यो मध्यरातमा टलक्क टल्केको जूनको उज्यालोको
आगमनसँगै हराएको मेरो निद्रा
प्रतीक्षाको घडीको समय सकिनै लाग्दा पनि फर्कँदैन
लाग्दै छ निरन्तर भुकिरहेका कुकुरहरूले
मेरो निद्रालाई बिच बाटोमै रोकेका छन्
अनि यो व्यस्त रहने सुनसान सहरले भन्दै छ
एकछिन पख, नियाल मलाई
मनका अनेकौँ प्रश्नको झटारोले मस्तिष्कलाई
भन्दै छन् 'मेरो प्रश्नको जवाफ खोइ?'
सुकेको घाँटीलाई
छेउको बोतलको पानीले अलिकति भिजाउँछु र
बाल्छु निभाइएको बत्ती फेरि
बत्तीको मलिनो उज्यालोसँगै
पल्टाउँछु कापीका पाना र उतार्न खोज्छु
मानसपटलमा गुम्सिएर बसेका निद्राका बाधकहरूलाई।
कलमको पछिल्लो भागलाई दाँतले टोक्दै फेरि सोचमग्न हुन्छु
र गर्छु आफैलाई प्रश्न 'के चाहिँ लेख्ने?'
उतार्नु पनि कसरी भावहरू गिजोलिएका जो छन्
यति सजिलो छ र कापीका पानामा उतारेर निदाउन?
कापीका पानामा हुबहु परिणत गर्न त सकिएला तर
यो मानसपटलमा भण्डारण भएका बाधकहरूलाई
कहाँको रिसाइकल बिनमा थुपार्नु?
सोच्ने क्रम जारी छ र फेरि पनि सोच्दै छु के लेखूँ म?
सपनाको भारीले च्यापेर बिहान उठ्नै नसक्ने बनाको लेखूँ
कि लेखूँ मेरै शिरबाट उडेका सपनाहरूलाई मैले छुनै नसकेको
या लेखूँ आफैले मारेका सपनाहरूको मलामी गएको बारे
के लेखूँ?