कविता
खानैपर्ने बाध्यता के छ त्यस्तो जागिरमा
लगाम लगाई हिँड्न पर्ने रैछ जागिरमा
इच्छा,चाहना, रहर आधा मार्नु पर्ने रैछ जागिरमा
स्वतन्त्रता खुम्चाएर बस्नु पर्ने रैछ जागिरमा
सधैं हात तल गर्नु पर्ने
सरकारको भर पर्नु पर्ने
नदिए तलब आन्दोलन गर्नु पर्ने
आन्दोलन गर्दा कुटिनु, मारिनु पर्ने
यस्तो पनि हुँदो रैछ जागिरमा
सरकार,
कर्मचारी हरूलाई हेप्नु हेप्छ
ताल परे आफ्नै पैताला मुनि चेप्न खोज्छ
राजकाज आफ्नै गर्न खोज्छ
उठाउँदा आवाज जागिरै खाइदिन खोज्छ
भनसुन र नातावाद चल्दो रैछ
पावर र पहुँच चाहिँदो रैछ
चाकडी र चाप्लुसीमा माहिर हुनुपर्ने रैछ
निम्छरो त्यसै गल्ने रैछ
बलियोको राज चल्ने रैछ
योग्यता पुगेको सर्टिफिकेट फेल हुने रैछ
राजनीतिक भागबन्डामा सामेल हुनु पर्ने रैछ
पैसाको भेल बगाउनु पर्ने रैछ
सरूवा बढुवामा चलखेल हुने रैछ
त्यसरी पनि के खानु सरकारी जागिर
के यो जगमा सरकारी जागिर मात्रै छ र?
किन भन्दैन कसैले,
जागिर नखा उत्कृष्ट खेलाडी बन
जागिर नखा उत्कृष्ट व्यापारी बन
जागिर नखा असल पत्रकार बन
जागिर नखा असल राजनीतिज्ञ बन
कर नगरिदिनुहोस्,
बाध्य नपारिदिनुहोस्,
सरकारको साङ्लोमा बाधिन रहर छैन मलाई,
सरकारी जागिर पटक्कै खानु छैन मलाई,
बरू महिनौं म मिठो मसिनो खान्नँ
त्यसैले भो म सरकारी जागिर खान्नँ।