परदेशको चर्को घाममा पसिना बगाउँदै गर्दा
घर सम्झिएँ
आमा, बुबा, भाइ, बहिनी, परिवार सम्झिएँ
सम्झिएँ बचपनका दौँतरीहरू
सम्झिएँ
गुच्चा खेल्ने त्यो शीतल चौतारी
लाग्यो भोलि नै घर फर्कौँ र
रमाएर बसौँ परिवारसँगै
फेरि बरालिँदै हिँडौँ दौँतरीहरूसँग
जिऊँ एउटा मस्तीको जिन्दगी
ओहो! झस्किँदै सम्झिएँ
घरको अवस्था
परिवार पाल्न र मलाई ठुलो बनाउँदा
बुबाले दिएको त्यो अमूल्य बलिदान
आमा हामीप्रतिको तिम्रो त्यो त्याग
भुलेको छैन दिनरातको
साहुले दिएको मानसिक यातना
फेरिदिन्छु भनेको बुबाको कोट र आमाको फरिया
भाइलाई पढाएर ठुलो मान्छे बनाउने हाम्रो सपना
साहुको ऋण तिरेर बिना फिक्री
सानो झुपडीमा रमाउने आमा-बुबाको चाहना
चाडपर्वमा आमा घर फर्क भन्छिन्
आमा पर्ख न केही पैसा कमाउनु छ
थोरै-थोरै गरेर जमाउनु छ
एक दिन त छोरा फर्केर घर
तिमीसँगै त रमाउनु छ
आएन नसोच्नु तर्केर
बसे है आमा पर्खेर
केही सम्पत्ति लिएर
आउनेछु घरमा फर्केर
बसे है आमा पर्खेर
आउनेछु घरमा फर्केर।