मेरो गाउँमा
निशाको मेघ गर्जनमा
झिसमिसेको झरीमा
मध्यदिनको बाढीमा
खोलाका खतहरू
सुन्निएर मडारिन्छन्।
मेरो गाउँमा
पहिरोले पाखोमा
बिसेडिले खेतमा
खहरेले बारीमा
मटानका भकारीहरू
खोलाले थर्थराएर तर्सन्छन्।
मेरो गाउँमा
झुलेका धानमा
सुत्ला पसेका मकैमा
खेतालालाई जँघारमा
भेलले सोत्तरेर
खोलामा हेलिएर हराउँछन्।
मेरो सहरमा
खबरका शीर्षकमा
चिया पसलका गफमा
बैठक सम्मेलनमा
विज्ञका बखानमा
खोलाका खतहरू
नाप्ने, छाम्ने र जाँच्ने गर्दछन्।