बिहान झट्ट आँखा खुले। घडी हेरेको ६ बजिसकेछ। ओहो, आज उठ्न ढिलो भएछ। सधैं ५:३० मा आँखा खुल्ने आज के भयो? सायद थकानले गरेर होला। छेउमा हेरेको उहाँ गहिरो निद्रामा हुनुहुन्थ्यो। म सरक्क विस्ताराबाट निस्किएँ र कामतिर लागेँ।
नुहाई धुवाई सकेर दूध लिन निस्केँ। करिब १५ मिनेटको हिँडाइपछि संस्था आयो र २ लिटर दुध लिएर फर्किएँ। आएर छोरा सुप्रिमलाई उठाएँ।
'एकछिन सुत्नु दिनुस् न मामु' सुप्रिम जिद्दी गर्दै थियो।
'अहिले तिमीलाई नै स्कुल जान ढिलो होला है' यति भनेर म किचनतर्फ लागेँ।
बिहान जहिले मलाई सास फेर्ने पनि फुर्सद हुँदैन। खाना बनाएर छोराको लागि दिउँसोको खाजा पनि तयार पार्नु पर्छ। अनि उसलाई खाना खुवाएर तयार पारेर स्कुलको बस आउने ठाउँसम्म पुर्याउनु पर्छ। त्यसपछि बल्ल उहाँ उठ्नु हुन्छ। अनि उहाँको लागि चिया नास्ता बनाएर दिनु पर्छ। एकछिन पछि खाना दिएर उहाँको अफिस जाँदा लाउने कपडा ठिक्क पार्दिनु पर्छ।
उहाँ हिँड्नु भएपछि मात्र मेरो सास आए जस्तो हुन्छ। त्यसपछि म खाना खाएर आफ्नै सुरमा काम गर्न पाउँछु।
किचनको काम सकेर कोठा सफा गर्नतिर लागेँ। छोराले कोठा हेरिनसक्नु पारेको रहेछ। सबै सामान सँगेटेर राखिदिएँ र फोहोर लुगा थुपारेर भिजाएँ। मेरोसहित ४ जनाको लुगा धोइसक्न धेरै समय लाग्यो।
आज बिहान ढिलो उठेर र धेरै धपेडी भएर होला, जिउ कमजोर भएजस्तो महसुस भयो। मैले त पानी पिउन नि बिर्सिएको रहेछु। एकछिन बसेर पानी पिउँदै घडी हेरेको २ बजिसकेछ। सुप्रिम स्कुलबाट फर्किन अझै केही समय छ। त्यति बेलासम्म एकछिन आराम गर्छु भन्ने सोचेर ढल्किरहेको थिएँ फोनको घण्टी बज्यो।
'सुन त, म अब घर आउन लागेको मसँग ३-४ जना साथीहरू पनि आउनु हुन्छ त्यसैले चिया नास्ता तयार पारेर राख है।' उहाँको आवाज थियो।
एकछिन पनि आरामले बस्ने फुर्सद नपाउँदै म किचनतिर लागेँ। पर बाटोमा स्कुलको बसको आवाज सुनियो। म हतार हतार दौडिएँ छोरालाई लिन।
'मामु थाहा छ मैले होमवर्क राम्रोसँग गरेकोमा मिसले मलाई कपीमा गुड दिनुभयो नि!' बाटोमा आउँदै गर्दा सुप्रिम आफ्नो स्कुलको कहानी सुनाउन लाग्दै थियो। मैले उसलाई स्याबासी दिएँ र उसले बेलिविस्तार लाएको सबै कुरा सुन्दै घर लिएर आएँ।
घर आइसकेपछि उसलाई कपडा बदल्न मद्दत गरेँ र हातगोडा धोएर होमवर्क गर्न बस्ने आदेश दिँदै म नास्ता बनाउन लागेँ।
मेरो जीउ झन् झन् कमजोर हुँदै थियो। तर आफूलाई जन तन सम्हालेर नास्ता बनाएँ। त्यतिकैमा उहाँसहित ४ जना पाहुनाहरू आउनुभयो। मैले सबैलाई चिया नास्ता दिएँ। एकछिन बसेर पाहुनाहरु फर्किनु भयो। मैले सबै जुठा भाँडाहरु माझेँ। सुप्रिम होमवर्क गर्दै थियो।
'मामु मलाई यो प्रश्नको उत्तर आएन सिकाइदिनु न' सुप्रिम बारम्बार मलाई भनिरहेको थियो।
'बाबालाई सोध न छोरा मलाई काम गर्न देऊ' म उसलाई सम्झाइरहेको थिएँ।
'बाबा अर्कै काममा व्यस्त हुनुहुन्छ रे सिकाउन भ्याउनुहुन्न रे' उसले भन्यो।
म सुप्रिमलाई नजानेका प्रश्नको उत्तर सिकाउँदै थिएँ। सिकाइसकेर तरकारी लिन निस्केँ। साँझको ६ बजिसकेको थियो। बेलुकाको खाना बनाउने समय भइसकेको थियो।
खाना बनाउँदा बनाउँदै मलाई एक्कासि चक्कर लागेझैँ भयो। म थचक्क कुर्सीमा बसेँ र सुप्रिमलाई बाबालाई बोलाएर आउन अनुरोध गरेँ।
'के भयो एक्कासि तिमीलाई?' उहाँले सोध्नुभयो।
'मलाई एकदम थकाइ लागेको जस्तो भैराछ। आज खाना तपाईं बनाउनुस् न है' मैले उत्तर दिएँ।
'हैन दिनभरी केही नगरी बस्नेलाई पनि कसरी थकाइ लाग्छ?' उहाँको जबाफ आयो।
त्यो जबाफले मेरो कान भित्रबाट पसेर मुटुलाई छेड्यो।
मैले मनमनै सोचेँ, 'मलाई त आराम गर्ने अधिकार पनि रहेनछ'।
-