झ्यालबाट आएको हावाले
टेबलमा लडेको एउटा मेनोफेस्टोको पन्नाहरू
फ्यार-फ्यार पारिरहेछ
कहिलेकाहीँ ती आवाजहरूले
एकाग्रता खलबलाउँदछ
बाको हात उमेरसँगै काँप्न थालेका छन्
कहिलेकाहीँ ती पन्नाहरू माथि
औँलाहरू दौडेको देख्दछु
धुमिल धुमिल आँखामा शब्दहरू
यत्रतत्र नाच्दै गर्दा ती स्वर्णिम सपनाका
जिजीविषाहरू नाच्दा रहेछन्
बाका आँखाका आँसुहरू तप्प तप्प
एकातिर चुहिँदै गर्दा मेनोफेस्टोका पन्नाहरू
दुला परेका छन् भने अर्कातर्फ
अभिलाषाका गन्धहरू कुदिरहँदा
ती पन्नाहरू आजकल दिन प्रतिदिन
दुर्गन्धित बनाइँदै छन्
झ्यालबाट आज पनि हावा चलिरहेछ
टेबलमा एउटा आयातित ह्विस्की लडिरहेछ
मेनोफेस्टोका पन्नाका आवाजहरू हैन
अब त गिलास ठोकी हर्षित मुद्रामा
गाएका पाश्चात्य सङ्गीतका धुनहरूले
घर अगेनी गुन्जिन थालेछन्।