'तिम्रो अनुहारमा जति चाउरी छ, त्यति त मेरो उमेर होला।
ए बुढो मान्छे, धेरै नसिकाऊ नत्र तिम्रो हाम्रो सम्बन्ध खत्तम होला।
म आधुनिक समयको मान्छे हुँ, तिमीले के मलाई कम आँकेको हो?
तिमी बुढो मान्छेसँग मलाई कुनै कुरा गर्नु छैन, किन निहुँ खोजेको हो?'
ए हजुर म बुढो मान्छे, यो व्यस्त सहरमा एक्लो निराश अनि संगी नभएको। आज म थोत्रो पुरानो लुगा भएको छु, घिनलाग्दो बुढो भएको छु। सबैको हेलाको पात्र भएको छु अनि सबैको तिरस्कारको पात्र भएको छु। मेरा आफन्तै आफन्त नरहने यो कस्तो समय हो, अनि काललाई पर्खेर बस्नु पर्ने यो जीवनको कस्तो खण्ड हो! बालक, तन्नेरी, जवान अनि अधबैँसे सबैको प्रिय तर किन बुढो भएपछि सबैको हेला?
समयको चक्र कलकल जवानीबाट कति छिटो बुढो भइयो पत्तो भएन। एक बेला थियो ढुङ्गा खाए नि पचाइने तर आज हजुर घिनलाग्दो बुढो भइयो। आमाको काखबाट स्कुलको झोला अनि स्कुल आउने जाने सकसपूर्ण यात्रा, फलामको गेट भनिने एसएलसी त्यसमाथिको कडा परीक्षा प्रणाली थियो उस बेलाको हजुर। त्यस कारण त होला त्यस बेलाका सरकारी स्कुलका विद्यार्थी पनि अब्बल चिकित्सक बने, अब्बल इन्जिनियर बने अनि अब्बल शिक्षक बने।
आजका सरकारी संयन्त्रका अधिकांश उच्च तहका निजामती कर्मचारी सरकारी स्कुलकै उत्पादन हुन्। पढ्नेलाई राम्रो स्कुल भन्ने चाहिने रहेनछ। हुने बिरुवाको चिल्लो पात, त्यस बेलाको शिक्षा प्रणाली आजको आधुनिक शिक्षा प्रणालीभन्दा कैयन गुणा अब्बल अनि गुणस्तरीय हो कि जस्तो प्रतीत हुन्छ हिजोआज मलाई। आज लाखौँ फीको स्कुल पढाउनु फेसन भएको छ। अनि छिमेकीसँगको दाँजो वा आफन्तसँगको दाँजो त्यसमाथि घरमै अङ्ग्रेजी, बाटोमा अङ्ग्रेजी बोल्ने बच्चाको स्कुल राम्रो अङ्ग्रेजी बोलेन भने अभिभावकलाई पीडा र आत्मग्लानि हुने आजको समाज हेर्दै म आफ्नो बेला चप्पल लगाएर हातमा किताब-कापी बोकेर स्कुल गएको, धुलोमा खेल्दै साथीहरूसँग आनन्द अनुभूति गर्दै घर फर्किँदाको रमाइलो पलहरू याद गर्छु। जीवन त्यो पो स्वर्गीय थियो जस्तो लाग्छ। आजका बालकको सकस हेर्छु, न खेल्ने ठाउँ छ न कसैसँग घुलमिल हुने, साथी केबल टिभी अथवा मोबाइल छ।
जीवनको अनेकन् कालखण्डमा न भोक भनियो न त तिर्खा। केबल जानियो काम, कसरी धेरै काम गरूँ, धेरै कमाऊँ, सन्तानलाई राम्रो ठाउँमा पढाऊँ, परिवार कसरी सुखी बनाऊँ? कति रात अनिदो बसियो। मनमा थियो त केबल परिवारलाई सुखी राख्ने तृष्णा। मेरा हरेक पाकेका कपालको एक-एक रौँ अनुभवका पुँजी हुन्, यो कपाल त्यसै सेतो भएको होइन। यो अनुहार त्यसै चाउरी परेको होइन तर तिमीले बुझेनौ। त्यसमा तिम्रो कुनै दोष छैन। दोष त समयको हो अनि दोष मेरो हो, मैले तिमीसँग अपेक्षा राख्नु।
तिमी अत्यन्त व्यस्त छौ, मसँग गफ गर्ने फुर्सद कहाँ छ? तिमी आफ्नो समय तथा करियरको वेगमा छौ। म पनि त्यस्तै थिएँ कुनै दिन, तिमीहरूको खुसीका लागि। आज तिमी महत्त्वाकाङ्क्षा छौ, तिम्रो सन्ततिका लागि संसार यस्तै रहेछ अनि सधैँ उँधाको माया बढी माथिको पुस्ता त अस्ताउँदो सूर्य, उदाउँदाको तापको पो मज्जा हजुर।
मेरो छाउमा आएर बस्न तिमीलाई लाज लाग्न थालेको छ। मलाई तिम्रो आफन्त वा नातेदार भन्न असजिलो हुन लागेको छ। मेरा कारण तिमी घुम्न जान पाएका छैनौ। घरमा एउटा बुढो छ पकाएर कसले खान दिन्छ भनेर मनमा कुण्ठा भएको म बुझ्न सक्छु। समय बलवान छ, तिमी पनि मजस्तै चाँडै हुनेछौ अनि तिम्रो नि अनुहार मेरो जस्तै चाउरी पर्नेछ।
गल्ती भएछ सधैँ तिम्रो लागि मात्र सोचेर सबै सुम्पिनु, आफूसँग केही नराखेर रित्तो हुनु। आज मेरो साथमा सम्पत्ति, धन तथा द्रव्य हुँदो हो त त्यही लालसामा भए नि कृत्रिम स्नेह हुने थियो कि। मसँग केही छैन- रित्तो छु, एक्लो छु, साथमा केवल ईश्वर छन् र मृत्युको प्रतीक्षामा छु। आफन्त आउँदा टीका लगाएर दक्षिणा दिन मन लाग्छ तर हातमा पैसा हुँदैन। धन्न सरकारको वृद्ध भत्ता छ, कहिलेकाहीँ केही किनेर खाऊँ भन्ने लालसा हुँदा अथवा ओखती चाहिँदाको अन्तिम सहारा त्यही भएको छ।
म बुझ्छु, तिमी मलाई वृद्धाश्रममा लगेर राख्न चाहन्छौ र आफू देश विदेशको सफर गर्न चाहन्छौ। मेरो मायाले रोकेको हो त अलिकति पनि आभास छैन, तिमीलाई समाजले के भन्ला भन्ने मात्र डर छ। मैले राम्रोसँग लुगा लगाउन जानिनँ अरे। तिम्रा साथीहरूसँग बोल्न जानिनँ अरे। मलाई परिचित गराउन तिमीलाई असजिलो भएको म अनुभूति गर्न सक्छु। तर थाहा छ? तिमी जब राम्रोसँग लुगा लगाउन जान्दैनौ थियौ, त्यो बेला यी हातले तिमीलाई लुगा लगाउन सिकाएको हिजो अस्ति जस्तो लाग्छ। बोल्न सिकाएको भर्खरै जस्तो लाग्छ।
आज त्यही मेरो बोलीबाट सिक्न सुरु गरेको तिम्रो बोलीमा मैले केही बोल्न खोज्दा मलाई बोल्न नआउने बरु चुप बस्नु बेस भन्ने बज्र वाण पनि सहजै पचाउने बानी परेको छ। यो जीवन तथा भोगाइमा कैयन पीडा, हन्डर, गाली, घोचपेच सहियो तर आफन्तबाट गरिने व्यवहारले पोल्ने रहेछ तर सहनुपर्ने रहेछ। गहभरि आँसु लिएर हरिशरणम् भन्दै बस्नु नै म बुढोको कर्म रहेछ भनेर बसेको छु।
तिमीलाई राम्रो पढाएर ठुलो मानिस भएको हेर्न मेरा नयन सधैँ तड्पी रहन्थ्यो। जीवनमा पसिना र रगत कमाउन अनि तिम्रो लालन पालन र पढाइमा खर्चनु नै मेरो ध्याउन रह्यो। तिमी ठुलो मानिस त भयौ तर म तिम्रो छेउमा उभिन योग्य रहिनँ। तिमी सफर गर्ने यात्रामा म सहयात्री बनिनँ, तिम्रो जीवनको म अभिन्न अङ्ग बन्न सकिनँ। मेरा कारण तिमी मानसिक पीडामा छौ जस्तो लाग्छ। मेरा कारण भने जस्तो पकाउन गाह्रो भएको छ जस्तो लाग्छ। मलाई पिरो चलेन, चिल्लो चलेन। तिम्रो परिकारको लागि पनि त म अड्चन भएको हुँ कि जस्तो लाग्छ। काम गर्न सक्दिनँ, हिँडडुल गर्न गाह्रो भएको छ। कान सुन्दिनँ अनि बोली लरबरिएको छ। म बुझ्छु म बुढोका कारण तिमीलाई कति गाह्रो भएको छ।
सन्तान त तीन जना हुन्। दुई जना विदेशकै नागरिक भएका छन्। आउँछन् सपना जसरी अनि छिनमै विलय भएका छन्। बुढो भएपछि निद्रा नि नलाग्ने, रातभरि खोकी अनि सास नि फुलेर आउने। यही बेला सबै किन समेटेर ल्याउने यो ईशको लीला, बुढो भएपछि सबै कुराले गाँजेर ल्याउने?
खाने बेलामा काम भन्दा भन्दै खाना पाइएन, घुम्ने भन्दा भन्दै घुम्न पाइएन। अहिले न खाना रुच्ने न त घुम्न सक्ने। आँगन परदेश हुने रहेछ, आफन्त बैरी बन्ने रहेछन्।
तिम्रो जन्मदिनमा म संसारकै खुसी व्यक्ति हुन्थेँ। के उपहार दिऊँ भन्ने सोच्ने, तिम्रो हरेक पाइलामा म कसरी सहायक बन्न सक्छु भन्ने कल्पना गर्ने अनि सधैँ तिम्रो लागि भलोको कामना त प्रगतिका लागि प्रार्थना गर्ने दिनचर्या तिमीलाई पहिलो पटक देखेदेखि आजपर्यन्त अनवरत छ, मेरो अन्तिम श्वाससम्म रहिरहने छ। तिमी जति नै टाढा बन्न खोज मेरा लागि सधैँ तिमी नजिक छौ। मेरा अनुहारका चाउरीमा तिमी छौ। मेरा भोगाइमा तिमी छौ र मेरा हरेक प्रार्थनामा तिमी छौ।
तिमी मसँग बोल नबोल, मलाई समय देऊ नदेऊ, तिम्रो प्रतीक्षामा सधैँ झ्यालबाट नियालिरहनेछु। थाहा छ, जब तिमी राति घर अबेर आउँछौ तिम्रो सवारीको आवाजको प्रतीक्षामा यी कान रहन्छन्। जब तिम्रो सवारीको आवाज सुन्छु, मन शान्त हुन्छ अनि सुत्न प्रयत्न गर्छु। तिमी कतै यात्रा गर्दा तिमी गन्तव्य पुगेको नसुनेसम्म यो मन विचलित रहन्छ। तिमी मसँग कुरा गर्न आवश्यक त ठान्दैनौ तर आवाज सुन्न यी कान अति नै व्याकुल रहन्छन्। मसँग कुरा गरी हाल्नु पर्दा तिम्रा लवज नै फरक हुन्छन्। तर त्यो खस्रो टर्रो बोलीसमेत कति मधुर सुन्छ यी कानले, कोइलीले गीत गाए जस्तो अनि कृष्णको मुरलीको तानसँगै बजे जस्तो भान हुन्छ।
हामी सबै बुढो हुन्छौँ। ज्येष्ठ नागरिकलाई सम्मान गरौँ। सन्तान आज जहाँ छन्, त्यसको पछाडि अभिभावकको ठुलो हात छ। समय दिऊँ, माया दिऊँ। बिहान अथवा साँझको खाना अभिभावकसँगै खाऊँ। अभिभावकलाई वृद्धाश्रममा लगेर राख्ने जस्तो महापाप नगरौँ। आफू घुम्न जाँदा सकेसम्म अभिभावकलाई पनि लगौँ। के अभिभावकले सन्तान सानो हुँदा एक्लै घुम्न जाने गरेको हुन्छन् र? कदापि हुँदैनन्।
सन्तानलाई रिफ्रेश गराउन अभिभावकले सोचेजस्तै अभिभावक वृद्ध भएपश्चात् उहाँहरूलाई तीर्थाटन अथवा कतै घुम्न लैजाने कर्तव्य सन्ततिको होइन र? समय बलवान छ, त्यो दिन सबैको अवश्य आउने छ। आज अभिभावकलाई जस्तो गरिन्छ त्यही आफूले पाउने हो। अभिभावक जिउँदो देवता हुन्, खै बुझेको हामीले? मन्दिरमा खोजेर भगवान् कहाँ पाइन्छ, घरमै हेरौँ न। माता पिता नै असलमा भगवान् हुन्।