परीक्षा हलमा समय काट्नुभन्दा
अर्को एक गाह्रो काम छ
जाबो एउटा काम गराउन
सरकारी कार्यालयमा दिनभर चक्कर लगाउनुभन्दा
अर्को एक गाह्रो काम छ
कक्षा कोठामा गुरुले उठाएर
प्रश्न सोध्दा मौन उभिनुभन्दा
अर्को एक गाह्रो काम छ
मोबाइल चलाउँदै गर्दा
ममीले अह्राएको सानो काम पनि गाह्रो लाग्छ
तर त्योभन्दा पनि अर्को एक गाह्रो काम छ
त्यो काम हो-
उनले भोलि भेट्छु भन्दा मैले रात काट्नु!
मन परेको मान्छेले भोलि भेट्छु भन्दा
कटाउनु पर्ने त्यो रात
जिन्दगीको सबैभन्दा लामो रात लाग्छ
मन परेको मान्छेसँग भेट्न काट्नु पर्ने रात
जन्मदिनमा केक काटेको जस्तो सजिलो हुँदैन
धर्मको नाममा पशु र मान्छे काटेको जस्तो सजिलो हुँदैन
त्यो रात नाइल नदीभन्दा लामो लाग्छ
चीनको ग्रेट वालभन्दा लामो लाग्छ
तर त्यही रात
अन्तिम चोटि सँगै गुजारिरहेका मान्छेहरूलाई
परेलाको झिम्काई जत्तिकै छोटो लाग्छ
मलाई थाहा छ कि
हामीले सँगै गुजार्ने अन्तिम रात
कमिलाको लम्बाइ जत्तिकै छोटो हुनेछ
सल्किँदै गरेको सिगरेटको उमेर जत्तिकै छोटो हुनेछ।