।
मैले हात जोडेर दुवैलाई नमस्कार गरेँ। श्यामु दाइ गँगटे खोलातिर फर्किएर बिँडी तान्दै थिए। आमोई सायद चिया बसाल्न भित्र छिरिन्।
'म प्राश्ना भुसाल।'
'म चाहिँ नवराज पाण्डे।'
मैले पनि परिचय दिएँ। मेरो परिचय उनीहरूलाई अवगत थियो। फर्मालिटी पूरा गरे जस्तै गरेँ।
जिन्सको टाइट कालो पाइन्ट, रातो फुल टिसर्टमा कालो ज्याकेट अनि पुग नपुग छ फिट हाइटकी प्राश्नाको लामो कपाल बिहान नुहाएर भर्खर बाँधेकी थिई। कपालबाट स्याम्पुको बास्ना फैलिरहेको थियो। खुट्टामा कालो जुत्ता थियो। सिकरकटेरीमा प्राश्नाको इन्ट्री हिरोइनभन्दा कम थिएन।
नवराज पाण्डेको कपाल तिल चामल भइसकेका थिए भने अनुहार कलिलो थियो। नवराज र प्राश्ना समवयस्क होलान् भन्ने अनुमान लगाएँ। उनीहरूले पच्चीस वसन्त काटेका थिए कि भन्ने लाग्यो।
आमोईले दूध चिया लिएर आइन्। प्राश्ना र नवराजले दूध चिया खान्न भन्न अप्ठ्यारो माने। अर्ग्यानिक गाईको दूधको चिया हो लिनुस् भनेपछि अलि सहज भएर चियाको कप समाते।
'नानीको घर कता नि? बाबु नानी श्रीमान्-श्रीमती? अनि कति कामले त यो सिकरकटेरी डाँडोसम्म?'
आमोईका लगातार तीन वटा प्रश्न सोधाइले प्राश्ना अकमक्क परी। नवराजको दृष्टि एप्पल लोगो भएको ल्यापटपमा थियो।
'आमा, म नेपालको फार वेर्स्टन पार्टबाट हो। हामी जापानको टोकियो युनिभर्सिटीका क्लास फ्रेण्ड हौँ।'
नवराजले आफ्नो थाक थलो बताउन आवश्यक ठानेनन्। अचम्म त के थियो भने प्राश्नाले दिएको लगभग 'अङ्ग्रेजी वाला' उत्तर मेरी आमोईले फिटिक्कै बुझिनन्। श्यामु दाइले पनि के बुझ्थे! श्यामु दाइ र आमोई 'साइड टक' गर्न थाले।
निकै बेरको शून्यतापछि प्रसङ्ग मैले नै निकालेँ र भनेँ, 'कति कामले यहाँसम्म पाल्नु भयो त?'
नवराजले ल्यापटपबाट एउटा भिडिओ सन्देश देखाए।
'साथी, आराम आराम नै होलाऊ भन्ने होप गर्छु। अनि तिमी त फेसबुकबाट नै किन गायब भयौ यार? खैर तिम्रा आफ्ना बाध्यताहरू होलान्। ईकेबुकुरोबाट तिमीसँग बिदा भएको पनि दुई वर्ष नाघिसकेछ। यार म उसै गरी 'जापनिज येन' सँग पसिना र जवानी बगाइरहेको छु। यो विदेशी चिहान न छोड्न सकिन्छ न चैनले बस्न नै। तिमीसम्म यो भिडियो सन्देश ल्याउने साथीहरू मेरा साथीका साथीहरू हुन्। साथीहरू दुवै टोकियो युनिभर्सिटीका साहित्य संकायका फुल स्कलर रहेछन्। नेपालबाट जापानमा आएका भुइँ मान्छेको वास्तविक कथा चाहिएको रहेछ। नोबेल लेख्ने वा डकुमेन्ट्री बनाउनु पर्ने कलेजको 'असाइनमेन्ट' रहेछ। साथी, न मसँग लेख्ने क्षमता छ न बोल्ने नै। साथीहरूलाई तिम्रो ठेगाना दिएर पठाएको छु। निराश नपारिइदेऊ ल। जापानमा तिम्रो स्ट्रगल नै वास्तविक भुइँमान्छेको कथा हो। हेर अपर्झट सिन्जुकु रेल स्टेसनमा साथीहरूलाई भेट भएको हुनाले मैले एउटा चकलेट किनेर पनि पठाउन सकिनँ। आउँदो अप्रिलमा मेरो पनि बिहे गर्न नेपाल आउने योजना छ। त्यति बेला सुख दुःखका सबै कुरा गरम्ला है। अनि साँच्ची तिमीले बिहे गरिसक्यौ होला है? गुड बाई साथी।'
भिडिओ सन्देश मेरो साथी विनोद कार्कीको थियो। सन्देश आमोई र श्यामु दाइले पनि शान्तिपूर्वक सुने।
'हामीलाई तपाईंको कथा चाहियो,' प्राश्नाले भनी।
'कसको कथा रे नानी?' आमोईले फेरि प्राश्नालाई सोधिन्।
'हजुरको छोराको आमै।'
आमोई तीन छक परिन्।
'नानी बाबु हो, यो गोठाले मेरो छोराको के कथा लेख्छौ? जसले ३० वर्ष कट्दा समेत बिहे गर्न सकेन। जापान पुगेको मान्छे सात वर्षपछि रित्तो खल्ती फर्कियो। के पढ्यो यसले जापानमा? किन जेर बाख्रा जम्मा गरेर सिकरटेरीमा यो गोठालो बसेको छ? मैले केही बुझ्न सक्या होइन। यसको कथा नलेख्नु नानी। यो नागाको के कथा बुन्छ्यौ? पारी गाईखुरामा गएर रिटायर सिपाहीको कथा लेखे भयो। आफ्नो जीवनभर गँगटे खोलामा माछा मारेर जीविका चलाएका टोकले बाको कथा पो लेख्नु? यसको कथा किन लेख्छौ नानी?'
प्राश्ना मुसुक्क हाँसी र भनी, 'हामीलाई हजुरकै छोराको कथा चाहियो र यहाँसम्म आयौ, आमै।'
म असमञ्जसेमा परेँ। मैले पढ्न लेख्न छोडेको बताएँ। म किताब त पढ्छु तर लेख्न सक्दिनँ भनेर भनेँ। नवराजले त चासो दिएनन् तर मैले सक्दिनँ भनेर जति बिन्ती गरे नि प्राश्ना गलिन। उसले लास्टै कर मात्र गरिन कि लिडे ढिपी नै गरी। अन्त्यमा प्राश्ना प्रश्न सोध्ने र मैले जवाफ दिने अनि उसले नै मैले भनेका कुराहरू समेटेर 'नोबेल' बनाउने सहमति भयो। श्यामु दाइ र आमोई तीन छक परिरहे।
प्राश्नाले प्रश्नहरू वाणको तिर जसरी फ्याँक्थी। 'पहिलो प्रेमकी प्रेमिका बारे के छन्,अहिले आएर भन्नुपर्दा?' यस्तो प्रश्न मानौँ कि मेरो बारे प्राश्ना गहन अध्ययन गरेर मेरो अन्तरवार्ता लिइरहेकी छ।
'तपाईँ नियमित डायरी लेख्नुहुन्छ भनेर तपाईंका मित्र विनोद कार्कीले भनेका छन्। के यो सत्य हो?'
प्रश्न सोधिरहँदा प्राश्नाको मोबाइलमा फोन आयो तर प्राश्नाले 'साइलेन्स' मोडमा राखी।
मैले सत्य बताएँ। पछिल्लो छ महिनादेखि लेख्न छाडेको बताएँ।
प्राश्नाले विवाह बारे मेरो धारणा जान्न खोजी। मैले लभ, सेक्स र विवाह सबै विषयलाई एउटै डालीमा राखेर अर्थ्याउन नमिल्ने तर्क गरेँ।
प्राश्ना मुसुक्क हाँसी। बिहे किन गर्नु भएन त भन्ने प्रश्नमा श्यामु दाइ र आमोईका कान ठाडा भए।
'के तपाईंका डायरीहरू म पढ्न सक्छु?' भन्ने प्राश्नाको अन्तिम प्रश्नले मेरो मुटुको धड्कन एक्कासि बढेर आयो। मलाई भाउन्न छुट्ला जस्तो भयो।
उनीहरू खुर्कोट पुगेर आजको रात सिकरकटेरीमा हाम्रोमा बस्न आउने बताए। मैले खुर्कोटको लोकेसन बताइदिएँ। हिँड्ने बेला प्राश्नालाई सोधेँ, 'साके चल्छ नि प्राश्ना सान (जी)?'
'हुन त आज मेरो फास्टिङ हो। तपाईंको आग्रह कसरी हुन्न भन्नु?'
नवराजलाई श्यामु दाइले जिस्क्याए, 'कस्तो घ्यु लाटो तपाईँ, यार?'
छुट्ने बेला मैले सम्झाएँ, 'अलि उज्यालोमै आउनु होला है।'
प्राश्नाले मुन्टो हल्लाई। उनीहरू सिकरकटेरीबाट ओझेल परे। अति कच्ची बाटोमा नवराजले बाइक तानतुन पार्दै बिपी हाइवेतर्फ डोर्याए।
'को हुन् यी 'एक राते'हरू केटा? कथा/सथा म जान्दिनँ भन्नु। बिहे किन नगरेको रे? त एक राते पनि बोल्न जान्दैनस्। जग्गेमा तिमी बस्ने भए हाल्छु सिन्दूर भन्नु पर्दैन?' श्यामु दाइले फेरि बिँडी सल्काए।
आमोईको रिसको पारो अझै उस्तै थियो, 'खुब 'इंग्रेजी' बोल्ने भाकी फाँचे?'
श्यामु दाइलाई दुई लिटर टोड्केको कोदोको अर्ग्यानिक साके र लोकल भालेको व्यवस्था गर्न अह्राएँ र मैले बाख्रा फुकाएँ। वनभरि प्राश्ना र उसले सोधेका प्रश्नहरू र मेरा डायरीहरूको याद आयो। म झुट त बोल्दैन थिएँ तर सत प्रतिशत सत्य 'डायरी' मा हुन्थे। प्रेम, यौन र लिसासँग लिभिङ टुगेदरमा 'साइतामा'मा बस्दा खेरिको कृष्ण लीला डायरीमा छरपस्ट छरिएका थिए। यो एउटा प्रतिनिधि घटना मात्र थियो।
श्यामु दाइ, साने ठुलदाइ, जेठा बा, जेठी आमा, ढल्की भाउजू, तुल्सी दिदी, पुर्ने, हमाल, ठुलो भाइ, सानुभाइ, साने ठुलदाइ र रफाले माल्दाइसहित एक बटालियन सिकरकटेरीको जत्था तयार भयो।
श्यामु दाइले क्यासेट घन्काए। सानुभाइ र ठुलो भाइले लोकल र बोइलर मासु पकाउने जिम्मा लिए। श्यामु दाइले साके २ लिटर र बोइलर कुखुराको मासु ३ किलो र चिसो जम्बू ड्यु २ बोतल थप ल्याएका थिए।
रफाले माल्दाइले साके नपिउनेहरूलाई ड्यु सर्त गरे। यी सबै कार्यक्रम हाम्रो आँगनमा भइरहेको थियो।
प्राश्ना र नवराज आइपुगे। उनीहरू पनि गुन्द्रीमा ढसमस्स बसे। रत्यौली नै नाच्न लाग्यौ कि क्या हो भनेर आमोई रिसले आगो भइन्।
'कहिले कहिले त नाच्नु पर्छ नि बज्यै' भनेर रफाले माल्दाइ नाच्न थाले। क्यासेटमा 'घुम्तीनेरि लेट भयो, सानु मायालाई बाटामै भेट भयो' चर्को स्वरमा रन्किएको थियो।
साने ठुल्दाइले मादल मज्जैले घन्काएका थिए। प्राश्नाले स्टिलको गिलासको आर्गनिक 'साके' स्वाट्ट तानी। लोकल भालेको भुटुवा स्पेसल प्राश्नाको लागि मात्र भयो। नवराज भेजी रहेछन्। साके हल्का चाखी हेरे।
प्राश्नालाई श्यामु दाइले साके थप्दिइरहे। प्राश्नाले नाइँनास्ती नगरी ठाडो घाँटी लगाइरही।
गीत फेरियो- 'भामरी, भामरी म भोलि गइहाल्छु बसे रामरी।' श्यामु दाइ बाँकटे पाराले नाचे।
श्यामु दाइलाई प्राश्नाले साथ दिई। आमोई र महिला टोलीहरूले जिब्रो टोके।
मैले मुख मिठ्याएँ। श्यामु दाइले प्राश्नालाई जुरुक्कै बोकेर नचाए।
माघको बेलुकी ठन्डीमा सबैले लोकल भालेको झोलसँगै भात खायौँ। प्राश्नाले थपी थपी खाई। नवराजले पनि दूध र भात थपेरै खाए।
प्राश्नाले खुसी भएर श्यामु दाइलाई एक मान (दश हजार नेपाली) दिई। श्यामु दाइले जापनिज 'मान' चिनेनन्।
प्राश्नालाई आमाको कोठाको एक्स्ट्रा खाटमा सुत्ने व्यवस्था गरिदिएँ। नवराज सान (जी) र म अलग खाट तर एउटै कोठामा सुत्यौँ।
एक छिनमा आग्लो लगाएको ढोकामा ढक-ढकको आवाज आयो। प्राश्ना आएकी थिई। मैले डायरीहरू दिन्न भन्नै सकिनँ। पन्ध्र वर्षदेखि तीस वर्षसम्म मैले लेखेका डायरीहरू प्राश्नाले झोलामा हाली।
उनीहरू सिकरकटेरीबाट बिहानको पहिलो प्रहरमै हिँडे। दुई/चार दिन डायरी प्राश्नालाई दिएकोमा आफैलाई घोर पछुतो लागिरह्यो।
समय दूधकोशी बगेसरि बगिरह्यो। राति अबेर भइसके पनि म सुतिसकेको थिइनँ। श्यामु दाइले सल्काएको बिँडीको गन्धले नै उनी आइरहेका छन् भन्ने जानकारी हुन्थ्यो। तर अचम्म, सँगै प्राश्ना पनि थिई।
मैले निदाएको नाटक गरेँ। प्राश्ना कोठाभित्रै छिरी।
श्यामु दाइले आमोईलाई बोलाएर ल्याए। आमोईले रन्किँदै भनिन्, 'यो राति किन है मैबले?'
प्राश्नाले आमोईलाई नमस्ते गरी र भनी, 'आमा, म हजुरको बुहारी बन्न आको। आई लभ सिकरकटेरी। आई लभ योर सन।'
म सिरकभित्र आमोईको जवाफको प्रतीक्षा गर्दै बसेँ। तर अचम्म, आमोईले नौनी जस्तो नरम स्वरमा भनिन्, 'हुन्छ, मेरो छुच्चो मुख यही हो। मेरो गोठाले छोरो त्यही हो।'
श्यामु दाइले ठुलो स्वरमा भने, 'लौ आमोई, बुहारी राति नै भित्र्याउने हो। रात रहे अग्राख पलाउँछ।'