बिस्तराबाट ओर्लिन नपाउँदै मोबाइल हातमा लिए।आमाको मिसकलले स्क्रिन भरिएको रहेछ।
हिजोको लामो यात्राको थकाइले म गहिरो निद्रामा परेछु।
शरीर र मन नै थकित भएको थियो। एउटा सपनाले दौडिएको मेरो यात्रा मन खिन्न बनाएर फर्किएको थिएँ।
मनभरि छताछुल्ल भएका वेदनाहरू गाँठो पारेर निस्किएको थिएँ। आँखाको डिलमा आएर अडिएका आँसुका ढिक्काहरूलाई भित्र भित्रै दबाएर बसेकी थिएँ।
हामी हरेक तवरले सक्षम छौँ। धेरै काम एक्लै गर्न सक्छौँ। तर सही मार्ग निर्देशन गर्ने सही व्यक्ति वा साथी चाहिन्छ। बालापनमा गुच्चा खेल्ने साथी सम्झिएँ। अलि ठुलो हुँदै गर्दा लुकीडुम खेल्ने साथी सम्झिएँ।
आखिर हाम्रो साथमा सानैदेखि कोही न कोही थियो। आमाको पाठेघरमा हुँदादेखि नै हामी साथीसँग जोडिएको हुन्छौँ। उमेर बढेसँगै फरक फरक परिस्थितिअनुसार साथी नि बदलिँदै जाने रहेछन्।
मेरो एउटा साथी थियो जो साँच्चै नै साथी थियो। म सधैँ सम्झिन्छु। म एक्लै हुँदा सम्झिन्छु। खुसी हुँदा सम्झिन्छु। अप्ठ्यारो परिस्थितिमा सम्झिन्छु। अनि सम्झिन्छु मेरा मनमा उकुसमुकुस कुराहरूले आन्दोलन गर्दा।
बालापनमा सँगै हुर्किएनौँ। सँगै खेलेनौँ। जुठो खाएनौँ। तर जब एउटा उमेर थियो, सही गलत छुट्टाउन नसक्ने अवस्थामा ऊ निर्णय गर्न सल्लाह दिन्थ्यो।
मेरो छियाछिया मनलाई मलम पट्टी गर्न गाली दिन्थ्यो। म हारेको बेला हौसला दिन्थ्यो। म रोएको बेला रुवाई सुनिदिन्थ्यो। एक्लै भएको बेला टाढा रहेर भए नि म छुको आभास दिन्थ्यो।
जीवनमा धेरै कुरा गुमाएपछि एउटा साथी पाएको महसुस राम्रोसँग हुन नपाउँदै म एक्लिएँ। ६/७ वर्षपछि बल्ल असल मित्रताको परिभाषा बुझाउँदै थियो। म हुनुको महत्त्व दर्साउँदै थियो।
अचानक आकाशमा वेग चले जसरी मेरो साथी हरायो। मेरो मित्रता हरायो। यो पीडादायी समयमा मलाई रुन आएन। उसलाई आँसु देखाउन सकिनँ। किनकि म हारेर बस्दै गर्दा उसले उठ्न सिकाएको थियो। पाइलाहरू रोकिँदै गर्दा फेरि बामे सर्न हिम्मत दिएको थियो।
म उसका हरेक शब्दहरूमा आफूलाई आँट बटुल्थेँ। ती कहाली लाग्दा रातहरूमा मलाई सम्झाएर बाँच्न सिकाएको थियो। जन्मनुको अर्थ बुझाएको थियो। अनि हामी जीवित प्राणीको जीवन बारे चर्चा गरेको थियो।
हामी नुनको महत्त्व बुझ्दैनौँ जब तरकारीमा नुन लागेको हुन्छ। आज नुन लागेछ भनेर भन्दैनौँ तर जुन दिन तरकारीमा नुन लाग्दैन त्यो दिन नुन लागेनछ भन्छौँ। त्यस्तै जबसम्म साथी थियो, ऊ भएको मलाई चाल नै थिएन। जुन दिनदेखि ऊ हरायो अनि थाहा पाएँ कि मबाट केही छुट्यो।
आजकल पनि प्रत्येक बिहानी आँखा मिच्दै उसको नम्बर डायल गर्छु। अपसोच! म बिर्सिन्छु कि म ऊबाट ब्लक लिस्टमा छु भनेर।
गुनासो नि हैन। मन दुखेको नि छैन। उसले मेरा पखेटाहरू सक्षम नहुँदासम्म मलाई असल मार्ग निर्देशन गर्यो। धेरै कुराहरू सहेर अघि बढ्न सक्ने बनायो। आज म उड्न सक्ने भएँ र त खुला आकाशमा छोडिदियो।
हाँस्नु पर्छ, हाँसिरहेको छु। जहाँ भविष्य गुमाउँदा त्यति पीडा थिएन। अहिले मित्रता गुमाउँदाको पीडा त्यति छ।
कपभरि चिनी बिनाको कालो कफीले पनि साथीको अभाव पूरा गर्न सकेन। उसको अन्तिम मेरो लागि दिएको हौसला थियो, 'हातमा सधैँ घडी लगाउनू अनि समयसँगै जिन्दगी अघि बढाउनू।'
मैले त्यो काठमाडौँको भीडमा उसले हेरी दिएको एउटा घडी किनेको थिएँ। छोटो भेटमा धेरै रहरहरू पूरा गरी दिएको थियो। साथीसँग भेट्न एयरपोर्टसम्म पुर्याइदिएको थियो। बत्ती बाल्न पशुपतिसम्म साथ दिएको थियो। अनि अर्को मेरो अन्तिम इच्छा मान्छेहरूको भिडमा सँगै एक-एक कप चिया पिउन साथ दिएको थियो।
सोचिन्छ, साथी स्वार्थी हुन्छन्। मलाई साथी भनेका भगवान् हुन् लाग्दै गर्दा उसले भ्रम फैलाइदिएको थियो। अनि सम्झिएँ। हामी सबै भ्रमित छौँ। हामी आआफ्नो स्वार्थ पूरा भएपछि सबैसँग अलग हुन्छौँ।
बिहानीमा पूरा हुन नसकेका सपनाहरू सँगालेर राख्दै उही बेलुकीलाई गुहार माग्दै म जबरजस्ती निदाउँछु। एउटा साथी गुमाउँदाको पीडा आँसुसँगै पिएर।