म मेरो लोक सेवा जाँचका लागि रात्रि बसमा काठमाडौँदेखि बुटवलसम्मको यात्रामा थिएँ। मेरो साइडमा एक जना दाइ हुनुहुन्थ्यो, लगभग ३५/३६ वर्षको। बस गुडिसकेपछि हाम्रो चिनजान सुरु भयो। हामी दुईले आफ्नो परिचय दियौँ।
दाइ सोही दिन कतारबाट आउनु भएको रहेछ। करिब २/३ वर्षपछि उहाँ नेपाल फर्कँदै हुनुहुँदो रहेछ। दाइ कतार गएको करिब १५/१६ वर्ष भइसकेको रहेछ। बिचमा दुई/चार पटक आएर जानु भएको रे। उहाँले सुनाउनुभयो।
घरमा छोराछोरी, श्रीमती अनि बुढा बुबा-आमा हुनुहुँदो रहेछ। श्रीमती र छोराछोरीको चाहना दाइलाई काठमाडौँ एयरपोर्टसम्मै लिन आउने रहेछ तर बर्खा मासको बाटो जाम परिने दुःख पाउने हुनाले दाइले नआऊ भन्नु भएको रहेछ। दाइ २/३ वर्षपछि आफ्नो परिवार भेट्न निकै आतुर हुनुहुन्थ्यो। परिवारको एक सदस्य बिरामी भएर दाइ एक महिनाको बिदा लिएर नेपाल आउनु भएको रहेछ।
मैले दाइलाई सोध्न थालेँ, 'कति वर्षको हुँदा जानु भएको? के काम गर्नुहुन्छ? कमाइ के कस्तो छ??'
दाइ कथित निम्न वर्गीय पारिवारिक पृष्ठभूमिबाट हुनुहुँदो रहेछ। उहाँ कक्षा ९ पढ्दापढ्दै साहुको ऋण तिर्न, घरमा हुर्किरहेका भाइ-बहिनीलाई पढाउन लेखाउन सहज होस् भनेर १६ वर्षकै उमेरमा भारत जानुभएको रे। उहाँसँगै गाउँका एक/दुई जना दाजुभाइ पनि जानु भएको रहेछ।
दाइले भन्नु भयो, 'भर्खर ९ कक्षाको कक्षा सुरु भइरहेको थियो। परिवारमा पनि त्यस्तै समस्या थियो। गाउँको एक जना अङ्कल भारतबाट आउनु भएको थियो। परिवारको सल्लाह भयो। म घरको जेठो छोरो जाने कुरा भयो र उहाँ अङ्कल सँगसँगै भारतको पन्जाब भन्ने ठाउँमा गइयो।'
सानैदेखि निकै दुःख गर्नुभएको रहेछ। बिहानै घाँस काटेर डेढ घण्टाको बाटो विद्यालय जानुपर्ने रहेछ। तर पनि दाइ सरासर ९ कक्षासम्म भने पढ्नु भएको रहेछ।
दाइले भन्नुभयो, 'बिहान २ भारी घाँस काटेर स्कुल जान्थ्यौँ। टाढा थियो विद्यालय। दिउँसोमा न केही खाजा खानु न केही। बेलुका घर गएर बत्तीको उज्यालोमा अलिअलि गृहकार्य गर्यो, अरू काम गर्यो यस्तै थियो।'
मैले दाइलाई भारत गएदेखिका अनुभव बारेमा सोधेँ।
दाइले भन्न सुरु गर्नुभयो, 'सुरुमा पन्जाब गइसकेपछि म एउटा साहुको कोठीमा काम गर्थेँ। महिनाको तलब त्यस्तै ७/८ सय आइसी थियो। पछि रेस्टुरेन्टमा काम गर्न लागेँ। अलिअलि आफ्नो ज्यान र घर केही खर्च पठाइरहेको थिएँ भारतमा काम गरेको ३ वर्षपछि नेपाली नागरिकता र राहदानी बनाएर गएँ। गाउँको एक जना दाइ कतार हुनुहुन्थ्यो। उहाँले भिसा लगाइदिनु भयो अनि म डाइरेक्ट दिल्लीबाट नै कतार गएको हो।'
'विदेशमा काम कमाइ के कस्तो छ नि दाइ?'
'विदेशमा काम गर्न सजिलो त छैन भाइ तर यहाँभन्दा श्रमको सम्मान भने पक्कै छ। दिनको १५/१६ घण्टा ड्युटी जानुपर्छ। जनतन घर खर्च चलेको छ। ५० डिग्री घाममा खटेर काम गर्न त कसरी सजिलो होस्? म होटेलमा काम गर्छु। गएपछि ४/५ वटा होटेल चेन्ज गरिसकेँ। परार साल कोरोनाको बेलामा होटेलमा काम ठप्प भयो। सबैले आफ्नो पैसाले खाएर बस्यौँ। अहिले अलिअलि चलेको छ। कमाइ त त्यस्तै हो भाइ, कमाएको छैन भनौँ यति वर्ष काम गरेको छु, कमाएको छु भनौँ देखिने सम्पत्ति केही जोड्न सकेको छैन। त्यही परिवारको अलिअलि ऋण तिरेर कम गराएको छु। अहिले त छोराछोरी पढाउनमा ठिक्क छ, कमाइ पनि यस्तै छ भाइ।'
मैले दाइलाई सोधेँ, 'अनि पहिले सँगै पढेका साथीहरू कता-कता छन्? सम्पर्क छ कि नाइँ नि?'
म स्कुल पढ्दा हामी ५ जनाको एउटा ग्रुप थियो। सबैको चाहना नेपालमै बसेर केही गर्नु पर्छ भन्ने थियो। कसैको हाकिम बन्ने, कोही शिक्षक त कोही डाक्टर इन्जिनियर। तर विडम्बना, अहिले हामी ४ जना प्रदेश छौँ, खाडीमा नै छौँ। बेलाबेला भेट हुन्छ। एउटा साथी अस्ति भर्खर अन्यत्र केही सीप लागेनछ र जोखिम मोलेरै भए पनि रुसी सेनामा भर्ना हुन गएर उतै छ रे। ऊ अहिले सम्पर्कमा छैन। हामी ५ बाहेक अरू साथीहरूसँगको मित्रता स्कुल तहसम्म मात्र सीमित रह्यो भाइ। एक/दुई जना नेपालमा सरकारी कर्मचारी छन् जो हामीलाई गन्दैनन्।
पहिले म कतार जाने बेलामा दुबई, कतार, साउदी जानेहरूको नि ठुलो मान र सम्मान थियो। त्यो समयमा विदेश जाने निकै कम थिए हाम्रो क्षेत्रबाट। हाम्रो सानो गाउँ छ। म पहिलो छुट्टीमा घर आउँदा छुट्टै आनन्द र बेग्लै सान अनि रमाइलो माहौल हुने गर्दथ्यो। तर पछि बिस्तारै नेपालमा शिक्षित मानिसहरूको सङ्ख्या बढ्दै गयो। धेरैका आफन्तहरू खाडीमा काम गरेर नेपालमा आफ्ना छोराछोरी, भाइ-बहिनीहरूलाई उचित शिक्षा आर्जन गर्न सक्ने बाटो बनाइदिए। अहिले देशमा पहिले हाम्रो पालामा खाडीमा जाने माहौल जस्तो थियो अरू देशमा जाने माहौल बढेको छ। विशेष गरी पैसा तिरेर भए पनि युरोप, अस्ट्रेलिया, जापान जान मानिस तम्सिरहेका छन्।
अहिले त भाइ मलाई कतारमा काम गर्छु भन्न नि लाज लाग्न थालिसक्यो। कतारमा छु, खाडीमा छु भन्दा मानिसहरूले कस्तो तल्लो एवम् गिरेको नजरले हेर्न थाल्छन् हामीलाई आजकल। युरोप, अस्ट्रेलिया तथा पश्चिमा देशमा पुगेका दाजुभाइ तथा साथीभाइ त हामीसँग बोल्न पनि खोज्दैनन्। उनीहरू जस्तो राम्रो ठाउँमा गए पनि उनीहरूलाई त्यस्तो देशमा जाने वातावरण मिलाउनुमा मजस्ता खाडीमा काम गर्ने उनीहरूका आफन्तको ठुलो हात छ तर उनीहरू त्यो बुझ्दैनन्।
अहिले मसँगै खाडी छिरेका कति साथीहरू दलाललाई पैसा बुझाएर युरोप छिर्न खोज्दै छन्। कतिको त पैसा खाएर दलाल भाग्यो रे तर पनि उनीहरू जान तम्सिन छाडेका छैनन्। सङ्ख्यामा त खाडी जानेको तथ्याङ्क धेरै भए पनि पहिले जस्तो खाडीमा कामको माहौल छैन। न गतिलो काम न त गतिलो तलब सुविधा। पहिले हाम्रो समयमा त बिदेसिनु बाध्यता थियो। अहिले त धेरै जना रहरले नि जान थालेका छन्।'
मैले यत्तिकैमा दाइलाई सोधेँ, 'अब यतै बस्नुहुन्छ कि फेरि फर्कने हो दाइ?'
दाइले जवाफ दिनुभयो, 'यहाँ बसेर के गर्नु भाइ? कमाउने भनेको आफूले गर्न सक्नेसम्म त हो। त्यही नि घरपरिवारमा कोही बिरामी पर्यो, केही पर्यो भने अलिअलि बचाएको नि सकिन्छ। बस्न मन त यहीँ लाग्छ तर बसेर के गर्नु? कसरी चलाउनु? गाउँको बारी जति बाझिइसक्यो। गएर बस्छु भने पनि न बजार छ न त केही उब्जनी। जङ्गली जनावरले खाइदिएर स्याहार गर्न दिँदैन। मेरो लागि खाडी जानु त बाध्यता नै छ भाइ।'
आफ्नो घरमै बसेर परिवार सँगसँगै उकाली ओराली गर्ने रहर कसलाई पो हुँदैन होला र! तर के गर्नु? हाम्रो देश ३/३ महिनामा मन्त्री फेरिन्छन्, कानुन फेरिन्छ। सबैले गर्छु, विदेश गएकालाई नेपाल फर्काउँछौँ। यहीँ बस्ने वातावरण बनाउँछौँ भनेर गफ दिन्छन् तर वर्षौँदेखि देश फर्कन सरकारको मुख ताकेर बसेका सरकार सामु याचना गरेर बसेका हाम्रा श्रमिक दाजुभाइलाई पनि यहाँ सकुशल ल्याउन सकेका छैनन्। कति रुस र युक्रेनको लडाइँमा हराएका छन्, कति इजरायल हमासको लडाइँमा बेपत्ता छन्, कति खाडीका जेलहरूमा सरकारको पहलको बाटो हेरिरहेका छन् तर नेपाल सरकार मौन छ। सरकार भन्न छाडेको छैन, अब कामको लागि विदेश जानु पर्दैन भनेर।
परदेश जान मन छ, घर नभको होइन
घरमै बस्ने मलाई नि, रहर नभको होइन
के गर्नु त स्वदेशमा बस्ने वातावरणै भएन
आफ्नै देशमा काम गर्ने जाँगर नभको होइन।