समय र परिस्थितिले जीवनलाई कुन बाटोतर्फ डोर्याउँछ, त्यो कसले पो आकलन गर्न सक्छ र! हिँड्दै जाँदा यात्रामा कहाँ पुगेर लडिन्छ, त्यो पनि त कहाँ जानकारी हुन्छ र!
हाम्रो प्रेम विवाह भएको थियो। प्रेमलाई विवाहमा परिणत गर्न गरेको त्याग र सङ्घर्ष सानो थिएन। उसको र मेरो कुनै पक्षबाट स्तर मिल्दैन थियो। न उमेर, न जात, न पारिवारिक शैक्षिक र आर्थिक स्तर। यद्यपि मैले त उसलाई ती सबैभन्दा उचाइमा रहेर प्रेम गरेकी थिएँ। संसारका सबै किसिमका सम्बन्धभन्दा पृथक् तथा गहिरो सम्बन्धबाट नियालेकी थिएँ।
उसले मलाई के सम्झिएर प्रेम गर्यौ त्यो भने आजसम्म अर्थ्याउन सकेकी छैन। तर म भने सर्वस्व उही सम्झेकी थिएँ। उसको निम्ति परिवारका सपना तथा रहर त्यागेकी थिएँ। हामीले परिवारको स्वीकृति बिना विवाह गरेका थियौँ। यो रह्यो विवाहको कुरा, पख्नुस्! वास्तविक प्रेम सम्बन्ध कहाँबाट सुरु भयो अब म बताउँछु।
हामी एउटै कलेजमा अध्ययनरत विद्यार्थी थियौँ। म व्यवस्थापन संकायकी भने ऊ शिक्षा संकाय तर्फको। त्यो समय म कक्षा १२ मा थिएँ भने ऊ ११ मा। उमेरमा मभन्दा १ वर्ष कान्छो। जातमा म ब्राह्मण, ऊ क्षेत्री। अध्ययनमा ऊभन्दा म अलि सक्षम थिएँ। हामी खाजा खाने समयमा क्यान्टिनमा प्रायः भेट्थ्यौँ। उसमा त्यस्तो केही तत्त्व त थिएन तर खै कसरी आकर्षित हुन पुगेछु म!
छोटो समयमै हामी धेरै नजिक भएका थियौँ। यसरी दिन प्रतिदिन विस्तार भएको प्रेमले चर्चा पाउन थाल्यो। हाम्रो सम्बन्धको बारे साथीहरू तथा कतिपय शिक्षकलाई समेत जिज्ञासा र चासो बढ्न थाल्यो। प्रायःले मलाई ऊ सँगको त्यो सम्बन्ध अगाडि नबढाउन सुझाव दिन्थे। कारण सबैको साझा जवाफ। उसको आचरण र बानी व्यवहार खराब भएकोले मसँग ऊ कुनै दृष्टिबाट उपयुक्त थिएन रे!
एक दिन लेखा पढाउने म्याडमले एकान्तमा बोलाएर सम्बन्ध अगाडि नबढाउन धेरै सल्लाह सुझाव दिनुभएको थियो। यद्यपि मभित्र कुनै पश्चात्तापको बादल लागेन। न त ऊप्रति कुनै प्रतिशोध र नकारात्मक धारणा बन्यो नै। हुन त हामी बिग्रने र सप्रने उमेर पनि त्यही भएर होला। उसमा भएका हरेक कमी कमजोरीलाई स्वीकार गर्दै बृहत् परिधिभित्र राखेर सम्बन्धलाई बुझेँ।
मलाई ऊ असल या खराब भन्ने विषयमा अलमलिनु थिएन। कुनै दिन ऊ अलि परिवर्तन हुँदा मनमा उत्पन्न हुने छटपटी, नैराश्य तथा त्यो पीडादायक क्षण अरू कुनै दिन महसुस हुँदैन थियो। त्यसरी ऊप्रति लत बसेको थियो। यात्रा गर्दै जाँदा बाटोमा कतै भिर, पखेरा, खोला, अप्ठ्यारा तथा जोखिमयुक्त अवस्था सिर्जित हुने हुनकी भनी कहिल्यै कल्पना समेत गरिनँ।
यसरी अनेकौँ कठिनाइ र उतारचढावका बाबजुद पनि प्रेम जित्न सफल भएकी थिएँ। विवाह भएको दुई वर्ष बित्यो। विवाहपछि आफैमा अझ बढी जिम्मेवारी थपिँदै गएको महसुस गरेकी थिएँ। तर दिन बित्दै जाँदा उसको रुचि, चाहना, स्वभाव र व्यवहार विगतको तुलनामा क्रमशः परिवर्तन हुँदै गए। मैले उसलाई बदलेर वा नियन्त्रणमा राखेर पहिला जस्तै हुन कहिल्यै दबाब दिइनँ।
हरेक दिन सानो-सानो बहानामा टाढिन खोज्ने उसको आदत नै बनेको थियो। बिना गल्तीको सजाय भोग्दै सम्बन्धलाई जेनतेन शतप्रतिशत जोगाउने मेहनत गरेँ। लगातार ३/४ महिनाको मनमुटाब र अविश्वासको भुमरीले आखिर एक दिन सम्बन्ध टुङ्गिन पुग्यो।
मैले प्रेमका भाव छताछुल्ल हुने गरी उसको आँखामा हेर्दै प्रश्न सोधेकी थिएँ- 'हजुर मबाट के अपेक्षा राख्नुहुन्छ?'
'म तिमीबाट छिट्टै छुटकारा पाउने अपेक्षा राख्दछु। अब मलाई तिमीसँग रहिरहनु छैन।'
म शब्दविहीन भएँ। बिहे भएको दुई वर्षमै यो परिस्थिति सृजना होला भनी कसले सोच्यो र! जीवनको अन्तिम घडीसम्म साथ दिने बाचा त गरेकै थियो। खै! के सोचेर बिच बाटोमै साथ अर्कैसँग निभाउन खोज्यो? मैले जसरी उसलाई साँचो र सत्य प्रेम गरेकी थिएँ, उसको पनि त झुटो होला भनी कसले बुझ्यो र?
आफूले सबै थोक ठानेको व्यक्तिबाट यति ठुलो धोका पाइन्छ भन्ने कल्पना समेत नगरेकी म अहिले यथार्थमा सबै बेहोर्नु पर्यो। हिजो उसको हातले सिन्दूर सजाउन पाउँदा संसार जितेजस्तो महसुस गरेकी म आज उसको मन जित्न असफल भएँ। यतिका समयपश्चात् सम्बन्धलाई यसरी निर्णय गर्दै यो निष्कर्षमा पुग्नु थियो भने किन झुटो प्रेमको आश्वासन दिलायो खै?
मैले उसलाई पाउन जीवनमा कति चिज गुमाउनुपर्यो त्यसको कुनै लेखाजोखा छैन। ऊबाट गरेका आशा त आज निराशा बनी आए। विश्वासको बलियो खम्बा ढल्यो। यसरी यात्राको बिच बाटोमा लिएर बेवारिसे अवस्थामा छाड्नु थियो भने गन्तव्यको बाटो किन सँगै हिँड्न खोज्यो खै?
सम्बन्धलाई जीवित राख्न लाखौँ कोसिस गरेँ। यद्यपि ऊ आफ्नो निर्णयबाट डगमगाएन। अन्त्यमा हामी कानुनी रूपमै छुट्टियौँ। प्रेम उसले पनि गर्यो, मैले पनि गरेँ। तर मैले दुनियाँ संसार बिर्सेर उसलाई मात्र गरेँ भने उसले मलाई बिर्सेर मजस्तै दुनियाँलाई गर्यो। धोका दिँदा धोका पाइन्छ भन्ने व्यावहारिक तथा नैतिक ज्ञान सिकेकी मैले नि:स्वार्थ प्रेम दिँदा नि:स्वार्थ प्रेम नपाइन सक्छ भन्ने किन सिकेन होला कहिल्यै।
आज ऊसँग कुनै किसिमको गुनासो छैन। उसले जीवनमा धेरै कुरा सिकायो। बिछोडिनुको पीडा महसुस गर्न सिकायो। अप्ठ्यारा परिस्थिति तथा विभिन्न चुनौतीहरूसँग लड्न सिकायो। आफूलाई आत्मविश्वासी, निडर तथा मजबुत हुँदै सङ्घर्ष गर्न सिकायो। आज म ऊबिना एक्लै पनि जीवन जिउन सिकेकी छु। अहिले आफैमा आत्मनिर्भर छु।
मलाई मेरो गन्तव्य र लक्ष्यमा पुग्न विगतको घटनाले रोकेन। मलाई त अझ बढी साहस र ऊर्जा पो दियो। म अझै पनि असीम प्रेम गर्छु तर उसलाई होइन आफ्ना सपना रहर तथा उपलब्धिहरूलाई।