सपनाका एक हुल अवशेषहरू
हिजो बिहानै सपनामा मलाई बिउँझाउन खोज्दै थिए
घर छोडेर हिँडेको मनुवा न परेँ
लक्षझैँ काई लागेको हाँडीमा घोप्टाएर थुनिदिएँ सबै सपनाहरू
बुरुक्क बुरुक्क गर्दै बाहिर निस्कन खोज्दै
च्याँच्याँ चुँचुँ गर्दै रोइरहेका छन् तिनीहरू
हो, यति बेला सोच्दै छु,
रोएको आवाज मेरो आफ्नै हो, हो मेरै!
उदाएको घामसँगै मेरा निधारमा छापिएका पसिनाहरू
आँखाको डिलमा आएर सुक्दै सुक्दै नाकको डाँडीमा बिलाउँछन्
पसिना बिलाए पनि मेहनत बिलाएको छैन, सङ्घर्ष बिलाएको छैन
हो, यति बेला बरु पसिनासँगै सन्तानको भोक बिलाउनुपर्थ्यो
आमाका सुस्केरा बिलाउनु पर्थ्यो
तर बिलाए धानका भकारी, दाउराका खात, परिवारका रङहरू।
पसिनाले नै सञ्चिति बा'का संस्कारहरू छन्
उनैले गाएका हिन्दी र नेपाली गीतका केही अणुहरू
मेरो मस्तिष्कमा टाँसिएका छन्
ती गीतहरू सम्झँदै जब आँखा बन्द गर्छु
तब केही आशाका लयहरू मभित्र गुन्जिन थाल्छन्
आहा! कति शक्तिशाली छन् बा'का यादहरू
मेरो उडानसँगै विग्रह सुरु भएको हो खुसीमा
गाउँमा अचेल आमाले खाना पकाउँदा पँधेरोमा पानी थाप्ने एउटा मान्छे पुग्दैन
कचहरीमा कुरा सुनिदिने दुई कानहरू कम भएका छन्
घरमा बल्छी छ, माछाहरू आउँदैनन्
म बिदेसिनकै लागि बेचेका हौँ खेत
अचेल भकारी रित्तिएर पेट भरिन पाएको छैन
म सोच्ने गर्छु समय समयमा
पौडेर तरे पनि दुःखको सागर
उक्लेर चढे पनि आँसुको झरना
मसँग छैन खुसीको तक्मा
यो समयले पोल्दै छ आगोको लप्को सरी
गर्नुपर्ने काम धेरै छन्
भारी उठाउने काँध सीमित छन्
भयो, अब त अति भयो
बा, म फर्किने छु
सुस्त सुस्त हावा चलिरहँदा
समयको प्रचण्ड गर्मीमा
बिना छाता, बिना पङ्खा हिँड्दै हिँड्दै पुग्नेछु बडिमालिका
र ल्याउने छु अलिकति आशिष्
समयले कोरिदिएका हजुरका निधारका कुलोहरूमा
हजुरकै पसिनाले सिञ्चित मेरा सपनाहरू
बग्दै बग्दै मेरो रक्तनलीमा पुग्दै छन्
आयतन बढ्दै रक्तनली विस्फोट हुनुअघि
बा, म फर्किनेछु
सुस्त सुस्त तातो हावा चलिरहँदा।