असार, मानो रोपेर मुरी उब्जाउने महिना।
तीन दिन भयो पानी एकनासले परिरहेको छ। रोकिने सुरसार नै छैन। आकाश गडगडाई रहेको छ। देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना घटिरहेको समाचार भित्तामा झुन्ड्याइएको रेडियोले सुनाइरहेको छ। घर छेउको डिलै निरबाट पारिपट्टि देखिने खहरे खोला पनि उर्लँदो बैँसले उन्मत्त भएर निकै हतारका साथ नदी भेट्न दौडिरहेको छ।
गाउँमा रोपाइँ चलिरहेको छ। लगातारको कामले थकाइ लागेछ क्यारे, सदाभन्दा अलि ढिलो आँखा खुले। आज घरकै रोपाइँ, बुबा-मम्मी अलि छिटो उठ्नु भएछ। घरको काम सबै सक्काई दिउँसोलाई घाँस काट्न र बिउँ काढ्न ब्याडतिर लागिसक्नु भएछ।
हिजो साँझको बुबाको निर्देशन पालना गर्दै म भने आफ्नो काम पानी मेसो मिलाउन रोपाइँ हुने खेततिर लाग्छु। यसै त असार महिना त्यसैमाथि लगातारको झरी, पानीको समस्या हुने कुरै भएन। यो कामलाई औपचारिकता मात्र दिँदै म घर फर्कन्छु।
खाना खाने समय भइसक्न लागेछ। अब खाना खाएर खेत तिर गइहाल्ने कुरा गर्नु भयो बुबाले। सबैले सहमति जनाउँदै खाना खायौँ। अब खेतमा जाने तरखर सुरु भयो। घरमा अलि सानो म हलो-जुवा बोक्नुभन्दा गोरु लैजान नै सहज मान्दै गोरु खेतसम्म पुर्याउने जिम्मा मैले नै लिएँ।
पैयुँको एउटा लौरो समातेँ अनि डराई डराई गोरु फुकाएर निस्किएँ खेततिर। घरदेखि अलि तल मात्रै के पुगेको थिएँ माथिल्लो गाउँका दाइका गोरु र हाम्रा गोरुको जम्काभेट भयो। सानो अल्लारे उमेर, छेकी छेकी जुधाउन समेत पछि नपर्ने म आज त झन् गोरु आफैँ नै वर्षौँदेखि साँचेर राखेको रिस पोख्न थालेझैँ घम्साघम्सी लड्ने तयारी गर्दै छन्।
यो सब देखेर म रमाइरहेको छु। गोरु जुध्न थालेदेखि अघिसम्म रमाइरहेको म अब भने डराउन थालेँ। तारे गोरुको सिङ नै भाँचिएछ। ओहो! रगत आउन थाल्यो। अघिसम्म त डराई मात्र रहेको म अहिले त डरको सीमा नै रहेन। अब बुबाले गाली गर्नु हुन्छ। मुटुको चाल बेस्सरी बढ्न थाल्छ।
म झसङ्ग बिउँझिन्छु। ओहो! कस्तो समयानुकूल सपना पो देखेछु।
एक छिन केही नसोची घटघट पानी पिउँछु। सपना बुबासँगै बढी सम्बन्धित भएको हुँदा उहाँको नम्बर डायल गर्छु। घण्टी लामो समयसम्म गयो तर फोन उठेन। सायद खेत तिरै हुनुहुन्छ होला बुबा त्यही भएर फोन नउठेको हो कि भन्ने मनमनै सोच्छु।
अन्तिम घण्टी तिर फोन उठ्यो। म दर्शन बुबा भन्छु। बुबाले आशीर्वाद दिनुहुन्छ र सन्चो बिसन्चो सोध्नु हुन्छ। आफू ठिक भएको कुरा बुबालाई जानकारी गराउँछु र सपना बमोजिम नै रोपाइँ सम्बन्धी कुराहरू निकाल्छु।
बुबाले हाम्रै रोपाइँ रहेको र आफू पनि अहिले खेतमै भएको बताउनु हुन्छ। उहाँ थप्नु हुन्छ, 'आज अन्तिम रोपाइँ हो, अरू सकियो।'
यतिकैमा बुबाको कुरा बिचमा रोक्दै अलि उत्सुकताका साथ सोध्छु, 'ओहो बुबा, अहिले त धेरै छिटो सकिएछन् खेत रोपेर!'
मेरो यो उत्सुकताले भरिएको प्रश्नको उत्तर बुबाले अलि गम्भीर भएर दिनुहुन्छ, 'खेत रोप्न त बाँकी नै छ नि, खेत रोप्नेहरू पो सकिए गाउँमा। अब रोप्ने मान्छे नै नभएपछि खेत नै रोप्न सकिए जस्तै त भयो। पहिला महिनौँ दिनसम्म लगातार रोप्दा नि सकिँदैन थियो। अहिले त हप्ता दिन पनि लागेन। तिमीहरू जस्ता युवा कि विदेश कि सहर, हामी गाउँमा रहेका बूढाबूढीले कति नै गर्न सक्छौँ र? अहिले बल्लतल्ल मान्छे जुटाएर नजिक नजिकको रोपियो। टाढाको जम्मै बाझैँ छ। अर्को वर्षदेखि त नजिकको पनि के हो के। अब त फोटोमै मात्र सीमित हुने भयो धान।'
बुबाको यो कुराले म एकैछिन निःशब्द हुन्छु। अनि 'हुन्छ बुबा, अफिस जाने ढिलो भएछ' भनेर कुरा टुङ्ग्याउँछु।
हतार हतार बाइकको इन्जिन स्टार्ट गरेर खुट्टामा हिलो लाग्छ कि भनेर डराउँदै सडकका खाल्डा र हिलोमा ट्रायल दिँदा आठ घुमाए जसरी बाइक घुमाएर हिलो तर्काउँदै अफिसतिर लाग्छु। बुबा दिनभरसँगै रहने सम्झौता गर्दै हिलोमा खुट्टा डुबाउनु हुन्छ।