अहिले जस्तो मोबाइल फोन र सामाजिक सञ्जालको प्रयोग कल्पना बाहिर थियो उबेला। क्षण-क्षणमा आफ्नाहरूको समीप पुग्न कठिन थियो। अफिस तथा सहरका पहुँचवालाको घरमा तार फोन हुन्थ्यो। हुलाक युगकै समय थियो भन्दा पनि हुन्छ। सञ्चार गर्ने मुख्य माध्यम चिठी पत्र, तार फोन र भेटघाट नै हो।
घर नभएका र कोठा भाडामा बसेकाहरूले घरबेटीसँग अनुरोध गरेर तार फोनमा कुराकानी हुन सक्थ्यो। घरबेटीलाई मन परेन भने त्यो पनि पाइन्थेन, कुरा सक्की गयो। कहिलेकाहीँ पर्खिँदा पर्खिँदा पैसाको सत्यानाश। पिसिओमा पैसा बुझायो, फर्कियो। कुरा गर्न त त्यस्तै हो।
मानिसका अगाडि बसेर तार फोनमा असजिलो मान्दै कुराहरू छोटकरीमा पोखिन्थे। विशेष खाले कुरा गर्न भने गाह्रै हुन्थ्यो। क्याबिन भएका पिसिओ हुन्थे कहीँ कहीँ। तिनले केही राहत दिन्थे। नत्र त अँ अँ, हो हो भनेर अड्कलेर बोल्नु पर्दा खुब बेस्वाद हुन्थ्यो। भावना र कुराहरू खुलेर गर्न सकस थियो। अरूले सुनेर के भन्लान्? लाजले मर्नु!
उसको र मेरो क्याम्पस एउटै थियो। नोट सार्ने बहानामा कपीका अन्तर कुन्तरमा साङ्केतिक भाषामा केही कुरा लेख्थेँ म। एक दिन लिपस्टिक लगाएको ओठको डाम उसको कपीमा पठाइदिए। के भन्यो होला? आफै छक्क परेपछि! उसले पनि एक दिन पानको पात बनाएर पठाएछ मलाई दिने नोट कपीमा। कपीको पानाबाट छुट्टाएर जतन गरेर राखेँ त्यसलाई।
बोलेरभन्दा लेखेर मनका भावनाहरू साटासाट भएछन् क्यारे! एक दिन फेरि उसले घरबेटीको फोन लेखेर पठाएछ। मैले पनि घरबेटीको फोन र अफिसको दुवै फोन लेखी पठाएँ उसलाई, त्यही नोट कपीमा।
'कहिलेकाहीँ सम्झनु नि! फोनको पैसा म तिरिदिउँला। मिनेटको ३ रुपैयाँ हैन?' क्याम्पसमै व्यङ्ग्य ठोकिदिए मैले एक दिन।
अलि लजालु र कम बोल्ने स्वभावको थियो ऊ। अग्लो, ह्यान्डसम र हिस्सी परेको थियो मोरो। पढाइ पनि अब्बल थियो। त्यही भएर मन पर्थ्यो ऊ मलाई। केटाको फोन आउँदा 'के हो...?' भनेर ठट्टा हान्नेहरू कम थिएनन्। बधाई दिन्थे। 'भोज छिट्टै खुवाउनू' भनेर जिस्क्याउँथे। हाँसिदिन्थेँ म।
यसै गरी बितेछन् २/३ वर्ष। क्याम्पस छुटेपछि कुराकानी पातलो भयो। मनै साट्ने घनिष्ठता र आत्मीयता भने रहेनछ कि क्या हो? एक हिसाबले टाढा भएका रहेछौ।
बुधबारको गोरखापत्र हेर्दै थिएँ। एउटा नाम देखेँ। त्यो नाम थियो विकास! उहीँ होला भन्ने अनुमान लगाएँ। फोन गरेको कोठा सरेछ। कुरा भएन। सम्पर्क गर्न सकिनँ। केबल कौतुहलता जाग्यो। क्याम्पस जीवनलाई सम्झिएँ मैले फेरि। म भने स्नातक पढ्दै खरदार भएको थिएँ। मास्टर्स डिग्री अर्कै क्याम्प पढेँ। बिहान क्याम्पस र दिउँसो अफिस मेरो दैनिकी थियो। उसलाई बिर्सेको जस्तै भएछ। सम्झायो गोरखापत्रले आज।
जिल्ला बासी मनिता र म कोठामा मिलेर बसेका थियौँ। अलि पछि उसले विवाह गरी। नसम्झौँ भन्यो फेरि पोल्छ। परिवारको जोड बलमा मेरो पनि स्कुले विद्यार्थी हुँदै विवाह भएको थियो। त्यो कालो इतिहासले बार बार पोल्छ। विवाह टिक्न सकेन। मेरो आवश्यकताको विवाह थिएन त्यो। गल्ती थिएन मेरो र पनि त्यसले पोल्थ्यो मलाई भतभती। झस्काउँथ्यो सधैँ मलाई।
एक्लै भएँ अब। मनितासँग छुट्नै पर्ने भयो। छुटेँ म। साथीसँग बसेको बानी एक्लै कोठामा निरस लाग्थ्यो। कोठामा एफएम र ब्ल्याक एन्ड ह्वाइट टिभीलाई साथी बनाएँ। अधिकृत तयारी पनि गर्दै थिएँ तर त्यो सतही थियो।
अचम्मै भयो आज! सुब्बा साब बनेर मेरै अफिसमा आयो ऊ। चकित भएँ म। चिनजान पुरानै भएकोले नौलो भएन। घनिष्ठ बन्यौँ हामी फेरि। खाजा खान सँगै जान्थ्यौँ। घरमै तयार गरेको खाजा खुवाउँथेँ कहिलेकाहीँ उसलाई। मनको अन्तर कुन्तरमा फेरि बस्न गयो ऊ।
दिन यसरी नै बित्दै गए। एक दिन सोधेँ उसलाई, कोठामा को-को बस्ने भनेर। भाइ छ भन्यो। कोठामा बोलाऊँ कि भनेर सोचेँ तर बोलाउने आँट आएन। उसको मनमा के छ भन्ने कुरा अझै बुझ्न सकिनँ। नबोल्ने मान्छे के हो के हो? मनमा अनेक कुरा खेले। मनलाई सम्हालेँ।
आँट गरेँ एक दिन। मन चोर्नु पर्यो। जे होला होला। घरमा पनि छोरीको एउटा घर बिग्रियो, अब के गर्ने भन्ने गुनासो र गनगन सधैँ हुन्थ्यो। आँट निकालेँ मैले। भनेँ उसलाई खाजा खाने समयमा, 'नयाँ फिल्म चलेको रहेछ। खुब राम्रो छ रे! जाने हेर्न?'
अलि हडबडायो। जाने र भन्दै दोधार मिश्रित प्रश्न गर्यो। मनमा कुरा खेलेको अनुमान लगाएँ मैले। अलि झस्क्यो तर सम्हालियो अनि सहज उत्तर दियो, 'जिल्लावासीको भेटघाट छ शनिवार दिउँसो।'
'फिल्म बिहान हेर्ने हो,' मैले सम्झाएँ। बल्लतल्ल हुन्छ भन्यो।
मेरो करमा फिल्म हेर्न गयो ऊ। अफिस बिदाका दिन घुम्न जाने रुटिन हुन्थ्यो हाम्रो। ऊबिना बाँच्न सक्दिनँ जस्तो लाग्थ्यो मलाई। सङ्गत लामै गरे पनि उसका नजिकका पारिवारिक सदस्य कहिल्यै भेटेको थिइनँ। खुलेर कहिल्यै बताएन उसले पनि। क्याम्पसदेखिकै स्वभाव यस्तै हो भनेर ढुक्क भएँ म।
अफिस बिदा नहोस् जस्तो लाग्थ्यो। बिदा भयो कि बोरिङ हुन्थ्यो। हरिबहादुर राउतको 'मायाले बोलायो नेपाल बन्दमा' भन्ने गीत खुब झल्को आउँथ्यो। नेपाल बन्दको फेसन नै थियो त्यस बेला। अहिले पो घटेको छ।
हरेक दिन उसलाई देखौँ र भेटौँ मात्र लाग्थ्यो। मोहनी लाग्छ भन्ने सुनेको थिएँ। उसले मलाई मोहनी त लगाएन? नत्र मलाई किन यस्तो हुन्छ? कतै मेरो प्रेम असफल त हुन्न? मेरो प्रेम एकतर्फी त छैन? आफैले आफैलाई प्रश्न गरेँ। उत्तर मसँग थिएन। विकाससँग थियो। शाखा अधिकृत तयारी कता पुग्यो कता मेरो। क्रेजी थिएँ ऊप्रति। अरू सबै कुरा बिर्सेँ उसका लागि मैले।
समय बित्दै जाँदा मोबाइल फोनको सिम कार्ड टेलिकमले बाँड्न लाग्यो। अफिसको सिफारिसमा दुई वटा सिम कार्ड ल्याएँ। उसलाई एउटा, मलाई एउटा। नोकिया फोन मैले नै किनिदिएँ। अझै याद छ त्यो फोनको। अब भने राहत भयो। घरबेटीसँग फोनमा अनुरोध गर्नु परेन। अफिसमा कसको फोन भन्नु परेन। घण्टौँ फोनमा कुरा गर्न थाल्यौँ। सञ्चारको पछिल्लो विकास हाम्रै लागि भए जस्तो लाग्यो।
अकस्मात् एक दिन नाम सेभ नभएको नम्बरबाट फोन आयो। केटीको आवाज थियो- 'तपाईं बबिता हो?'
जवाफ फर्काएँ, 'हो, म बबिता हो।'
तिनले रुकुमबाट बोल्दै छु भनिन्। म हडबडाएँ अलि, 'भन्नु न, किन फोन गर्नु भयो?'
उनले आफू विकासको श्रीमती भएको बताइन्। छाँगाबाट खसेँ म। करेन्टले झड्का दिए जस्तो भयो मलाई। बेहोस भएछु क्या रे, होस खुल्दा हस्पिटलको बेडमा। छ्या यो कस्तो प्रेम!