टियु लाइब्रेरी, हाम्रो भेट गराइदिने माध्यम हो। लाइब्रेरीमा पढ्नेहरूको त्यो लाइनको बिचमा म पनि थिएँ।
बिहान १० नबज्दै पानी र खाजा अनि जिके आइक्युको किताब बोकेर लाइब्रेरी पुगिन्थ्यो। सबै आफ्नै धुनमा पढाइमा व्यस्त हुन्थे अनि म पनि। सदाझैँ एक दिन म पनि किताब बोकेर लाइब्रेरी पुगेँ। केही बेरमा एक युवती मेरो छेउमा आएर झोला बिसाइन्। म ध्यान भङ्ग नगरी पढ्दै थिएँ, उताबाट जवाफ आयो, 'दाइ, तपाईं पनि आयोगको तयारी गर्दै हो?'
'उम हो,' यति जवाफ दिएँ।
'अनि कति भयो नि तयारी गरेको?' फेरि सोधिन्।
'एक वर्ष जति भयो।'
'हेर्नु न, म त बल्ल सुरु गर्न लागेकी हु, ५/७ दिन भयो, नाम निकाल्न त गाह्रो छ रे है?' अबोध बालक जसरी प्रश्न गरिन्।
'सकिन्छ, नाम निकाल्ने पनि हामीजस्तै त हुन्, मङ्गल ग्रहबाट आएका त हैनन्, बस् मिहिनेत गर्नु पर्यो,' केही हौसला दिन खोजेँ।
थप कुरा गर्न खोज्दै थिइन्, लाइब्रेरीमा बोल्न नहुने भन्दै म पढ्नमै लागेँ।
साँझ निस्कने बेला सोधिन्, 'दाइ हजुरको नाम के हो? म एड गर्छु नि?'
'संगम हो, तर म खासै अन आउँदिनँ,' यति भनेर घर फर्किएँ।
लगभग सामाजिक संजालबाट टाढिएको हप्ता दिन भइसकेको थियो तर आज उनको रिक्वेस्ट आउने दिन भएर होला अन आउन मन लाग्यो। साँझ फ्रेन्ड रिक्वेस्ट आयो, सिधै एसेप्ट गरिदिएँ।
कुरा हुन थाल्यो। अब हजुरले मलाई हेल्प गर्नु पर्छ भन्दै थिइन् उनी। मैले पनि हुन्छ, सँगै पढौँला भनेँ।
लोक सेवा यात्रा सँगै कति बेला प्रेम बसेछ थाहा भएन। अब त लाइब्रेरी कम चोभार बढी धाउन थाल्यौँ। लाइब्रेरीमा ५ बजेसम्म पढेपछि कहिले बाघ भैरव त कहिले टियु क्रिकेट मैदान परिसरमा हुन्थ्यौँ। तर जे भए पनि पढाइ पनि सँगसँगै लगिरहेकै हुन्थ्यौँ।
झास ११ बजे अन आउने, अन आएपछि १५/१५ वटा जिके सोध्ने अनि त्यसैमा सल्लाह गर्ने। त्यही अन्तिम ५ मिनेट हो प्रेमका म्यासेज। उनी भन्थिन्, 'मेरो मुटु, हजुर कहिले जागिर खाएर माग्न आउनुहुन्छ के मलाई? यहाँ घरकोले अरूसँग बिहे गरिदिए के गर्ने?'
'तैट! यस्तो पनि सोच्ने हो त? म जागिर खाएर माग्न आउँछु अनि बिहे गरौँला। पछि तिमी पनि जागिर खाएपछि बुढाबुढी चट्ट निजामती ड्रेसमा टिकटक गराउने हो,' म फकाउँथेँ उसलाई।
एक दिन फेसबुक हेर्दै थिएँ, समीर दाइले चौथो तह लिखित परीक्षाको रिजल्ट पोस्ट गरेको देखेँ। यसो हेर्दा संगम नाम देख्दा मन झसङ्ग भयो। बुवाको, बाजेको नाम चेक गरेँ, अझै रोल नम्बर पनि चेक गरेँ, आफ्नै रहेछ।
त्यतिकैमा उसको फोन आयो- 'मुटु बधाई छ, मलाई थाहा थियो तपाईंको नाम निस्किन्छ भन्ने,' खुसीमा बहकिँदै थिई।
म पनि ऊसँगै खुसी साट्न पाउँदा घरमा फोन गर्ने बिर्सेछु। पछि घरमा फोन गरी बताएँ, लिखित पास भएको र अब अन्तरवार्ता बाँकी भएको कुरा। ममी-बुवाले पनि खुसी हुँदै अन्तरवार्ताको लागि शुभकामना दिनु भयो।
अब कम्प्युटर टाइपिङ गर्नतिर व्यस्त हुन थालेँ। अन्तरवार्ताको दिन आयो, ऊ सँगै गएँ। अन्तर्वार्ता दिएँ अनि वसन्तपुर घुम्दै घर फर्कियौँ।
केही दिनपछि सिफारिसको नतिजा आयो, म सिफारिस भएँ। घरमा बुवा-ममीलाई एउटा फोन र उसलाई अर्को फोन एकै पटक कल गरी भनेँ- म पास भएँ, सिफारिस भएँ।
हत्तपत्त पोस्ट गरिछे, 'बधाई छ संगम सर, थप प्रगतिको शुभकामना।'
'धन्यवाद मिस' कमेन्ट गरेँ।
ऊ भन्दै थिई, उसको बाबाले को हो भनेर सोध्नु भएको रे अनि ऊ लाइब्रेरी पढ्ने साथी हो बाबा भनेँ भन्दै हाँस्दै थिई।
नौलो जागिर, हर्ष उल्लासको साथ अफिस आउजाउ हुँदै थियो। साँझ एकछिन बाहेक कुरा हुँदैन थियो ऊसँग। लाइब्रेरी जान पनि छोडिसकेको थिएँ। एक दिन कल गरेर साँझ भेट्ने भनी। अफिसबाट आउँदा भेट भयौँ। ऊ केही निराश थिई, केही भन्न खोजेकी थिई तर सकेकी थिइन।
'के भयो अर्कै देखिएकी छौ त नक्कली?'
'मलाई बिहे गर्नुस्,' आँसु झार्दै अँगालोमा आई।
'के भन्छौ? किन एक्कासि बिहेका कुरा गरेको?'
'मलाई माग्न आएका थिए बिहान, बाबाले हुन्छ भनेर पठाउनु भयो। दिउँसो बिहे गर नानी राम्रै खानदानका हुन भन्नु भयो। बाबाको कुरा काट्न सक्दिनँ म, के गर्ने?' डाँको छोडेर रुन थाली।
'हेर म अहिले बिहे गर्न सक्दिनँ, भर्खर जागिर लागेको छ, मेरो नि बुवाआमाको आशा भरोसा छ,' आफ्नो भविष्य सम्झिँदै बिहे अस्वीकार गरेँ।
ऊ रुँदै घर गई, म पनि घर आएँ। म केही गर्न सक्दिनँ, जागिर खान सक्दिनँ त्यही भएर यसले अस्वीकार गर्यो भन्ने भान भएछ उसलाई।
उसले घर गएर बाबालाई बिहे गर्न मन्जुर छु भनिछे। साँझ उसकै प्रस्ताव अस्वीकार गरेको म निदाउन सकिनँ, उसकै यादमा बित्यो रात।
अर्को दिन कल गरेर बिहे गर्न तयार छु भनेँ तर ऊ मानिन।
'मैले बाबालाई हुन्छ भनिसकेँ, अब म बाबाको शिर झुक्न दिन्नँ। तपाईंले मलाई गुमाइसक्नु भयो संगम, अबदेखि कल नगर्नू,' भन्दै फोन काटी।
म रुन थाले कराउन थाले, आफ्नो गल्तीको पछुतो भयो। अब उसलाई आफ्नो बनाउन नसक्नी भएपछि पागल सरि भएछु। घर अफिस जताततै हल्ला भयो, प्रेमिकाको बिहेले फलानो बौलाहा भयो रे।
पारिवारिक वातावरणका बिच आफूलाई सम्हाल्दै गएँ, अब सामान्य अवस्थामा आइपुगेँ। जागिर आउजाउ, दैनिक कार्यहरू चलेकै थिए। बेला बेला उसको झल्को आउँथ्यो। सोच्थेँ, उसलाई अझै आफ्नी बनाउन पाए...
यदि ऊ तयार हुन्थी भने म केही नसोची बिहे गर्थेँ ऊसँग तर त्यो सम्भव थिएन।
एक दिन साँझ फोन आयो, 'केही गर्न सक्दिन भनेर छोडेको थिइस् नि। थाहा पाइस् कि नाइँ, म नायब सुब्बा सिफारिस भएँ।'
यति भनेर फोन काटी।
उहीँ दिनलाई सम्झेर आफैले आफैलाई धिक्कार्न लागेँ- थुइक्क संगमे थुइक्क! समय हुँदा चाल पाइनस्, अब के पछुताउँछस्!