हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
किताबको भारीहरू बोकेर
पाठशाला जाँदा जाँदा
आँखा चिम्म गरेर कपीका अक्षरहरू
अक्षरशः घोक्दा-घोक्दा
कलमका मसीहरू सकिने गरी
लेख्दा-लेख्दा
आजित भइसकेका नानीहरू
मर्मतका लागि सडक बन्द भएपछि
क्रूर शासकको अवसानमा विद्यालयहरू
बिदा गरिएपछि
उनीहरू खेल्न बाहिर निस्केका छन्
हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
इलास्टिक कमजोर भएका पाइन्टहरू समातेर
नाकको सिँगानको प्रवाह नगरी
भोक प्यासको मतलबको विरुद्ध
उनीहरू ब्याट, बल लिएर
सडकमा निस्केका छन्
तपाईंहरू हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
कोही हाफ पाइन्टमा
कोही फुल पाइन्टमा
कोही स्कटमा
कोही जामामा
देश खेलकुदमा आत्मनिर्भर भए जसरी
देशमा गाडी हिँड्ने बाटो
र, बच्चा खेल्ने चौर बेग्लाबेग्लै छ जसरी
घर-घरबाट नानीहरू निस्केका छन् खेल्न
हेर्नुस् त एक पटक उनीहरूका आँखामा
बल उफ्रेको देखेर
बल गुडेको देखेर
बल उडेको देखेर
केही क्षणकै लागि सही
उनीहरूको मुहारमा खुसी फूलेको छ
प्लिज हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेका छन्
आज बिदा बार
खुला चौरमा तपाईंले बोलेको चर्का भाषण सुने भने
फेसबुकमा तपाईंले लेखेका
समृद्धिवाला स्ट्याटस देखे भने
कुनै भेटमा तपाईंले देखाउनु भएको
सपना सम्झे भने
उनीहरू भत्कने छन्
र आफूलाई बनाउन देखेको सपना चुँडाल्ने छन्
कृपया तपाईंहरू हल्ला नगर्नुस्
उनीहरू आफ्नै सपनासँग खेलिरहेका छन्।