बर्खाले बर्खैपिच्छे बरबाद पारिरहेको गाउँमा
पोहोर साल पहिरोले
कल्छे खेत बगाएको त्यो ठाउँमा
आजसम्म न गरा उठेका छन्
न त गराबाट धानका जरा।
यसरी हरेक बर्खामा
पिर मर्का सहेर
उहीँ चुहिने छानोमुनि रहेर
रात काटिरहेका किसानले
कसरी सान दिन सक्छन्?
कसरी मानो फलाएर मुरीका मुरी धान दिन सक्छन्?
आज गाउँमा हर रात निद्रा छैन
यता सरकारलाई कुनै चिन्ता छैन
गाउँलेलाई उहीँ एउटा आस छ
बस्न एउटा बास छ
लाउने केही कपास छ
यदि यो पनि रहेन भने
दिने कोही छ?
कसैसँग केही जवाफ छ?
यता दिउँसै सहरमा सरकार ढल्यो
उता गाउँमा
हिजो राति कयौँका घरबार ढले
अब सहरले एकै दिनमा सरकार पाउँछ
तर गाउँलेले एक बर्खा कट्दासम्म
न सरकार पाउँछन्, न त घरबार।