कविता
टलक्कै टल्केको ऐना जस्तो
जताततै उज्यालै उज्यालो
सहर को कोलाहल भित्र
एक झोलामा सपना
अर्को झोलामा जोश बोकेर
छोरो सहर पसेको छ।
सहर पसेको दिन
छोराले मान्छे हरूको भाग्य सोच्यो
सहरका मान्छेहरूलाई एउटा भाग्यवादी फेता लगाइदियो
आफूलाई तल धेरै तल उभ्यायो
धमिलो पानी थिग्रिएर गिलासको पिँधमा जमेको जस्तो,
थिचिएको आभास गर्यो
मान्छे मान्छे बीच यति धेरै
भिन्नता उसले देख्नै पाएको थिएन
दिनहरू बित्दै जाँदा सहरमा
काम पायो, दाम पायो
नयाँ लुगा फाटो अब टलक्कै टल्क्यो ऊ पनि सहर जस्तै
र आफूलाई पनि उत्रिएको महसुस गर्यो गिलासको पिँधबाट
अथवा ऊ अब गाउँले रहेन।
सहरमा छोरोले
बा देखेन, आमा देखेन
नाता देखेन, साथी देखेन
सहरमा देख्यो केबल रहरहरू
महलहरू
एक्ला एक्लै उभिएका अग्ला महलहरू
हो तेस्तै देख्यो एक्ला एक्लै बाँचेका मान्छेहरू।
सहर त भोकै देख्यो
सहर त नाङ्गै देख्यो
भाग दौडहरू देख्यो
सहरमा
फेसनले लाजै मर्दो सहर
आफूलाई कहाँ देख्यो कहाँ भेट्यो
थाहा छैन
निरन्तर सहरलाई रहर र सपना मानी रह्यो।
घुल्दा घुल्दै पानीमा नून जस्तो
दिनको जून जस्तो
ऊ बेखबर बेहिसाब
सहरभित्र पस्दै गयो
ऊसँग टाँसिएको गाउँ
बिस्तारै बिस्तारै टक्ट्किदै गयो
अब उसले सोच्यो
ऊ पनि सहरिया भयो।
सहर पस्नु र सहरको खरानी घस्नु
एकदम फरक हो
उस्ले बुझेन होला
सबै खरानी एकै चोटि घस्यो
च्यातिएको पाइन्ट लगायो
नाक छेडेर फूली लगायो
सहर भित्र पसेको भोलि पल्टै
उसले हातमा सिगरेट समायो
आधा रातमा रक्सीले मात्तिएर सडकमा रात कटायो
बैशको एक तारे बाजामा
मज्जाले नाच्यो
मच्चियो र थाक्यो
उसले सहरलाई आफ्नै हातले छाम्यो
कति तातो काखहरूमा निदायो
कति चिसो रातहरूमा निदायो
सहर सोचे जस्तो भेट्यो
सहर नसोचे जस्तो भेट्यो
कसैलाई बताएन।
सम्झिएन बाको खुर्पेटो
सम्झिएन मुखियाको तम्सुक
सहर छिरेदेखि सुम्पेको घरको
छानोमा कुर माकुर गरिरहेछन्
मुखियाका परेवा हरू।
आमालाई परेवा धपाउन
ब्याजले थिचेको छ।
बेखबर छ छोरो
अचेल बा आमा, छोरो भन्दा
मुखिया सम्झिरहन्छन्
झस्किरहन्छन्।