मेरा बाले पढेको विद्यालयमै मैले पनि पढ्ने अवसर पाएँ
आज म मेरो छोरोलाई त्यही विद्यालयमा पढाउने हिम्मत गर्दिनँ
पहिला त्यो विद्यालयमा पढाइ बाहेक केही हुन्नथ्यो
अहिले त्यो विद्यालयमा पढाइ बाहेक सबथोक हुन्छ।
हुन त विद्यालय ज्ञानको मन्दिर हो
विद्यार्थीको तकदिर निर्माता हो
अनि समाजलाई हेर्ने ऐना पनि हो
जब ज्ञानको नदीमा मिसियो राजनीतिको दूषित ढल
जब हुन छोड्यो विद्यालयमा शैक्षिक छलफल
जब शिक्षकहरू जागिर खान मात्र विद्यालय जान थाले
जब निरीक्षकहरू भत्ता पचाउन अनुगमनको ढोङ रच्न थाले
जब अभिभावकले स्कुलको सन्चो बिसन्चो सोध्न छाडे
अनि विद्यालयको हर हिसाब खोज्न छाडे
तब थलियो विद्यालय कुनै दीर्घ रोगी झैँ।
हुन त विद्यालय थलिनुले
शिक्षकलाई केही फरक परेन
किनकि तलब रोकिएन
नेतालाई पनि कुनै घाटा भएन
किनकि राजनीतिको रोटी सेक्ने अखडा घटेन
हुने खाने वर्गलाई त झन् छुँदै छोएन
किनकि विद्यालय छेउमै बोर्डिङको दोकान खुलेकै छ
सरकारलाई पनि तात्त्विक फरक परेन
किनकि यही बिग्रेको अवस्था देखाएर डोनेसन मिलेकै छ।
फरक त ती अबोध बालबालिकाको भविष्यमा पर्यो
जो भोलि यो मुलुक हाँक्न सक्थे
देश र समाजको इज्जत राख्न सक्थे
फरक ती मजदुरहरूको सन्तानलाई पर्यो
जसको जीवनमा भर्खरै शिक्षाको घाम उदाउँदै थियो
आगो त्यो गरिबको सपनामा झोसियो
जसले सन्तान डाक्टर भएको कल्पिँदै थियो।
जब विद्यालय थलिन्छ
केबल विद्यालय मात्रै थलिँदैन
पूरै देश कोमामा जान्छ
जब कुनै विद्यालय बन्द हुन्छ
केबल विद्यालय मात्र बन्द हुँदैन
प्रगतिका सबै ढोकाहरू बन्द हुन्छन्
जब विद्यालयमा राजनीति हुन्छ
केबल राजनीति मात्र हुँदैन
नहुनु पर्ने सबै थोक हुन्छ
हुनु पर्ने केही हुँदैन।
कसैलाई फरक पर्नु र नपर्नुको बिचमा
एउटा विद्यालय मृत्युशय्यामा छटपटाइरहेको छ
विडम्बना! जसले यसलाई सुधार गर्न सक्थे
उनीहरू निदाएर बसेका छन्
अनि जसको केही जोडबल चल्दैन
उनीहरू छेउमै झोक्राएर बसेका छन्।