डरलाग्दो मौसम छ। आकाशमा काला बादलहरूले आफ्नो साम्राज्य विस्तार गरिरहेका छन्। टाढा क्षितिजमा बिजुली चम्किरहेको छ। सन्ध्याले पनि अब विश्राम गर्न रातको काखलाई चुनिसकेकी छ। टाढा घरीघरी चम्किने बिजुलीले केही छिनलाई भए पनि अन्धकारलाई निमेष भर हटाइरहेको छ। तर त्यो पर्याप्त छैन।
मेरो वरपर कहीँ कतै ओत लाग्ने ठाउँ पनि छैन। सायद म हराएँ। मैले आफ्नो बाटो बिर्सिएर कतै अन्तै आइपुगे जस्तो लाग्छ या त अन्धकारको असर हुनु पर्छ। मसँग रोशनीको कुनै स्रोत छैन। आँखाका नानी तन्काई तन्काई चम्किरहेको बिजुलीको सहारामा आफ्नो बाटो खोजिरहेको छु। थाह छैन अझ कति टाढा? यो सफर लामो प्रतीत हुन्छ। तर मलाई पुग्नु कहाँ छ?
म एक यात्री न हुँ या भनौँ अहिले मलाई टाउको लुकाउने छानो चाहिएको छ, जहाँ एक रात बिताउन सकूँ। यद्यपि यदि मैले त्यो भेटिनँ भने पनि केही छैन। म हिँडिरहने छु। जहाँसम्म बाटो छ। सायद कहीँ कतै यो बाटो रोकिने जरुर छ। तर धर्ती गोलो छ। यदि कुनै व्यक्तिले कुनै स्थानबाट एक निश्चित दिशातिर यात्रा गर्ने हो भने केही समयपछि ऊ त्यही आइपुग्छ जहाँबाट उसले आरम्भ गरेको थियो। मलाई मेरो आरम्भ प्यारो थियो। तर हरेक आरम्भको अन्त्य मिठो हुँदैन त्यसलाई नकारूँ कसरी? अनि स्वीकार गर्न पनि गाह्रो छ।
गड्याङगुडुङ आकाश जोरले गर्जियो। मभन्दा लगभग ३/४ सय मिटर परको रूखमा गएर चट्याङ खस्यो। म झस्किएँ। अब वर्षाले अझ भयानक रूप लियो। तर पनि मैले रोकिने ठाउँ भेटिनँ। हैन, ठाउँ भेटेको हो तर त्यस ठाउँमा धेरै समय बिताउन सकिनँ।
'सायद अर्काको ठाउँमा बसोबासको भरोसा हुँदैन
कहिले घरबेटी त कहिल्यै बटुवा निको हुँदैन'
मनमा शब्द फुरे र टाउकोमा असिनाका दाना। अब मेरो हिँड्ने गति तेज भयो। टाढा लगभग एक डेढ किलोमिटर दूर उज्यालो देखियो। म अब त्यो उज्यालोलाई पन्छाउन थालेँ। लगभग १५ मिनेटदेखि दगुरिरहेको छु तर पनि यो दूरी घटिरहेको छैन। सायद उज्यालो मात्र एउटा यस्तो कुरा हो जुन जति टाढा भए पनि नजिक नै लाग्छ तर जब नजिक हुन्छ देखिनै छाड्छ।
म हिँडिरहेँ। आखिर ४०/४५ मिनेटपछि मैले गन्तव्य भेटाएँ या गन्तव्यले मलाई भेटायो। जसले जसलाई भेटाए पनि मैले घर भेटाएँ र घरले आज एक रातका लागि मलाई भेटायो।
'घरमा कोही हुनुहुन्छ होला?' बाहिर आकाशको गड्याङगुडुङसँग भिड्दै भित्र पुग्न सक्ने आवाजमा चिच्याएँ।
एक छिनपछि एक जना अधबैँसे युवकले ढोका खोले।
'हेर्नुस् न, मैले बाटो बिराएँ। मैले यहाँ कसैलाई चिनेको नि छैन अनि टाढा-टाढासम्म अरू कुनै घर पनि देखिनँ। के आजलाई बास बस्न दिनुहुन्छ कि?' मैले नम्र स्वभावमा अनुरोध गरेँ।
उहाँले दैलो अझ बढी उघार्दै मलाई भित्र पस्ने अनुमति दिनुभयो।
घर बाहिरदेखि सानो देखिए पनि एक परिवार बस्न निकै ठुलो थियो। पर अगेनामा केतलीले रेलले धुवाँ छोडे जसरी बाफ छोडिरहेको थियो। चिया निकै उम्लिएर होला केतली भित्रदेखि आवाज कानसम्म पुगेको।
'अनि हजुर एक्लै?' मैले ती दाइलाई सोधेँ।
उनी मभन्दा निकै ठुला देखिन्छन् र त्यति बेला मलाई उनीसँग अलि नजिक हुनु पनि थियो। त्यसका लागि सम्बोधन आवश्यक पनि।
'अ… म एक्लै बस्छु।'
उनको बोलीमा भाव छुट्टाउन गाह्रो भयो। उनका शब्दमा हर्ष उदासी केही थिएन। भावना लुकाएका भनौँ या भाव विहीन। म यसको अन्तर छुट्टाउन सकिरहेको थिइनँ। यतिकैमा उनले चियाको गिलास लिएर मेरो हातमा राखिदिए। बाहिर आकाश उस्तै छ। तर अहिले मन भने न्यानो भएको छ। सायद कसैको साथ पाएमा हृदय पनि न्यानो हुन्छ, चाहे त्यो साथ अपरिचितकै किन नहोस्।
मलाई चिया दिएपछि उनीले पनि आफ्ना लागि चियाको गिलास लिए र परको मेचमा बसेर पिउन थाले। उनले टेबलबाट एउटा किताब लिए र पढ्न थाले। बाहिर जति नै अन्धकार भए पनि घरभित्र उज्यालो थियो। उनको घरमा बिजुली सोलरबाट चल्ने रहेछ। त्यस कारण लोडसेडिङले उनलाई खासै सताउँदैन।
उनी खासै मानिससँग बोल्न रुचाउँदैनन् भन्ने कुरा मैले बुझिसकेको छु तर पनि उनमा मेरो जिज्ञासा बढिरहेको छ। उनी विगत २० मिनेटदेखि मसँग बोलेका छैनन्। सायद म त्यहाँ हुनाले या नहुनाले उनलाई केही फरक पर्दैन। तर पनि म उनलाई हेरिरहेको छु।
तपाईंलाई थाह छ? यदि तपाईं कुनै व्यक्तिलाई निरन्तर हेरिरहनु हुन्छ भने त्यो व्यक्तिले तपाईंलाई नोटिस गर्छ। यो मनोवैज्ञानिक सत्य हो। यदि तपाईं निद्रामा हुनुहुन्छ भने पनि तपाईंको मस्तिष्कले तपाईंलाई ब्युँझाउँछ। उनमा यो तरिका काम गर्यो। उनले मलाई हेरे। मैले केही वर्षपछिको आफूलाई हेरेँ। उनमा कहीँ न कहीँ म आफूलाई देखिरहेको थिएँ।
'के हेरेको?' उनले सोधे।
'त्यो किताब,' उनको हातको किताबलाई अङ्कित गरेँ।
'पढ्ने हो?' उनले किताब म तिर दिँदै भने।
'होइन। हजुर पढ्नुस्। मैले अघि नै पढिसकेको यो किताब।'
'साँच्चै?' उनले चासो देखाए।
'हो,' मेरो छोटो जवाफ।
'अनि किन घुरेको त?' उनको रुखो बोली।
'मलाई किताब पढिरहेका मान्छे हेर्न रमाइलो लाग्छ,' मैले मुस्कुराउँदै भनेँ।
'त्यसो पो?' बोलीमा सादापना ल्याउँदै उनले भने।
'साँच्चै तिमीले पढेको यो किताब?' उनले प्रश्न गरे।
लाग्यो अब उनी अलि घनिष्ठ हुन थालेका छन्।
'हो। यो मेरो मन पर्ने किताबहरू मध्यको एक हो,' उनको हातमा रहेको 'द करेज टु बि डिसलाइक्ड' भन्ने किताबलाई देखाउँदै मैले भनेँ।
'तिम्रो बिचारमा यो किताबको मूल सार?' सायद उनले विश्वास गरेनन् या साँच्चै जान्न चाहेका हुन् थाह भएन तर उत्तर दिनुपर्ने प्रश्न।
'सार धेरै ठुलो छ,' मैले उनलाई उत्सुक पार्न खोजेँ।
'बताऊ, रात पनि ठुलो छ,' उनको जवाफ।
'तपाईंले कति पढेर भ्याउनु भयो?' मेरो प्रश्न।
'इन्टरपर्सनल प्रब्लम्सबाट छुटकारा कसरी पाउने?' उनको जवाफ।
'अनि तपाईंको बिचारमा मानिसका समस्याहरूको कारण के रहेछ?' मैले सोधेँ।
'सबै समस्याको कारण पारस्परिक सम्बन्ध हुन्,' उनको जवाफ उक्त किताबमा भनेझैँ।
मैले पनि कन्फर्म गरेँ उनले पढेका रहेछन् कि नाइँ भनेर।
'यही त हो मूल सार,' मैले हाँस्दै भनेँ।
उनी पनि हाँस्न थाले।
अब दुवै हाँस्न थाल्यौँ।
एकछिन अघि अपरिचित हामी अहिले वर्षौँ पुराना मित्र जस्ता बनिसकेका थियौँ। मित्र बन्न के चाहिन्छ? यदि कसैले सोधेमा त्यसको जवाफ साझा इच्छा या भनौँ व्यवहारहरू हुनुपर्छ।
एक छिनपछि बाहिर जोरको बिजुली चड्कियो। उनी मेचबाट उठे र भान्सातिर जान थाले। एकछिन रोकिए र पछाडि हेरेर मलाई सोधे, 'खानामा के खान्छौ?'
'हैन पिर नलिनुस्,' मेरो जवाफ यद्यपि मलाई जोरको भोक लागेको छ।
'लाज नमानी भने हुन्छ,' उनले बुझेरै भने जस्तो लाग्यो।
'जे भए नि हुन्छ। बरु अलि चाँडो भए हुन्थ्यो,' मैले ठट्यौली स्वभावमा भनेँ।
उनी पनि मुस्कुराउँदै भान्सा तिर पसे।
'त्यो दायाँ तिरको कमरामा मेरा किताबहरूको सङ्कलन छ,' भान्सादेखि उनको आवाज आयो, 'यदि तिमी हेर्न चाहन्छौ भने।'
'हुन्छ,' मैले छोटोमै निप्टाएँ।
उनको किताबको सङ्कलन राम्रो थियो। अचेल बजारमा पाइन छाडेका पुस्तकहरू उनकोमा एकदम सुरक्षित भई बसेका थिए। तर कतिन्जेल? मेरो अन्तर आत्माले प्रश्न गर्यो। एक न एक दिन यी किताबहरू पनि धुलो हुन्छन्। जसरी मानिसहरू मेटिन्छन् धुलोमा। तर उसरी नै केही अवशेषहरू भेटिने अवश्य छन् ती धुलो भएका किताबहरूमा धुलो भएका मानिसहरूका।
कुनै मानिसलाई जीवित राख्ने उसका किताबहरू न हुन्। यदि किताब नहुँदा हुन् त सेक्सपियरलाई सम्झिने को? सायद उनको नाम, उनका कामहरू दन्त्य कथा हुँदा हुन्। जुन समय सापेक्ष कसरी टिक्ला? यदि किताब नभइदिए ज्ञानको गङ्गा शिथिल कतै तलाउ हुँदो हो र एक दिन सुकेर जाँदो हो। तर यो गङ्गा निरन्तर बगिरहेन छ। मभन्दा अघि पनि र मेरो मृत्यु पछि पनि।
उनका सङ्कलकले उनलाई ओशोको फ्यान साबित गरिरहेका थिए। उनीसँग सायद ओशोका सबै किताब थिए। त्यसै गरी कहीँ कतै कृष्णा मूर्ति थिए त कतै फ्रयुड पनि। उनको किताबी चाहतको जनरा फरक फरक रहेछ। कोही मानिस एकै प्रकारका किताबहरू पढिरहन्छ जस्तै कोही साइन्स, कोही फिलोसपी, कोही नोभल त कोही हिस्ट्री तर उनकोमा सबै किताब थिए। सायद आधा जिन्दगी उनले जुन बिताए ती यी किताबहरूसँगै हुनुपर्छ। यदि त्यसो हो भने मेरा नजरमा उनी सबैभन्दा खुसी मानिस हुन्।
'खाना तयार भो,' भान्सादेखि उनले बोलाए।
'हवस् आएँ।'
एकैछिनमा टेबल लाग्यो।
'माफ गर्नुहोला तर के म तपाईंको नाम जान्न सक्छु?' मेरो प्रश्न जायज थियो। अब हामी अपरिचित थिएनौँ तर परिचित भन्नलाई पनि हामीलाई एकअर्काको नाम थाहा थिएन।
'नाममा के राख्या छ?' अब उनी सेक्सपियरको बोली बोल्न थाले।
'परिचय' मैले उडाएँ।
'कसको?'
'तपाईंको' मेरो दोस्रो जवाफ।
'यदि मैले मेरो नाम बताएमा?' उनको प्रश्न।
'म त्यही नामले सम्बोधन गर्छु,' मेरो जवाफ।
'त्यीपछि?'
म रोकिएँ। त्यीपछि? यसको के अर्थ? त्यीपछि के त्यीपछि? मैले बुझिनँ।
'मतलब?' मैले प्रस्ट पार्न भनेँ।
'के मतलब?' उनी मुस्कुराए।
'त्यसपछिको मतलब?'
'त्यसपछि तिमी मलाई बिर्सन्छौ। मैले तिमीलाई या तिमीले मलाई नाम भनेपछि हामी दुवैको एकअर्का बारेको मानसिक तस्बिर अब नाममा परिणत हुन्छ। जब तिमी मलाई सम्झिने छौ तब यी यादहरू हैन केवल मेरो नाम तिमीमा बाँकी रहने छ। तिमी चाहेर नि बिर्सन सक्दैनौ। कारण तिमीलाई मैले केही याद नै गराएको छैन। अनुभवहरूको नाम हुँदैन। यदि भावनाहरूलाई नाम दिने हो भने तिनीहरूमा भएको रस चुहिएर जान्छ। यदि रिस, माया, प्रेम, खुसी , दुःख यी शब्दहरू नहुँदा हुन् त भावनाहरू स्वच्छ हुँदा हुन्। रिस भन्ने बित्तिकै तिमीमा नकारात्मक भावना बन्छ। के तिमीले कहिल्यै सोचेका छौ त्यो किन? अहिले तिमीलाई 'रिस' का बारेमा केही भन भनेमा तिमी रिस राम्रो हैन। यसले नकारात्मक असर गर्छ। रिस त्यागेमा मानिस खुसी रहन्छ। यस्तै यस्तै तिम्रो जवाफ हुन्छ। तर तिमी नै जब सानो बच्चा रिसाइरहेको हुन्छ त्यसलाई हेरेर मनमनै हाँसिरहेको हुन्छौ।
किन?
किन कि रिस अपूर्ण छ। रिसलाई जुन नाम दिइएको छ त्यो अपूर्ण छ। भावनाहरूलाई नाम दिनु नै एक मूर्खता हो। अनि थाह छ?' उनले थपे 'यदि नाम नहुने हो भने मानिसको सम्बन्ध पनि कति राम्रो हुन्थ्यो। कोही कसैलाई बिर्सिँदैन थिए। बिर्सिने ती कुराहरू हुन जुन याद हुन्छन्। तर भावनाहरू याद हुँदैनन्। यी अभिन्न हुन्छन् मानिससँग। जता मानिस जान्छ उतै बहिरहन्छन्। यिनको कुनै गन्तव्य हुँदैन। यी आकाशका सेता बादल जस्तै कहिले यता त कहिले उता बगिरहन्छन्। तिनलाई कहीँ पुग्नु छैन। यिनको गन्तव्य हुँदैन। गन्तव्य विहीन भावनाहरू।'
उनले सिद्ध्याए। उनका शब्दहरू टिप्न गाह्रो भयो। आधा कतै छुटे आधा कतै हराए। त्यही भएर मैले भात टिप्न थालेँ।
'खाना मिठो बनाउनु हुँदो रहेछ,' कम्प्लिमेन्ट दिएँ।
'आफ्नै बारीको तरकारी मिठो भइहाल्छ नि,' उनको जवाफ।
उनले आफै तरकारी फलाउने कुरा पनि गरे। कस्तो रमाइलो कुरा।
गाउँमा एउटा घर, सुन्दर वातावरण, एउटा पुस्तकालय र आफ्नै तरकारी बारी। यति कुरा भएपछि मान्छेलाई अरू के चाहियो?
मानिस जिन्दगीभरि जीवनको तलासमा भौँतारिन्छ तर ऊ कहिल्यै सोच्दैन कि ऊ स्वयं भित्रबाट चाहन्छ के?
धेरै कुराहरू चाहना नहुन सक्छन्। केही कुराहरू क्षणिक आकर्षण पनि हुन्छन् त केही कुरा गन्तव्यमा पुगिसकेपछि एहसास दिन्छन् कि जुन यात्रामा हिँडेको थिएँ फगत त्यसअघि एक गन्तव्य उभिएको छ जसको कुनै लालसा पनि थिएन।
हाम्रो साथ केही समयभरको भए पनि सोच एकै थियो। हामी दुवैलाई तलास केही कुराको थिएन। हामी केवल यो जिन्दगी आफूसँग बिताउन चाहन्छौँ। मानिस आफ्नो जीवन अरूलाई समर्पित गर्छ तर ऊ आफ्नो लागि बाँच्न बिर्सन्छ। हो, त्यही कारण केही मानिसहरू दुई जिन्दगी जिउन पाउँछन् त केही जिन्दगी जिउन नै पाउँदैनन्।
खाना खाई वरी दुवै जना अगेना अघि बस्यौँ। उनले १ बोतल ह्विस्की लिएर आए। हातमा दुई गिलास पनि। दुवैमा सर्भ गरे र एक मतर्फ दिँदै भने, 'थाहा छ भाइ, कहिलेकाहीँ नशामा डुब्नु पनि एक मेडिटेसन हो।' उनले एक श्वासमा सुरुप्प पार्दै भने।
मैले यसको बदलामा सानो हाँसो छोड्न बाहेक केही गरिनँ। हेर्दा हेर्दै उनले एक बोतल खाली गरे। तर पनि उनको अनुहारमा मातको त्यस्तो रूप देखिएको थिएन।
'खै त! तिमीले रक्सी नपिउने कसम खाको छौ कि?' मेरो हातको गिलासबाट टस न मस भएको रक्सीतर्फ औँला देखाउँदै भने।
'हैन तर म पिउँदिनँ नि।'
'किन?'
'म दिनभरि कति बेला आफूसँग राम्रो समय बिताउँछु भनेर जान्नका लागि,' मेरो जवाफ।
उनी केवल हाँसे मात्र।
'यदि कहिल्यै मसँग कुनै एकदमै राम्रो घटना घट्यो तर त्यति बेला म नशामा भएमा मैले जीवनको सुन्दर क्षण गुमाउन सक्छु। त्यही भएर म सधैँ त्यस्ता पलहरूलाई रमाउन पिउँदिनँ,' मैले थपेँ।
यस पटक तिनी मुस्कुराएनन् तर सहमतिमा शिर जरुर हल्लाए।
'कहिलेकाहीँ बिर्सन पनि नशा चाहिन्छ भाइ,' उनको आवाजमा मलिनता छायो। मानौँ उनी अचानक नयाँ अवस्थामा पुगेका हुन्।
'केही कुराहरू भुल्न गाह्रो हुन्छ तर याद राख्न पनि सजिला हुँदैन। यी कुराहरू जीवनभर सँगै हुन्छन्। चाहे जता जानुस्, छायाले शरीर पछ्याए जसरी तपाईंसँगै हुन्छन्। तपाईंलाई एक्लै कहिल्यै छाड्दैनन्। कहिलेकाहीँ महफुज पनि लाग्छ यिनीहरूसँग। एक साहस त दिन्छन्। तर डराउँछन् पनि धेरै। केही कुराहरू यादमा मात्र सीमित हुनु जति दयनीय अरू के हुन सक्ला?' उनका शब्दहरूमा आँसु मिसिएका थिए। यदि यादहरूको रस बनाएर थोपा थोपा बर्साइन्थ्यो भने बिलकुल त्यसतै देखिन्थे होला।
मैले हौसला स्वरूप उनको काँधमा हात राखेँ। केही छिन मौनता रह्यो। उनी केही बोल्न चाहेनन्।
म केही बोलिनँ।
कहिलेकाहीँ मानिसलाई केवल सुन्ने मान्छे चाहिन्छ। बस सुनिदिए पुग्यो। ऊ प्रश्नको उत्तर मागिरहेको हुँदैन। ऊ केवल चाहन्छ मलाई कोही सुनिदियोस्। मैले के महसुस गरिरहेको छु त्यो बुझिदियोस् र मलाई बोल्न देओस्। आफू चुपचाप मेरा कुनामा बसेर केवल ढाडस दियोस्। मैले त्यही गरेँ।
पूरा रात दाइले आफ्नो कहानी सुनाए। उनको कहानीपछिको बिहानी एकदम सुन्दर थियो। पानी पर्न राति नै रोकिएको थियो। उनको अनुहारमा एउटा नयाँ रङ पनि छ। जसरी रातभरि पानी परे पछिको उदाउँदो सूर्यको किरणले सज्जित बिहानी हाम्रो आँगनमा आई उभिन्छ, त्यसरी नै दाइ बिहान मेरा सामु उभिनु भयो।
अब समय थियो बिदाइको। मैले एक रातको बास उनको स्वर्गमा बिताएँ। साँच्चै त्यो रात मेरो जीवनको सबैभन्दा सुन्दर रात हुने छ। मैले धेरै कुरा सिका। जीवन जिउने मार्ग देखेँ। मानिसलाई खुसी हुन चाहिने सीमित औँलामा गन्न सकिने साधन देखेँ।
करोडपतिका अनुहारमा नभएको खुसी उनको अनुहारमा थियो। र, अहिले उनको हातमा फ्रेममा माला टाँगिएको तस्बिर छ जसबाट उनले भर्खरै माला निकाली फ्याँकेर त्यस तस्बिरलाई जीवन्त बनाएका छन्।
उनीसँग बिदा लिएँ। फेरि आफ्नो सफरतर्फ लागेँ। सायद कुनै दिन मेरो पनि त्यसै एक पहाडको कुनामा घर हुनेछ। एउटा पुस्तकालय हुनेछ र म एक्लै ती पढ्न छुटेका हजारौँ किताबहरूको अङ्गालोमा लुटपुटिने छु। यसरी नै यो धर्तीमा समाउने छु। यहाँ हराउने छु।
जाँदा जाँदै आँखामा भएका दुई थोपा आँसु दाइको गाउँमा छोडेर गएँ। सायद कुनै दिन फर्कँदा यदि पैतालाका छाप मेटिए पनि आँसुका थोपाहरू गाढा रहिरहने छन्। जसले मलाई मेरो खुसीसँग परिचित गराउने छन्।