सपना पनि त हुनसक्छ हैन र? उसले बोलाउनु, अझ ऊ मसँग बोल्न खोज्नु। हुन त म त्यति राम्रो पनि हैन। न त मलाई कसैले मन पराए, न त कसैको खास नै बनेको म।
यो सत्य हो कि सानोमा आमाको आँखामा हिरो थिएँ अनि दिदी-बहिनीको नजरमा डन। अहिले एउटी केटीसँग मन खोलेर बोल्न नसक्ने म ममीको नजरको हिरो हुँ भन्न नि सरम लागेको छ। दिदीबहिनीसँग त झन् माफी नै माग्नु पर्ला।
हुन त म पहिलेदेखि नै सोझो। पहिला केटीसँग बोल्नुपर्दा लजाउने म अहिले कोही बोलिदिए हुन्थ्यो नि भन्ने हुन्छ। उफ्! सानोमा सरले हल्ला गरिस् भनेर एउटै बेन्चमा बसालिदिँदा त झन् रातै हुँदा साथीहरूले कम्ती बेइज्जत गर्थे। सानोमा माया र प्रेम भन्ने साथीको नाम जस्तो लाग्थ्यो, माया कुमारी प्रेम प्रसाद।
हरेक दिन नयाँ उमङ्गका साथ सुरु हुन्छ। दिन त जसो तसो कट्छ तर साँझले गिज्याउँछ अनि रातले तर्साउँछ। गुड मर्निङदेखि गुड नाइटसम्म शुभकामना नदिएको पनि होइन। हरेक पटक उसको एसएमएस नहेर्ने पनि होइन। न त उसको कुनै चहलपहल हुन्थ्यो न त मेरो मन थामिने वाला नै।
कहिलेकाहीँ मेरो मोबाइलको ग्यालरीमा लुकाइएका उसका ती तस्बिर हेर्छु, टोलाउँछु अनि आफै झस्किन्छु। उसका आँखामा डुब्न मन लाग्छ, जसरी तालमा माछा डुब्छन्। उसका ती काला आँखाका नानी दाहिने, देब्रे दुइटै पालैपालो हेर्छु। नाक, नाकको फुली, डिम्पल अनि त्यो मुहार। चन्द्रमामा त दाग छ, तर उसमा अहँ कहीँ कतै पनि। चन्द्रमामा पनि किन नहोस् दाग, हजारौँ जोडीले आँखा लगाएका जो छन् तर उसमा केबल म अनि मेरो मन।
कुनै बेला क्लासमेटसँग नाम जोडेर बाटो-बाटोमा जोडीको नाम लेख्ने मेरा ती साथीको खुब याद आउँछ। ऊ मेरो क्लासमेट किन भइन? हाम्रो नाम पहिले किन जोडिएन? यस्तै यस्तै उटपट्याङ कुरा मनमा खेलिरहन्छन्।
ऊ हुनु, उसको प्रतिबिम्ब देख्नु अनि मेरो ऊप्रतिको झुकाव केबल कल्पनामा सीमित हुने कुरै होइनन्। मलाई त उसको हुनु छ, मलाई उसको बनाउनु छ अनि उसलाई 'तिमी नै मेरो संसार हौ' भन्नु छ। उसको नजरमा मात्र हैन, मनमा पनि राज गर्नु छ।
घरी रिस उठ्छ घरी माया लाग्छ, कलियुग न हो। अझ बढी रिस त मलाई ऐनासँग पो उठ्छ। त्यो ऐना जसले उसलाई हरेक दिन नियालेर हेरेको हुन्छ, बुझेको हुन्छ जसलाई देख्ने बित्तिकै मुस्काएर हेर्छिन् उनी। हो, मलाई त्यो उसको कोठाको ऐना हुनु छ जसलाई हेरेपछि मुस्कुराउन मन लागोस् अनि उसलाई लुकाउनु मन छ जसरी ऐनाले देखेसम्मको आफूमा लुकाउँछ।
किन किन कहिलेकाहीँ डर लाग्छ। उसको बेवास्ता अनि बेचाहनाले म कतै त्यो फुटेको ऐना त होइन, जसलाई हेर्ने त परको कुरा राख्न पनि चाहँदैन कोही। यस्तै यस्तै डर, माया अनि इच्छा मनमा आइरहन्छन्, खहरे खोलामा बर्खाले ल्याउने भेल जसरी। डरै डरको भुमरीमा कसैको चाह हुनु, यही त रहेछ जिन्दगी।
जब एक्लै हुन्छु, ऊ अनि उसको बारेमा सोच्न थालिहाल्छु। कोही यति राम्रो अनि यति स्वार्थी कसरी हुन सक्छ! फेरि लाग्छ, मन नै त हो पग्लिन समय लाग्दैन। एक दिन कसो नपग्लिएला र!
हो, म उसलाई बुझ्न चाहन्छु। जसरी डिग्रीको सर्टिफिकेट लिन रिसर्च प्रोजेक्ट गरिन्छ, त्यसरी नै म उसको बारेमा रिसर्च गर्न चाहन्छु। हाम्रो मायाका बाधाहरू मेरो रिसर्चको विषय हुनेछ। उसलाई मेरो बनाउन गर्नुपर्ने कार्यहरू पत्ता लगाउनु नै मेरो प्रमुख उद्देश्य हुनेछ अनि पत्ता लगाउनु छ ती कारक तत्त्वहरू जसले मलाई उसको अनि उसलाई मेरो हुन रोकिरहेको छ। बुझाउनु छ मायाको युनिभर्सिटीमा मेरो यो ग्र्याजुएसन रिपोर्ट, असफल प्रेमहरू नामको आर्टिकलमा प्रकाशित गर्नु छ ती विकारहरू जसले तड्पाइरहे, गिज्याइरहे मेरा भावना अनि शब्दहरूलाई।
हो, म फरक छु, धेरै फरक। तर किन किन ऊसँग बोलेपछि आफूलाई राजा बनाइहाल्छु अनि उसलाई यो मनकी रानी। सानो झुपडी, बुवा ममीको माया र आशीर्वाद अनि हामी दुई, ठुलो इच्छा छैन।
ऊसँगै बिताउनु छ बाँकी जिन्दगी, हैन साँच्चै रमाउनु पो छ। उसलाई अनुभव गराउनु छ, मेरा भावना जसलाई शब्दकोषका शब्दले बयान गर्न सक्दैनन्। यो अँगालोमा बेर्न मन छ, नछुटिने गरी मायाका कण कण मिसिएर बनेको डोरीले, त्यो पनि सुर्काने गाँठो पारेर।
बोल्न डर लाग्छ, नजिक जान त झन् कति हो कति। तर पनि मौकामा चौका भनेझैँ पाएको बेला कहीँ न कहीँ केही न केही बहानामा बोलिहाल्न खोज्छु। उसको प्रतिक्रियामा एकै पटक जोडिएर आउने ती तीन अङ्ग्रेजी अक्षर, सोच्यो कि मन कुँडिन्छ अनि मन चिसो पारेर हात अगाडि बढ्छन् एसएमएस गर्न खोज्दै।
कालो औँसीको रात जस्तै अनुहार हुन्छ अनि हिँड्दा हिँड्दै थाकेको भरिया जस्तो मन। कुनै बेला बोल्दिनँ अब भनेर आफ्नो मनसँग बाचा गर्छु। केही बेरमै हार्छु र मनसँग माफी मागेर पुग्छु उसको प्रोफाइलमा अनि एसएमएस लेख्छु, 'मिस!'
सानो हुँदा सुनेको थिएँ, भावीले निधारमा लेख्छ भनेर। यदि यो साँचो हो भने खेद छ मलाई त्यस नियतिप्रति। मेरो भाग्य म स्वयमले लेख्न पाउनु पर्ने हो। जब भाग्य म भोग्छु त त्यसको निर्धारण अरू कसैले गर्छ भने मेरो भोलिको भाग्य लेख्ने अधिकार मैले उसलाई किन नसुम्पिनु? चाहे दिन लेखुन् या रात।
आकाशका तारा टिप्ने दिवा सपनाभन्दा एउटा सानो फूल सिउरिदिने यथार्थता मलाई बढी आनन्द लाग्छ। त्यसैले भौतिक सुखमा कतै केही कमी आए पनि अनन्त न्यानो माया उसलाई जिन्दगीभर म अवश्य नै दिन सक्छु।
हुन त यहाँ निकै सस्तो हुन्छ, त्यसैले बचनमा विश्वास गर्नु त्यति बुद्धिमानी हुँदैन। तर, सम्पूर्ण समाज नै विश्वासमा अडेको छ र मायाको जग त झन् विश्वासकै अदृश्य तन्तुहरूले नै हालिने हुँदा नचाहेरै पनि म बाचाका कुराहरू कल्पना गरिरहेको हुन्छु।
आजसम्मको उसको मप्रतिको मूल्याङ्कनबाट नै उसले मलाई हेरुन् र अनुमान गरून् म कति हदसम्म विश्वास योग्य छु। यो उसको अधिकारको कुरा हो र यो जिम्मा मैले ऊमाथि नै छोडेको छु।
मेरो मन निकै कहालिएको छ, उसको अस्वीकृतिको कल्पनाले पनि म त्यसै त्यसै तर्सिएको छु। तर कोसिसमा छु म उसको स्वीकृत र अस्वीकृत जुनसुकै होस्, दुवैलाई सहजै अपनाउन सकूँ भनेर।