सपिङ जाने र नयाँ मुभी हेर्ने सल्लाहअनुसार आ-आफ्नो घरको बिहानीको काम हतार हतार सकाएर हामी ५ जना साथीहरू एकै ठाउँमा भेला भयौँ। सबै साथीहरूले वान पिस ड्रेस किन्ने र कुनै कार्यक्रममा सँगै लगाउने हाम्रो प्लान थियो। नयाँ पहिरन र शृङ्गारमा सबै साथीहरू आकर्षक र हर्षित देखिन्थे। ममा पनि हर्ष र उल्लासको कुनै कमी थिएन।
भेला हुने क्रममा ढिलो आउने साथीहरूले ढिलो हुनुको कारण खुलाउँदै र एक अर्काले सबैको सुन्दरताको वर्णन गर्दै त्यस दिन हामीले रमाइलो यात्रा सुरु गरेका थियौँ।
सपिङ गर्दै जाने क्रममा चिर परिचित सारी पसल बाटैमा पर्यो। पसलमा बस्ने बहिनी पनि चिनजानकै भएकीले साथीहरू सबैलाई लिएर म पसलभित्र गएँ। कुराकानी गर्दै जाने क्रममा सिसामा सजाइएको पहेँलो भुइँमा रातो गुलाबी बुट्टा भएको अत्यन्तै मिठो रङको सारीमा मेरो आँखा अडियो। मैले ती बहिनीसँग सारीको मूल्य सोधेँ।
उनले हतार हतार जवाफ दिइन्, 'यो सारी त दादाले अस्ति भर्खर लगिसेको छ त भाउजू हजुरको लागि, हजुरलाई दिसेको छैन? सायद सर्प्राइज होला तीजको।'
ती बहिनीले निकै खुसी हुँदै मलाई सुनाएको खबरले मेरो मन भने खुसी नभएर दुःखी पो हुन पुग्यो। 'हजुरको लागि' भनेर किन भन्नु परेको होला जस्तो लाग्यो तर त्यति राम्रो कुरा सुनाउँदा पनि मेरो मन जल्छ भन्ने त ती बहिनीलाई पनि कसरी थाहा होस्!
उनको भनाइ सुन्ने बित्तिकै फेरि मेरा साथीहरूले पनि थपिदिए, 'ओहो! माया होस् त यस्तो, तीज आउनै लाग्दा सर्प्राइज दिन भनेर सारी पनि किनिसकेछन् है, कसैका प्रियतमले। आफ्नालाई त यस्ता कुराहरू याद हुने भए पो।'
ती मेरा नजिकका मित्रहरूलाई पनि के थाहा? उनीहरूको जिस्काइले मेरो मन अझै तड्पिन्छ भनेर। आजसम्म आफ्ना साथीभाइ र इष्टमित्रहरूलाई थाहा नदिईकन लुकाएको आफ्नो पीडा कतै छरपस्ट हुने पो हो कि भनेर डर थियो मलाई। त्यसैले गाँठो परेर दुःखेको मनलाई पनि खिस्स हाँसेर साथीहरू र ती बहिनीलाई मैले भ्रममा त पारेँ तर यी र यस्ता मन दुखाउने खबर म बेलाबेलामा देखिरहन्थेँ, सुनिरहन्थेँ र भोगिरहन्थेँ। कति जनाको आँखामा छारो हाल्नु र कति पटक नक्कली हाँसो देखाउँदै आफूलाई सम्हाल्नु?
हो, म फेरि आज पनि नराम्रोसँग अनायास टुट्न पुगेँ। झसङ्ग भएँ र चिसो हुँदै हर्षित भएको मन एकैछिनमा छटपट हुन थाल्यो। सर्र आँखाबाट थाहै नपाई आएको आँसुलाई मैले व्यवस्थापन गर्न सकिनँ र रेस्टरूम जाने बहानामा त्यहाँको माहौलबाट बाहिरिएँ। कसैले नदेख्ने गरी टाढिए पनि त्यहाँ भित्रका कुराहरू मैले सुनिरहेकै थिएँ।
साथीहरू भन्दै थिए, 'साँच्चै! कस्तो मिठो कलरको सारी है यो? कति जानेका है यिनका श्रीमानले कलर छान्न पनि? छक्क परेँ म त, हामी पनि किन्ने हो कि के हो? तीजमा सबैले एउटै सारी लगाउन?'
उनीहरूका कुरासँगै मेरा आँखाहरू भने अविरल बगिरहेका थिए। मैले आफ्ना आँसुलाई थाम्न सकेको थिइनँ। आफ्नो मनको व्यथा र चोटका साथै साथीहरूले आफ्नो पिर थाहा पाउने पो हुन् कि र आफ्ना श्रीमानलाई उनीहरूले गर्ने श्रद्धामा कमी हुने पो हो कि भन्ने कुराले पनि मलाई चिन्ता थपिएको थियो।
यो मेरो लागि कुनै नौलो विषय थिएन। सारी त अझै कम मूल्यको रहेछ। यी र यस्ता अन्य महँगा उपहारहरू उसले धेरै आफ्नी साथीलाई दिइसकेको थियो। आफूले प्रयोग गर्ने सामान दराजमा र उसको कोटको खल्तीमा भेटाउँदा आफ्नै लागि ल्याइदिएको हो कि भनेर केही समय खुसी लाग्ने भएको भए पनि कुनै दिन आफूले नपाएपछि म धेरै दिन विचलित हुन्थेँ। आँसु झार्थेँ छटपटिन्थेँ र बिस्तारै आफूलाई सम्हाल्थेँ। जब सम्हालिन्थेँ फेरि यस्तै घटना र खबर सुन्थेँ। अनि फेरि छटपटीमै बित्थे मेरा दिनहरू, यो मेरो जीवनी भइसकेको थियो।
केही वर्ष अगाडि आफ्नो जन्मदिन आउनै लाग्दा उसको कोटको खल्तीमा भेटिएको सुन्दर डायमन्ड रिङ देखेर म निकै खुसी भएकी थिएँ। तर जन्मदिन बितेको वर्ष दिनसम्म पनि नपाएपछि मैले त्यसलाई बिर्सिसकेको रहेछु। एक दिन घरमा नन्द मैयाँको विवाहको उत्सव हुँदा उसले साथी भनेर परिचय गराएकी महिलाले लगाएर आएको देखेपछि भने म नराम्रोसँग तर्सिएकी थिएँ। त्यसै बेलादेखि तर्सिने र सम्हालिनु पर्ने परिस्थितिले छोडेको थिएन मलाई।
केही महिनापछि फेरि आज पनि तर्सिनु पर्यो मलाई। त्यस दिन साथीहरूले खुब रमाए, निकै सपिङ गरे, नयाँ र राम्रा लुगाहरू ट्राई गर्दै फोटो पनि खिचे, खाजा खाए तर मलाई भने कुनै सामान किन्ने जाँगर चलेन, फोटो खिच्ने रहर जागेन अनि खाजामा कुनै स्वाद भेटिनँ। त्यही सारी आँखाको वरिपरि घुमिरह्यो र जसरी पनि किन्नु पर्ने सोच मस्तिष्क मा गडियो।
उनीहरूले सिनेमाको पनि भरपुर मनोरञ्जन लिए। मैले भने मुभीमा भएको कथाभन्दा पनि विवाह हुनुभन्दा अगाडिको ऊ र विवाहपश्चात् परिवर्तन भएको उसका व्यवहारहरूका एकपछि अर्को घटनाहरूका सम्झनामा सिनेमा सुरु भएपछि भएको अँध्यारोमा रोकेर राखेका आँसु र गुनासाहरूका गीत बगाउँदै आफ्नै जीवनको सिनेमा दिमागको पर्दामा उतार्दै सिनेमाकी पात्र आफै भएर समय बिताएँ।
अब त हतार भयो भन्दै छिटो छिटो घर पुग्न आतुर थिए मेरा साथीहरू। मेरा पाइलाहरू भने अगाडिभन्दा पछाडि पछाडि धकेलिरहेका थिए। उसलाई मन पर्ने परिकार मेहनत गरेर बनाई सँगै खाउँला भनेर कुरेर बस्ने म, तर मलाई केही खबर नगरी बाहिरै खाएर आई घरको खाना खेर फालिदिने ऊ। उसलाई राम्रो देखाउने बहानामा जुत्ता, लुगा धोई सरसामान ठिक पारिदिने म, उसका केटाकेटी र घर सम्हालिदिने म, चौबीसै घण्टा घरकै लागि खटेर काम गर्दा पनि उसकी आमा र दिदीबहिनीका घुर्कीहरू सुन्दै गाली खानु पर्ने जिम्मा मेरो। अनि उसको माया र कमाइ खाने अरू नै कोही? महिनौँ अफिस र साथीका नाममा घुमेर, घरका मान्छेहरूलाई पनि घुम्ने रहर लाग्ला भनेर कहिल्यै नबुझ्ने ऊ, ओहो! चक्कर लागेजस्तै भयो मलाई
आफ्नो खर्च आफै धान्न सक्ने गरी सानो व्यवसाय गरेको भए पनि खान लगाउन उसैले दिएको थियो। बस्ने घर उसैको, मायालु केटाकेटी उसैका अनि सिन्दूर र थर उसैका जोडिएका थिए। त्यसैले आँखामा त्यही सारी र दिमागमा साथीहरूलाई देखाउन भए पनि त्यो सारी तीजको दिन लगाउनै पर्ने जिद्दी मनमनै गर्दै, भारी मन, मुटु लिएर भए पनि मन सम्हाल्ने कोसिस गर्दै म घरको मूल ढोकासम्म आइपुगेँ।
माथिबाट छोराछोरीहरू झगडा गरिरहेका आवाज आइरहेको थियो। त्योभन्दा ठुलो आवाजमा, 'आमाले तह लगाउन जानेकी भए पो छोरा छोरीलाई' भन्ने सासूआमाको भनाइ पनि सुनेँ। गएर झन् ठुलो स्वरमा आफूले तह लगाएको छोरा पनि त म वर्षौँदेखि भोग्दै छु भनिदिऊँ कि जस्तो पनि लाग्यो तर फाइदा के मिल्छ र भन्ने सोच्दै एक दुई पटक लामो लामो श्वास लिएँ, घुटुक्क थुक निलेँ र आँखा भिजाउँदै उक्लिएर आफ्नो काम सम्हालेँ।
त्यो सारी नकिनेसम्म मलाई सन्तोष मिलेको थिएन। भोलिपल्ट काम सकिने बित्तिकै पुगेँ त्यहीँ सारी पसल र भनेँ, 'मलाई यो सारी पनि चाहियो मेरी दिदीको लागि।'
ती बहिनीले 'हो र? मेरोमा त सब सकियो त दिदी' भन्दै अरू तीन/चार वटा पसल घुमेर भए पनि मलाई उपलब्ध गराइदिइन्।
त्यो सारी हातमा परेपछि म ठुलै युद्ध जिते जस्तै गरी घर फर्किएँ। आफ्नो खुसी कस्तो कुरामा गएर अडिन पुग्यो भन्ने लागेर खिन्न पनि भएँ। मलाई त्यो सारी लगाएर आफ्नो श्रीमानको अगाडि उभिनु थियो भने मेरा साथीहरूलाई त्यो सारी मेरा श्रीमानले मेरै लागि किनेका थिए भनेर प्रमाणित गर्नु थियो।
यति गरेपछि हुने के थियो? मलाई सरोकार थिएन। त्यसैले तीजको दिन बिहानै नुहाइधुवाई सकेर त्यही सारीमा सजिएँ, मन्दिर गएँ, पूजा सकिएपछि विभिन्न पोजमा फोटो खिचाएँ र आफूलाई राम्रो लागेका र देखिएका फोटोहरू फेसबुकमा पोस्ट गरिदिएँ।