केही समय पहिले काम विशेषले म भैरहवा पुगेको थिएँ। फागुन चैतको याम थियो। लजको कोठाबाट बाहिर निस्किँदा प्रचण्ड गर्मीले जीउ भतभती पोल्दथ्यो। पङ्खा चलाउँदा पनि जीउ पसिनाले निथ्रुक्क भिज्दथ्यो। सकभर बाहिर निस्कनै नपरोस् जस्तो लाग्ने। लजको साहुले म उखरमाउलो गर्मीले प्रताडित भएको देखेर नजिकैको स्विमिङ पुलमा जान सिफारिस गरे।
त्यहाँ मान्छेको भिड हुन्छ अनि अनेक थरी मानिससँग जलक्रीडा गर्न मेरो अन्तर्मुखी स्वभावले दिँदैनथ्यो। त्यसैले सुरुमा त मैले मेरो काम छ भन्दै आनाकानी गरेँ। गर्मी अति नै भएपछि एक चोटि जाँदा के बिग्रियो त, 'रिफ्रेस' नै हुन्छ भन्ने सोचेर आफ्नो अडानबाट म पछाडि हटेँ।
स्विमिङ पुलको जलक्रीडाले साँच्चै नै राहत दियो। तन हलुका भयो र मन आनन्दित भयो। हर्षित भएर बेलुकी म लजमा फर्किएँ। खाना खाने समयमा मेरा आँखा अगाडिको टेबलमा बसेर भोजन गर्दै गरेका एक आगन्तुकमा पर्यो।
उनले सेतो रङ्गको पातलो टिसर्ट र खैरो क्वार्टर प्यान्ट लगाएका थिए। मेरो अन्दाजमा उनी उमेरमा मेरै समवयस्क थिए। आगन्तुकको कपाल सुनौलो रङले पोतिएको थियो। उनका हातको औँलाहरूमा दुई ओटा औँठी र नारीमा ब्रेसलेट थियो। भोजनको मजा लिँदै उनी टेलिभिजनमा फुटबल हेरिरहेका थिए।
ती आगन्तुकलाई कहीँ कतै देखे जस्तो लाग्यो। तर यही हो भनेर मैले खुट्याउन सकिनँ। आगन्तुकले यताउता नजर डुलाउँदा निमेषभरको लागि मलाई पनि हेरे र बिना कुनै चालचुल पुनः खाना खान थाले। नचिनेको मान्छेसँग गएर परिचय गर्न जान मेरो अन्तर्मुखी स्वभावले अनुमति दिँदैनथ्यो। त्यसैले खाना खाएर म आफ्नो कोठामा लागेँ। मनमनै सोचिरहेँ कि यसलाई कता चाहिँ देखेको हो।
राति मलाई अकस्मात् सम्झना आयो कि यो मान्छेलाई त सोह्र/सत्र वर्षअघि 'प्लस टु' पढ्दा देखेको हो। अझ स्पष्ट भन्दा यो मान्छे थियो निलमको ब्वाइफ्रेन्ड। स्मृतिका समुद्री छालले मलाई उडाएर किशोर कालको किनारमा पुर्याएर खसाल्यो।
कस्तो वेगवान् समय थियो त्यो! भावनाहरू निरन्तर उर्लिरहने, कहाँ पोखियौँ कता पोखियौँ भइरहने। सबैको ध्यान आफैतिर तान्न उद्यत भइरहने। धैर्यताको कुनै अंश मसँग थिएन। सांसारिकता र व्यवहारिकताको कुनै ज्ञान मलाई थिएन त्यति बेला।
र, मेरो भावनाको केन्द्रबिन्दुमा थिई निलम। एघार कक्षामा सेक्सन फरक भएकाले हाम्रो चिनजान हुने कुरै भएन। हिस्सी परेको अनुहार, सेतो र नीलो धर्के सर्टमा लगाएको कालो हाफ स्विटर र निलो पाइन्टमा लगाएको कालो बेल्टमा ऊ अत्यन्त आकर्षक देखिन्थी। नाम थाहा नभए पनि म उसको प्रशंसक थिएँ। तर संयोगले बाह्र कक्षामा निलम र म एउटैमा थियौँ।
बिस्तारै म निलमको प्रशंसकबाट एकोहोरो प्रेमी हुन थालिसकेको थिएँ। म उसको 'अटेन्सन' को भोको थिएँ। तर मसँग नयाँ साथी बनाउने कला थिएन। केटीसँग बोल्ने र जिस्किने ढङ्ग थिएन। त्यसमाथि निलमको मसँग कुनै विशेष सरोकार थिएन। कहिलेकाहीँ साइन्स ल्याबमा औपचारिक बोल्ने बाहेक उसको लागि म क्लासका अरू मान्छेजस्तै केबल अनुहार चिनेको र नाम थाहा भएको मान्छे थिएँ। मेरो पृथक् अस्तित्व थिएन।
अनि अर्को सेक्सनमा थियो उसको ब्वाइफ्रेन्ड। कक्षामा अरू बेला गम्भीर र शान्त मुद्रामा रहने निलम आफ्नो ब्वाइफ्रेन्ड र उसका साथीहरूमाझ हुँदा हँसिली र चुलबुली हुन्थी। त्यो समूहमा तीन/चार जना अरू केटा र केटी पनि हुन्थे। ज्यादै मिलनसार थिए। ब्रेकको बेला उनीहरू कलेजको चौरको एक कुनामा एकत्रित हुन्थे। म परतिर बसेर कहिले यताउता हेरे जस्तो गरेर उनीहरूको समूहलाई हेर्दथेँ। निलम त्यो केटोसँग बसेको देख्दा मेरो मुटु चिमोटिन्थ्यो।
साँच्चै निलमको ब्वाइफ्रेन्ड देख्दा म रिसले आगो हुन्थेँ। मनमनै मुरमुरिन्थेँ। त्यो केटो बडो हँसिलो र फुर्तिलो थियो। सधैँ साथीभाइमाझ ख्यालठट्टा गरिरहन्थ्यो। उसको आत्मविश्वासले मेरो अन्तर्मुखी स्वभावलाई गिज्याएझैँ लाग्थ्यो। छुट्टी भएपछि निलम उसको बाइकमा चढेर मेरो आँखा अगाडिबाट जाँदा मन अमिलो हुन्थ्यो। हीनता भावले मेरो मनमस्तिष्क ढपक्क ढाक्थ्यो।
वास्तवमा त्यो केटोले न मेरो केही बिगारेको थियो न मेरो कुनै कुभलो चिताएको थियो। दुई वर्षभरि सयौँ विद्यार्थीहरूमाझ त्यसले मलाई चिन्नु त परको कुरा 'नोटिस' पनि गरेको थिएन होला। सभ्य चस्माले हेर्ने हो भने त्यो केटोप्रतिको मेरो आहारिसमा रत्तीभर पनि तुक थिएन। तर त्यो बेला नै त्यस्तै थियो। बेसुरा बाँसुरी जस्तो। गन्तव्य हराएर सागरमा भौँतारिइरहेको पानीजहाज जस्तो। मनमा जलेको द्वेषको अग्निको बारेमा म कसैलाई भन्न सक्दिनथेँ। मसँग धैर्यता थिएन। आफूप्रति घृणा भाव जाग्थ्यो अनि पढाइमा ठ्याम्मै रुचि थिएन।
समय पत्तो नपाइकन बित्यो। असारमा सुरु भएको बाह्र क्लास त्यही वर्ष चैततिर सकिसकेको थियो। कति छोटो अन्तराल! क्लास सकिने अन्तिम दिन सबै जना स-साना समूह बनाएर एक अर्काको सर्टमा साइनपेनले बिदाइका वाक्यहरू लेखिरहेका थिएँ। म कुनै समूहमा थिइनँ। एक तल्ला माथिको हाम्रो कक्षाबाट सबै जना निस्किएपछि, मैले झ्यालबाट मुनितिर हेरेँ। निलम आफ्ना साथी र सङ्गिनीहरूसँग अङ्कमाल गर्दै उभिएकी थिई। उसको ब्वाइफ्रेन्ड उनीहरूको तस्बिर लिँदै थियो।
म भने भावनाको सागरमा चुर्लुम्म डुबेको थिएँ। भविष्यको बारेमा अन्योलग्रस्त र वर्तमानमा किंकर्तव्यविमूढ। भारी मन लिएर एक्लै दरबार स्क्वायरतिर बरालिन पुगेको थिएँ। केवल दश महिनाको लागि एउटै क्लासमा सँगै रहेको निलमसँग त्यसपछि मेरो सम्पर्क र भेट कहिल्यै भएन। जीवनले हामी सबैको लागि नयाँ बाटो कोर्दै थियो। त्यस बेला मलाई थाहा थिएन त्यो त केवल एउटा घुम्ती मात्र हो। समय क्रममा अरू कैयौँ कुइनेटाहरू भविष्यमा आउन कुरिरहेका थिए।
विगतको कुरा सम्झँदा लजको कोठाको त्यो गर्मीमा पनि मेरो जीउ चिसो भयो। त्यो विक्षिप्त र एक्लो किशोर सम्झेर मलाई करुणा भाव जागेर आयो। कुन लहडमा म तिनताका हिँडेको रहेछु भनेर अहिले विश्लेषण गर्दा पनि कुनै तर्क भेटाउन सकिनँ।
भोलिपल्ट काठमाडौँ फर्किन भैरहवा एयरपोर्टमा पुगेँ। बोर्डिङ पास लिइसकेपछि कुर्सीमा बसेर मोबाइल चलाउँदै थिएँ। प्लेन आउन केही समय बाँकी नै थियो। एक जना व्यक्ति मसँगैको कुर्सीमा आएर बसे। मैले नजर मोबाइलबाट हटाएर उनीतिर हेरेँ। उनी अरू कोही नभएर हिजो लजमा मैले देखेको आगन्तुक थिए।
हल्का मुस्कुराउँदै उनले भने, 'सर, हजुरलाई कता देखेजस्तो लाग्यो!'
मलाई इतिहास कोट्याउन मन थिएन। तर परिचयको लागि आफूसमक्ष आएको व्यक्तिलाई 'इग्नोर' गर्न पनि लोकाचारले दिँदैनथ्यो। त्यसैले मैले छोटो उत्तर दिएँ, 'सायद यहीँ तिरको लज वा रिसोर्टमा होला। कामले यतातिर म आइरहन्छु।'
आकाशतिरबाट एउटा प्लेन तल झर्दै थियो। तर त्यो हामी दुवैले कुरेको प्लेन होइन रहेछ।
'जहिले पनि ढिलो गर्छन्। टाइमको कुनै भ्यालु नै छैन,' उनी मुरमुरिए।
'ढिलो चाँडो आइहाल्ला क्यारे, किन हतार गर्नु र' भन्ने मनमनै सोचेर म वरिपरि आँखा डुलाउन थालेँ। यात्रुको भिड र चहलपहल बढेको थियो।