ड्याम! ड्याम!! ड्याम!!!
उसको पेटको ठिक माथि तीन वटा गोली लाग्यो र ऊ भुइँमा लड्यो। गोलीको घाउले उ पीडाले चिच्यायो। पेटमा हात राख्दा रगत बगिरहेको देख्यो। आफ्नै शरीरबाट रगत बगेको देखेर उसको आँखा बन्द हुन थाल्यो।
कसैले चिच्याएर भन्दै थियो- 'सर, नआत्तिनुस् हामी तपाईंलाई अस्पताल लैजान्छौँ।'
उसले हेर्यो, उसको मिल्ने साथी थियो। उसले छेउमा आएर भन्यो, 'आऊ, यहाँ किन मर्छौ, मर्नै छ भने अस्पतालमै मर्नू।'
उसले हाँस्ने प्रयास गर्यो। साथीको आँखाबाट उसको अनुहारमा आँसु झर्न थाल्यो।
उसको आँखा बन्द हुँदा मनमा अनेकौँ तस्बिरहरू घुम्न थाले।
ऊ मुस्कुराउँदै थियो, कतै पढेको थियो कि मृत्यु हुनुभन्दा केही मिनेट अगाडि पूरै जीवनको रिल फ्ल्यास ब्याक जस्तै घुम्छ। उसले एम्बुलेन्सको झ्यालबाट बाहिर हेर्यो, कालो रात निलो आकाश। ‘यो पनि अचम्मको ठाउँ हो साथी’, उसले मनमनै भन्यो, ‘संसारमा सबै लडाइहरू शासन सत्ताको लागि मात्रै हुन्।’
फेरि अर्को अनुहार देखिन थाल्यो। त्यो आमाको थियो। एक हातले उसको अनुहार समातेर अर्को हातले उसलाई केही खुवाउँदै थिइन् र बारम्बार भनिरहेकी थिइन् कि 'मेरो छोरा राजा र सिपाही बन्छ।'
उसलाई कडा पीडा हुन थाल्यो। अर्को दृश्य उसको स्कुलको थियो, जहाँ प्रजातन्त्र दिवसमा उसले गाउँदै थियो, ‘म मरे पनि मेरो देश बाँची रहोस्।’ विद्यालयका प्रधानाध्यापकले उसको टाउको सुमसुम्याएका थिए। आमालाई देखे, आँसु पुछिरहेकी थिइन्। उसको बुबा पनि प्रहरीमा हुनुहुन्थ्यो। जीवनको भिडिओ धेरै छिटो अगाडि बढ्यो, अर्को छवि युद्ध फिल्महरू मात्र थिए, उसको रगत थप बगिरहेको थियो।
त्यसपछि एउटी केटी देखा परिन् जसको बारेमा उसले बेला-बेलामा सोच्थ्यो। उनी उसलाई इन्जिनियर भएको हेर्न चाहन्थिन्। तर उसलाई पुलिस अफिसर बन्ने रहर थियो। उसलाई बान्ता भयो र उसको शरीरबाट अझ धेरै रगत निस्कियो। उसको साथीले हात थपथपाउँदै भन्यो- 'केही हुँदैन... साथी।'
अर्को तस्बिरमा ती केटीका चिठीहरू र सुकेका केही फूलहरू थिए अनि किताबका पानाहरूमा राखिएका थिए, त्यो तिनलाई फर्काएर ऊ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानतिर लागेको थियो। अर्को छविमा सबै साथीहरू देश र जनताको सुरक्षाको लागि विद्रोहीसँग पहाड जङ्गलमा लडिरहेको कल्पना गरिरहेका थियो।
कस्तो जोस थियो उनीहरू सबै साथीहरूमा, उनीहरूको लागि पहिलो लक्ष्य देश र जनता थियो, देश र नागरिकको सुरक्षा अन्तिम लक्ष्य थियो र उनीहरू सबै दुर्गम गाउँहरूमा विद्रोहीहरूको खोजी गरिरहेका थिए।
अर्को तस्बिर देखियो आमाको आँखामा गर्वको आँसु। अठार महिनापछि उनीहरूको तालिम समाप्त भएको परेडमा ऊ आमासँगै थियो। उनीहरू दुवैले सँगै आकाश तिर हेरेर बुबालाई भनेका थिए- ‘हामीले तपाईंको सपना पूरा गर्यौँ।’
अर्को छवि उसको आमाको निधनको खबरको थियो। उसको जीवनको सबैभन्दा ठुलो र मुख्य स्तम्भ ढलेको थियो। उसले फेरि उल्टी गर्यो। यस पटक उसको साथीको आँसु सुकिसकेको थियो। उसलाई समातेर साथीले भन्यो, 'म पनि तिम्रो पछि-पछि आउँदै छु। माथि तिमी एक्लै मज्जा लिने। म यस्तो हुन दिन्न।'
उसले सक्दो हाँस्ने प्रयास गर्यो।
सबैभन्दा सुन्दर दृश्य उसको अगाडि आयो, उसको छोरी अर्चनाको। उसलाई प्रहरी सेवाको कुराहरू धेरै मन पर्थ्यो। उनीहरू बिदाको दिनहरू उत्सुकतासाथ पर्खिरहेका हुन्थे। त्यहाँ उसको श्रीमतीको तस्बिर पनि थियो जसले उसलाई सधैँ सुक्खा आँखाले बिदाइ गर्थिन्। उसलाई केही भइहाल्छ कि भन्ने डर थियो, यस पटक उसको डर सत्य भयो। उसको छोरीले बोलेको शब्दहरू, यति धेरै कुरा पहिलो पटक उसको आँखामा आँसु आयो, उसलाई रुन मन लाग्यो। उसले आँखा खोलेर साथीलाई हेर्यो, ऊ पनि रुन थाल्यो।
अब आँखा अगाडि कुनै तस्बिर आउन सकेन। मनमा त्यही गीत आइरहेको थियो, ‘म मरे पनि मेरो देश बाँची रहोस्...।'
उसले साथीलाई भन्यो, 'यी नागरिकहरू हामीजस्ता कहिले बन्लान्? हामीले यिनीहरूलाई बचाउँछौँ, उनीहरूको लागि हामीले आफ्नो ज्यान दिन्छौँ…' अनि जोडले हिक्का आवाज आयो, उसले साथीको हात जोडले थिच्यो अनि अँध्यारो भयो।
उसको श्रीमती मौन थिइन्। अब उनको आँसु झर्न रोकिएको थियो। उसको साथी बारम्बार रुने गर्दथ्यो। अनि छोरी अर्चना सबैलाई सोधिरहेकी थिइन्, 'बाबालाई के भयो, कहिले ब्युँझने हो? हामी सँगै खेल्नुपर्छ।'
कुनै सेलिब्रेटीको मृत्यु भयो भने यसलाई मिडियाले निरन्तर कभरेज दिइरहेको हुन्छ। तर उसको मृत्युको बारेमा कतै पत्रिकामा एउटा सानो खबर थियो। देश र जनताको रक्षा गर्दा कति सेना र प्रहरीले आफ्नो ज्यान बलिदान दिएका छन्, त्यो सबैलाई थाहा हुनुपर्थ्यो। जुन देश र जनताको लागि उसले आफ्नो ज्यानको आहुति दियो, त्यो गाउँ घर, पहाड जङ्गल अझै उस्तै छन्।