यो खै कस्तो खालको सम्बन्ध हो उसको र मेरो? जहाँ म उपस्थित हुन्नँ, त्यहाँ उसले मेरो आगमन महसुस गर्छे रे! होइन यो कस्तो माया हो, कि आकर्षण हो? मप्रति ऊ धेरै नै सिरियस देखिन्छे। खै आजभोलि उसलाई न भोक लाग्छ, न तिर्खा लाग्छ, न निद्रा नै लाग्छ रे। रातको निद्रा दिनको चयन सबै हराएर बसेकी छ। आजभोलि खै के भयो उसलाई, उसको आँखामा जति बेला पनि छाउन थालेको छु रे म। के ऊ साँच्चै एकतर्फी प्रेमको नसामा फसेकी हो त?
हाम्रो कहानीको सुरुआत हुन्छ हस्पिटलको इमर्जेन्सी वार्डबाट। म धेरै पेट दुखेर र ज्वरो आएर हस्पिटलको बसाइँमा पुगेको थिएँ। तर यति भएको भए कहाँ हस्पिटल बस्थेँ होला? गएको केही क्षणमा नै हर्नियाको अपरेसन गर्नु पर्यो मलाई। त्यही भएर नै बस्नु पर्यो मलाई यहाँ।
तीन दिनको हस्पिटल बसाइँमा ऊ यसरी नजिकिन पुग्छे कि हामी आज मात्र देखादेख र बोलचाल गरे जस्तो थिएनौँ। वर्षौँ पहिले चिनजान भए जसरी बोलिराखेकी थिई ऊ। हिजो मात्र उसले मलाई र मैले उसलाई देखेको थियौँ। अहिले मेरो जाँचबुझ गरेर आफ्नो कार्यमा व्यस्त हुन पुगेकी ऊ, रातारात कसरी मप्रति आकर्षित हुन पुगी? पूरै रात नसुतेर ऊ घण्टै पिच्छे मेरो हालखबर र सबै कुरामा यसरी कसरी ख्याल गर्न थालेकी थिई कि ऊ सबैसँग यसरी नजिक हुन्छे कि मसँग मात्र हो यति धेरै तन मन लगाएर खटिएकी हो? मेरो हस्पिटलको तीन रात अनि चार दिनको बसाइँमा कहिले केही कुराको कमी महसुस गर्न र हुन दिइन। सक्ने जति सबै गरेर भ्याई।
आज चौथौँ दिन मेरो डिस्चार्ज हुने दिनको कुरा हो। आज ऊ समयभन्दा अलि चाँडै नै आएकी थिई काममा। अरू दिनभन्दा आज अलि राम्री भएर आएको मैले देखेँ। अनुहारमा मुस्कान धेरै राम्रो देखिरहेको थियो। त्यसमाथि अनुहार पूरै चिरिच्याट्ट पारेर आएकी ऊ झन् राम्री र सुन्दर देखिएकी थिई। तर केही कुराले हो या कामले हो हतार गरे जस्तो देखिन्थी। उसले केही बिर्से जसरी खोज्न लाग्दै थिई यता र उता गर्दै।
मेरो डिस्चार्ज हुँदै छ भन्ने थाहा थियो उसलाई हिजै। अहिले डक्टरको नजिक आएर सोध्छे- 'उहाँको आज डिस्चार्ज है? अनि कस्तो छ हिजो अस्तिभन्दा आज उहाँको स्वास्थ्य अवस्था?'
केही कुरामा सुधार भए पनि एक दुई पटक हस्पिटल भिजिट गर्नु पर्छ भनेपछि ऊ ढुक्क भए जस्तो गरेर चयनको सास फेरेको जस्तो लाग्यो मलाई।
सबै प्रक्रिया पूरा गरेर म त्यहाँदेखि निस्किनै लाग्दा उसले सानो चिट जस्तो मेरो हातमा थमाएर त्यहाँदेखि केही नबोलेर कुदिहाली। सायद ड्युटी टाइम थियो होला अब। त्यसमा आफ्नो नम्बर र 'गेट विल सुन' भनेर लेखेकी थिई भने अनि केही परेमा सिधै मलाई यो नम्बरमा कल गर्नु होला, सहयोग लागि म सधैँ हाजिर हुनेछु भनेर।
यति भए पछि के चाहियो मलाई? ह्वाट्सएप पनि रहेछ त्यो नम्बरमा, सेभ गरिहालेँ प्रिय साथी भनेर। उसको त्यति धेरै माया, स्नेह र मप्रति ख्याल अनि लगावका केही यादहरू बोकेर म त्यहाँबाट निस्किएँ।
घर त पुगेँ तर अब हप्ता दिनसम्म घर बाहिर निस्कन नमिल्ने भयो किनभने टाँका जो लागेको थियो मलाई। न धेरै हिँड्न मिल्ने न कुनै उटपट्याङ गर्न मिल्ने। चुपचाप छतमा गएर बस्न बाहेक अरू कुनै विकल्प नै थिएन।
राति उसले दिएको नम्बरमा कल गरेँ तर उठेन। सिधै म्यासेज आयो- 'आई एम बिजी राइट नाउ, आई विल कल यु लेटर' भनेर। त्यति भनिसकेपछि मेरो के लाग्थ्यो।
दुई घण्टापछि फेरि म्यासेज आयो- 'हु आर यु?'
म पनि के कम, हाहा रियाक्टसहित भनिहालेँ- 'आफै चिट दिने अनि को हो भनेर सोध्ने? कि अरू पनि छन् तिम्रो यस्तै?'
उताबाट क्षणमै म्यासेज रिप्लाई आयो, त्यो पनि पहिलो इमोजी थियो रातो न रातो रिसाएको टाउको भएका तीन वटा इमोजी। त्यसपछि टेक्स्ट नै आयो- 'म त्यस्तो देखिन्छु त त्यसो भए?'
मैले पनि भनिहालेँ, 'मलाई के थाहा।'
अब म्यासेज रिप्लाई आएन कल आयो। हतार नगरी उठाएँ त्यो पनि ह्वाट्सएपमा। उताबाट सुरु भयो संवाद, कस्तो छ अहिले अनि औषधि खानु भयो कि नाइँ भनेर। यति भनेपछि बल्ल मेरो पालो आयो।
मैले खाएर अब सुत्न लागेको बताउँदै उसको सोधेँ। उसले नि अब पनि सुत्न लागेको भनी। 'सुत्नुहोस्, धेरै फोनमा झुन्डिएर बस्नु भएन, अब आराम गर्नुहोस्' भनिसकेपछि अब म के भन्न सक्थेँ। धेरै बोल्न मन त थियो तर के गाली पाउने हुँ कि भन्ने सोचले सुतिहालेँ। शुभ रात्रि भनेर दुवै जना विलुप्त भयौँ।
अब म त मस्त निद्रामा सुतिहालेँ तर आधा घण्टापछि फेरि कल पो आउँछ त नम्बरमा, 'सुतिसक्या हो हजुर?' भनेर। मन नलागी नलागी छैन भनेँ। आफूलाई हस्पिटलदेखि इरिटेट लाग्छ त्यहाँको गन्ध र अरू बिरामीहरूको हालत देखेर सुत्न नपाएको कति दिन भइसक्यो। आज त सुत्न पाइएला भनेर सोचेको अर्को आपत् पो निम्तिँदै थियो मेरो जीवनमा।
मैले भनेँ, 'सुतेको म, तिमी सुत्नु पर्दैन? यति राति नि के कल गर्न मन लागेको हो!'
उताबाट मलाई निद्रा नै लागेको छैन भन्ने जवाफ पो आउँछ। 'आफै स्वास्थ्यकर्मी अनि आफै बिमारी छौ के हो?' मात्र के भनेको थिएँ, मान्छे त रिसले चुर भएर पो बोल्न थाली।
'हो, मन र मस्तिष्कको बिरामी भएको छु। ल अब यस बिमारीको उपचार के हुन सक्छ भन्नुस् त हजुर?'
म पूरै स्तब्ध पो भएँ। केही बोली नै फुटेन मेरो मुखबाट। 'सुतेँ म' भनेर फोन राखिदिएँ। फेरि यति भनेर छोड्दिएँ, 'आई डन्ट ह्याभ एनि आइडिया।'
भोलिपल्ट बिहान साढे चार बजे नै 'गुड मर्निङ, ह्याभ अ ग्रेट डे' पछाडि लभ र केयर रियाक्ट गरेको इमोजी सहितको म्यासेज आयो। कोही मान्छे कसरी यति विधि आकर्षित हुन सकेको हो! यति धेरै पागलपन्ती पनि राम्रो होइन है सोचेँ। मैले पनि केही रिप्लाई छोडेर फोन स्विच अफ गरेर बसिदिएँ। साँझपख अन गर्छु त म्यासेज र फोन कल ट्राई गरेको म्यासेजको थुप्रो पो देख्छु।
यस्तै गर्दै केही हप्ता दिन बिते। भेटघाट हुन सुरु भइसकेको थियो। म्यासेज गरेको दुई/तीन दिनदेखि नै, झन्-झन् सम्बन्धले जालो बुन्न थालिसकेको महसुस गरिसकेँ मैले। उसलाई न मेरो विगत थाहा छ, न त वर्तमान नै केही थाहा छ। एकतर्फी प्रेममा नराम्रोसँग फसिसकी ऊ।
यतिसम्म कि हिजोअस्ति जति बेला पनि घरदेखि बाहिर निस्किरहने ऊ आजभोलि एकाग्र भएकी छ। न आफ्नो कोठादेखि बाहिर निस्किन्छे, न त कोहीसँग कुरा गर्न नै रुचाउने। न खाना रुच्छ रे न अरूको कुरा सुन्न रुच्ने। यो माया हो कि प्रेम रोग लागको हो उसलाई? साँच्ची नराम्रोसँग फसी कि के हो ऊ मेरो प्रेमको लतमा।
खै कसरी नजिकिन पुगी ऊ मसँग, मलाई नै अत्तोपत्तो छैन, न केही महसुस नै गर्न सकेँ। यति नजिक भई कि आफूलाई पूरै भुलाई ममा समर्पित भएको मैले केही थाहा पाउन सकिनँ। कोही केटी मान्छे कसरी यति नजिक र निकटतम हुन सक्छ? बोलेको धेरै नि भएको छैन। सायद हामी त्यही दुई/चार दिन या हप्ता दिनसम्म भएको होला, त्योभन्दा धेरै भएको पनि छैन हाम्रो भेटघाट र कुराकानी।
असारको महिना, बिहान चार बजे नै उज्यालो हुन्छ आजभोलि। शुक्रबारको दिन थियो। झरी परिरहेको छ। आज आकाशले पनि भनिरहेको छ, कति ठाउँमा डुबान पारेर कतिका घर बस्ती र परिवार विस्थापित गर्ने।
म त्यो पानीलाई छिचोल्दै जसरी नि हस्पिटल पुग्नु पर्छ भन्ने सोचले भिजेरै दस मिनेटको बाटो पार गर्ने सोचेँ। मुख धोएर पानी खाएँ, कपडा लगाएँ र झोला भिरेर त्यस्तो पानीमा पनि हिँडेर हस्पिटल पुग्ने आँटका साथ अघि बढेँ। हिजोअस्ति दस मिनेटमा पुग्ने म आज ठ्याक्कै दोब्बर समय लगाएर हस्पिटल पुगेँ। निथ्रुक्कै भिजेर वार्डमा पुगेँ। छाता लान नि बिर्सेछु हतारले गर्दा। अन्तिम पटकको भिजिट थियो आज। आठ बजेतिर डक्टरसँग भेट गर्नु थियो। मभन्दा नि पहिला ऊ पो पुगेकी थिई। त्यस्तो पानीमा कपाल पूरै भिजेको, मान्छे त झन् कुरै नगरौँ भिजेर।
दुई घण्टा कुरेपछि मेरो पालो आयो। सब रिपोर्ट देखाएँ। सबै ठिकै भएको र अब हप्ता दिनको लागि मात्र औषधि प्रयोग गर्ने भनेर म त्यहाँबाट निस्किएँ। अहिले भने उसलाई केही जानकारी नदिएर निस्कन मन लाग्यो। सिधै निस्किएँ। पानी पनि रुकिसकेको थियो अहिलेसम्म त। सिधै घर पुगेँ र मोबाइल खोलेर बेडमा पल्टिएँ।
उसको म्यासेज आएको थियो, 'केही नभनेर निस्केको है! मान्छे त अब को हो र म भन्नलाई!' मलाई केही भन्न मन लागेन। अब भेटेपछि सबै कुरा भन्छु लेखेर फोन स्विच अफ गर्दिएर बसेँ।
दिउँसो दुई बजेतिर मोबाइल खोल्छु फेरि कल र म्यासेजको बर्सात थियो। त्यति देखिसकेपछि सिधै फोन गरेँ, दुई पटकमा उठ्यो र उतादेखि उसले भनी, 'आज हामी पाँच बजेतिर भेट्ने छौँ।' त्यति भनेर फोन कट्यो।
साँझ भेट्नलाई तयार हुन नै सकिरहेको थिइनँ म। म ऊसँग केही गरे नि नभेट्न सोचमा थिएँ। तर उसको अघि मेरो केही लागेन। ऊ भने मभन्दा एक घण्टा पहिला नै त्यहाँ आएर बसिसकेकी रहेछ। समयले साढे पाँच काटिसकेको थियो। उसले उताबाट फोन गरिहाली।
'मान्छे त के हो, एक घण्टा बितिसक्यो अझै आगमन हुन्न त' भनेर गाली गर्न थाली। अन्त्यमा जानु नै पर्ने भयो। ऊ मेरो पर्खाइमा बसिसकेकी थिई। चप्पल लगाएर हाफ पाइन्ट र टिसर्टमा गएँ।
मैले परैबाट देखिसकेको थिएँ उसलाई। आज ऊ ड्रेसमा नै आएकी थिई, घर नगएर सिधै क्याफेमा। पुगेर म बस्न मात्र लागेको के थिएँ उसले आफ्नो झोलाबाट एउटा रातो गुलाफको फूल झिकेर मतिर तेर्साउँदै 'आज मैले मेरो मनको कुरा हजुरलाई भनिन भने जिन्दगीभर पछुताउने छु। आई एम इन डिप लभ विथ यु' भनेर अँगालो पो हाल्न पुगी। यता आफू जोकर जस्तो बनेर गएको छु, उता ऊ भने पूरै ममा डुबिसकेकी छ। केही बोल्न सकिनँ।
यो भेटमा उसले मलाई सप्राइज दिएकी थिई तर त्योभन्दा ठुलो सप्राइज मैले दिने वाला थिएँ। उसको आँखाबाट निस्केको आँसुको दुई थोपा मेरो हातमा पुगेपछि केही सोच्न नै सकिनँ। खै यो कस्तो आकर्षण हो कि प्रेम, मैले केही बुझिनँ। आज म यो सम्बन्ध अन्त्य गर्ने सोचमा गएको मान्छे झन् समुद्रभन्दा गहिरो र निलो आकाशभन्दा पनि प्रगाढ सम्बन्धमा बाँधिएर घर फर्किएँ।
अब यो सम्बन्ध कहाँसम्म पुग्ने हो, त्यो त मलाई पनि कुनै आभास र सोच छैन। किनभने रहरले नजिएको सम्बन्ध जोडिन जति समय लागेको छ, छुट्न पनि त्यति समय लाग्दैन। अब बुनिएको फूलमाला जसरी सजिएर बस्ने हो कि ओइलिएर जाने हो कुनै पत्तो छैन। अब यो सम्बन्धले कस्तो मोड लिने हो र कहाँसम्म पुग्ने हो, कुन गन्तव्य नभएको यात्रा जस्तो हुने कि केही थाहा छैन।