‘असारमा पानी पर्छ र बाटो हिलो हुन्छ’
यो कुरा नगरवासीलाई राम्ररी बुझाउन
नगरपालिका ढलका लागि छँदा खाँदाको सडक खन्छ
यो काम देखाउने याम हो
बिजुलीलाई अन्डरग्राउन्ड गर्न
बिजुलीको पोल ठड्याउन
पर्खाल लगाउन
आकाशे पुल बनाउन
सडक छेक्नोस्
र मान्छेले घर अफिस गर्दा घुमेर जानु परोस्
खाल्डो खन्नोस्
र कसैले कपडासहित स्विमिङ पुलको स्वाद चाखोस्
र कोही मोटरसाइकलसहित खाल्डामा परेको
समाचार नगरवासीलाई पढाउन पाइयोस्
शुष्क हुँदै आएका छन् सहरमा मान्छेहरू
विकास मात्र होइन
विकासका नाममा नगरका बासिन्दाको मनोरञ्जनका लागि
नगरले केही गरोस्
नगरले यस्तै गरोस्।
असारमा तपाईं काठमाडौँमा हुनुहुन्छ भने
मोज गर्नोस्
असार लागेपछि काठमाडौँमा
मेलम्चीको पानी आउँदैन
अमलेखगन्जको पेट्रोल आउँदैन
लालबन्दीको टमाटर आउँदैन
असार लागेपछि काठमाडौँमा
मासु किन्ने पैसाले
बन्दाकोबी पनि आउँदैन
तर ‘असारमा केही नआउने रहेछ’ भनेर ढुक्क नहुनु होला
तपाईं हनुमन्ते, मनोहरा, धोवीखोला र बल्खु खोलाको
छेउछाउ बस्नुहुन्छ भने
असारमा तपाईं आफ्नो घरमै
बाढीलाई स्वागत गर्न पाउनु हुन्छ
कोठामै ढलको ‘पवित्र जल’ अचाउन पाउनु हुन्छ।
असारमा
बाइकले हिलो छ्याप्छ
र ‘सरी’ तपाईंले भन्नु पर्छ
असारमा
ससुराल हिँडेको ज्वाइँलाई
मोटरले सडकमै नुहाइदिन्छ
र घरबाहिर निस्किँदा एक बाल्टिन चोखो पानीको
घरमै जोहो गरेर निस्किनु पर्छ।