तिम्रो हाँसोको लागि मेरो प्रेमको आहुति दिन्छु
ती आँखामा चमक फर्काउन यी रंग छोपिदिन्छु
त्यो मुहारमा ज्योति फिर्न म अस्ताई दिनेछु
ती ओठमा रस भर्न म चुपचाप सुकिजानेछु।
मनको छाया तिमी, जीवनको आधा हर तिमी
तिम्रो शिर उँचो राख्न मलाई पाताल कबुल भो
तिमीले च्यापेको शानमान तिमीलाई मिलोस्
जीवनभरिको शुभकामना कोसेली रह्यो।
तिमी खुसी नभई मेरो प्राण मुस्कुराउँदैन
तिमी नफक्रिए मेरो बगैँचा मगमगाउँदैन
त्यसैले तिमीलाई मेरो भाग्य दाइजो दिँदैछु
ती पाइला नबिझाओस्, म आफै बिच्छिँदै छु।
कृतज्ञ नहुनु, तिमीले नमागी दिएको उपहारको
पैँचो नसोच्नू, केही हरहिसाब लेखाजोखा नराख्नू
सक्छौ भने मेरो मिठो निद्रा मलाई फर्काइदेऊ
यो आत्मा बुनिएको छ, तिम्रो सिन्दुरसँग मेरो
त्यसैले त्यो सिन्दुरको रंग सधैँ गाढा बनाई राख्नू।