म सडक, यात्रीको आधार, यात्राको सहयात्री
संसारको अनगिन्ती कुनामा, म छु अस्तित्वमा।
हरेक दिन हजारौँ पाइलाहरू ममाथि टेकिन्छन्
हजारौँ पाङ्ग्राहरू मेरो छालामा घर्षण गर्छन्
गन्तव्यहरू पहिल्याउँछन्, मलाई बिर्सन्छन्
म रातभर जागिरहन्छु
यात्रीहरूलाई गन्तव्य देखाइरहन्छु।
विभागहरू मलाई आ–आफ्नो दाबी गर्छन्
'यो सडक हाम्रो विभागमा पर्छ,
तिमीहरूले शृङ्गार्न पाउँदैनौ'
अनि म भन्छु
'म म त आफ्नै हुँ, कसैको होइन,
तर यदि हुँ भने त म सबैको हुँ, तिम्रो मात्र होइन।'
बहिरा छन् कि सुनेनन्
यदि सुन्ने थिए भने
पाङ्ग्रा र पाइलाहरू भारी भएर म रुँदा
झन् मेरा फाटेका छालाहरूमाथि
झनै जोरले पाङ्ग्रा घिसार्दैनथे होलान्।
कसैले त सोच्दो होला नि
म पनि बाँच्न चाहन्छु
कसैले बुझिदियोस्, म पनि हाँस्न चाहन्छु
आफ्नो अस्तित्वको रङमा रङ्गिन चाहन्छु
दुनियाँको पाइलामा म पनि सँगै हिँड्न चाहन्छु।
म मौन साक्षी, हरेकको कथाको
तर मेरो आफ्नै कथा कसले नै सुन्छ
अनन्त रङ्गहरूको यो संसारमा
मेरो अस्तित्व सेतो धुलोमा लुक्छ।
भुराभुरीहरू हाँस्दै दौडन्छन्
बुढाहरू सोच मग्न हुँदै हिँड्छन्
प्रेमीहरू सपना साट्छन्
तर कोही अडिएर मलाई सुम्सुमाउँदैन।
म सडक हरेक दिन, हरेक रात
सबैका लागि उभिनेछु, हरेकका साथ
तर मलाई पनि माया गरिदेऊ
मेरा खण्डित भागहरू मर्मत गरिदेऊ
मेरो घाउहरूलाई पुरिदेऊ
म फेरि नयाँ भएर उभिनेछु
सबैको सारथि बनिदिनेछु।
मेरो कथाहरू
भावनाहरू, सपनाहरू
सबैलाई थाहा होस्, सबैलाई बुझ होस्
म सडक, तिम्रो सहयात्री।