उनी बिहान दुई/तीन बजेको बिचमा कल गरेर भन्थिन्, 'दुई/ती नबजेको बिचमा जसले सम्झिन्छ उसले धेरै माया गरेको हुन्छ।'
म मुसुक्क मुस्कुराउँदै भन्थेँ, 'कति माया गर्छौ है मोटु?'
उनी उताबाट गर्छु त कालु भन्थिन्। उनी मलाई कालु भनेर बोलाउँथिन्, म उनलाई मोटी भन्थेँ। प्रेम छोटो भए पनि यादहरू जिन्दगीभरिलाई पुग्ने गरी भए।
बिहानै ४ बजे फोन गरेर 'कालु उठिस्यो, अहिलेसम्म किन नउठेको खुरुक्क उठिस्यो' भन्थिन। म 'नाइँ, म त आठ/नौ बजे उठ्छु' भन्दा 'नाइँ तुरुन्त उठिस्यो, भिडिओ कल गर्छु' भन्दै गरिहाल्थिन्। म उठ्थेँ मात्रै। उनी बिहानको आफ्नो सबै काम गरेर सात/आठ बज्दासम्म चिया नास्ता बनाएर खान्थिन्। मैले हेरिरहनु पर्ने।
उनलाई भिडिओ कल नगर्दासम्म खाना नै नखाने, दिनभरि कलमै। दिनमा सत्र घण्टासम्म नन-स्टप भिडिओ कल गरेको उदाहरण छ। उनलाई उठ्दा, सुत्दा, खाँदा म चाहिने। मलाई हेरेर खाने, मलाई हेरेर सुत्ने। राति भोक लाग्यो 'म खाना खान्छु, अनलाइन आउनू म भिडिओ कल गर्ने' भन्थी। कल नगर्दा रिसाउँछिन् भनेर म पनि कल गर्थेँ। उनी खाना खान्थिन्, म हेरिरहन्थेँ।
मैले 'कति खाएको खन्चुवा केटी' भन्दा उनलाई नराम्रो लाग्थ्यो। मलाई खन्चुवा नभन भन्थिन्। हुन पनि धेरै नै खाना खान्थिन्। त्यसैले पनि हो मलाई खन्चुवा भन्न मन लाग्ने। यसै क्रम चलिरहन्थ्यो।
उनी पढ्ने बेलामा नि हजुरले सिकाइस्यो नत्र मलाई केही आउँदैन भन्थिन्। हामी एउटै संकायको विद्यार्थी भएकोले जानेको कुरा सिकाउँथेँ। कति कुरा त बिर्सिसकेको थिएँ तर नि उनलाई सबै कुरा खोजेरै भए नि सिकाउने जमर्को गर्थेँ।
उनी 'वाह! कालु हजुरले सिकाएपछि त मलाई सबै आउँछ' भन्थिन। पढ्ने बेला नि उनी भिडिओ कलमै 'हजुरको अनुहार हेरेरै पढ्दा मलाई याद हुन्छ, म्युट गरेर पढ्छु ल, हजुर मलाई हेरिरहनु' भन्थिन्। म त्यस्तै गर्थेँ र आफू पनि पढ्थेँ। सुत्ने बेला झन् त्यस्तै। उनी 'म सुत्छु हजुर मलाई सुताएर सुतिसेला' भन्दै रातको २/३ बजेसम्म भिडिओ कलमा उनी सुतेको मैले हेर्नु पर्ने रे, नत्र निद्रा पर्दैन रे। यो क्रम निरन्तर नै चलिरहन्छ, बेलाबेला झगडा हुन्थ्यो। झगडा हुँदा एक/दुई दिन नबोल्ने उनी अर्को दिन, 'हिजो त निद्रा नै लागेन! बहिनीलाई कल गरेर सुतेको थोरै बेर' भन्थिन्।
सानो कुरामा रिसाइहाल्ने उनी, उनलाई सताउनमा त्यति नै मजा आउँथ्यो। त्यसैले म उनलाई रिस उठ्ने कुरा गरिहाल्ने। उनी साँच्चिकै मलाई नराम्रो भन्यो भनेर सोच्थिन्, फेरि 'होइन, हजुरले मलाई कहिल्यै नराम्रो सोच्नुहुन्न' भन्थिन्। म सोच्दिनँ पनि। 'किन सोच्नु र? मैले तिमीलाई नराम्रो सोचे राम्रो चाहिँ कसलाई सोच्नु नि?' भन्थेँ।
भौतिक रूपमा टाढा भएर होला सायद बेलाबेलामा सँगैका दिनहरूको याद आइरहन्थे। सँगै हिँडेको बाटो, सँगै खिचेका तस्बिरले त ती पुराना दिनहरू आँखामा झलझलती घुमाइरहन्थे। नजिक हुँदा उनले मलाई नगण्य रूपमा सताउने गर्थिन्। ती दिनहरू अरे वाह! म आफै चकित पर्थेँ- हामीबिच भेट कसरी भयो? के भयो यो? यस्तो पनि हुन्छ र भनेर मेरो मनले अज्ञात भएर आफैलाई प्रश्न गर्थ्यो।
त्यो स्कुलमा बिताएका क्षणहरूको सम्झना साथै अन्य ठाउँ, समयका स्मृतिहरू आइरहन्थे। हामी भौतिक रूपमा टाढा भए पनि सम्पर्क र प्रेममा कमी भने कहिल्यै भएन। निरन्तर यो क्रम चलिरहन्छ चलिरहन्छ।
बिस्तारै फोन कल गरिरहने, बोलिरहने, हेरिरहने लत बनिसकेको पत्तै भएन। उनी भन्थिन्, अब त मर्न सजिलो तर छुट्न गाह्रो। बिस्तारै कालुबाट म सानी भएँ। अब मेरो नाम सानी राखिदिइन्। जे पनि सानी सानी भनेर बोलाउन सुरु गरिन्। फेरि फोन कल, म्यासेज चलिरहन्छ, दिनमा दस घण्टाभन्दा बढी त हामी फोनमै व्यस्त हुने गर्थ्यौं। दूरी नजिक हुँदा नै धेरै गहिराइमा पुगेको हाम्रो सम्बन्ध अब भौतिक रूपमा टाढा भए पनि झनै प्रगाढ भयो। मानौँ कि फोन, म्यासेज कुराकानी बिना बस्नै नसकिने भयो।
उनी म व्यस्त छु बाहिर छु भन्दा नि तुरुन्त घर गएर भिडिओ कल गर्नु भन्थिन्। म अफ हुँदा 'सानी अनलाइन आइस्यो न छिटो' भन्दै जिद्दी गर्ने गर्थिन्। म क्याम्पसमा छु,गाडीमा छु कोटेश्वरको जाममा छु भन्दा पनि अझै जिद्दी गर्ने गर्थिन। जिद उनको प्रमुख विशेषता हो। उनको स्वर पनि राम्रो छ उनी बेलाबेलामा गीतहरू गाएर सुनाउँथिन।
यो क्रम चलिरहेकै थियो, बिचमा केही कुरामा हामीबिच गलतफहमी भयो। बुझाउन खोजेँ, सम्झाउन खोजेँ तर उनले बुझ्नै चाहिनन्। बरु उल्टै अनेकन् कुराहरू सुनाइन्, ममाथि नै प्रश्न उठाउन थालिन्। मलाई लाग्यो उनलाई कसैले भड्काएको हो, नत्र बुझ्ने मान्छे हो। सबै कुरा भन्नेले गलत सोचेर भनेको मात्रै हुँदैन, बुझ्नेले गलत बुझेको पनि हुनसक्छ भनेर भन्दै फेरि सकारात्मक कोणबाट बुझ्न भनेँ तर उनले मानिनन्।
सायद उनलाई कसैले भ्रममा पार्यो। यति मात्रै सोचेको थिएँ तर उनी साँच्चिकै रिसाएझैँ व्यवहार गर्न थालिन्। तिमी किन यस्तो गर्दै छौ भनेर सोध्दा जवाफ आउँछ- 'हजुरको व्यवहार मलाई मन परेन।'
'सही तरिकाले बुझ्ने हो भने त्यो कारणले रिसाउनु पर्थ्यो जस्तो मलाई लाग्दैन,' मैले यति नभन्दै ब्लक भएँ।
दुई दिन अगाडि मात्रै उनको स्टोरीमा एउटा केटाको तस्बिर देखेँ, ट्याग गरिएको थियो। यति मात्रै होइन, उनको बहिनीको तस्बिरमा 'साली' भनेर कमेन्ट पनि गरेको थियो।
मैले केटालाई म्यासेज गरेँ। नाम, ठेगान सामान्य परिचय सोधेँ। त्यसैबिच कुरा आयो। मैले सोधेँ, 'उनीलाई चिन्छौ?'
उताबाट जवाफ आयो, 'अ चिन्छु, किन र?'
'त्यतिकै सोधेको नि।'
उसले भन्यो, अनि तिमी चिन्छौ त?'
'कतै देखेको जस्तो लाग्छ।'
उसले सोध्यो, 'तिम्रो को पर्छ? कतै आफन्त हो कि?'
मैले जवाफ दिएँ, 'खै एक चोटि उसैलाई सोध न। बरु तिम्रो चाहिँ को पर्छ?'
उताबाट 'जिएफ हो' भनेर जवाफ आयो। यो कुराले कतै त्यो मान्छे पागल त भएको छैन भनेर सोचेँ।
मैले सोधेँ, 'कति भयो नि कुरा हुन लागेको?'
उसले भन्यो, 'भयो त्यस्तै चार महिना जति, बिचमा मोबाइल बिग्रिएर बोलिएन फेरि सुरु भयो।'
'बरु तपाइको को पर्छ?' भनेर फेरि सोध्यो।
'साथी पर्छ' भनेँ।
सायद ऊ अचम्म पर्यो होला 'ल शुभकामना छ, राम्रोसँग कुरा गर्नु म चिन्छु। राम्री मान्छे हो' भन्दै कुरा सकेँ।
उसले उता गएर सोधेछ। 'उसले मन पराउँदिन रे, किन पछि पर्छस्?' भनेर मलाई मुख छाड्दै थियो।
मैले भनेँ, 'कुरा बुझेर बोल्ने गर, तिमीहरू जेसुकै गर तर पहिला ग्रुप कलमा मसँग बोल्न सक्छौ त?'
मैले प्रश्न गर्दा केटो नाजवाफ भयो।
एकैछिनमा केटाले फेरि उनलाई ट्याग गर्दै स्टोरी हाल्यो। मलाई फेरि हाँसो मात्रै उठ्न थाल्यो। मन नपर्ने मान्छेलाई पत्र किन दियौ? मसँग यति समय कुरा किन गर्यौ? जस्ता प्रश्नहरू आफैभित्र खेलिरहेका थिए।
यस बिचमा उनले मलाई ब्लक अनब्लक गरिरहेकी थिइन्।
केही दिनपछि मैले फेरि म्यासेज गरेँ, 'यस्तो पनि हुन्छ र?'
उताबाट 'सानी, मलाई माफ गरिदेऊ। म हजुरलाई बिचमै छोडेर जाँदै छु, सकिसिन्छ भने माफ गर्दिस्यो है! सम्बन्ध योभन्दा बढी टिक्न सकेन के गर्नु?' भन्दै सदाका लागि ब्लक गरिन्।
फेरि मलाई हाँसो उठ्यो। सुनेको छु आजकल भौगोलिक रूपमा नजिकै छौ रे तर सम्पर्कमा भने छैनौ। तर वास्तविक कुरा नबुझी मुख छाड्ने त्यो केटालाई भने वास्तविकताको झापड हान्न मन छ।